बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान « Khabarhub

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म दिनमा करोड रुपैयाँ मूल्य बराबरको जग्गा दान दिएका छन् ।

आफू ९० वर्ष पुगेको अवसरमा उनले ‘प्राडा टङ्क प्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र ‘भयवाद अध्ययन केन्द्र नेपाल’लाई करिब करोड रुपैयाँ बराबरको ११ धुर जग्गा दान गरेका हुन् ।

धरान–१४, विजयपुर डाँडाको हात्तीसारमा बस्ने बृखबहादुरले दुवै संस्थाले गर्ने  प्राज्ञिक अध्ययन र अनुसन्धानमा थप मद्दत पुगोस् भनेर आफू ९० वर्ष पुगेको अवसरमा जग्गा दान गरेका हुन् ।

भाषाशास्त्री प्राडा न्यौपाने जीवित रहँदै स्थानीय बुद्धिजीवीहरूले उनका नाममा ‘प्राडा टङ्क प्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ पाँच वर्षअघि स्थापना गरेका हुन् । त्यस्तै, देश सुब्बाको भयवाद दर्शनमा आधारित ‘भयवाद अध्ययन केन्द्र’ हालै स्थापना भएको हो । भयवाद अध्ययन केन्द्र नेपालका अध्यक्ष पनि प्राडा न्यौपाने नै रहेका छन् ।

भयवाद दर्शन धरान घर भई हङकङमा कार्यरत देश सुब्बाद्वारा प्रतिपादित दर्शन हो । विभिन्न भाषाको अध्ययन, अनुसन्धान र भयवाद दर्शनको अध्ययनका लागि संस्था दर्ता भए पनि कार्यालय सञ्चालनका लागि जग्गा र भवन नभएको अवस्थामा मनकारी डंगोलले जग्गा दान गरेको प्राडा न्यौपानेले बताए ।

न्यौपानेले भने, ‘संस्था दर्ता त भयो, तर व्यवस्थितरुपमा प्राज्ञिक अध्ययन अनुसन्धानका लागि भवन निर्माण गर्न जग्गा नभएको कुरा चलाउँदा बृखबहादुर डंगोलले उदार चित्त देखाएर करिब करोड रुपैयाँ बराबरको जग्गा दान गर्नुभयो, अध्येताहरूका लागि यो भन्दा खुशी अरु के हुनसक्छ ?’

डंगोलले दुई संस्थाका लागि दिएको जग्गा धरान १४ स्थित आदिवासी जनजाति सङ्ग्रहालय भवनको पश्चिममा पर्ने रुप्से पोखरीदेखि विजयपुर जाने बाटोको पर्छ । जग्गादाता डंगोल र उनकी धर्मपत्नी तारा डंगोललाई गत शनिबार महेन्द्र बहुमुखी क्याम्पसको सेमिनार हलमा स्थानीय बुद्धिजीवीहरूले दोसल्ला ओढाएर सामूहिक सम्मान गरेका थिए ।

९० वर्षीय जग्गा दाता डंगोलले भने, ‘प्राज्ञिक अध्ययन अनुसन्धानका लागि स्थापना भएको संस्थालाई आफ्नो हैसियतले भ्याएसम्मको जग्गा दान गर्न पाउँदा मलाई खुशी लागेको छ । मैले आफूसँग धेरै जग्गा भएर दिएको नठान्नु होला ।’

उनले थपे, ‘उमेरका कारण मैले आफैं अध्ययन अनुसन्धान गर्न नसके पनि अरूलाई सहज होस भनेर जग्गा दान गरेको हो । समाजमा जुनसुकै माध्यमबाट आफ्नो भूमिका पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता छ । मैले त्यही मान्यतालाई निरन्तरता दिएको हो ।’

डंगोलले धरानका अन्य विभिन्न संघसंस्था, विद्यालय, प्रहरी चौकीलाई पनि नगदी र जिन्सी सहयोगसहित जग्गासमेत दान गर्दै आएका छन् ।

उक्त अवसरमा ‘प्राडा टंक प्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ का संस्थापक अध्यक्ष गोविन्द तिम्सिना र वर्तमान अध्यक्ष प्राडा रमेश घिमिरेले पायक पर्ने ठाउँमा जग्गा प्राप्ति भएकाले अब भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउनतिर लाग्ने बताए ।

प्राडा घिमिरेले भने, ‘दुई संस्थाले धरानमा प्राज्ञिक क्षेत्रबाट प्रकाशित भएका विभिन्न पुस्तक परिचर्चा, गोष्ठी सेमिनार र वाङ्मय सम्बद्ध विमर्शका कार्यक्रमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्दै आएको छ । विशेषतः नेपाली तथा नेपाली भाषा, संस्कृति र साहित्यसम्बन्धी अध्ययन र अनुसन्धानका क्षेत्रमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ ।’

उक्त अवसरमा ७६ वर्षको उमेरमा प्राडा न्यौपानेद्वारा लिखित ‘किरात भाषाहरू र नेपाली भाषाहरूको व्यतिरेकी अध्ययन’ पुस्तकको विमोचनसमेत गरिएको थियो ।

विमोचनपछि कोशी प्रदेशका पूर्वप्रदेशप्रमुख एवं भाषाशास्त्री प्राडा गोविन्द तुम्बाहाङ र उदयपुरका गाईघाट क्याम्पसका प्रमुख डा. कैलास राईले परिचर्चा गरेका थिए ।

न्यौपानेका नेपाली भाषा, नेपाली भाषा, व्याकरण र समालोचनाका पुस्तकहरू दुई दर्जन बढी प्रकाशित छन् । उनले नेपाली भाषालाई समृद्ध बनाउन योगदान दिएको भन्दै कार्यक्रममा प्राडा न्यौपानेको प्रशंसा गरिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : ५२ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद