समाचार

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो, अझै २३ जना बेपत्ता

By खबरहब

October 02, 2024

काठमाडौं- गत साताको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या २३२ पुगेको छ । अहिले पनि २३ जना बेपत्ता छन् ।

नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको बताएको छ ।

लामो यात्रमा निस्किनुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ ।

सरकारले बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिएको छ ।