आर्थिक

किसान सूचीकरण यही वर्ष सक्ने कृषिमन्त्रीको प्रतिबद्धता

By रासस

September 03, 2024

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षमै किसान सूचीकरण सक्नेगरी काम गरिने बताएका छन्‌ ।

मन्त्रालयअन्तर्गतको विषयगत समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले किसान सूचीकरण सकी परिचयपत्र पनि वितरण गरिने प्रतिबद्धता जनाएका हुन्‌ ।

किसान सूचीकरणलाई सहयोग गर्न मन्त्री अधिकारीले सातै प्रदेशका कृषिमन्त्री र सात सय ५३ वटै स्थानीय तहलाई आग्रह गरे ।

‘कृषिमा दिइने अनुदानलाई प्रदेश र स्थानीय तहसँग समन्वयगरी व्यवस्थित गरिन्छ, कृषि लगानी दशकमा के के गर्ने भन्ने मन्त्रालयले चाँडै सार्वजनिक गर्छ, कृषिमा तीनै तहसँगै जानुपर्छ’, उनले भने ।

बीउबिजन ऐन, २०४५ हालै संशोधन भएकाले त्यसअनुरुपको नियमावली आउन लागेको जानकारी पनि मन्त्री अधिकारीले गराए । रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गर्न लागिएको पनि उनले सुनाउनुभयो ।

बाली लगाएका स्थानमा बाँदरले दुःख दिनेक्रम देशभर फैलिएकाले यो समस्या समाधानमा पनि मन्त्रालयले काम गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता छ ।