पर्वतको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव | Khabarhub Khabarhub

पर्वतको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ ।

‘प्रकृतिका साथीहरू र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा उक्त उत्सव आयोजना गरिएको हो ।

ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए ।

‘अवैध व्यापार र चोरी शिकारका कारण सङ्कटापन्न अवस्थामा रहेको लाटोकोसेरो संरक्षणको सन्देश प्रवाह गराउने उद्देश्यले यसअघि नेपालका दश ठाउँमा उत्सव गरिसकेका छौँ’, उनले भने, ‘लाटोकोसेरोलगायत पन्छी र वन्यजन्तुसँगै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा जोड दिएका छौँ ।’

ठूला र बूढा रूख कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव भएको छ । आधुनिक घर बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपीमा बस्ने र सन्तान उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको अभाव भएको छ ।

सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो लोप हुने अवस्थामा पुगेको संरक्षणविद् डा. हुम गुरुङले बताए ।

‘नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन्’, उनले भने, ‘तीमध्ये नौ प्रजाति राष्ट्रियरूपमा सङ्कटापन्न अवस्थामा रहेको अध्ययनले देखाएको छ ।’

लाटोकोसेरोले मुसा खाएर किसानको बालीनाली जोगाउन भूमिका खेल्छ । यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । यसका साथै अन्य हानिकारक कीरा, फट्याङ्ग्रा, सर्प, छेपारोलगायत जीवलाई आहारा बनाएर लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्यचक्रलाई गतिशील बनाउन भूमिका खेलेको छ ।

लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि समुदाय र सरोकारवाला निकायलाई सुसूचित र संरक्षणमा लाग्न प्रेरणा दिन प्रत्येक वर्ष फरक फरक जिल्लामा लाटोकोसेरो उत्सव गरिँदै आएको छ ।

हालसम्म धादिङ, चितवन, नवलपरासी, गोरखा, कपिलवस्तु, दोलखा, कास्की, खोटाङ, स्याङ्जा र कैलालीमा संरक्षण उत्सव गरिएको छ ।

लाटोकोसेरो संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागले दश वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना (सन् २०२०–२०२९) लागू गरेको छ । यस योजनाले लाटोकोसेरो संरक्षण र चोरी सिकार नियन्त्रण हुने विश्वास गरिएको छ ।

उत्सवले समुदाय स्तरमा लाटोकोसेरोको महत्व बुझाउन र समुदायलाई संरक्षणमा अग्रसर बनाउन मद्दत पुगेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । महँगोमा बिक्री हुन्छ भन्ने भ्रममा परेर लाटोकोसेरो मार्ने तथा बेच्ने गरेकाले यसको सङ्ख्या घटेको छ ।

उत्सवले लाटोकोसेरालगायत पन्छी संरक्षणको सन्देश प्रवाहका साथै फलामेडाडा र जलजलाको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनको भनाइ छ ।

चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेल तथा सांस्कृतिक गीत तथा नाचको प्रदर्शनी गरिएको छ । स्थानीय विद्यालयको नाच, पञ्चेबाजा, पुख्र्यौली नाच, थिएटर नाच, यानीमाया, सालैजो, लोपोन्मुख स्थानीय खेल ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने उत्सवका थप आकर्षण रहेको मूल आयोजक समितिको प्रचारप्रसार संयोजक पुर्ख पुर्जा पुनले बताए ।

वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले लाटोकोसेरो संरक्षणसम्बन्धी नाच तथा नाटक, गाउँपालिकास्तरीय स्थानीय विद्यालयमा चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता आयोजना गरिएको छ ।

लाटोकोसेरोको अस्थायी सङ्ग्रहालय निर्माण गरी प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचना, चित्र, तथा फोटो राखिएको छ । गहुँको छ्वालीबाट, चुराबाट, ढुङ्गाबाट, स्टिलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकाेसेरोसमेत प्रदर्शनीमा राखिएका छन् ।

आठ प्रजातिको लाटोकोसेरोको आवाज सुन्ने र श्रव्यदृश्य हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुनेको अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचिलको चित्र कुँदिएको छ ।

उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयबाट लाटोकोसेरोको नमूना पनि प्रदर्शनीमा राखिएको छ । उत्सवमा वन्यजन्तु अनुसन्धानकर्मीको आफ्नो अनुसन्धानको बारेमा पोष्टर प्रस्तुत गर्ने कार्यक्रम छ ।

वातावरण क्षेत्रका विभिन्न सङ्घ संस्थाको जानकारीमूलक कक्ष छन् । उत्सव समापनका क्रममा चार जना अनुसन्धान र संरक्षणकर्मीलाई जनही २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गर्ने कार्यक्रम छ । स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेल हो माध्यमबाट आन्तरिक पर्यापर्यटन प्रवर्द्धन गर्ने उत्सवको उद्देश्य छ । 

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ८ : ५२ बजे

संविधान र लोकतन्त्रलाई उन्नत बनाउन प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्छ : राष्ट्रपति 

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ

मोरङको रंगेलीमा देखियो हाइनाको बथान

काठमाडौं- मोरङको रंगेलीमा हाइनाको एउटा बथान देखिएको छ । हाइनाको

सडकको कालोपत्र र ढलान सुरु

गलकोट– बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढलान

भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण

चितवन– भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरूको स्वास्थ्य बीमा गर्दै आएको

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यस