मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४ वर्षको भएँ । म गत कात्तिक १५ मा रुसी सेनामा भर्ना हुन गएको थिएँ । चैत ११ गते घाइते अवस्थामा नेपाल आइपुगेँ । अहिले रत्नपार्क शान्तिबाटिकामा साथीहरुसँगै धर्नामा बसेको छु ।
नेपालबाट युएईको शारजाहको ट्रान्जिट हुँदै म रुस पुगेको हुँ । जाँदा–आउँदा १२ लाख रुपैयाँ खर्च भयो । मजस्तै सबैले ऋण काढेर गएका हुन् । अब मैले त्यो १२ लाख कसरी तिर्ने ? नेपाल सरकारले राहतका लागि पहल गर्दिनुप¥यो भन्ने हामी धर्नामा बसेकाहरुको माग छ ।
रुस जानुअघि म हुँदा घर बनाउने काम गर्थेँ । रुसी सेनामा भर्ना भएर पैसा कमाइन्छ भन्ने मैले टिकटकमा देखेँ । रोल्पाबाट केही साथीहरु पनि गएका थिए । तिनीहरुले ठिकै छ, कमाइ राम्रै छ भने । त्यसपछि थप केही नबुझी एकजना एजेण्ट समाएर म गएँ ।
रुस जानुअघि एजेण्टले हामीलाई सेनामा भर्ना हुने हो तर फ्रन्टलाइन होइन भनेका थिए । रसियन सेनाले कब्जा गरेको ठाउँहरुको रेखदेख गर्ने, सुरक्षा गर्ने भनिएको थियो । तर, फ्रन्टलाइनमा बसेर लड्नुपर्ने रहेछ ।
मस्को ओर्लेपछि एयरपोर्टबाट एजेण्टले आफनै् कोठामा लगे । अर्को दिन पिटरबक्स भन्ने भर्ति गर्ने ठाउँमा लगे । त्यहाँ राजु घर्तिमगर म थियौं । हाम्रो पासपोर्ट लिए । केही फर्म भर्न लगाए । बैंक खाता खोलिदिए । त्यही रात हामीलाई बालाशिखा हेडक्वार्टरमा लगे ।
त्यहाँ सामान्य मेडिकल जाँच गर्ने रहेछन् । १२ दिनको सामान्य तालिम हुने रहेछ । डमी हतियार हुन्छ, त्यसमार्फत सिकाइने रहेछ । त्यसपछि रुस्तोब भन्ने ठाउँमा लगेर फायरिङ सिकाए । आर्मीको युनिफर्म सबै त्यहीँ दिएका थिए ।
त्यसपछि हामीलाई युक्रेनतिरको भूभागमा पठाए । त्यहाँ पनि १५ दिनको तालिम भयो । खाल्टोमा लुक्ने, घर कब्जा गर्ने, भित्र ग्रिनेटहरु हाल्ने, दुश्मन अगाडि कसरी लुक्ने र जोगिने भन्ने लगायत सिकाइयो ।
त्यहाँबाट हामीलाई डोनेक्स भन्ने ठाउँमा लगे । त्यहाँ २६ दिन बस्यौं । एउटै घरमा लुक्ने । भित्र–बाहिर गर्न पाइँदैनथ्यो । शौचालय जाँदा–आउँदा पनि खुर्र कुद्नुपर्थ्र्यो ।
त्यहाँ ३० जना टोलीलाई लिएर फेरि हप्ता दिन तालिम गरायो । नेपाली, रसियन, तुर्किस्तानका सैनिक धेरै थिए ।
हामीलाई डानेक्स भन्दा २५ किलोमिटर अगाडि लगियो । चार फिटको गोलाइ भएको टनेलभित्र छिरियो । त्यहाँबाट १२ फिटमाथि निस्केर लडाइँ लड्नुपर्ने थियो । हरेक टिममा २५ देखि ३० जना हुन्थे । हामी भन्दा अगाडि चारवटा टिम पठाइसकेको थियो ।
साढे ६ बजे पाइपबाट निस्कनेबित्तिकै त्यो एरिया घेराऊ गर्दागर्दै फायरिङ सुरु भयो । १८ तारिखको दिन थियो । हाम्रो डिपार्टमा १० वटा बंकर परेका थिए । चारवटा बंकर कब्जा गर्ने बित्तिकै मलाई गोली लाग्यो र ढलिहालेँ ।
दायाँ हातको पाखुरामा गोली लाग्यो । म ढलेपछि पनि साथीहरु निरन्तर लडिरहेका थिए । त्यहाँ दुश्मनहरु धेरै मरे । हातहतियारमा धेरै जफत भयो । २२ जना हाम्रा साथीहरु पनि मरे ।
मेरो टिमका म लगायत चार नेपाली घाइते भयौं । त्यहाँ हामी सातजना नेपाली थियौं ।
मैले अस्पतालबाट मस्कोस्थित नेपाली दूताबासमा सम्पर्क गरें । दूताबासले तपाईहरुले एक वर्षको कन्ट्रयाक्ट गरेको छ, आर्मीको नियमलाई हामीले केही गर्न सक्दैनौं, हामी उद्धार गर्न सक्दैनौं भन्ने जवाफ दियो
धेरै रगत बगेर म नाजुक भएको थिएँ । घाइते भएपछि कमाण्डरले ब्याक हुन भने । जबरजस्ती घिर्सिँदै जहाँबाट माथि निस्किएको हो त्यहीँ टनेलमा छिर्नुपर्ने थियो । त्यतिमाथिबाट झर्न सकिनँ । रगत कम हुँदै गएपछि मेरो दिमागले काम गर्न सकिरहेको थिएन ।
खुट्टा नै लागेन । लगलग कामेँछु । सास फेर्न सकिरहेको थिइनँ । तर, झट्ट के याद आयो भने तल पुगे भने रसियन सेनाले उद्धार गरेर अस्पताल पुर्याउँछ । तल चाहिँ जसरी पनि पुग्नुपर्छ ।
खुट्टाले झर्न नसकेपछि टाउको छल पारेर हामफालेँ । घाटीको हड्डी भाँचिए भाँचियोस् तर अस्पताल पुग्न पाए बाँच्ने थिएँ भन्ने लाग्यो ।
रेस्क्यु टिमले मलाई समायो र भित्र तान्यो । त्यहाँ घाइतेलाई हिलोमाथि राखिन्थ्यो । मलाई पनि त्यसैगरी राखे ।
१०ः१५ मा गोली लागेको मान्छे, लगभग ६ बजे मात्रै रेस्क्यु टिममा पुग्न सकेँ । रगत रोक्ने केही उपाय नभएपछि मर्छु नै भन्ने लागेको थियो । नेपाली भाइहरु दाबा लामा र महेन्द्र भाइले सात किलोमिटर जति बोकेर उद्धार गरे । उनीहरु नभएको भए सायद त्यही युद्धभुमिमा मर्नुपर्ने थियो ।
एक ठाउँमा उपचार सुरु त भयो तर त्यहाँ नहुने भएपछि रिफर गरे । एम्बुलेन्सबाट रसिया ल्यायो । दुई महिना अस्पताल बसेँ । केही सन्चो भएपछि फेरि युनिटमा फर्किने भनेपछि भाग्नुपर्छ भन्ने लाग्यो ।
एकपटक भाग्यले बचाँएर ल्याएको छ । अब फेरि गएँ भने जिउँदो फर्कन्न भन्ने लाग्यो र भाग्ने सोचेँ ।
तर, भाग्न त्यति सजिलो थिएन ।
आर्मीले थेरापीका लागि भल्गगराद सिभिल अस्पतालमा राखेको थियो । मैले अस्पतालबाट मस्कोस्थित नेपाली दूताबासमा सम्पर्क गरें । म यहाँ छु, घाइते छु, मलाई यहाँको व्यवहार मन परेन, उद्धार गर्दिनु, यहाँ बस्न मन छैन भनेँ ।
दूताबाससम्म कसरी आउने त ? भनेर सोधे । दूताबासले तपाईहरुले एक वर्षको कन्ट्रयाक्ट गरेको छ, आर्मीको नियमलाई हामीले केही गर्न सक्दैनौं । आर्मीको रुल यहाँको सरकारको रुल नै हो । हामी उद्धार गर्न सक्दैनौं भन्ने जवाफ दियो ।
अब दलालको फन्दामा परियो ।
नेपाली दलालहरुले ४ हजार डलर मागेका थिए तर मसँग पैसा थिएन । नेपालीले नेपालीलाई लुट्न बसेका रहेछन् । नेपालीहरु त्यति खराब त्यहाँ देखेँ । जिउँदो लासमाथि बार्गेनिङ गर्ने पनि नेपाली हुन्छन् ?
अस्पतालबाट ट्याक्सी चढेर बिहानको ११ बजे भागेँ । रातिको ३ बजे मस्को पुगेँ । ७५ हजार रसियन पैसा तिरेँ । नेपाली दलालहरुले ४ हजार डलर मागेका थिए तर मसँग पैसा थिएन । नेपालीले नेपालीलाई लुट्न बसेका रहेछन् । नेपालीहरु त्यति खराब त्यहाँ देखेँ । जिउँदो लासमाथि बार्गेनिङ गर्ने पनि नेपाली हुन्छन् ?
ती नेपालीहरुले बार्गेनिङ गरेको अडियो सुरक्षित राखेको थिएँ, पछि कता हरायो । त्यसपछि आफ्नै रिक्सले भागेँ ।
सोलुखुम्बुको भाइ पेम्बा शेर्पाको इन्स्युरेन्सको पैसा ३० लाख रहेछ । उसको खुट्टाको औंला भाँचिएको थियो । त्यही पैसाले हामी दुबैजना भाग्यौं ।
मसँग एक रुपैयाँ पनि थिएन । नेपाल आएपछि साथीको पैसा ऋण खोजेर तिरेँ । उसले पनि रगत बगाएर कमाएको पैसा थियो त्यो । उसले पैसा दिएर नै म नेपाल फर्किन पाएँ । उसको गुन म कहिले बिर्सन्नँ ।
मैले रसियामा रगत मात्र बगाएँ, एक रुपैयाँ ल्याउन पाइनँ । त्यत्रो खर्च गरेर गएँ, क्षतिपूर्ति, तलब, भत्ता केही पाएको छैन ।
रोजगारीका लागि अथवा भनौं पैसाका लागि गएको हो । युद्ध लड्न राष्ट्र प्रतिको भक्तिभाव आउनुपर्ने रहेछ । अर्काको देशका लागि लड्दा त्यो भाव आएन । किन आएन भने न त्यो देशको नागरिक, न त युद्धमा दुश्मन भनिएकाहरु हाम्रा दुश्मन नै थिए ।
हामी यता (रुस) को पनि मित्र होइन, उता (युक्रेन) को पनि दुश्मन होइन । लड्नका लागि प्रेरित गर्ने पैसा मात्रै थियो । पैसाले योद्धा बनाउन सक्दैन रहेछ । युद्धमा लड्ने योद्धा मन, विचार र आत्माले देशप्रति समर्पित हुन आवश्यक थियो तर, हामी वाग्नर (भाडाका सिपाही) थियौं
यता (रुस) को पनि मित्र होइन, उता (युक्रेन) को पनि दुश्मन होइन । लड्नका लागि प्रेरित गर्ने पैसा मात्रै थियो । तर, पैसाले योद्धा बनाउन सक्दैन रहेछ । युद्धमा लड्ने योद्धा मन, विचार र आत्माले देशप्रति समर्पित हुन आवश्यक थियो । तर, हामी वाग्नर (भाडाका सिपाही) थियौं । त्यो पनि एक वर्षको । समर्पण नहुँदा लडाइँ लड्न गाह्रो पर्यो । खान लाउन पुगेन, परिवार पाल्न पर्यो ।
रुसी सेनामा भर्ना भएका नेपालीहरुको अवस्था निकै नाजुक छ । हप्ता–दश दिनको छोटो तालिमपछि लडाइँमा पठाइन्छ । हतियार फिट गर्ने, चलाउन सक्ने भएपछि नै पठाइन्छ । उमेर, उचाइ र वजनको कुनै हदबन्दी छैन । त्यसकारण म ४४ वर्षको उमेरमा पनि भर्ना भएँ ।
घाइते मृतकहरुले पाउनुपर्ने रकम रसिया सरकारले सेनाको परिवारको नाममा वा जोइन्ट एकाउण्ट खोलेर जम्मा गर्दिनुपर्छ भन्ने मेरो माग छ । हर महिनाको तलब जम्मा हुनुपर्छ । यसो गर्ने हो भने सेनाको ज्यान गए पनि परिवारका लागि केही राहत त मिल्ने थियो ।
(खबरहबका लागि सीता न्यौपानेसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया