ओलीको गृहजिल्लामा एमाले हराउने अर्का ओली | Khabarhub Khabarhub

ओलीको गृहजिल्लामा एमाले हराउने अर्का ओली

कांग्रेस छाडेर स्वतन्त्र भएका ओली भन्छन्– कुनै दलमा जान्न



काठमाडौं – नेकपा एमालेको ०७९ मा जितेको झापाको कनकाई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले यस पटक बाजी मारेका छन् ।

नेपाली कांग्रेस–एमालेका हेभीवेट नेताको गृह जिल्लामा स्वतन्त्र उम्मेदवार ओलीले जितेपछि चर्चा चुलिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्ण सिटौलाको गृहजिल्ला झापा नै हो । यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापाली हुन् । झापामा स्वतन्त्र उम्मेदवारले जितेपछि उनको चर्चा चलेको छ ।

ओली भएकै कारण उनी केपी शर्मा ओलीका भाइ भनेर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

को हुन् लक्ष्मीप्रसाद ?

उनका हजुबुवा इम्बिबर ओली बीपी कोइरालाका बुवा कृष्णप्रसादसँग जेल परेका बेला राणाकालीन समयमा मारिएका थिए । १९९७ सालमा हजुरबुवा मारिएपछि उनका बुवासहित कांग्रेसको राजनीतिमा लागे ।

विद्यार्थी कालबाटै ओली कांग्रेसको विद्यार्थी संघठन नेविसंघको राजनीतिमा होमिए । त्यसपछि उनी कनकाईमा कांग्रेसको प्रचारमा लागेका थिए । ओली २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाटै विजयी भए । ठेक्कापट्टाको काम गर्ने ओली कम्पनी छाडेर राजनीतिमा लगेको बताउँछन् ।

०७४ मा जितेर उनले वडामा केही काम गरेका थिए । त्यसपछि ०७९ को निर्वाचनमा पनि उठ्ने निर्णय गरे । तर, कांग्रेसले टिकट दिएन । उनी त्यसबेलासम्म कांग्रेसको कृयाशील सदस्य मात्रै थिए ।

किन कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिनुभयो ? ओली भन्छन्, ‘खासमा टिकट मिलेन भनेर स्वतन्त्र उम्मेदवारी दिएको होइन । उम्मेदवारका लागि दुईजनाको नाम सिफारिस भएको थियो । तर पार्टीबाट सिफारिस नै नभएका तेस्रो व्यक्तिलाई टिकट दियो । मेरो र रामगोपाल ओलीको नाम काटेर सिफारिस नै नभएका केशव बिमलीलाई टिकट दिएपछि विद्रोह गरेँ ।’

ओली २०७९ मा स्वतन्त्र उठेका थिए । त्यसबेला ४४० मतसहित दोस्रो भए । त्यहाँ एमालेका दीर्घबहादुर थापा ५०८ मत ल्याएर विजयी भए । उनी ६७ मतले पछि परे । वडाध्यक्ष थापाको पित्त थैलीको क्यान्सरबाट निधन भएको थियो । त्यसपछि आइतबार भएको उपनिर्वाचनमा ओली फेरि वडाको नेतृत्वमा फर्किएका छन् । केही काम गर्न बाकी रहेकाले पूरा गर्न पुनःनिर्वाचित भएको उनी बताउँछन् ।

ओलीका दुई छोरी नर्स छन् । श्रीमतीले राजनीतिमा लाग्न सहयोग गरेको उनी बताउँछन् । बुवाको निधन भएर बरखी बारिरहेकाले प्रचार प्रसारमा कम खटेको उनी बताउँछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली दमक निवासी हुन् । उता वडाध्यक्षमा निर्वाचित ओली कन्काईका हुन् । स्वतन्त्रबाट जितेका उनको नाम एमाले अध्यक्षसँग जोडिँदैछ । तर उनी एमाले अध्यक्षसँग कुनै किसिमको साइनो र सम्बन्ध नरहेको बताउँछन् ।

‘उहाँ (केपी शर्मा ओली) र हामी पनि तेह्रथुमबाट झापा झरेका हौँ’, उनले भने, ‘तर सात पुस्तासम्मै उहाँसँग सम्बन्ध जोडिँदैन । पर्नलाई उहाँ मेरो दाजु पर्नुहुन्छ । झापामा हाम्रो बसाइ नै अलग अलग नगरमा छ । एमाले अध्यक्ष ओलीसँग थर मिल्नेबाहेक अरु सम्बन्ध छैन’, उनले भने ।

ओलीसँग खबरहबले गरेको संवाद :

यहाँलाई बधाई छ, वडामै किन दोहोरिन मन गर्नुभएको ?

स्थानीय सरकारको सबैभन्दा तल्लो निकय वडा हो । वडाले गर्ने कामबाट जनतालाई लाभ हुनुपर्छ । नीतिहरू पनि जनताको पक्षमा बन्नुपर्छ । हचुवाको भरमा वितरणमुखी बजेट बनाएर आफ्ना मान्छेलाई प्राथमिकता दिएको देखेपछि मैले यसलाई रोक्न अघि बढेको हुँ । कार्यविधि बनाउन सके स्थानीय तहबाट जनताको धेरै काम गर्न सकिन्छ । धेरै स्थानीय तहमा बेरुजु टन्नै हुने गरेको छ । कतिपय जनप्रतिनिधिको कामको शैली राम्रो नहुँदा समस्या भएको छ । मैले अनुभव र दक्षता प्रयोग गरेर काम गर्ने छु । म जनतासँग नजिक भएकाले दोहोरिएर सेवा दिन सक्छु भन्ने लागेको छ ।

पहिलो कार्यकालमा के के उल्लेखनीय काम गर्नुभएको थियो ?

मेरो कार्यकालमा ठूलो बाढी पहिरोले कनकाईका सडक बाटो ध्वस्त बनाएको थियो । त्यो बनाएँ । त्यसपछि कोरोना महामारीमा जनतालाई कसरी सुरक्षित गर्ने भन्ने ध्यान दिएँ । त्यो बेला जनताको घर घरमा औषधी पुर्‍याएँ । मैले एकल पुरुष भत्ता दिएको थिएँ । छोरी पढाऊ, बढाऊ कार्यक्रमअन्तर्गत छोरीलाई वडाबाट १० हजार भत्ता दिएँ ।

सम्बन्धित परिवारले २ हजार हाल्नुहुन्थ्यो । हामी त्यसलाई १५ वर्षको मुद्दती खाता राख्थ्यौँ । तर म हारेपछि सबै कार्यक्रम काटियो । मैले कनकाई माइमा दाहसंस्कारका लागि निःशुल्क दाउरा दिन थालेको थिएँ । त्यो मात्रै कायम छ । तर मैले काम धेरै गरेँ । अझै धेरै कुरा गर्न बाँकी छ । ती काम सम्पन्न गर्न र राम्रा कामलाई निरन्तरता दिने उद्देश्यले आएको हो । पहिलो कार्यकाल कानुन बुझेर कामको मेलो पहिल्याउँदा खर्च भएको थियो, त्यहीकारण सोचेजस्तो गर्न पाएको थिइनँ ।

०७४ मा जित्दा दलको प्रतिनिधि हुनुहुन्थ्यो, अहिले स्वतन्त्र । एक्लै पर्दा समस्या होला नि ?

स्थानीय तहमा जितेपछि कुनै दलको प्रतिनिधि नहुने मान्यता राख्छु । म जनताको भइसकेँ । जनताको काम गर्ने हो । उहाँहरूका समस्या समाधान गर्ने हो । अरू जनप्रतिनिधिले पनि यसरी नै सम्झनुपर्छ ।

यहाँलाई रास्वपाले हाम्रो मान्छे भन्छन्, साथ पाउनुभएको हो ? सदस्यता पनि छ कि ?

हो, मैले रास्वपाको मत पाएको छु । रास्वपाका साथीहरू मलाई जिताउन लाग्नुभएको हो । स्वतन्त्र उम्मेदवार भएकाले रास्वपा र ०७४ मा कांग्रेस छाड्नु भएको शेरबहादुर थापा तथा अन्य पार्टीबाट असन्तुष्ट मिलेर कनकाईमा बनेको स्वतन्त्र नागरिक समूहको साथ पाएँ । उहाँहरूले साथ नभएको भए जित्ने थिइनँ । उहाँहरूले मेरो स्वामित्व लिन पाउनुहुन्छ । म उहाँहरूसँग सल्लाह लिन्छु, सहकार्य गर्छु । पार्टी व्यक्तिवादी र परिवारवादी भएकाले स्थानीय तहमा काम गर्न समस्या छ । यो कुराको निराकरण गर्नुपर्छ ।

हेभीवेट नेताहरूको गृह जिल्लामा स्वतन्त्र उम्मेदवारले जित्न कति गाह्रो हुँदो रहेछ ?

गाह्रो त हुँदो रहेछ । राजनीति दलले गर्ने र स्वतन्त्रले गर्ने जनसेवा नै हो । तर राष्ट्रिय पार्टीले जनसेवा गर्नेभन्दा कार्यकर्ताको मात्रै काम गरेको छ । जसले मत हाल्यो, त्यतातिर मात्रै ध्यान गइरहेको छ । त्यस कारण म जस्ता स्वतन्त्र निस्किरहनुपर्छ । हामी २४ घण्टा खट्ने भएकाले जनताले जिताए । खासमा राजनीति पार्टीको उद्देश्य खराब होइन, उहाँहरू कार्यकर्ताको सङ्कुचित घेरामा परेर बिग्रिनु भयो ।

अब के–के गर्ने योजना छ ?

३० महिनाका लागि ३६ बुँदे कार्यक्रम छ । त्यसअन्तर्गत काम गर्छु । ३५ बुँदामा झर्दैन, बरु ३८, ३९ बुँदा पुग्न सक्छन् । रोगी, अशक्त दीर्घरोगी र ज्येष्ठ नागरिकको समस्या सुरुमा समाधान गर्छु । ज्येष्ठ नागरिक स्याहार र दीर्घ रोगीको उपचार पहिलो प्राथमिकतामा हुन्छ ।

उसो भए अब कुनै पार्टीमा जानुहुन्न ?
म रास्वपा र स्वतन्त्र नागरिक अभियानको सहयोगमा निर्वाचित भएकाले उहाँहरूको साथमा त रहन्छु । तर पार्टीमा प्रवेश गर्दिनँ । यो २ वर्षे कार्यकालमा रास्वपामा जान्न । तर उहाँहरूको शुभेक्छुक हो । भलो चिताउँछु । कसैलाई आँच आउने काम गर्दिनँ । म कुनै पार्टीमा जान्न ।

के भन्छिन् निशा डाँगी ?

ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता दुई वर्षअगाडि नै दिएको झापा निवासी रास्वपा सांसद निशा डाँगी बताउँछिन् । तर चुनाव चिह्न किन नदिएको भन्ने प्रश्नमा भन्छिन्, ‘उहाँले म स्वतन्त्र नै उठ्छु भन्नुभयो । स्वतन्त्र उठाउँदा त्यहाँका सबैको साथ पाउने भएपछि साझा उम्मेदवार बनाएका हौँ ।’

रास्वपा कनकाईका नेता शम्भु सुस्केरा पनि ओलीलाई रास्वपाले सबै कुरामा सघाएको बताउँछन् । ०७९ को निर्वाचनमा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका सुस्केराले खबरहबलाई भने, ‘रास्वपा जटिल मोडमा भएकाले उहाँलाई हाम्रो चुनाव चिह्न नलिनु भनेको हो । साझा उम्मेदवार बनाएर जिताएका हौँ । हामीले रास्वपाको झन्डा प्रयोग गरेनौँ ।’

वडाध्यक्ष ओली पनि रास्वपाको सदस्यता लिने प्रक्रिया चलेको स्वीकार्छन् । तर पैसा तिरेर क्युआर लिने बेला आफू बाहिर भएकाले अड्किएको दाबी गर्छन् । तर, रास्वपाको आफूलाई शुभेक्षा रहेकाले सल्लाहमै काम गर्ने बताउँछन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ४३ बजे

महोत्तरीमा ४५ हजार बढीलाई एचपीभी खोप दिइँदै

महोत्तरी– महोत्तरीमा करिब ४५ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध एचपीभी

क्यान्सर नियन्त्रणका लागि चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि

झापाका वृद्ध र महिलाको बदनाम हुने गरी सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही

काठमाडौं- झापाका एकजना वृद्ध र महिलाको व्यक्तिगत गोपनीयताको ख्याल नगरी

काठमाडौँ–तराई-मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको

चितवन अदालतले रविलाई हिरासतमा पठायो

काठमाडौं – सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति