जीबीलाई देखाएर अरु अपराधी उम्कन खोजिरहेका छन् | Khabarhub Khabarhub

अन्तर्वार्ता

जीबीलाई देखाएर अरु अपराधी उम्कन खोजिरहेका छन्

केही मन्त्रीको काम जनताले मन नपराएनन् : रामहरि खतिवडा



काठमाडौं– रामहरि खतिवडा ओखलढुङ्गाबाट प्रतिनिधि सभामा निर्वाचित कांग्रेस सांसद हुन् । खतिवडा अहिले राज्य व्यवस्था समितिको सभापतिसमेत छन् । प्रतिनिधि सभामा जुनसुकै मुद्दामा खरो रूपमा उत्रने खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको र नागरिकता विवादमा परेको विषयमा पनि अग्रस्थानमै रहेर आवाज उठाएका थिए ।

पछिल्लो समय रास्वपा सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् । यता रास्वपाले भने सडक आन्दोलन गरिरहेको छ । खतिवडा सभापति लामिछाने कानूनको दायरामा आउनु उचित भएको भन्दै सडक आन्दोलन गरिरहेको रास्वपालाई आन्दोलन छाडेर अनुसन्धानलाई सहयोग गर्न आग्रह गर्छन् ।

सहकारीको पैसा ल्याएर अन्य टीभीलाई रातारात फ्लप खुवाउँदै ‘ग्यालेक्सी फोर–के’लाई नेपालको नम्बर वान टीभी बनाउन सकिन्छ भन्ने सपना रवि लामिछानेले नै जीबी राईलाई बाँडेको खतिवडाको आरोप छ । रविले नेपालका दुईसय जना मारवाडीलाई टेलिभिजनमा पैसा हाल्न लगाउने र संवाददातालाई हेलिकप्टरमार्फत रिपोर्टिङमा पठाउने भन्दै जीबीलाई उक्साएको दाबीसमेत खतिवडाको छ ।

सरकारबारे सोधिएको प्रश्नमा भने खतिवडा केही मन्त्रीको काम गराइ जनताले मन नपराएको स्वीकार्छन् । तर, यो सरकार ०८४ सालसम्म मज्जाले चल्ने र केपी ओलीले दुई वर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने ठोकुवा गर्छन् ।

प्रस्तुत छ कांग्रेस सांसद खतिवडासँग जीबी राई प्रकरण र सरकारको आयुबारे गरिएको कुराकानी :

सरकारले राजनीतिक प्रतिशोधका आधारमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप छ नि ?

यसलाई कसैले यसरी हेरेका रहेछन् । यसमा दुई–तीनवटा कुरा छन् । पहिलो त सहकारीपीडितको आयोग गठन गरौँ भनेर सदनमा धेरै पटक नारा लगाएर बस्नुपर्थ्यो । अहिले साथीहरू सडकमा गएर नारा लगाएर बस्नुभएको छ न्याय गर भनेर । त्यतिखेर हामीले बोल्दा सहकारीपीडितले न्याय पाउनुपर्ने कुरामा त कसैले आवाज उठाएका थिएनन् । सहकारीमा भएको के रहेछ, गल्ती गर्ने को रहेछ पत्ता लगाऊँ अनि बचतकर्ताको रकम बचतकर्ताको हातमै पुर्‍याउँ भन्ने उद्देश्यले हामीले यो काम गरेका हौँ ।

हामीले यसमा कांग्रेस, कम्युनिस्ट र अरू पार्टी भनेर छुट्टयाउन हुन्न पनि भनेको हो । त्यो छुट्टाइएको भए कांग्रेसका सीबी लामा पनि पर्ने थिएनन् । कांग्रेसकै गोरखाका सुरेन्द्र भण्डारी पनि पक्राउ पर्ने थिएनन् होला । एमालेका केपी उप्रेती पनि पक्राउ पर्ने थिएनन् होला । तर, केही नहेरेर निष्पक्ष गरेपछि यी मान्छेहरू पक्राउ परिसकेका छन् । ती पक्राउ पर्दा कोही बोलेनन् । न कांग्रेसका साथी बोल्नुभयो, न अरू बोल्नुभयो । त्यतिखेर राजनीतिक प्रतिशोध देखिएन । कति त माओवादीका साथीहरू पनि थिए । देव नेपाली त एमालेका मेयर नै परेका छन् बाग्लुङका । त्यतिखेर खै रास्वपाका साथीहरू बोल्नुभयो ? खै आँखा कहाँ गयो ? अरू बोले ? आफ्नो मान्छे परेपछि राजनीतिक प्रतिशोध भन्ने यो गलत कुरा हो । हामी कानूनसम्मत रूपमा कसैले गल्ती गरेको छ भने पार्टी पनि हेर्दैनौँ । जाति पनि हेर्दैनौँ । कानूनको पालना सबैले गर्नुपर्छ ।

तर, कांग्रेस उपसभापति धनराज गुरुङ दम्पती र लेखा समितिका सभापतिसमेत रहेकाएमाले सांसद ऋषिकेश पोख्रेलको विषयमा पनि त सर्वत्र प्रश्न छ नि ?

यहाँले भनेका नाम रास्वपाले पनि उठाएको देखेको छु । यहाँले भनेझैँ धनराज र ऋषिकेशको केसमा पनि अनुसन्धान अगाडि बढेको छ । धनराजकी श्रीमती ज्योतिको सन्दर्भमा नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरिसकेको छ । धनराजको संलग्नता छ भने श्रीमतीले गरेको सन्दर्भमा श्रीमती नै आउनुपर्‍यो । श्रीमानले गरेको भए श्रीमान नै आउनुपर्‍यो । उहाँहरू दुवैको गल्ती भएको सन्दर्भका प्रहरीले दुबैलाई ल्याउँछ । कुरै छैन नि जोगाउने ।

रवि पक्राउ पर्नुपर्ने वित्तिकै धनराजका दम्पती पक्राउ पर्नुपर्ने थिएन होला । त्यसमा संलग्नता छ छैन, अनुसन्धान होला । छ भने ल्याउनुपर्छ । ऋषिकेशको सन्दर्भमा पनि त्यही हो । उनकी श्रीमती अञ्जना कोइरालाको नाममा अनुसन्धान भइरहँदा ऋषिकेश पनि दोषी भए अनुसन्धान हुनुपर्छ । उहाँहरूको कोही पनि छुट्न हुँदैन । दोषी हो भने सबैमाथि कारबाही हुनुपर्छ । म पनि कुनै केशमा दोषी भए कारबाही भोग्न तयार हुनुपर्छ ।

उहाँहरू नै राजनीति भनेको समाजसेवा हो भन्ने, अनि समाजमा अराजकता फैलाउने ? बचतकर्ताको रकममाथि खेलबाड गर्ने ? यो प्रवृत्ति त राम्रो भएन नि । उहाँहरूले यसो गर्नु भएन नि । कांग्रेस र एमालेको सरकार व्यक्तिको अनुहार हेरेर, पार्टी हेरेर कानूनलाई हातमा लिएर काम गर्छ भन्ने विश्वास छैन । अवरोध गर्ने व्यक्तिहरू राजनीतिक पार्टीको इसारा लिएर बच्ने र अपराधलाई राजनीतिकरण गर्ने काम ठीक होइन ।

तर, रास्वपा नेताहरु त कांग्रेसकै कारण हामीमाथि प्रहार भयो भन्छन् नि ? संसदमा रविका बारेमा पहिला यहाँले नै बोल्नुभएको थियो…

मैले उहाँ रविजी गृहमन्त्री हुँदा नै नागरिकता र पासपोर्टमा छानबिन हुन्छ कि हुँदैन भनेर बोलें । यहाँ गृहमन्त्री भएका बेला कसैलाई पक्राउ गर्न जाँदा सूचना जारी गरेर भगाइन्छ कि पक्राउ गरिन्छ ? योबारे जवाफ मागेको थिएँ । त्योबेला उहाँ पर्पराउनुभयो । गृहमन्त्री हुँदा अनेक हल्ला गरेर अपराधी भगाएको जस्तो पनि गर्नुभयो । बोलेर मात्र हुन्छ कि काम गरेर देखाउने हो ? म त अचम्म मान्छु । पुराना दलले बोले, हामी काम गर्छौं भन्ने, अनि फेरि आफू नै पूरा हल्ला गरेर अपराधी भगाउने ? अनुसन्धानलाई प्रभावित पार्ने ?

उसोभए, जीबी राईलाई रवि लामिछानेले नै भगाएको भन्न खोज्नुभएको ?

त्यो त देखियो नै । सहकारीको पैसा टीभीमा ल्याउँदा मालामाल कमाइ हुन्छ, अरू टीभी रातारात सुक्छन्, मसँग दुई सयजना विभिन्न मारवाडीहरु छन्, ती बदमास र नेपाल ठग्नेहरु हुन्, तिनको सबै पैसा ग्यालेक्सी टेलिभिजनमा ल्याएर मालामाल बनाऊँ भनेर त्यो सपना देखाइदिने र त्यो माहोल तयार गरिदिने रवि नै हुन् भन्ने आएको छ । जीबीलाई यसो भनेर पैसा लिने अनि पार्टनर भगाएन भनेर कसरी पत्याउने ?

माथि मैले भनेका सबै कुरा त जीबीको सहकारीमा काम गर्ने र रविसँग पनि काम गरेका जेलमा भएका पूर्वडीआइजी छविलाल जोशी लगायतका मान्छेले भनेका छन् त । सहकारीको पैसा टीभीमा ल्याउँदा नेपालको पहिलो टीभी बनाउँछु, संसारमा टेलिभिजन च्यानलसँग न्युज कलेक्सन गर्न हेलिकोप्टर हुन्छ, त्यस्तैखालको टेलिभिजन बनाउँछु, जुन टेलिभिजनमा संवाददाता हेलिकोप्टरमा गएर रिपोर्टहरु लिएर आउँछन्, त्यो काम हामी गर्न सक्छौँ भनेर जीबीलाई सपना बुनिदिने मान्छे रविजी हो । यो सय प्रतिशत हो ।

यो कुरा सत्य नै हो भनेर कसरी ठोकुवा गर्न सक्नुहुन्छ ?

यस्तो कुराको सूचना नभइकन प्रहरीले रविलाई पक्राउ गर्छ ? प्रहरीले कति अध्ययन र अनुसन्धान गरेको छ ? सूचना नभइकन के हुन्छ ? छविलाल जोशीले पनि भन्नुभएको छ, अरू पनि आएका छन् । २ सय जना मारवाडीले नेपाल कब्जा गरेका छन्, ती मारवाडीलाई मैले चिनेको छु, बदमासी यिनका देखाएर पैसा ल्याऊँ र टेलिभिजन चलाऊँ भनेर रविजीको प्रस्ताव थियो भनेर आएको छ । जीबी आएपछि यी सबै कुरा खुल्छन् ।

के जीबी राई पक्राउ नपर्नुमा पनि रवि लामिछानेकै हात छ भन्न खोज्नुभएको हो ?

भगाएको कुराचाहिँ उहाँहरूलाई नै थाहा होला । एउटा कुरा के सूचना छरपष्ट छ भने रविजी मलेसिया जाँदा जीबी राईलाई भेटेको भन्ने सूचना नेपालको सुरक्षा निकायसँग थियो । पहिला मलेसिया जाँदा जीबीसँग भेटेर आउनुभयो भनेर सुरक्षा निकायले सूचना जारी गरेको थियो ।

 

 

गृहमन्त्री हुँदा पनि उहाँले म जीबीको नजिक पुगेको छु, नेपाल प्रहरी उहाँको नजिक पुगिसकेको छ भनेर रोस्टममा आएर बोल्नुभएको थियो । लोकेसन पत्ता लगाइसकेको छ भनेर शब्द नै भन्नुभएको थियो । उहाँले भगाउनुभयो कि पक्रनुभयो, अब यहाँहरू आफैँ भन्नुहोस् ।

अब जीबी राईलाई पक्रनुपर्ने त वर्तमान सरकारको दायित्व होइन ?

अहिले पनि जीबीको नेपालमा ठूलो लगानी छ रे । यी लगानीबाटै बचतकर्ताको लोन फिर्ता गर्छु, भनेको यदाकता सुन्नमा आएको छ । त्यो हो कि होइन, हो भने उहाँले सरकारलाई पनि सहयोग गरेर आफूलाई पनि चोख्याउने मौका छ । उहाँ सरक्क नेपाल आएर आत्मसमर्पण गरे हुन्छ ।

अहिले जुन अन्योल छ, यसलाई चिर्न सकारात्मक भूमिका खेल्ने विश्वास हामीले लिएका छौँ । अब उहाँले सबै कुरा नेपाली जनताका बीचमा आएर सत्यतथ्य भनेदेखि त्यसले सबैलाई फाइदा हुन्छ । तर, अहिलेसम्म जीबीले यो नगरेपछि सरकारले आफ्नो ढंगले खोज्ने र पक्राउ गर्ने काम त गरिरहेको नै बुझेको छु । हल्ला नगरिकन सरकारले उनीमाथि अनुसन्धान गरिरहेको होला । उनलाई पक्राउ त गर्नुपर्छ । किनकि उनैलाई देखाएर अन्य अपराधी पनि उम्कन खोजिरहेका छन् ।

सडकमा त रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग छ नि ? त्यसो गरे हुँदैन ?

यो गलत काम हो । कानूनी प्रक्रयाबाट अदालतले अनुमति लिएर गरेको गिरफ्तारीलाई सडकबाट यसो गर र उसो गर भन्ने अधिकार छैन । हिजो उहाँ गृहमन्त्री हुँदा उहाँले के नियम बनाउनुभएको थियो ? कोही हिरासतमा बस्न छाडेर अस्पताल जान नपाउने, कोही बिरामी भयो भने अस्पताल जान बोर्डको रिपोर्ट चाहिने, कोहीले कहीँ हिँड्न नहुने, बोल्न नहुने ।

हामी व्यक्तिगत रूपमा कसैलाई भेट्न जाँदा सुशासन समितिको सभापतिले यस्तो मिल्छ ? भनेर सदनमा बोल्नुभयो । कानूनको अधिकार अनुसार हिरासतमा राखेको व्यक्तिको समर्थनमा अहिले उहाँहरूले जुलुस लगाउन मिल्छ त ? उहाँको पार्टीले मिल्दैन । उहाँको पार्टी हुँदा एउटा कानून, अरूको हुँदा अर्को कानून गर्न मिल्यो त ?

अलिकति सरकारतिर जाऊँ । नेपाली कांग्रेस र नेकपा एमालेको सरकार ढल्न लागेको हल्ला पनि छ नि ? रविलाई पक्राउ गर्ने सन्दर्भमा पनि सरकारमा दुई धारमा देखिएको चर्चा छ, यसको वास्तविकता के हो ?

झिँगाको सरापले डिँगो मर्दैन भन्ने एउटा भनाइ छ । रवि पक्राउ नपर्दासम्म के गर्दै हिँड्नुहुन्थ्यो ? पक्राउ पर्नेबित्तिकै ढल्ने भए त आज धेरै दिन भइसक्यो । जति बाँकी अवधि छ, त्यो अवधिसम्म निरन्तर जसरी गाडी गुडेको छ । यसरी नै दुई वर्ष ओलीजी प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि देउवा प्रधानमन्त्री हुने गरी सरकार मज्जाले अगाडि बढ्छ । कुनै खटपट हुँदैन ।

केही काम गर्ने शैलीहरू राम्रा भइदिए हुन्थ्यो भन्ने सबैलाई लाग्छ । हाम्रो सरकार हो, हामीबाट निर्वाचित भएको हो । हामीले अहिले स्थिरता र लगानीको बाटोबाट सरकारलाई अगाडि लानुपर्छ । आर्थिक उन्नतिको बाटोमा लानुपर्नेछ । योबेला मुख्य पहिलो र दोस्रो पार्टी मिलेर जाँदा त्यसको फाइदा नेपाली जनताले लिने बाटो सिर्जना गर्नुपर्छ । प्रतिस्पर्धा एमाले र कांग्रेसको भएपछि काम राम्रो गरेर जाने पद्दति हुनुपर्छ । त्यसपछि जनताले विश्वास गर्छन् । गलत पद्दति रोक्न पनि कांग्रेस र एमाले मिलेर जानुपर्छ । यसो हुँदा सबै गलत काम रोकिन्छन् र नेपालको राजनीति अगाडि जान्छ ।

अहिले दल विभाजनको अध्यादेशको गृहकार्यले पनि सरकार ढल्ने चर्चा भएको हो कि ?

त्यो हैन । केही साथीहरुलाई पार्टी फुटाउने ईच्छा होला । जसले पार्टी फुटाउने ढर्रा गर्छ, त्यसले देशलाई केही योगदान गर्छ त ? हामीले राजनीति गर्ने भनेको मुलुकका लागि हो । केही थान मन्त्री हुन पाइनँ भनेर पार्टी फुटाउन हिँडेका मान्छेबाट मुलुक परिवर्तन होला ? यो कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुझ्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बुझ्नुभएको छ । यस्तो प्रेसर प्रधानमन्त्रीलाई पनि नदिनु होला ।

मलाई लाग्छ, प्रधानमन्त्री यस्तो गर्ने पक्षमा हुनुहुन्न । स्पष्ट बहुमतको सरकार हुँदा कुनै पनि अप्ठ्यारो छैन । अध्यादेश हल्ला हो । म कानुनमन्त्रीसँग निरन्तर सल्लाहमा छु । अध्यादेशको सन्दर्भमा प्रधानमन्त्रीले कुनै छलफल नै गर्नुभएको छैन । अध्यादेश आउँदा त कानुनमन्त्रीसँग छलफल हुन्छ नि । यो हल्ला मात्र हो ।

अहिलेका मन्त्रीहरूको काम गराई हेर्दा त सरकारले जनतामा खासै उत्साह भर्न सकेन नि ?

यो सही कुरा हो । जनताले केही मन्त्रीहरूको काम गराइ मन नपराएको साँचो हो । म व्यक्तिगतरूपमा आलोचना गर्दिनँ । देशमा यत्रो डेंगी भयो, बाढी पहिरोको पूर्वतयारी, श्रम समस्या, पर्यटनको समस्या, वाणिज्य क्षेत्रका समस्या र ऊर्जा क्षेत्रका समस्याका पनि व्यापक कुराहरू आएका छन् । मन्त्रीहरूले पनि अब अपेक्षाअनुसार काम गर्दिनु पर्छ । मन्त्रीहरुले अपेक्षा अनुसार काम गरे त्यसको फाइदा नेपाली जनतालाई नै हुन्छ । व्यक्तिगत रूपमा मैले कुन मन्त्री भनिनँ, हामी अझ अहिलेका मन्त्रीहरूसँग यो भन्दा बढी पारदर्शी र इमानदारिताका साथ जनतामा काम गरेको वातावरण तयार होस भन्ने पक्षमा छौँ । मन्त्रीहरू आफू पनि सक्रिय हुनुपर्छ र आफ्नो स्वार्थमा नभएर देशको स्वार्थमा काम गर्नुपर्छ ।

यहाँले यसो भनिरहँदा मन्त्री फेरबदल हुने हल्ला पनि छ नि ?

यो तत्काल नहोला । तर मन्त्रीहरूले राम्रो काम गरेनन् र नागरिकस्तरबाट बृहत् प्रश्न उठ्यो भने त्यो हुन्छ । काम गर्न नसकेपछि त किन बसिरहनुपर्‍यो त । पार्टीमा अहिले फेरबदलको कुरा उठेको छैन, तर काम गर्न सकेनन् र बाहिर सुगन्ध हैन गन्ध आउन थाल्यो भने त फेर्नुपर्ने त हुन्छ । अहिले त्योबेला भइसकेको छैन ।

अन्तिममा, यहाँ संसदको राज्यव्यवस्था समितिको सभापति पनि हुनुहुन्छ । सरकारले महत्वपूर्ण विधेयकहरू समयमै अगाडि बढाउन नसकेको गुनासो आउने गरेको छ । एकजना विधायकको हैसियतले यसबारे के भन्नुहुन्छ ?

अहिले द्रुत गतिमा विधेयकहरू अगाडि बढेका छन् । राज्य व्यवस्था समितिमा भ्रष्टाचारसम्बन्धी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी र निर्माण सामग्री सम्बन्धी विधेयक छ । निर्माण सामाग्रीसम्बन्धी विधेयक अलि विवादित छ । त्यसमा ४÷५ सयवटा संशोधन छन् । निजामती विधेयकमा पनि १५ सय वटा संशोधन छन् । १ सय ५३ जना सांसदको संशोधन छ । अब हामी तिहारपछि राम्रो कानुन बनाउँछौँ । दुईवटा विधेयक छिट्टै पेस गर्छौं र आगामी अधिवेशनमा राज्य व्यवस्थामा भएका सबै विधेयक संसदमा पुग्छन् । कहिलेकाहीँ कोरम पुग्दैन र समस्या हुन्थ्यो । तर, अब निरन्तर चल्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ५ : ५८ बजे

प्रहरीद्वारा गाँजा र अफिम फँडानी

बागमती – प्रतिबन्धित लागुऔषध गाँजा र अफिम खेती नष्ट गर्ने

थुनुवा मुक्त गराइदिने भनी रकम लिने पक्राउ

सुदूरपश्चिम – प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भनी थुनुवाका

‘नेपालमा लैंगिक हिंसाको अवस्था र न्यूनिकरणका उपाय’

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । विविधतायुक्त समाजमा

टिकटक बनाउने क्रममा तेह्रथुममा दुईजनाको मृत्यु

तेह्रथुम – खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको

प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, तीन जना घाइते

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी