ज्ञानमणि नेपाल : आँटिला इतिहासकार | Khabarhub Khabarhub

ज्ञानमणि नेपाल : आँटिला इतिहासकार



विगतमा जेजस्ता घटना घटे, तिनलाई राम्ररी निफनेर प्रमाणको आधारमा प्रस्तुत गर्नु नै इतिहास लेखन हो। लेखनमा प्रमाण चाहिने भएकैले इतिहास लेखन एक विज्ञान पनि हो। विशुद्ध विज्ञानले भविष्यवाणी पनि गर्छ। इतिहासले भविष्यवाणी नगर्ने हुनाले यो विशुद्ध विज्ञान भने होइन। तर भविष्यमा सम्भावित दुर्घटनालाई इतिहासले नियन्त्रण गर्छ। इतिहासकार जे. बी. ब्यूरीको शब्द सापट लिने हो भने ‘इतिहास विज्ञान हो, न कम, न अधिक।’

आफ्नो जीवनको सम्पूर्ण समय ऐतिहासिक प्रमाण खोजी र प्रस्तुतिमा समर्पण गरे, इतिहासकार ज्ञानमणि नेपालले। ९१ वर्षको उमेरमा आफ्ना शरीरका अङ्गले क्रमशः काम गर्न छाडिरहेको बेला पनि ज्ञानमणिको स्मरणशक्ति उत्तिकै तेज तरङ्गका साथ चलिरहेको थियो। अब भने उनलाई भौतिक रुपमा भेटन सम्भव छैन; तर उनले छाडेका ज्ञानका मणिबाट हामीले उज्यालो पाइरहने छौँ। उनले छाडेका कृतिको अध्ययनबाट ज्ञानको गङ्गा बगिरहनेछ।

ज्ञानमणि नेपाललाई भौतिक रुपमा भेटन सम्भव छैन; तर उनले छाडेका ज्ञानका मणिबाट हामीले उज्यालो पाइरहने छौँ। उनले छाडेका कृतिको अध्ययनबाट ज्ञानको गङ्गा बगिरहनेछ।

दुर्गम भोजपुरबाट ज्ञानको तिर्खा मेट्न उनी काठमाडौँ आइपुग्दा नेपालमा राणाशासनको अन्धकार हटेको थिएन। तर त्यो अन्धकार चिर्ने काम फाट्ट फुट्ट हुँदै थियो। उनको प्रारम्भिक शिक्षा नयराज पन्तले सुरु गरेको गुरुकुलीय पाठशालाबाट सुरु भयो। त्यो त्यही पाठशाला हो, जहाँबाट एकसे एक विद्वान निस्के। नेपालको इतिहास अन्वेषणको क्षेत्रमा नयराज पन्तका चेलाहरुको योगदान अत्यूत्तम कोटीको छ। त्यहीमध्येका एक हुन्, इतिहासकार ज्ञानमणि नेपाल।
जीवनमा ४० बढी इतिहासका कृति नेपाली समाजलाई समर्पण गरेका उनको विषय विज्ञताको उपयोग त्रिभुवन विश्वविद्यालयको नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) र नेपाल प्रज्ञा प्रतिष्ठान (तात्कालीन नेराप्रप्र)बाट प्रचुर मात्रामा भयो। भौतिक रुपमा उनको चोला उठेर के भो, उनी एक उज्यालो नक्षत्रको रुपमा नेपाली आकासमा चम्किरहनेछन्।

उनका एकसेएक अब्बल दर्जाका इतिहासका कृतिमध्ये यो लेखमा “नेपालको महाभारत” माथि चर्चा गरिएको छ।

को नायक, को खलनायक ?
तात्कालीन मुख्तियार जनरल भीमसेन थापालाई नेपालका राष्ट्रिय विभूतिमध्येका एक घोषणा गरिएको पनि ६ दशक हुनलाग्यो। उनका गुणगान विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म पढाइँदै र पढिँदै आएको छ। इतिहासकार चित्तरञ्जन नेपालीले “जनरल भीमसेन थापा र तात्कालीन नेपाल”का लागि २०१३ सालको मदन पुरस्कार नै पाए। त्यतिखेर मदन पुरस्कार गुठीले उक्त कृतिबारे इतिहास शिरोमणि बाबुराम आचार्यको धारणा जान्न चाहेको रहेछ। आचार्यले भीमसेन थापामाथि आफ्नो एक लामो शोधमूलक धारणा प्रस्तुत गरेका थिए। त्यसको ५२ वर्षपछि आचार्यका छोरा श्रीकृष्ण आचार्यले “भीमसेन थापाः जसलाई मैले जस्तो देखेँ” शीर्षकमा एक पुस्तक नै प्रकाशन गरे।

चित्तरञ्जनले जुन किसिमले ऐतिहासिक दृष्टिविन्दुबाट भीमसेन थापालाई देखे, त्यसको विपरित छ, बाबुराम आचार्यको धारणा। बाबुरामले भीमसेन थापालाई एक निरङ्कुश अधिनायकका रुपमा प्रस्तुत गरेका छन्, चित्तरञ्जनले “महान नायक” देखेको भीमसेनलाई। त्यसो त महान नायक बनाएर राज्यले नै भीमसेन थापालाई विभूति बनाइसकेको अवस्था छ।

इतिहास शिरोमणि आचार्यले खासगरी २०१८ सालतिर लेखेका ११ वटा अप्रकाशित अवस्थामा रहेका इतिहाससम्बन्धी लेखलाई श्रीकृष्ण आचार्यले “अब यस्तो कहिल्यै नहोस्” शीर्षकका पुस्तक नै तयार पारेका छन्। राम्रो बजार र चर्चा पाएको बाबुराम आचार्यका पुस्तकमध्येको एक हो यो। यसमा दरबारका आन्तरिक षडयन्त्र र चलखेलको इतिहास पढ्न पाइन्छ।

श्रीकृष्ण आचार्यले परिमार्जनसहित यस पुस्तकको पहिलो प्रकाशन २०५५ सालमा गरेका थिए।

धेरै समय पहिल्यै आँखाको ज्योति गुमाएकोले पनि बाबुरामले आफ्नो विलक्षणयुक्त स्मरणशक्तिको भरमा बोलेर सहयोगी लिपीकारलाई टिपाएर लेखिएको पुस्तक पढ्न पाइन्छ, उनका कृतिका रुपमा। उनका कृतिमध्ये तात्कालीन युवराज वीरेन्द्रको चाहनाअनुसार राजदरबारबाट २०२४ देखि २०२६ भित्र विभिन्न खण्डमा प्रकाशित “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी” मा भने सम्बन्धित विषयमाथिको टिप्पणी र ऐतिहासिक सामग्रीको उल्लेख भएको पाइन्छ। राजा ज्ञानेन्द्र सक्रिय रहँदा २०६१ सालमा एकमुष्ट रुपमा यो पुस्तकको दोस्रो संस्करण प्रकाशित भएको हो।

बाबुराम आचार्यको दृष्टिकोणमा राजा पृथ्वीनारायण शाहपछि उनका छोरा नाति गतिलो शासकका रुपमा उदाएनन्। छोरा प्रतापसिंह शाह मदिरा, मांस र मैथुनमार्गबाट चल्ने तन्त्रविद्यामा निर्लिप्त लागेकाले आफ्ना बाबुको बिँडो थाम्ने ल्याकत नराख्ने राजाका रुपमा बाबुराम आचार्यले प्रतापसिंह शाहलाई आफ्नो अर्को पुस्तक “श्री ५ प्रतापसिंह शाह”मा प्रस्तुत गरेका छन्।

बाबुराम आचार्यको “अब यस्तो कहिल्यै नहोस्” प्रकाशनमा आउनु आधा दशकअघि नै ज्ञानमणि नेपालको “नेपालको महाभारत” पाठकको हातमा आइसकेको थियो। यो पुस्तक राजदरबारभित्रको षडयन्त्र, काटमार र खिचातानी थाहा पाउन अत्यन्तै उपयोगी छ।

पृथ्वीनारायण शाहका नाति राजा रणबहादुर शाहको त कुरा गरिसाध्य छैन। यिनैको सनक, अकर्मण्य र भोगविलासी जीवनशैलीबाट भीमसेन थापाजस्ता अकण्टक अधिनायकको जन्म हुन पुगेको थियो। कालान्तरमा कमजोर प्रकृतिका राजा राजेन्द्र र सुरेन्द्रको राम्ररी नाडी छाम्न पुगेका जङ्गबहादुरको जन्म हुन पुगेको र जङ्गबहादुरका सन्तानको पनि उनकै भाई धीरशमशेरका छोराहरुबाट विनास भएको ऐतिहासिक तथ्यहरु बाबुराम आचार्यको पुस्तकमा पढ्न पाइन्छ।

बाबुराम आचार्यको “अब यस्तो कहिल्यै नहोस्” प्रकाशनमा आउनु आधा दशकअघि नै ज्ञानमणि नेपालको “नेपालको महाभारत” पाठकको हातमा आइसकेको थियो। यो पुस्तक राजदरबारभित्रको षडयन्त्र, काटमार र खिचातानी थाहा पाउन अत्यन्तै उपयोगी छ। तर फरक के भने बाबुराम आचार्यको “अब यस्तो कहिल्यै नहोस्” को प्रस्तुति शोधपरकभन्दा पनि विवरणात्मक र कथापरक छ भने नेपालको “नेपालको महाभारत” शोधपरक र विश्लेषणात्मक छ।
समस्या के छ भने शोधपरक पुस्तकले आमपाठक पाउन मुस्किल पर्छ। तर सन्दर्भग्रन्थका रुपमा दरबारिया आन्तरिक कलहको अनुशिलन गर्न लागि नेपालको “नेपालको महाभारत” विरलाकोटीको कृति हो। यस कृतिमा प्रमाणप्रमेय प्रस्तुत परिशिष्टहरुले सम्बन्धित घटनाको थप अनुसन्धानका लागि ठूलो भरथेग गर्छ। इतिहासकार नेपालको घटनासम्बन्धमा प्रस्तुत विश्लेषणात्मक व्याख्याले तात्कालीन समयको नेपालको राजनीतिक अवस्था मसिनो र सरल किसिमले नियाल्न सकिन्छ।

आँटिला इतिहासकार
तात्कालिन लिखतहरु इतिहासको भरपर्दा स्रोत हुन्। नेपालका आधिकारिक लिखत स्वाभाविक रुपमा राज्यको नियन्त्रणमा रहन्छ। नेपाल लामो समय राजतन्त्र रहेको देश हो। राजतन्त्र सक्रिय रहेको बेला राज्यसँग सम्बन्धित लिखतमा आँखा लगाउन राजदरबारको कृपा वा अनुमति आवश्यक पथ्र्यो। लिखतमा राजपरिवारका कतिपय गोप्य तथ्यहरु पनि उल्लेख हुने भएकोले स्वाभाविक रुपमा ती तथ्यहरु बाहिर ल्याउन राजदरबारले चाहना राख्ने कुरै हुँदैनथ्यो।

पहिले जैसी कोठामा राखिएका त्यस्ता लिखत पछि परराष्ट्र मन्त्रालयअन्तर्गत सुरक्षित राखिएको छ। अध्ययनका लागि जो कोहीको पहुँच सहज नभएको बेला परराष्ट्र मन्त्रालयको मातहतमा राखिएका ती ऐतिहासिक सामग्रीहरुमाथि अध्ययनको अवसर पाउने थोरै इतिहास अन्वेषकमध्येका एक थिए, ज्ञानमणि नेपाल। त्यहीँ अध्ययनको अवसरमा उनले दरबारको आन्तरिक कलहका ऐतिहासिक तथ्यहरु उधिनेर ल्याउने अवसर पाए।

पृथ्वीनारायण शाहपछि बहादुर शाहलाई एक प्रतिभाशाली ऐतिहासिक व्यक्तित्त्व मान्ने इतिहासकारमध्येका एक हुन्, ज्ञानमणि नेपाल। उनले काजी कालु पाँडे, बडाकाजी अमरसिंह थापा, दामोदर पाँडे, अभिमानसिंह बस्न्यातलगायत भारदारलाई नेपालका नायकको लहरमा उभ्याएका छन्। यस्तै राजा रणबहादुर शाह, राजेन्द्रविक्रम शाह, भीमसेन थापा, माथवरसिंह थापा, जङ्गबहादुर राणालाई षडयन्त्रकारी र खुराफातका रुपमा प्रस्तुत गरेका छन्।

पृथ्वीनारायण शाहपछि बहादुर शाहलाई एक प्रतिभाशाली ऐतिहासिक व्यक्तित्त्व मान्ने इतिहासकारमध्येका एक हुन्, ज्ञानमणि नेपाल। उनले काजी कालु पाँडे, बडाकाजी अमरसिंह थापा, दामोदर पाँडे, अभिमानसिंह बस्न्यातलगायत भारदारलाई नेपालका नायकको लहरमा उभ्याएका छन्।

पृथ्वीनारायण शाहको शेषपछि उनको राज्यविस्तार अभियानलाई साथ दिने क्रममा तात्कालीन नायव राजमाता राजेन्द्रलक्ष्मीले केही र नायव राजकुमार बहादुर शाहले अधिकांश भूभागलाई अधिनस्थ बनाए।

प्रतापसिंह शाह युवराज अवस्थामा राजनीतिकभन्दा पनि तन्त्रमन्त्र साधक र विलासी बनेर देखा परेको अवस्थामा उनलाई पर सारेर बहादुर शाहलाई उत्तराधिकारी बनाउनुपर्छ भन्ने सल्लाह पनि पृथ्वीनारायण शाहले प्राप्त गरेका थिए। उनका भाइ दलजित शाहले यस्तो प्रस्ताव गर्दा पृथ्वीनारायण शाहले वास्ता गरेनन्।

प्रतापसिंह शाह राजा हुनेबित्तिकै उनीबाट बहादुर शाह पहिले नजरबन्दमा परे, पछि लखेटिए। छोटो समयको राज्यकालपछि प्रतापसिंह शाहको देहान्त भयो। अढाई वर्षका बालक रणबहादुर शाह राजा भए। त्यसबेला नायव राजमाता राजेन्द्रलक्ष्मीको बोलावटपछि बहादुर शाह निर्वासनबाट स्वदेश फर्केका थिए। पछि देवर भाउजुबीच पनि बेमेल र शक्ति सङ्घर्षको अवस्था आयो। यी दुईबीच कहिले मिलेर शासन चलाउने र कहिले एक अर्कालाई दबाउने अनि सत्तामा जाने खेल चलिरह्यो।

रणबहादुर शाह जवान भएपछि उनले आफ्नो काकाबाट सत्ता आफ्नो हातमा मात्रै लिएनन्, बहादुर शाहलाई अनेकौँ आरोप लगाएर थुनामा राखे। बहादुर शाहमाथि विद्यावारिधि गर्ने इतिहासकार डा. भद्ररत्न बज्राचार्यको लेखाइअनुसार त काठमाडौँ, भीमसेनस्थानमा हालको परोपकार स्कूलनेर रहेको पुरानो किल्लाभित्र कैद गरिएका बहादुर शाहमाथि रणबहादुर शाहको तजविजमा तातो तेल खन्याएर उनको हत्या गरिएको थियो।

इतिहासकार चित्तरञ्जन नेपालीले तात्कालीन राजा महेन्द्रको विशेष कृपाले लेखिएको भनिएको २०२० सालमा प्रकाशित “श्री ५ रणबहादुर शाह” पुस्तकमा त बहादुर शाहलाई आफ्ना बाबु पृथ्वीनारायण शाहको नीति विपरित चल्ने र अङ्ग्रेजसँग साँठगाँठ गर्ने व्यक्तिका रुपमा औल्याएका छन्। तर ज्ञानमणि नेपालले प्रतापसिंह शाह र रणबहादुर शाहलाई विलासी र नालायक राजाका रुपमा प्रमाणप्रमेय प्रस्तुत गरेर एक आँटिला इतिहासकारका रुपमा आफूलाई दर्ज गराएका छन्, “नेपालको महाभारत” मार्फत्।

यदि पञ्चायतकालमा यो पुस्तक प्रकाशित भएको भए जफत नै हुने थियो। यो पुस्तक प्रकाशित भएको बेला भर्खरै बहुदल आए पनि नेपालको राजनीतिमा कुनै न कुनै रुपमा दरबारको पहुँच रहन्थ्यो । त्यस्तो बेला यस्तो पुस्तक प्रकाशित गरेर इतिहासको प्रमाणप्रमेय प्रस्तुतिमा ज्ञानमणि नेपालले ठूलो आँट देखाएको मान्नुपर्छ।

उनले नेपालको राजनीति बिग्रनुमा गीर्वाण युद्धविक्रमलाई भने एक राजाका रुपमा दोषी करार गरेका छैनन्। उनी नाबालक अवस्थामै आफ्नी आमा कान्तवतीको चाहनाअनुसार राजा रणबहादुर शाहबाट राजा घोषित भए। रानीमध्ये कहिले राजराजेश्जरी त कहिले सुवर्णप्रभाले गीर्वाणयुद्धको नायवी चलाए। रणबहादुर शाहको हत्यापछि उनकी ल्याइता रानी ललितत्रिपुरसुन्दरीको नायवी चल्यो। ललितत्रिपुरसुन्दरी भीमसेन थापाकी भतिजी थिइन्, त्यसबेला वास्तविक शासन त भीमसेन थापाबाट चल्थ्यो।

इतिहासकार नेपालले प्रतापसिंह शाह, रणबहादुर शाह, राजेन्द्रविक्रम शाह, सुरेन्द्रविक्रम शाहलाई नेपालका नालायक राजाका रुपमा विश्लेषण गरेका छन्। उनीहरु नालायक र बरु रणबहादुर शाहले दोषी करार गरेर हत्या गरिएका बहादुर शाह नायक हुन् भनी लेखिएको उनको यो पुस्तक प्रकाशित भएको बेला उनै रणबहादुर शाहका सन्तति परम्परागत उत्तराधिकारीका रुपमा नेपालमा शासन गरिरहेका थिए।

यदि पञ्चायतकालमा यो पुस्तक प्रकाशित भएको भए जफत नै हुने थियो। यो पुस्तक प्रकाशित भएको बेला भर्खरै बहुदल आए पनि नेपालको राजनीतिमा कुनै न कुनै रुपमा दरबारको पहुँच रहन्थ्यो नै। त्यस्तो बेला यस्तो पुस्तक प्रकाशित गरेर इतिहासको प्रमाणप्रमेय प्रस्तुतिमा ज्ञानमणि नेपालले ठूलो आँट देखाएको मान्नुपर्छ। इतिहासमा दरबारभित्र कति रगत बग्यो, यसको लेखाजोखा गर्न यो पुस्तकको अध्ययन गर्नैपर्छ।

इतिहास नपढ्दाको परिणाम
भविष्य देख्न चाहने हो भने अतीतको अध्ययन गर्नेपर्छ। जसरी आफ्नो धनुमा चढेको तीर जति टाढासम्म प्रहार गर्नुपर्ने हो, उसैगरी धनुलाई बेस्सरी पछाडि तान्नुपर्छ। आफ्नै सौतेला भाइ शेरबहादुर शाहीबाट मारिएका तात्कालीन स्वामी महाराज रणबहादुर शाह र उनका उत्तराधिकारीको नालायकीपनका बारेमा ज्ञानमणि नेपालले “नेपालको महाभारत” लेखेको ठीक ९ वर्षपछि नारायणहिटी राजदरबारभित्र तात्कालीन राजा वीरेन्द्रको वंश विनास भयो। त्यसको तीन वर्षपछि नेपालबाट राजतन्त्र नै उन्मुलन हुन पुग्यो।

राजा रणबहादुर शाहको हत्या प्रकरण, भीमसेन थापाको खाँडो जागेको राजनीतिको लामो कालखण्ड, माथवरसिंह थापाको दादागिरी र उनको पनि आफ्नै भान्जा जङ्गबहादुरबाट हत्या, कुख्यात कोतपर्व, जङ्गबहादुरको उदय र १०४ वर्षसम्मको राणाशासन आदि हेर्ने हो भने इतिहासकार इब्न खाल्टुनको विश्लेषण सही लाग्छ। उनी भन्छन्,“कुनै पनि राजवंशको जब उद्भव हुन्छ, तब दोस्रो प्रभावशाली बनेको उसले युद्ध विस्तार र सङ्गठन गर्छ। तेस्रो चरणमा पुग्दा राजवंश भोगविलासतिर लाग्छ र चौथो चरणमा राजवंशकै पतन हुन्छ।”

यदि इतिहासकारले प्रस्तुत गरेको प्रमाणप्रमेय तथ्यमाथि गम्भीरतापूर्वक विचार गरेको भए, इतिहासबाट पाठ सिकेको भए सम्भवतः नेपालको राजतन्त्र अलि लामो समयसम्म जान सम्भव थियो। इतिहासलाई गम्भीरतापूर्वक ख्याल गर्ने विद्वत परम्परा भएकैले बेलायत र जापानजस्ता देशमा राजतन्त्र टिकिरहेकै छ।

विगतका कुरा कोट्याएर दन्त्यकथा सुनाएजस्तै गरेका होइनन्, इतिहासकार ज्ञानमणि नेपालले। उनले आफ्नो चेतना, पसिना, बुद्धि लगाएर गरिएको इतिहास साधनाबाट देशलाई मार्गदर्शन गरेका हुन्।

विगतका कुरा कोट्याएर दन्त्यकथा सुनाएजस्तै गरेका होइनन्, इतिहासकार ज्ञानमणि नेपालले। उनले आफ्नो चेतना, पसिना, बुद्धि लगाएर गरिएको इतिहास साधनाबाट देशलाई मार्गदर्शन गरेका हुन्। वर्तमानको जगमा टेकेर विगतलाई मसिनो ढङ्गले अध्ययन गर्ने हो भने भविष्य हुने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्न सकिन्छ। यसमा इतिहासकारको योगदान र भूमिका महत्त्वपूर्ण हुन्छ। यहीँ कर्म गरेका हुन्, ज्ञानमणि नेपालले। तर नेपालका शासक इतिहास पढ्न र त्यसबाट पाठ सिक्न चाहँदैनन्। यसबाट उत्पन्न दुःखको भुक्तमान नेपाली जनताले भोगिरहेका छन्, कतिसम्म भोग्दै जान पर्ने हो थाहा छैन।

इतिहाससम्बन्धी जी.पी. गुचको भनाइ ख्याल गर्दा उत्तम हुन्छ। इतिहासको महत्त्व दर्शाउने क्रममा उनी भन्छन्, “इतिहास वास्तवमा अतीतका सम्बन्धमा इतिहासकारहरुको निर्णय हो, जसको उद्देश्य वर्तमानलाई प्रशिक्षित गर्ने र भावी पुस्तालाई मार्गदर्शन दिने हुन्छ।”

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ९ : २२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार