सरकारमा लुटैलुट, पार्टीमा गुटैगुट | Khabarhub Khabarhub

सरकारमा लुटैलुट, पार्टीमा गुटैगुट



बलिउड कलाकार राजेश खन्ना एक लाख प्रतिस्पर्धीबाट छानिए। पाँच दशकअघि उनले बाँचेको त्यो युग देख्नेहरु अहिले मिथक मान्छन्। बलिउडका बादशाह सलमान खानका पिता सलिम खानलाई आफ्नो छोराको स्टारडमप्रति कतिको गर्व लाग्छ ? भनेर सोध्दा उनले भनेछन्- ‘छोड्दिनुस म राजेश खन्नाको चकचकी देखेको मानिसका अगाडि सलमानले कमाएको ख्यातीका विषयमा कुनै टिप्पणी गर्न चाहन्न।’ त्यसो भए राजेश खन्नाले कस्तो स्टारडम पाए ? केही उदाहरण यस्ता छन्।

– त्यो समयमा भारतका सैलुनहरुमा ‘राजेश खन्ना कट’ कपाल प्रख्यात थियो। अमिताभ बच्चन कट कपाल काट्दा पचास पैसा तिर्नुपर्थ्यो भने खन्ना कटको रेट ३ रुपियाँ ५० पैसा थियो।

– राजेश खन्नालाई ज्वरो आएको समाचार बाहिर आयो भने प्रशंसक उनको फोटो हातमा लिएर पानी छम्कदै पंखा हम्कन्थे।

– उनी सुटिङमा जाँदा पार्किङमा राखिएको सेतो कार फर्कंदा पुरै रातो भएको हुन्थ्यो। राजेश खन्नाले पाउने माया त्यो भाग्यमानी कारले यसरी पाउँथ्यो कि ठिटीहरुले लगाएको लिपस्टिकको डामले गाडीको रंग परिवर्तन हुन्थ्यो।

– एकपटक उनी पायल्सले सताइए। उपचारपछि आरामका लागि रिसोर्टमा बसे। राजेश रिसोर्ट पुग्नुअघि नै बाँकी कोठाहरु पुरै बुक भइसकेका थिए। बुक गर्ने अरु कोही नभएर सिनेमाका निर्माता, निर्देशक थिए। जो स्क्रिप्ट र सम्झौता पत्र बोकेर चाकरीमा हाजिर थिए।

 राजेश खन्ना सुटिङमा जाँदा पार्किङमा राखिएको सेतो कार फर्कंदा पुरै रातो भएको हुन्थ्यो। राजेश खन्नाले पाउने माया त्यो भाग्यमानी कारले यसरी पाउँथ्यो कि ठिटीहरुले लगाएको लिपस्टिकको डामले गाडीको रंग परिवर्तन हुन्थ्यो।

– राजेश खन्नाको सिनेमा हेर्न फिल्म हल जानु र डेटिङमा जानु महिला दर्शकका लागि एउटै मनोभाव थियो। पुरुष प्रशंसक हिरोले कुटाई खाएको दृश्य आएमा हल नै जलाएर या तोडफोड गरेर चरम आशक्तिको परिचय दिन्थे।

– उसबेलाका अभिनेत्रीलाई राजेश खन्नासँग सिनेमा खेल्न पाउनु भनेको उनले दिएको अनमोल ‘गिफ्ट’ हुन्थ्यो।

अभिनेता र नेताको आयु उस्तै हो। युग बोकेका यी नायकले केही वर्षअघि गुमनाम मृत्यु अँगाले। जीवनको उत्तराद्र्धमा एक्लो जीवन बाँचे। पत्नी र प्रेमिका त जोडे तर धर्मपत्नी जुरेनन्। उनले बाँचेको जीवन फगत सिनेमाको कहानी बन्यो। त्यो स्टारडममा ग्रहण लाग्नुको मूल कारण थियो- खराव व्यक्तिको संगत। मान्छे शिखरमा पुगेपछि जोगिनुपर्ने खराब संगतबाट हो। जब मानिसको कुर्कुचोले जमिन बिर्सन्छ, त्यसपछि उसको ओरालो यात्रा कसैले रोक्न सक्दैन। कसैको अनुपस्थितिमा राम्रो प्रशंसा हुनु नै उसको जीवनको कमाइ हो। यहुदी भएको अभियोगमा जर्मनीबाट आइन्स्टाइन खेदिएपछि त्यहाँका विद्वानले भनेका थिए- ‘जर्मनी आज युद्धमा हारेको छ।’

मान्छे शिखरमा पुगेपछि जोगिनुपर्ने खराब संगतबाट हो। जब मानिसको कुर्कुचोले जमिन बिर्सन्छ, त्यसपछि उसको ओरालो यात्रा कसैले रोक्न सक्दैन।

कोही टाकुरामा उभिएर ठुलो हुने होइन। मुख्य त उसले कस्तो प्रभाव छोड्छ भन्ने विषय प्रधान हुन्छ। वर्तमान विश्व राजनीति लोकतन्त्रका नाममा निरंकुशताको महाअभियानमा अघि बढेको छ। देशभन्दा व्यक्तिको महत्वाकांक्षा अग्रभागमा देखिएको छ।

विश्वका सर्वशक्तिमान देश अमेरिका, चीन, रुस, भारत, ब्राजिल मात्र हैन, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान जस्ता साना मुलुक व्यक्तिको छायामा परेका छन्।

डोनाल्ड ट्रम्प, सी जिनपिङ, भ्लादिमिर पुटिन र नरेन्द्र मोदी मेनियाको ग्रहणले भविष्य कता लाने हो, ठेगान छैन्। ‘म नै राज्य हुँ’ भन्ने लुइस सोह्रौं का अवतारहरु विश्व राजनीतिमा सलह बनेर उदाएका छन्। अहिले जस्तै विवेक कम, दम्भ बढीको आयतन बढ्दै गयो भने थुप्रै नेताहरु अभिनेता राजेश खन्नाको गन्तव्यमा पुग्ने निश्चित छ।

नेपालका नेता पुल्पुलिएका बच्चा जस्तै हुन् । चुुनौती उनीहरुको शब्दकोषमै छैन । किलोका किलो मालाको अभिनन्दन, चुनाव नामको एकदिने खान्तेपिन्ते फेस्टिबलबाट चुनिएका नेताका लागि राजनीति योग्यताबिनाको अनन्त जागिरे बुटी हो । यही अयोग्यताले देशको अवस्था धान कुट्ने मिलको फित्ताजस्तै सधैं एकै ठाउँ घुमिरहेको छ ।

तात्कालीन भारतीय प्रधानमन्त्री मनमोहनसिंह र अमेरिकी पूर्व राष्ट्रपति सिनियर बुसबीच जापानको एउटा कार्यक्रममा भेट भयो। सिनियर बुसले सोधे- ‘अमेरिकी राष्ट्रपति जुनियर बुस तपाईंलाई कस्तो लाग्छ ?’ मनमोहनले छोटो मीठो जवाफ दिए- ‘ठिकै लाग्छन्।’ बाउ बुसले थपे, ‘यदि उनीमा कुनै कमजोरी पाउनुभयो भने मैले दिएको संस्कार भनी नठान्नुहोला।’ नेताको व्यवहार त्यो देशको भविष्य हो। हैन भने आफ्नै शक्तिशाली छोरासँग बाउ किन सशंकित हुनुपर्थ्यो र ?

दक्षिण एशियाका नेपाल, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाको राजनीति सबै खालका निकृष्ट गतिविधिबाट निर्देशित देखिन्छन्। गुट, झुट, लुटको प्रभुत्व चिनीमा गुलियो टाँसिदाझैं अटल सत्य बनेका छन्। शास्त्र भन्छ- ‘क्रोधले बुद्धि, अहंकारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान, पापले मनुष्यता र अकर्मण्यताले भविष्य सिध्याउँछ।’ विश्वका सर्वशक्तिमान देश मात्र नभई हाम्रै देशका मुखियाको गतिविधि साँच्चै अशिष्ट, असभ्य लाग्छ।

दक्षिण एशियाका नेपाल, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाको राजनीति सबै खालका निकृष्ट गतिविधिबाट निर्देशित देखिन्छन्। गुट, झुट, लुटको प्रभुत्व चिनीमा गुलियो टाँसिदाझैं अटल सत्य बनेका छन्।

कम्बोडियामा चश्मा लगाएका मानिस बुद्धिजीवी हुन्छन् भनेर छानी छानी मान्छे मारिएको इतिहास छ। जातीय हेलाकै भरमा हिटलरले ६० लाख यहुदीलाई ग्यास चेम्बरमा हाले। ग्यालिलियो ग्यालीली पृथ्वी गोलो छ भनेर अडान नछोड्दा मारिनु प-यो। अरु त अरु नेपालकै कृषि प्राविधिक कृष्णलाल अधिकारीले मकैमा लाग्ने ‘राता टाउके’ खुम्लेका विषयमा लेखेकै निहुँमा राणाको अविवेकी बन्दुकले मानव चोला गुमाउनुप-यो।

सत्ता र शक्तिको उन्माद विचित्रको हुन्छ। अँध्यारो रोपेर उज्यालो खोज्नु उनीहरुको दैनिकी हो। यही कारण पवित्र राजनीतिलाई अपराधको बर्को ओढाएर तातो तावामा उफारेर भुंग्रोमा पार्ने खुरापाती खेल बनाइएको छ। सफल राजनीतिज्ञ कस्तो हुनुपर्छ ? नीति भन्छ- ‘राजरस महजस्तो गुलियो र स्वादिलो हुँदैन। जुन शासकले विषपान गरी अमृत ओकल्छ, त्यही शासकले राज्यको सञ्चालन राम्ररी गर्नसक्छ। राजनीति गर्नेले निद्रामा पनि बिउँझनु पर्छ। अस्वस्थ हुँदा पनि मस्तिष्कलाई चैतन्य बनाउनुपर्छ। गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन र रहस्य लुकाउने क्षमता सुरक्षित राख्न आवश्यक छ।’

नेपालका नेता पुल्पुलिएका बच्चाजस्तै हुन्। चुनौती उनीहरुको शब्दकोषमा छैन्। किलोका किलो मालाको अभिनन्दन, चुनाव नामको एकदिने खान्तेपिन्ते फेस्टिबलबाट चुनिएका यिनीहरुका लागि राजनीति योग्यताबिनाको अनन्त जागिरे बुटी हो। यही अयोग्यताको प्रदर्शनकै परिणाम देशको अवस्था धान कुट्ने मिलको फित्ताजस्तै सधैं एकै ठाउँ घुमिरहेको छ।

सत्ता र शक्तिको उन्माद विचित्रको हुन्छ। अँध्यारो रोपेर उज्यालो खोज्नु उनीहरुको दैनिकी हो। यही कारण पवित्र राजनीतिलाई अपराधको बर्को ओढाएर तातो तावामा उफारेर भुंग्रोमा पार्ने खुरापाती खेल बनाइएको छ।

नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाले आजभन्दा चार दशकअघि गरेको राजनीतिक प्रक्षेपण जस्ताको तस्तै अहिलेको अवस्थासँग मेल खान्छ। अदालतलाई दिएको बयानमा बीपी लोभ, लालच र त्रास नमानी तात्कालीन परिस्थितिको मूल्याङ्कन यसरी गर्छन्- ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? त्यहाँ कोही हिन्दुस्तानवादी छन्, कोही चीनवादी होलान, कोही अरुवादी। म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे ! भारतवादी खुशी छैनन रे ! एउटा चीनवादीले त मसित भने- भारतको विरोधमा बोल्छौ भने हामीहरु सहयोग गर्छौं। भारतको सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं। भारतको समर्थन गर्छौ भने हामी विरोध गर्छौं। अर्थात, उनीहरु म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन्। चीन भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन्। एउटा राजावादीले त केसम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी उ स्वदेश आउने कुराको समर्थन गर्छौं, होइन भने विरोध गर्छौं। मानौं, नेपाली अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन्।’ एमसीसी, बीआरआई, सीमा विवाद कहीँ न कहीँ चुचे ढुंगो, उही टुंगोमा मिसिन्छन्।

चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्- ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन्। जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ। कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ। तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन्।’

राजधानीको पानीले कसलाई कहाँ पु-यायो थाहा छैन। तर धरहराभन्दा अग्लो घर नबनेपछि त्यही धरहरा निर्विवाद अग्लो हुने रहेछ। तीन सय वर्षअघि काठमाडौंको मनोविज्ञानलाई अथ्र्याउँदै पृथ्वीनारायण शाहले त्यतिबेलै भनेका थिए- ‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ, षेलषाल मात्रै ठुलो रहेछ, कुपको पानी षान्याछेउ बुधि पनि हुदैन। सुरो पनि हुदैन। षेलखाल मात्र रहेछ। मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयल्लाई मात्रै जाला भन्या यस्तो अविलाष थियो।’

नेपालको विकास किन भएन ? धेरैका धेरै तर्क होलान। तर सत्य चाहिँ देशको चिन्ता गर्दागर्दै आफ्नो कर्तव्य बिर्सिनेहरुको लाभाले देश सुरुङतर्फ प्रवेश गरेको हो। आफूबाहेक सबैलाई फटाहामा करार गर्नेहरु जमिनमाथिको एक्लो पाहुना बन्ने रहर नेपालीजनका लागि महँगो प्रमाणित हुँदै गएको छ।

नेपालको विकास किन भएन ? धेरैका धेरै तर्क होलान। तर सत्य चाहिँ देशको चिन्ता गर्दागर्दै आफ्नो कर्तव्य बिर्सिनेहरुको लाभाले देश सुरुङतर्फ प्रवेश गरेको हो।

सालको पात बेरेर चिलिम तान्ने बुज्रुकदेखि भट्टी त के तारे होटलमा पेग लगाउनेको गफमा पनि तात्विक अन्तर पाइँदैन। अब त हुँदा हुँदा पढे लेखेका मान्छेलाई नागरिक शिक्षा दिनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ। देशप्रतिको दायित्वका विषयमा आँखा चिम्लेर चिन्तन गर्ने हो भने साइरन बजाएर दौडिरहने सुविधा प्राप्त मुलुकका शीर्ष नेताहरु र भेल्लु बाजेको बेटुंगे बोलीको योगदान समान देखिन्छ। उल्टो यात्राको यो भन्दा सकल प्रमाण अरु के हुनसक्छ ?

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ९ : १२ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको