‘सरकारको अबगाल बोकेर चुनावमा जान कठिन छ’  | Khabarhub Khabarhub

‘सरकारको अबगाल बोकेर चुनावमा जान कठिन छ’ 



नेपाली कांग्रेसको राजनीतिमा यतिबेला नयाँ पुस्ताले जबरजस्त रूपमा पुरानो पुस्ताको कार्यनीति, रणनीतिमा हस्तक्षेप थालेको छ । नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिकाको एउटा पछिल्लो उदाहरणका रुपमा महासमिति बैठकलाई लिइएको छ । महासमिति बैठकमा कांग्रेसको संस्थापन धार रक्षात्मक देखियो । संस्थापनइतरका धारभित्रबाट विभिन्न खालका एजेन्डा स्थापित भए । यद्यपि महासमिति म्यान्डेट केन्द्रीय समितिबाट अनुमोदन हुन्छ भन्नेमा धेरैलाई विश्वास नै छैन । कांग्रेसभित्र आन्तरिक लोकतन्त्र किन निस्तेज बन्दै छ ? पुस्तान्तरणको विषय क्रान्तिकारी कि आज्ञाकारी यिनै लगायतका विषयमा कांग्रेस नेता गुरुराज घिमिरेसँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :  

पार्टी शुद्धीकरण भनेर धेरै अभियान चलाउनुभयो । फेरि पनि बहस हुने काम नहुने श्रृंखलाले निरन्तरता पाउने हो ?

हामी पार्टीका नेता साथीहरू स्थापित प्रचलित परम्परामा छौँ । यो विषयमा हामी अभ्यस्त छौँ । केही प्रस्तावहरू आउँछन् छलफल हुन्छ अनि जे निचोड निकाल्नुपर्ने हो पूर्व तयारी गरेर निकाल्छौँ ।

कतिपय अवस्थामा त्यो भन्दा फरक हिसाबले अघि बढ्नु पर्छ भन्ने माग हुन्छ । पार्टीका साथीहरूको त्यसमा ध्यान पुग्दैन । यस पटक पनि यो परम्पराबाट मुक्त भएनौँ । केही प्रस्तावमाथि छलफल भयो र कर्मकाण्डी पाराबाट असन्तुष्टहरूको विचारलाई थुमथुम्याउने प्रयत्न र एउटा वैधानिकता पूरा गर्नेबाहेक केही भएन ।

यसमा फरक भएजस्तो भनेर पार्टीका नेता पदाधिकारीले छलफल गरेर प्रस्तावमा केही राख्ने नराख्ने भनेर थोरै छलफल भएको देखियो । जस्तो पार्टीले निर्वाचनको बेलामा अरु पार्टीसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा कतिपय नेताहरू यो गठबन्धन आवश्यकता हो, निर्वाचन प्रणालीको कारणले यो बाध्यात्मक छ भन्ने पनि आयो ।

तर अहिलेको यो निर्वाचन प्रणालीले बहुमत आउँदैन भन्नेमा म सहमत छैन । किनकि १६५ प्रत्यक्ष तर्फ निर्वाचित हुने जुन सङ्ख्या छ, त्यसमा सय सिट हामीले प्रत्यक्षतर्फ जित्ने र अरु ४० देखि ४१ समानुपातिकमा आउने हो भने बहुमत पुर्‍याउछौँ ।

यो त एक कालखण्डमा नेकपाले पुष्टि गरेको छ नि ?

०७४ को निर्वाचनमा माओवादी र एमाले बीचको गठबन्धन र पछि नेकपा बनेर बहुमत ल्याएर सरकार चलाएको उदाहरण छ । तर पार्टी बलियो, लोकप्रिय र जनाधार बलियो हुँदा बहुमत ल्याउन सकिन्छ । यो निर्वाचन पूर्ण गठबन्धन गर्ने विषय सशक्त उठेको हो । र पार्टीका नेताहरूको इच्छा विपरीत धारणा आएको देखियो । अरु सबै परम्परागत जस्तै ४/४ वटा प्रतिवेदन आए ।

ती प्रतिवेदन गहन रूपबाट हेर्दा सैद्धान्तिक र नीतिगत प्रतिबद्धता त्यसमा छन् । त्यसको व्यवहारिक कार्यान्वयनको पाटो फेरि परम्परागत निरन्तरतामा नै अलमलिएला कि जस्तो देखिन्छ ।

यो त एउटा नारा मात्र स्थापित गर्न खोजिएको भन्ने बाहेक के भयो र ?

पार्टीको महासमिति भनेको महाधिवेशनपछिको सर्वोच्च निकाय हो । महासमितिको म्यान्डेट केन्द्रीय समितिमा लगेर परिमार्जन गर्ने काँटछाँटको अधिकार केन्द्रीय कार्य समितिलाई हुँदैन । महासमितिले दिएका निर्देशनहरूलाई  केन्द्रीय कार्य समितिले पालना गर्नुपर्छ ।

यस अघिको महासमितिको बैठकको म्यान्डेटलाई केन्द्रीय कार्य समितिले के गर्‍यो भनेर पनि हेर्नु पर्ला नि ?

विगतका घटनाले सबै झस्किएका छन् । त्यसैले यो पटक पनि त्यो दोहोरिएला भन्ने छ । त्यसैले यसको हेक्का राखेर महासमितिको बैठकलाई हुबहु कार्यान्वयन गर्नुपर्छ । यसमा एउटा निर्वाचनपूर्वको गठबन्धन आवश्यक छैन भन्ने विषय त्यहाँ स्पष्टसँग उठेको छ । र प्रतिवेदन सर्वसम्मतिले पारित भएको भनिएको छ ।

निर्वाचनपूर्व गठबन्धनमा हामी कसैले हडबडाउनु हुँदैन । अहिले भएको गठबन्धन जारी रहन्छ । आउँदो निर्वाचन सम्म किनकि गठबन्धनबाट नै हामीले निर्वाचन लड्यौँ । त्यसैले इमानदारी भनेको निरन्तर यो जारी राख्ने हो । देश र जनताको लागि अनुकूल भएन सरकार बदलिन सक्छ अन्यथा यो समीकरणलाई कायम गर्ने र आउने निर्वाचन एक्लै चुनाव लड्ने हो ।

अर्को केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू चाहिँ महाधिवेशन प्रतिनिधि स्वतः हुने व्यवस्था हामीले राखेका छौँ । र वडाबाट नै प्रतिनिधि  हुने व्यवस्था मिलाउने यो शतप्रतिशत महासमितिका प्रतिनिधिहरूको विचार हो ।

अब ४ वर्ष गठबन्धनको निरन्तरता यसरी थामेर खान सकिएला ?

राजनीतिमा विश्वसनीयताको कुरा पनि हुन्छ । राजनीतिक दलहरूभित्र भएको समझदारीलाई सकेसम्म टिकाउने गर्नुपर्छ । संसदीय निर्वाचन पछि एक पटक दुर्घटना हामीले झेलिसकेका छौँ । गठबन्धनबाट निर्वाचन गर्‍यौं तर माओवादीलाई एमालेले लगेर प्रधानमन्त्री दियो । र त्यसलाई फर्काएर ल्याएर फेरि पुरानै गठबन्धन हामीले कायम गर्‍यौं ।

त्यसैले आवश्यक पर्दा नेपालमा गठबन्धनको अभ्यास चल्न सक्छ । तर गठबन्धनलाई टिकाएर मात्र पूरा अवधि जान सक्छौ भन्ने हैन । संसदमा अरु विकल्प पनि हुन्छन् । तर पहिलो प्राथमिकता यही गठबन्धनलाई टिकाउँदा हुन्छ ।

यही गठबन्धनलाई लिएर ०८४ को निर्वाचनमा जाँदा कांग्रेसले आफ्नो पहिचान कसरी स्थापित गर्ला ?

सरकारमा हुँदा आफ्नो अस्तित्व देखाउन सक्नु पर्‍याे । जनताको विश्वास जित्दै जानु पर्‍याे तर  जनताको विश्वास टुट्दै जाने सुशासनको प्रत्याभूति नहुने अवस्था देखिँदै छ । सरकारका काम प्रति जनताको विश्वास नहुने भयो भने त्यसालाई काँध हालेर जाँदा नेपाली कांग्रेसले धेरै बाधा झेल्नुपर्ने हुन्छ । त्यसैले सरकारका कामकारबाही सुधार गर्न जरुरी छ । अहिले सरकारमा गएका मन्त्रीहरूको कामसँग आम जनता सन्तुष्ट भएको देखिँदैन । सरकारले गरेका काम जनताको हितमा नभएको दोष कांग्रेसले उठाउने पर्ने अवस्था छ । किनकि सरकारको सबैभन्दा ठूलो घटक हो । अब यो अबगालको भारी बोकेर ४ वर्ष गयौँ भने आउने निर्वाचन कठिन साबित हुन्छ ।

यति बेला पार्टीको आन्तरिक जीवनलाई चाहिएको चाहिँ के हो ?

कांग्रेसले गर्नुपर्ने भनेको पार्टीको आन्तरिक जीवनलाई कसरी अगाडि बढाउने, सरकार कसरी प्रभावकारी बनाउने भन्ने हो । कुनै पनि राजनीतिक दलको काम भनेको देश र जनताका निम्ति समाजको प्रगतिका निम्ति वा सम्पूर्ण देशलाई समृद्ध गरेर जनता सुखी बनाउने हो । देशको हित, जनताको सुख र देशको सुरक्षा दलको काम हो । मूल कुरा भनेको पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित नबनाई सरकारको आन्तरिक काम कारबाही प्रभावकारी बनाउन सम्भव छैन । र जनताको विश्वास पनि कायम राख्न सक्दैनौँ ।

नेपाली कांग्रेस कसरी चलिराखेको छ नेता कसरी चलिराखेको छन् ? पार्टीको आन्तरिक जीवन कसरी चलेको छ ? यी सबै कुराले सरकारको काम कारबाहीलाई निर्धारण गर्छ । त्यसैले सैद्धान्तिक धरातलमा उभिएर पार्टी लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्ने, यसको सैद्धान्तिक पक्ष पालना गर्ने, यसको संगठनात्मक सुदृढीकरणमा ध्यान दिने, पार्टीका प्राप्त अवसरलाई न्यायोचित रूपबाट वितरण गर्ने विषयमा कमजोरी भएको छ ।

यो नेतृत्वले पार्टीको धरातल संगठन धुलिसात बनायो भन्ने आलोचना भइरहँदा ०८४ को चुनावका लागि तयार रहने दबाब पनि कांग्रेसमा छ नि हैन र ?

अहिलेको धरातल यथार्थ भनेको वर्तमान अवस्थालाई तत्काल बदल्न सक्दैनौँ । जस्तो संसद्को सिट बद्लिँदैन । बदल्ने पाटाहरू छन् तर नेतृत्वमा रहेका प्रतिस्पर्धी नेता पदाधिकारी वा नेताहरू नै लाग्ने हो भने त्यसका विकल्पका बाटाहरू छन् । तर कसैको जाँगर देखिँदैन । नेतृत्व बदल्ने बाटो भनेको १५ औँ महाधिवेशन नै हो ।  यो समयमा वा ८२ मंसिर भित्र हुनु पर्छ भन्ने कुरा उठेको छ ।

८८/८९ सिटलाई अहिले हामी बदल्न सक्दैनौँ । त्यसका निम्ति ०८४ पर्खिनु पर्छ यसैलाई लिएर राम्रो काम गर्छौँ । पार्टीलाई पनि राम्ररी सञ्चालन गर्ने हो । विदेशमा बस्ने नेपालीलाई पनि भरोसा दिनु छ । नेपालमा बसोबास गर्ने आम नेपालीहरू नेपालले समृद्धिको बाटो समातोस् र सन्ततिको भविष्य राम्रो होस् भन्ने सोचेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ०९ बजे

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना