रास्वपा महामन्त्रीसँग विशेष वार्ता : सहकारीको लफडादेखि मिसन ८४ सम्म | Khabarhub Khabarhub

रास्वपा महामन्त्रीसँग विशेष वार्ता : सहकारीको लफडादेखि मिसन ८४ सम्म

‘राजनीति भुमरी रहेछ, गोल गर्न खोज्दा खुट्टा तानिन्छ’



काठमाडौं- सभापति रवि लामिछानेका दाहिने हात मानिने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल राजनीतिमा आउनुपूर्व चिकित्सा पेशामा थिए ।

गैरराजनीतिक क्षेत्रबाट आएको व्यक्तिलाई राजनीतिको ‘हट सिट’ मा बस्दा कस्तो महसुस हुँदो रहेछ ? यो प्रश्नमा मुकुलले रोचक अनुभूति सुनाए । ‘राजनीति सजिलै रहेछ’ भन्दाभन्दै पनि उनले सोचेजस्तो नभएको स्वीकारे । गोलपोष्टमा गोल छिराउन गाह्रो हुने अनुभव उनले सुनाए ।

पछिल्लो समय वैकल्पिक राजनीतिको अगुवाइ गर्ने रास्वपाका सभापति रवि लामिछाने विभिन्न विवादमा मुछिँदै आएका छन् । मूलतः सहकारी प्रकरणमा उनको नाम जोडिएको छ । यसबारे पार्टीले के सोचिरहेको छ र के गरिरहेको छ भन्ने चासो आम जनमानसमा छ ।

गत मंसिरमा माइतीघरमा सहकारी पीडितले आन्दोलन गरेका थिए । लघुवित्त पीडितहरुको पनि आन्दोलन भएको थियो । तर, यसमा पीडितको पक्षमा पार्टी सभापति रविले सक्रिय भूमिका ननिभाएको महसुस जलेश्वर बैठकमा नै रास्वपाले गरेको रहेछ । र, त्यहीँबाट उसले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अध्ययन समिति बनाएको रहेछ । वाग्लेको समितिले अहिले प्रतिवेदन लेखिरहेको महामन्त्री ढकालले खबरहबलाई जानकारी दिए ।

पुराना दलका नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डमध्ये रास्वापाले कसलाई अलि निकट ठान्छ ? यो प्रश्नमा महामन्त्री ढकाल खुलेर प्रस्तुत भए । पार्टीका भावी योजना, महाधिवेशनको तयारी, सरकारमा सहभागी हुने/नहुने इत्यादि विषयमा खबरहबले महामन्त्री ढकालसँग लामो कुराकानी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय के गरिरहेको छ ?

हामीले संगठनको अधिवेशन शुरु गरेका छौं । महाधिवेशनको प्रक्रिया शुरु भएको छ । अहिले वडाहरुको अधिवेशनमा व्यस्त छौं । योसँगै कार्यदलहरु बनाउने र कुनै दिन सरकारमा गएको खण्डमा त्यसको भोलिपल्टदेखि के–के गर्न सकिन्छ भनेर नीति नियम र कार्ययोजना बनाउने काममा व्यस्त छौं ।

रास्वपा महाधिवेशनको तयारी कस्तो छ ?

वडाको अधिवेशन सकिएपछि पालिकाको हुन्छ । पालिकापछि जिल्ला र त्यसपछि प्रदेश अनि राष्ट्रिय महाधिवेशन हुन्छ । त्यसैले समय लाग्छ अझै । राष्ट्रिय रुपमा आउनका लागि अहिले हामी देशभरिका वडाहरुमा कसरी महाधिवेशन गराउने भन्ने कुरामा केन्द्रित छौँ । पार्टीको सम्पूर्ण नेतृत्व यसमै केन्द्रित छ ।

अहिले कतिवटा वडामा अघिवेशन सम्पन्न भयो ?

सुरुमा सातवटा वडामा सम्पन्न गर्‍यौँ । त्यसपछि अर्को हप्ता ३० र त्यसपछि ५१ वडामा गर्‍यौँ । यसरी नै अगाडि गइराखेका छौँ ।

हुन त यहाँहरुले जान्नेलाई छान्ने भन्नुभएको छ । जनताको गुनासो के छ भने तल्लो वर्गका मान्छेलाई रास्वपाले अवसर दिएन । रास्वपाले आर्थिक हैसियत बढी भएका र अलिकति उच्च ओहोदाका मान्छेलाई मात्रै पार्टीमा सामेल गर्न चाहान्छ भन्ने आरोप छ नि ?

पार्टीको महामन्त्री म आफैँ छु । पार्टीको कार्यालय छ । कुनै पनि व्यक्तिलाई आफू जान्ने छु तर आर्थिक हैसियत नभएकै कारणले आफूले अवसर नपाएको भन्ने लागेको छ भने मसँग आएर भेटनुहोस् । या मसँग कुनै पनि तरिकाले सम्पर्क गर्नुहोस् । या त पार्टीको कुनै नेतालाई सम्पर्क गर्नुहोस् । उपयुक्त जिम्मेवारी दिन तयार छौँ । अफवाहको भरमा किन लाग्नु ? आफैं आएर प्रयास गरे भयो त ।

हाम्रो पार्टीको जुनसुकै व्यक्तिलाई पनि कुनै पनि प्रकारले देश बनाउन र जनताको काम गर्न कुनै पनि प्रकारको जिम्मेवारी लिनु छ भने मलाई आएर भेटे भयो । पार्टी सभापतिलाई भेटे भयो । पार्टीका अन्य साथीहरुलाई पनि भेटे भयो । यदि भेट्न सकिँदैन भने पार्टीलाई एउटा पत्र लेखौँ । एक न एक दिन तपाईहरुलाई जवाफ आउँछ र जिम्मेवारी सतप्रतिशत दिन्छौँ । हल्लाको पछाडि लागेर काम छैन ।

पार्टीमा अहिलेसम्म कति सदस्य छन् ?

औपचारिकरुपमा पार्टीको एपमै गएर हामीसँग सम्पूर्ण विवरण बुझाएर भेरीफाई हुनुभएको ५० हजारको आसपास छ । पार्टीको कागजमा फारम भरेर सदस्य बन्छु भन्ने लगायत सबै गर्दाखेरि समग्रमा २ लाख ।

गठबन्धनसँग बहुमत छ । बहुमत भइसकेपछि गठबन्धनमा भएका दलहरुले सोच्नुपर्ने विषय हो, प्रतिपक्षी दलले यसमा सोच्न मिल्दैन ।

अब सरकारको कुरा गरौँ । तपाईहरु प्रतिपक्षमा हुनुहुन्छ । तर सरकारमा जान खोजिरहनुभएको सुनिन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि राष्ट्रियसभामा सत्तापक्षसँग भाग खोजिरहेको छ । तपाईहरु सरकारको विकल्प खोज्न लाग्नुहुन्न ? एमालेसँग मिलेर त्यो गर्न सम्भव छ कि छैन ?

हामीलाई सरकारमा जान ईच्छा छैन । अहिले हामी तयारीमा छौं । प्रतिपक्ष भनेको निश्चितरुपमा ‘वेटिङ गभर्मेन्ट’ हो । ‘वेटिङ गभर्मेन्ट’ भए पनि अहिले हामीलाई सरकारमा जान त्यस्तो कुनै हतार छैन । मूलतः हाम्रो ध्यान २०८४ पछि बन्ने सरकारमा छ । तैपनि कहिलेकाहीँ राजनीतिक परिस्थिति यताउति बदलिन सक्छ । त्यो स्थितिका लागि पनि तयार रहनुपर्छ । हामीलाई एउटा त्यो जिम्मेवारी रहन्छ । त्यही जिम्मेवारी अहिले हामीले पूरा गरिराखेको हो ।

तपाईहरु सरकारले काम गर्न सकेन भनिरहनुभएको छ, तर विकल्पचाहिँ सोच्नुपर्दैन ? गठबन्धन फुटाएर नयाँ विकल्प दिनेबारे किन नसोच्ने ?

हामी त्यस्तो गठबन्धन फोड्ने, फुटाउने अनि त्यसमा खेल्ने फोहोरी राजनीतिमा लाग्दैनौं । हामी जनताको म्यान्डेटका आधारमा, जनताले दिए अनुसार नै गर्नुपर्छ भन्नेमा छौं । कतै उहाँहरु आफैं मिल्नुभएन भने परिस्थितिमा फरक कुरा आउला । तर, हामी अरुलाई फुटाउने फोहोरी राजनीति गर्न चाहँदैनौं ।

विकल्प नदिने भए सरकारबाट काम भएन किन भनिरहनुभएको ?

काम नभएपछि भएन त भन्नैपर्‍यो नि । अर्कोचोटि जनताले भोट दिनेबेलामा कम्तीमा रास्वपालाई नै बहुमत दिनुहुन्छ कि भन्ने हामीले आश गरेका छौं । जनतालाई विकल्प चुनावमा दिने हो ।

२०८४ को चुनावसम्म यसरी नै जाने हो त ?

कसरी जाने त ? गठबन्धनसँग बहुमत छ । बहुमत भइसकेपछि गठबन्धनमा भएका दलहरुले सोच्नुपर्ने विषय हो, प्रतिपक्षी दलले यसमा सोच्न मिल्दैन । अहिलेसम्म त्यसरी सोचेका कारणले नै देशमा अस्थिरता आयो र राजनीतिक अस्थिरताका कारणले गर्दाखेरि धेरै कुराहरु बिग्रिए । त्यसकारण अहिलेको सरकारलाई निरन्तरता दिने या नदिने, यो गठबन्धनमा भएका दलहरुको निर्णय हो । हामी फुटाउनमा लाग्दैनौं ।

के भयो भने तपाईहरु सरकारमा जानुहुन्छ ?

हामीले अहिले सरकारमा जाने त्यस्तो तरिकाले सोचेको पनि छैन । विश्लेषण पनि गरेको छैन । तर, हामीले पाउने मन्त्रालयहरुमा एकाधिकारसहितका कुराहरु भए, बजेटदेखिका धेरै कुराहरुमा गठबन्धनसँग नजोडिकन हामीले हाम्रा मन्त्रीहरुको मात्रै परीक्षण गर्ने अवस्था बन्न सक्यो भने भन्ने कुरा हो । तर, अहिलेको अवस्थामा हामी सरकारमा जान चाहँदैनौं ।

रास्वपाले प्रधानमन्त्री पायो भने ?

प्रधानमन्त्री दिने भनेको सरकारमा जाने होइन, सरकार भएर जाने हो । तर, अहिले हामी प्रधानमन्त्रीको त्यस्तो कुनै पनि दौडमा छैनौं । अहिले हामी पार्टी निर्माणको दौडमा छौं ।

हामीले सरकारमा जानेबारेमा सोचेकै छैन । यदि हाम्रो कामका लागि हामीमात्र जवाफदेही हुने अवस्था आयो भने सोच्ने कुरा हो । तर, गठबन्धनको सरकारमा यस्तो हुने सम्भावना रहँदैन । त्यस्तो सम्भावना आयो भने हामी सोच्न सक्छौं, अहिले हामीले सोचेको छैन । त्यस्तो प्रस्ताव आएको छैन । हामी आफैंले सोच्दै प्रस्तावहरु लगेका पनि छैनौं । त्यसकारण सरकारमा जाने कुरामा ढोका अथवा झ्याल हामीले खुला गरेकै छैनौं ।

पुराना दलले रास्वपालाई अस्वीकार गरेजस्तो महसुस भएको छ कि छैन ? जस्तै– कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसमा तपाईहरुलाई बोलाएन…..

पुराना दलले नस्वीकारे केही फरक पर्दैन । हामीले पनि उहाँहरुलाई नस्वीकारेर नै नयाँ पार्टी जन्माएको हो । तर पनि हामी राजनीतिक इज्जत भनौं वा एउटै ठाउँमा आइसकेपछि जुन प्रतिष्ठा र राजनीतिक मर्यादा कायम गर्नुपर्छ, त्यो हामीले राख्दै आएका छौं । उहाँहरुले राख्नुभएन । उहाँहरुबाट त्यस्तो अपेक्षा पनि छैन । तर, हामी पनि उहाँहरुलाई स्वीकार्दैनौं । यसमा मैले धेरै टिप्पणी गर्न चाहिनँ ।

राष्ट्रिय सरोकारका विषयमा तपाईहरुबीच छलफल, भेटघाट हुनुपर्ने हो नि हैन ? तपाईहरुमा पनि अलिकति मै हुँ भन्ने घमण्ड पो बढ्यो कि ?
उहाँहरुको खाने, पिउने, भागवण्डा लगाउने यस्तै–यस्तै विषयमा मात्रै बैठक बस्छ । त्यसमा हामी सामेल नभएको वा अरुचि भएका कारणले गर्दाखेरि उहाँहरुले हामीलाई बोलाउनुहुन्न । हामीलाई जान पनि मन हुँदैन ।

वास्तविक रुपमा राष्ट्र, देश, जनता र विकासको सवालमा कुरा गर्ने हो भने त निश्चित रुपमा हामी जान्छौं । कतिपय सन्दर्भमा पार्टीले गरेको कार्यक्रममा उहाँहरुलाई बोलायौं पनि । संसदीय समितिको छलफलमा पनि हामी सहभागी हुँदै आएका छौं । तर, भागवण्डाको राजनीति गर्ने, जनता र देश नभएको बैठकमा हामी जाँदैनौं । हामीलाई बोलाउँदा पनि बोलाउँदैनन्, हामीलाई जान पनि मन छैन । ठिकै छ, किन जानुप¥यो र ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहिँ तपाईहरुलाई अलि माया गर्नुहुन्छ हैन ?

त्यस्तो अनुभूति हामीलाई छैन । शायद प्रतिपक्ष–प्रतिपक्ष भएका कारणले गर्दाखेरि तपाईलाई त्यस्तो अनुभूति भएको हुन सक्छ । तर, पुराना कुनै पनि दलसँग हाम्रो त्यस्तो कुनै प्रकारको निकट सम्बन्ध छैन । पुराना सबै दलहरुसँग चित्त नबुझेर हामी आएका हौं । सारा जीवन नै जेसुकै भए पनि अब यिनीहरुले गर्न सकेनन्, कसले गर्ने त भन्दा आफैं राजनीतिमा लागेर भए पनि हामीले नै गर्नुपर्छ भनेर हामी आएका हौं । त्यसैले पुरानासँग नजिकको सम्बन्ध छ र निकट हुन्छन् भन्ने प्रश्न हामीलाई गरिराख्न जरुरी छ जस्तो लाग्दैन ।

राप्रपा र रास्वपा मिले हुन्थ्यो भन्ने पनि एकथरिको भनाइ सुनिन्छ । यी दुईबीच केही छेऊछाउ मिल्छ ?

त्यस्तो छैन । त्यस्तो हुने भएको भए हामी नयाँ यात्रा सुरु नै गर्दैनथ्यौं । हामीले २०७९ साल असार ७ गते जुन नयाँ यात्रा सुरु गर्‍यौं, आफ्नै दलबाट निर्वाचनमा होमिने निर्णय गर्‍यौं । यो सबै निर्णयले राप्रपासँग मिल्ने या पुराना कुनै दलसँग मिल्ने, यी सबै च्याप्टरहरु त्यतिबेला नै बन्द गरिसकेको हो । हामी आफ्नै उद्देश्य बोकेर आफ्नै तालमा नेपाली जनता र नेपाललाई आफ्नो मुटुमा राखेर अगाडि बढिरहेका छौं ।

रास्वपाले आफ्नो दलमा राजनीतिक गुरुचाहिँ कसलाई मान्छ ?

नेपालमा ज–जसले राम्रो काम गर्नुभएको थियो, उहाँहरु सबैलाई मान्छौं । हामी पृथ्वीनारायण शाहलाई मान्छौं । वीपी कोइरालालाई मान्छौं । पुष्पलाल श्रेष्ठलाई मान्छौं । महेन्द्रनारायण निधीलाई पनि मान्छौं । नेपालको इतिहास र नेपाली राजनीतिमा केही न केही गरिदिनुभएको छ भने हामी मान्छौं । राजा महेन्द्रले पनि विकासको सन्दर्भमा भिजन देखाउनुभएको थियो, त्यसबाट पनि हामीले धेरै कुराहरु सिक्न सक्छौं । त्यसैले उहाँलाई पनि मान्छौं । तर, कतिपय कुरामा सबैबाट केही न केही बिर्सनुपर्ने कुराहरु पनि छन्, हामी ती पात्रहरुबाट ती कुराहरु सिक्न चाहँदैनौं । ती पात्रहरुबाट केही कुरा प्राप्त भएको छ भने पनि हामी बिर्सन चाहन्छौं ।

एमालेका मदन भण्डारीलाई नि ?

मदन भण्डारी पनि हाम्रो पार्टीले आदर्शका रुपमा ग्रहण गरेको नेता नै हो । हामी पुष्पलाल पनि मान्छौं । मदन भण्डारी, वीपी, गणेशमान पनि मान्छौं । हाम्रो दुश्मन भनेको कांग्रेस, एमाले वा माओवादी दलविशेष होइन । त्यसमा जुन एउटै व्यक्तिको निरन्तरता भयो, त्यो प्रवृत्तिको विरुद्ध हो हामी । हामी सबै पात्रहरुले गरेको योगदानको विरुद्धमा होइन ।

वास्तवमा उहाँहरुको नेतृत्वमा हामी कुनै न कुनै रुपमा सहमाहित त थियौं नि त । तर, त्यो नेतृत्व आज वीपी कोइरालादेखिको कांग्रेस, कांग्रेस छैन । आज पुष्पलाल र मदन भण्डारीले देखेका कम्युनिष्ट पार्टी माओवादी र एमाले दुईवटै होइनन् । यी छुट्टै भइसके । आज मदन भण्डारी र पुष्पलाललाई बेचेर खाएका मात्रै हुन् । वीपी र गणेशमानलाई बेचेर खाएका मात्रै हुन् ।

त्यसकारण ती आदर्शवान व्यक्तिहरुलाई हामी मान्छौं, तर अहिलेका नेताहरुलाई मान्दैनौं । उहाँहरुलाई हटाएपछि र हामी स्थापित भएपछि यो देश बन्छ भन्ने कुरामा हामी विश्वास गर्छौं ।

शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल वा झलनाथ खनालमध्ये रास्वपाले उनीबाट अलिकति सिक्नुपर्छ भनेर नाम लिने खालका नेता को हुन् ?

छैनन् । सिक्नका लागि त कुनै पनि व्यक्तिबाट धेरै कुरा सिक्न सकिन्छ । तर, त्यो भन्दा पनि हामी मदन भण्डारी, वीपी, गणेशमान, पृथ्वीनारायण र राजा महेन्द्रबाट सिक्न चाहन्छौं । बरु गौतम बुद्धबाट सिक्न चाहन्छौं । तर, उहाँहरुबाट हामीलाई सिक्न मन छैन ।

मिलेर जानुपर्ने त फेरि यिनै दलसँग हो, किन यसरी आश मार्नुभएको ?

बाध्यताले मिल्नुपर्‍यो भने फरक अवस्था हो । तर, मिलेर जान मन छैन ।

नेपालमा जुनखालको निर्वाचन प्रणाली छ, २०८४ को चुनावमा पनि गठबन्धन सरकार बनाउनुपर्ने अहिलेकै जस्तो परिणाम आउँछ भन्ने विश्लेषकहरुले आकलन गरिराखेका छन्, त्यसबेला फेरि यिनैसँग मिल्नुपर्ला नि ?

अहिले नै २०८४ सालमा के हुन्छ, कसो हुन्छ भनेर आकलन वा अनुमान गर्ने बेला भइसकेको छैन । हामी भन्दैछौं, ०८४ मा हाम्रो बहुमत आउँछ । हामीलाई त्यस्तो लाग्छ । हामी त्यहीअनुसार काम पनि गरिरहेका छौं । पार्टी संगठनलाई त्यहीअनुसार निर्माण गरिरहेका छौं । पार्टीका एजेण्डा, पार्टीका नीति कार्यक्रम अहिलेदेखि नै तय गर्न सुरु गरेका छौं । र, ०८४ मा सम्भवतः हाम्रो एकमना सरकार बन्छ । अघि नै भनिसकें, बाध्यतामा कोहीसँग सरकार बनाउनुपर्ने अवस्थामा मिल्नु फरक कुरा भयो तर पुराना पार्टीसँग हामीलाई मिल्न मन छैन ।

तर, ०८४ मा जनताले तपाईहरुलाई पत्याउलान् त ? सरकारमा जानुभयो । गृहमन्त्री खानुभयो…..

जनताले सबै कुरा बुझ्नुभएको छ जस्तो लाग्छ । किनभने, सरकारमा नगइकन डेलिभरी गर्न मिल्दैनथ्यो । त्यसकारण हामीले कतै न कतै एउटा स्पेसमा एकाधिकार राखेर काम गर्न सकिन्छ कि भन्ने हिसाबले सम्झौता गरेर गएका थियौं । पछि उहाँहरु त्यो सम्झौताबाट हट्नुभयो र हाम्रा कामहरुमा हस्तक्षेप गर्न थाल्नुभयो । यावत कारणले गर्दा हामीलाई सरकारमा बसिरहन उपयुक्त लागेन । अहिले पनि र पछि पनि कुनै प्रकारको मिलन बाध्यता हुन्छन्, मन लागेर हुँदैन ।

तपाई स्वीकार्नोस् या नस्वीकार्नोस् रास्पवालाई पछिल्लो समय दाग लागेको छ । सहकारीको विषयमा जुन किसिमले सभापति रवि लामिछाने विवादमा पर्नुभयो, त्यसयता तपाईहरुको पार्टीको बैठक बसेको छैन । रास्वपा सुनसानजस्तो देखिएको छ र यसलाई ढाकछोप गर्ने प्रयास भइरहेको छ भनेर सहकारी पीडितले गुनासो गर्न थालेका छन् । जनताले गाँस काटेर सहकारीमा बचत गरेको पैसासँग जोडिएको यो एकदमै गम्भीर विषय होइन र ? यसबारे रास्वपाको आधिकारिक धारणा नै सार्वजनिक भएको छैन, किन ?

हैन, मंसिर ११, १२ र १३ गतेको जलेश्वर बैठकमा हामीले डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको अर्थनीति विभागलाई सहकारी, लघुवित्त, वीमा र बैंकमा चर्को ब्याजको जुन समस्या छ, त्यसबारे अध्ययन गरेर पार्टीलाई राय सुझाव पेश गर्न जिम्मेवारी दिइसकेका छौं । तर, जलेश्वर बैठकमा सभापतिले पेश गरेको प्रतिवेदन लगायत अन्य निर्णयले यो निर्णयलाई छायामा पार्‍यो । तर, हामीले जलेश्वर बैठकमै त्यो निर्णय गरिसकेका थियौं ।

अहिले उपसभापतिको नेतृत्वमा रहेको पार्टीको अर्थ समिति विभागले यसको बारेमा अध्ययन गरिरहेको छ । छिटै नै उहाँले आफ्नो अध्ययन पार्टीलाई बुझाउनुहुन्छ र पार्टीले एउटा उपयुक्त निर्णय गर्छ ।

तर, सहकारीमा सभापतिको सेयर देखियो भन्ने आरोप छ । सभापतिले जीबी राईजस्तो मान्छेसँग नै किन संगत गर्नुपर्‍या हो ? संगत त देखियो नै । त्यस्तो बाध्यता के आइलाग्यो ?

संगत भन्ने कुरा कसले कहाँनेर गरेको छ र अगाडिको पात्र हेर्नेवित्तिकै खराब हो भनेर थाहा पाउने विधि छैन । आफूले संगत गरेका कुनै पनि व्यक्ति खराब निस्कन सक्छन् । तर, आफैंले चाहिँ खराब काम गरेको छ वा छैन भन्ने मुख्य कुरा हो । सभापतिले कुनै पनि खराब काम गर्नुभएको छैन । उहाँसँग जोडिएको व्यक्ति वा उहाँले कुनैबेलामा संगत गरेको व्यक्तिले खराब गरे भनेर आएको छ । र, त्यो खराब गरेको व्यक्तिलाई पक्राउ पूर्जी जारी भएको छ । सरकारले समाउनुपर्ने हो ।

सरकारले त्यो व्यक्तिलाई नसमाएर रवि लामिछानेले चाहिँ गल्ती गर्‍यो वा रास्वपाले गल्ती गर्‍यो भनेर उल्टो कुरा गरिराखेको छ । पहिला सुरुमा सरकारले समाउनुपर्‍यो नि त जीबी राईलाई । सरकार आफू नसमाउने, अनि कुनै बेलामा संगत गरेको थियो भन्ने आधारमा सभापति खराब हुने भन्ने कुरा त मिलेन नि । जस्तो– तपाईको बच्चाको कुनै साथी ‘ड्रग्स एडिक्ट’ हुन पुग्ला, अनि तपाईको बच्चा पनि खराब भयो भन्न त मिलेन नि ।

संगतबाट जोगिनुपर्छ तर जोगिनुपर्छ भन्दाभन्दै पनि आफूले चिनेको वा संगत गरेको मान्छे कहिलेकाहीँ खराब निस्कन सक्छ । को व्यक्ति खराब र को व्यक्ति असल भनेर यसो आँखाले हेरेर, स्क्यान गरेर वा कुरा गरेर थाहा पाउने त्यस्तो कुनै विधि छैन ।

सहकारी भनेको सहकार्य गर्ने हो, कुनै वित्तीय संस्था होइन । तर नेपालमा सहकारीलाई वित्तीय संस्थाका रुपमा हेरिन्छ । आम कतिपय जनतालाई त सहकारीको परिभाषा पनि थाहा छैन ।

तपाईँहरू आफैं जान्नेलाई छान्ने भन्नुहुन्छ । तर, सभापतिले सहकारीको नीति थाहा छैन भन्नुभयो । त्यो केटाकेटीपन जस्तो देखियो, पूर्वगृहमन्त्रीले यस्तो भन्नु कत्तिको जायज हो ?

एउटा मन्त्रीले वा सांसदले सबै कुरा जानेको हुनुपर्छ भनेर एउटा भाष्य निर्माण गरेका छन् । तर, थाहा नभएको कुरामा त छैन भन्नुपर्‍यो नि । एउटा ब्यक्तिलाई सबै कुरा थाहा हुँदैन । भगवान बनाउनु खोजेको क्यारेक्टर हो कि के हो ? एउटै मान्छेलाई सबै कुरा थाहा हुनुपर्छ भन्ने जुन मान्यता छ, त्यो गलत छ ।

नेपालमा २ देखि ३ हजार कानुन छन् । संविधानका धाराहरु पनि धेरै छन् । सबै व्यक्तिलाई सबै कानुन थाहा छैन । नेपालको प्रधानन्यायाधीशलाई पनि सबै कानून थाहा छैन, किताब पल्टाएर हेर्ने नै हो उहाँले । सभापतिलाई नागरिकताका बारेमा आरोप लाग्यो, नागरिकता पुनःप्राप्तिबारे थाहा थिएन भनेर । यदि सम्मानित अदालतलाई थाहा थियो भने किन एकै दिनमा निर्णय नगरेको त ? किन अन्तरिम आदेश गर्नेबेलामा शपथ खान दिएको ? किन निर्वाचन आयोगले निर्वाचनमा जान दियो ? निर्वाचन आयोगलाई थाहा नहँुदा हुने, त्यही सर्वाेच्च अदालतको पहिलो बेन्चलाई थाहा नहुँदा हुने, न्यायाधीशहरु पनि धेरै समयसम्म बुझेर, छलफल गरेर यो गल्ती रहेछ भन्ने उहाँहरुले निर्णय गर्नु भयो । रवि लामिछानेलाई चाँहि थाहा हुनुपर्ने, यो कस्तोखालको भाष्य सिर्जना गर्न खोजिँदै छ ?

सहकारीबाट ऋण लिएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने कुरा त कमन सेन्स कुरा हो नि हैन र ?

सहकारी भनेको सहकार्य गर्ने हो, कुनै वित्तीय संस्था होइन । तर नेपालमा सहकारीलाई वित्तीय संस्थाका रुपमा हेरिन्छ । आम कतिपय जनतालाई त सहकारीको परिभाषा पनि थाहा छैन । नेपालमा विज्ञ भनिएका विज्ञ र पत्रकार भनिएका पत्रकारलाई पनि वास्तवमा सहकारी भनेको के हो भन्ने कुरा थाहा छैन । आजको दिनमा सरकारीले यस्तो गर्न पाइँदैन भनिरहँदा त्यत्रो पत्रकारहरुले हिजोसम्म किन भनेनन् ? कोटेश्वरदखि बानेश्वरतिर जाँदै गर्दा पनि यहाँनेर ऋण पाइन्छ भनेर लेख्दा कुन पत्रकारले बोल्यो ? कुन मिडियाले लेख्यो त ।

आज यो सामान्य कुरा हो भनेर सरलीकरण गर्न खोजिँदै छ । वास्तवमा आम जनतालाई थाहै छैन यो कुरा । त्यसैले कानूनका कुरालाई लुकाएर जतिबेला आफूलाई चाहिन्छ, त्यति बेलामात्र फ्याट्ट भन्ने ? सबैलाई कानुन थाहा हुनुपर्छ भनिरहँदा यो कानुन नेपालमा कहाँबाट बन्ने, कसरी थाहा पाउने त ? कानुन राजपत्रमा प्रकाशित हुन्छ रे, राजपत्र पढ्नका लागि पैसा चाहिन्छ । म एक हप्ता, एक वर्ष लगाएर कानुन पढ्छु । तर, त्यो कसरी पढने भनेर भन्नुपर्याे । ७६१ वटाले कानुन बनाउँछन् । सरकारले ७६१ वटा राजपत्र प्रकाशित गर्छ । कसरी सबै कानुन थाहा पाउने ?

मान्छेहरुले अहिले खुच्चिङ पल्टियो भनेर पनि हेरिरहेका छन् ।

उसोभए, सांसद, मन्त्री भइसकेको मान्छेले कतिसम्म कानुन थाहा पाउनुपर्छ ?

नीतिगत हिसाबले नैतिकता कानूनहरु वास्तवमा प्राकृतिक न्यायको सिद्धान्त वा सामान्य सिद्धान्तका आधारमा हुनु पर्छ । जस्तो ः कुनै कुरा वास्तविकरुपमा सधैं मैले गल्ती गर्दा अर्काे व्यक्तिलाई प्रत्यक्ष हानी गर्छ भन्ने कुरा थाहा पाउनु पर्छ । मान्छे मार्नुहुँदैन गलत काम गर्नु हुँदैन भन्ने थाहा पाउनुपर्छ । तर, प्राविधिक विषयको कानुन सबैलाई थाहा नहुन सक्छ । हिजोको दिनमा कानुन बनाउँदा गल्ती गरेका छन् । टेक्निकल कुरा थाहा छैन भने जरिवाना गरेर कारबाही गर्ने हो । तर, नेपालमा थुन्नेदेखि लिएर अनेक जरिवाना गरिएको छ ।

सर्वाेच्च अदालतलाई दोषी भनेको हैन, अदालतले जे कानुन छ, त्यसका आधारमा व्याख्या गर्छ र फैसला पनि गर्छ । तर, हुनुपर्ने भनेको रबिको नागरिकताको सन्दर्भमा पनि पुनः चुनाव गराउने हैन, त्यतिबेला केही पैसा जरिवाना गराउने । जस्तो– कोही मान्छे सवारीमा हिँड्यो र काँही लेन क्रस गर्‍यो भने दण्ड जरीवाना गर्ने हो, जेल हाल्ने गरी कानुन ल्याउने होइन । त्यस्तै प्राविधिक विषयमा पनि केही मिलेन भने जरिवानामात्र गराएर हेर्नुपर्ने हो ।

सहकारीको विषयको कानुन सहकारी सञ्चालकले थाहा पाउने हो । जस्तो, मैले ईच्छा लाग्यो भने राष्ट्र बैंकसँग गएर एक रोड रुपैयाँ देउ भनेर भन्न पाउँछु । त्यो हाम्रो अधिकार हो । त्यसमा राष्ट्र बैंकले दिनु कानूनी हो वा गैरकानूनी हो भनेर हेर्नुपर्छ । रविले यसमा ऋण माग्नुभएको होइन । उहाँका नाममा कसैले फर्जी कागज बनाएर पैसा यताउता गरेको हुन सक्छ । त्यसैले उहाँलाई थाहा नै नभई उहाँको नाममा त्यस्तो गरिएको रहेछ ।

मान्छेहरुले अहिले खुच्चिङ पल्टियो भनेर पनि हेरिरहेका छन् । तर, उनीहरुका नाममा कसैले पैसा यताउति गरेको वा अपराधिक कृयाकलाप गरेको हुन सक्छ । यो देशमा यस्तो कानुन बनाउनु भएन कि मेरो नम्बरमा कसैले फोन गर्दा सोधपुछ गर्नुपर्छ, तर मलाई कारबाही गरेर त भएन नि । दोषी त अर्काे ब्यक्ति हो नि । अर्काे व्यक्तिलाई कारवाही गर्नुपर्याे ।

सभापतिलाई लागेको सबै आरोप झुठो हो त ? उहाँले सहकारीबाट ऋण नै लिनुभएको छैन त ?

छैन । उहाँका नाममा कसैले । उहाँको नागरिकता त जीबी राईसँग थियो । त्यसैले जीबी राईले त्यसको दुरुपयोग गरेर उहाँको नाममा आफै पैसा निकालेर ग्यालेक्सीमा हालिदिएको हुन सक्छ । त्यतिबेला त्यो कुरा उहाँलाई थाहा भएन । त्यसैले यो सबै झुठो भएको छ । सम्बन्धित पात्रहरु पक्राउ परिसकेपछि नेपाल सरकारले अनुसन्धान गर्दा यसमा थप कुरा निस्किन्छ । ती पात्रहरुले पनि केही बोल्लान् । त्यसमा रवि लामिछानेका हस्ताक्षरका कुरा होलान् निवेदन दिएको कुरा होला । यो सबैको प्रमाण त आउला । अहिले कतै पनि केहीमा उहाँको पैसा लिएको देखिएको छैन । उहाँको खातामा पनि पैसा छैन।

नेपालमा एउटा व्यक्तिका नामबाट नागरिकताबाट यस्तो किर्ते काम हुन्छ भन्ने हामी सबैलाई थाहा छ र यसलाई हामी सबैले डिजिटलमा लग्दै सुधार्दै जानुपर्छ । किर्ते काम गर्नेहरुलाई कारबाही गर्नुपर्छ । यो काम सरकारको हो । तर, सरकार अहिले कारबाही नगरी रवि लामिछानेलाई दोषी मानेर हिँडिरहेको छ ।

जीबी राईलाई पक्राउ गर्नुपर्छ भन्ने तपाईहरुको माग हो ?

हो । दोषीलाई तत्काल पक्राउ पर्नुपर्‍यो ।

सहकारी पीडितलाई चाहिँ के भन्नुहुन्छ ?

हामी सबैले सहकारीको मूल्य मान्यताभन्दा विपरीत गएर नेपालमा सहकारीका गतिविधिहरु सञ्चालनमा आए । त्यसकारण कुनै दिन यो अवस्था आउन सक्ने सम्भावना नै थियो । त्यही भएर अब राज्यले हामी केही कुराहरुमा ठोस कदम चाल्नु पर्छ ।

रास्वपा सहकारी पीडितहरुको पक्षमा छ भन्ने कुराको अवधारणापत्र पनि हामीले ल्याउँदैछौँ । सधैँ रास्वपा सहकारीको पक्षमा छ र सहकारीबाट पीडित भएका सबै नागरिकले न्याय पाउनुपर्छ । जुन उहाँहरुको पैसा डुबेको छ, त्यसलाई निकाल्नका लागि सरकारले आफ्नो हिसाबले अध्ययन गरेर विज्ञहरु राखेर गोलमेच सम्मेलन गरेर भए पनि यसको निकास दिनु पर्छ ।

वित्तीय क्षेत्रको विवादमा मुछिएपछि नेताहरुलाई बाहिर निस्किन गाह्रो हुन्छ । जस्तो – खुमबहादुर खड्का, जेपी गुप्ता, गोविन्दराज जोशीलाई हामी हेर्न सक्छौं । यसलाई कसरी आकलन गर्नुभएको छ ?

हामीलाई कुनै न कुनैरुपमा पछिल्लो पटक अहिलेको घटना भन्दा पनि अघिल्लो मंसिरताका काठमाडौंमा जुन प्रदर्शन भयो, त्यसमा सहाकारी पीडित र लघुवित्त पीडितहरु जसरी आउनुभयो, त्यसले थप संवेदनशील बनायो । त्यसैले जलेश्वर बैठकमा हामीले एउटा निर्णय पनि गरेका छौँ ।

रास्वपाका सभापति सधैं पीडितहरुको आवाज बन्दै आउनुभएको थियो र अबको दिनमा पनि पीडितको आवाजलाई बोल्नुपर्ने जिम्मेवारीबाट हामी कतै चुक्न पुगेका थियौँ कि भन्ने मंसिर ७ को प्रदर्शनबाट अनुभूति भएको थियो । त्यसलाई जाँच गर्ने र आफूलाई सुधारेर पीडितको आवाज बोल्ने मौका जनताले हामीलाई दिनुभएको छ ।

रविको विषयमा आएको पछिल्लो सहकारी प्रकरणले पार्टीमा कस्तो तरंग ल्याएको छ ? नेताहरु बीचमा पक्ष–विपक्ष देखिएका कुराहरु पनि आइरहेका छन् नि ?

सहकारीको सवाल र सभापतिको सवालमा हामीले राखेको पार्टीको दृष्टिकोण सबै काण्डमा उस्तै छ । अरुलाई रास्वपा फुटोस् भन्ने लागेका कारणले यस्तो हल्ला फैल्याइएको छ । हामी एक ढिक्का छौँ । हाम्रो ध्यान जनताका पीडा, समस्या बुझ्नेमा नै केन्द्रित गरेका छौँ ।

सभापतिको यत्रो कुरा बाहिर आउदा पार्टी बोल्नुपर्ने होइन ?

हामी बोलेका छौँ । विज्ञप्ति निकालेका छौँ । पक्ष र विपक्षमा अरु विषयमा छलफल हुँदा पार्टी फुट्न लाग्यो भनेर भनिदिने हुन्छ । पक्ष र विपक्षमा छलफल भएन भने सर्वेसर्वा भयो भन्ने हुन्छ । यो गधाको कथा जस्तै हुन्छ । टिप्पणी गर्न पाइन्छ ।

पार्टीका सम्पूर्ण नेताले सभापतिका बारेमा सामाजिक सञ्जालमा लेखेका छौँ । सभापतिको समर्थनमा केही लेखेका छौँ । मिडियाले त्यही कुरालाई लेखेन भने आम जनतालाई हामी सम्बन्धित नेताका फेसबुकहरु हेर्नुहोला, भिडियोहरु कतै छ भने हेरिदिनु होला, पार्टीको पेज हेरिदिनुहोला भन्न चाहान्छु ।

हामीलाई हाम्रो सभापतिप्रति पूर्ण विश्वास छ । किनभने, सभापतिले राजनीतिमा लागिसकेपछि सबै कुरा छोडेर, मैले पनि चिकित्सा क्षेत्र छोडेर, सबैले आफ्नो सबै कुरा छोडेर राजनीतिमा लागेका हौं । यो भनेको सभापतिको विश्वास हो । आज यो विश्वास कसैले खोयाकाण्ड मच्चाउने बित्तिकै हल्लिँदैन । जोप्रति विश्वास राखेर, जसको नेतृत्वमा हिँडेका छौँ, यति कुराले विश्वास ढल्मलिँदैन ।

खोयाको रहस्य के हो ?

योजना हो । त्यो त देखियो । पुष्टि भयो नि । केही सञ्चार माध्यमले खोया हान्ने वित्तिकै यति छिटो समाचार कसरी लेखे ? हान्नु भन्दा अगाडि नै लेखे कि क्या हो भन्ने चर्चा भएपछि यो खोया बारेमा त्यति चर्चा गर्नुपर्दैन । यो त खुलमखुला देखिइसकेको छ ।

हिजो मात्र रवि लामिछानेलाई खोया प्रहार नभएको भन्ने नेपाल प्रहरीले पुष्टि गर्‍यो । त्यो भएपछि अब केही भन्नुपर्ने जरुरी छ जस्तो मलाई लाग्दैन ।

राजनीति सोचेजस्तै सजिलो रहेछ ? कस्तो अनुभव गरिरहनुभएको छ ।

राजनीतिमा आउनुभन्दा अगाडि राजनीतिका बारेमा जे सोचेका थियौँ, त्यो कतिपय कुरामा त्यस्तै पनि छ, कतिपय कुरामा भिन्न । तर, एउटा कुरा चाहिँ हामीलाई धेरै ठाउँबाट सहयोग गर्ने, प्रेरणा दिने भइरहेको छ । किनभने हामी त आशाको दियो हो नि त । यो आशाको दियोलाई जनताले धपक्क बालिदिन्छन् कि भन्ने थियो, त्यो चाहिँ अलिकति नसोचेको भयो । अरु कुरा त हामीले गाह्र्रो भन्दा गाह्रो परिस्थिति आउन सक्छ भन्ने हामीले परिकल्पना गरेका नै थियौँ । र, जस्तोसुकै परिस्थितिसँग जुध्नका लागि हामी तयार पनि छौँ ।

सोचेभन्दा गाह्रो या सोचेभन्दा सजिलो भन्दा पनि मलाई चाहिँ वास्तवमा सोचेभन्दा सजिलो रहेछ । तर, कुरा के हो भने यो अफवाहले काम गर्ने मान्छे र काम नगर्ने मान्छेमा फरक छुट्याउनेका लागि काम गर्ने मान्छे अगाडि बढ्नुपर्छ भन्ने कुरा हो ।

अब कसले काम गरेको छ र कसले गरेको छैन भन्ने ? यो अन्तिममा गुदी र बोक्रा छुट्याउनुपर्ने कुरा चाहिँ जनताको हातमा हुनेरहेछ । त्यो निर्णय जनताले गर्नका लागि समाजको चेतना बढ्नुपर्ने रहेछ । त्यो चेतना बढ्नका लागि एउटा यस्तो भुमरी छ, समाज जस्तो छ, राजनीति त्यसरी नै अगाडि बढ्छ । भनेपछि, एउटा घुमाउरो छ, यो भुमरीलाई तोड्नुपर्छ । सजिलो त सजिलै छ फ्याट्ट बुझेर भोट हालिदिए सजिलै छ ।

काम गर्न सजिलै छ तर जनताले नबुझिदिए त्यस्तै तरिकाको नेताहरु आइदिन सक्छन् । भोलि हाम्रो पार्टीमा पनि आइदिन सक्छन् । फेरि जनतालाई बुझाउने भनेको सुझबुझ भएको नेतृत्वले हो ।

समाज पहिले बन्ने कि नेतृत्व भन्ने चुनौति छ । यो चुनौतिलाई झेल्न सकियो भने सजिलो हुन्छ । तर यो फुटबल खेलजस्तो विपक्षी नै छैन, आफ्नैले यसले गोल हान्यो भने जित्छ भने जस्ता एकले अर्कोको खुट्टा तान्ने हुँदा गोल पोष्ट गर्न गाह्रो छ ।

०८४ मा गोल पोष्ट गर्छ रास्वापाले ?

हामी हान्छौँ गोल । हामीमा त्यो कन्फिडेन्ट छ । ०८४ पछि हामी यो देशको ठूलो दल हुन्छौँ । ०८४ पछि ठूलो दल बन्न सकेनौँ भने हामीले सकेनौँ भन्ने छौँ । हामीले मिहेनत गर्नुपर्छ, फलको आश गर्ने हैन । हाम्रो हिँड्ने बाटो भनेको ०८४ मा बहुमत ल्याउने बाटो हो । परिणाम ईश्वरको हातमा छ ।

तस्बिर/भिडियो  – किशोर श्रेष्ठ/खबरहब

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १० : ०४ बजे

सुनको मूल्य स्थिर, चाँदीमा बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

बालबालिकालाई श्रम लगाउने उद्योग प्रतिष्ठान कारबाहीमा

बागमती– बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा

साँफे–मार्तडी सडक अवरुद्ध

अछाम– पहिरोले सडक पुर्दा अछामको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।

राहुल गान्धीले छोडेको वायनाडबाट प्रियंका चुनाव लड्ने

काठमाडौं–  भारतीय नेशनल कांग्रेसकाका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट

मध्यपहाडी लोकमार्ग : समयअगावै पुल निर्माण

खोटाङ– दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल