वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक | Khabarhub Khabarhub

वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक

प्रसारणलाइन र भरपर्दो वितरण प्रणाली अभाव मुख्य समस्या



काठमाडौं– पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट विद्युत उत्पादन पनि बढ्न थालेको छ । वर्षाका कारण खोलानालामा पानीको बहाव बढेसँगै त्यस्ता खोला-नदीमा सञ्चालित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो ।

यसअघि पानी नपर्दा खोलानाला सुकेर विद्युत् उत्पादन ह्वात्तै घटेकोमा पछिल्ला दिनमा विद्युत् उत्पादन बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मंगलबारसम्म पिक आवरमा विद्युत् उत्पादन २ हजार ५०० मेगावाट पुगेको छ ।

तीन हप्ताअघि अर्थात जेठ मसान्तमा विद्युत् उत्पादन घटेर एक हजार ७०० मेगावाटमा झरेको थियो । देशभर बढेको गर्मीका कारण प्राधिकरणलाई त्यतिबेला लोड धान्न निकै सकस परिरहेको थियो । तर, अहिले भने लोड व्यवस्थापन सहज हुँदै आएको प्राधिकरणका अधिकारीहरू बताउँछन्‌ ।

गर्मी केही कम हुँदै गएको र दैनिक वर्षा भइरहेकाले विद्युत् खपतमा समेत कमी आएको प्राधिकरणले जनाएको छ । जेठ मसान्ततिर पिक आवरमा २ हजार ३०० मेगावाट बिजुली  खपत हुने गरेको थियो । अहिले भने विद्युत् खपत एक हजार ४५० मेगावाटसम्म झरेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले खबरहबलाई जानकारी दिए ।

‘देशभर फैलिएको वर्षाले खोला-नालामा पानीको बहाव बढ्दा विद्युत् उत्पादन पनि केही बढ्न थालेको छ । गत मंगलबारसम्म हेर्दा पिक आवरमा विद्युत् लोड २५०० मेगावाट पुगेको देखिन्छ,’ उनले भने, ‘खपत लोड केही घटेको छ ।’

वर्षाका कारण विद्युत् उत्पादन अझै बढ्नेछ । हाल प्राधिकरणको कुल जडित क्षमता तीन हजार २५० मेगावाट हाराहारी छ । कतिपय जलविद्युत् आयोजनामा बाढी र पहिरो बस्दा विद्युत् उत्पादन समेत हुन नसकिरहेको प्राधिकरणले जनाएको छ ।

झन्डै तीन महिनादेखि बाढीका कारण बिग्रेका ७३ मेगावाटको मध्य तमोर र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना अहिलेसम्म मर्मत हुन सकेको छैन । जसकारण ती आयोजनाको बिजुली प्रसारण प्रणाली बाहिर छ ।

विद्युत उत्पादन बढ्न थालेसँगै भारतबाट आयात हुने बिजुली कटौती गरिएको प्राधिकरणले जनाएको छ । हाल १५० देखि २०० मेगावाटसम्म मात्र बिजुली आयात भइरहेको छ ।

खपत घट्न थालेको र क्रमशः विद्युत उत्पादन बढेकाले आगामी साउनदेखि विद्युत निर्यात गर्ने लक्ष्य समेत रहेको घोषले बताए । स्वदेशमा खपत भएर बाँकी रहने बिजुली भारत निर्यात गरिने उनले बताए । यसअघि प्राधिकरणले ४०० मेगावाट बिजुली भारत निर्यातका लागि स्वीकृति पाइसकेको छ ।

नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (रन अफ दि रिभर-आरओआर) प्रकृतिका छन् । बर्खा लागेसँगै ती आयोजनाबाट विद्युत् उत्पादन बढ्छ भने हिउँद लागेपछि उत्पादन दुई तिहाइले घट्ने गरेको छ ।

बिजुली खेर जाने चिन्तामा प्रवर्द्धक
बर्खा यामका कारण अधिकांश जलविद्युत् आयोजना पूर्ण क्षमतामा चल्दा कुल जडित क्षमता अनुसारकै बिजुली उत्पादन हुन्छ ।

खासगरी नेपालमा बर्खायामकै बेला बिजुली उत्पादन बढ्छ । तर, प्राधिकरणले बनाएको प्रसारण लाइन र वितरण प्रणालीले नधान्दा ऊर्जा प्रवर्द्धकमा बिजुली खेर जाने चिन्ता बढेको हो । विगतमा पनि बर्खा यामका बेला २५० देखि ३०० मेगावाटसम्म बिजुली खेर गएको थियो ।

बिजुली खेर जाँदा प्रवर्द्धकलाई प्रत्यक्ष नोक्सान हुने हुँदा उनीहरूले पटक-पटक प्राधिकरणलाई निर्माणधीन प्रसारण लाइन छिटोभन्दा छिटो सम्पन्न गरिदिन ताकेता गर्दै आएका छन् ।

कतिपय जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगे पनि प्रसारण लाइन नहुँदा बिजुली खेर जाने अवस्था रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इप्पान) नेपालका उपाध्यक्ष मोहन डाँगी बताउँछन् ।

यस पालीको बर्खायाममा प्राधिकरणले प्रसारण लाइन नबनाएको र वितरण प्रणाली सुदृढ नभएकाले गत वर्षभन्दा कम्तीमा ५०० मेगावाटसम्म बढी बिजुली खेर जान सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : ५३ बजे

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।