सांकेतिक तस्बिर

समाचार

गलकोटमा डेंगी र स्क्रब टाइफसका बिरामी बढे

By खबरहब

August 03, 2024

गलकोट– जिल्लामा साउनयता २६ जनामा डेंगी पुष्टि भएको छ । डेंगी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् ।

बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेंगी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए। साउनमा जिल्लाभर २६ जनामा डेंगी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो । 

‘गलकोट डेंगी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ’, जनस्वास्थ्य निरीक्षक घिमिरेले भने, ‘अहिले गलकोट नगर अस्पतालमा एक दर्जन डेंगी र स्क्रब टाइफसका बिरामी उपचाररत छन् भने दैनिक चारदेखि पाँच जनामा डेङ्गी र स्क्रब टाइफस पुष्टि भइरहेको छ ।’

गलकोटमा गत असारदेखि हालसम्म ४१ जनामा डेंगी पुष्टि भइसकेको नगर स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिए। उनका अनुसार साउनमा मात्रै गलकोटभित्र १७ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । अहिले अधिकांशले घरमा उपचार गराइराखेको भन्दै जटिल समस्या देखिएकाको नगर अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिए।

‘असारमा खोज र नष्ट गरअभियान सञ्चालन गरेका थियौँ । नगरभित्र असारदेखि अहिलेसम्म ४१ जनामा डेङ्गी र १७ जनामा स्क्रब टाइफस फेला परेको छ । सङ्क्रमण भएका बिरामीमध्ये केही घरमा स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ भने केहीलाई अस्पतालमा राखेर उपचार गरिरहेका छौँ’, पौडेलले भने, ‘दुई वर्ष अघिसम्म डेंगी र स्क्रब टाइफसका बिरामी परीक्षण गर्ने व्यवस्था थिएन, अहिले ताराखोला र बडिगाडबाट पनि बिरामी नगर अस्पताल आउने गरेका छन् ।’

डेंगी र स्क्रब टाइफसको उच्च जोखिममा गलकोट नगरपालिका देखिएपछि सर्तकता अपनाउन थालिएको छ । ‘खोज र नष्ट गरौँ’अभियान गलकोटमा तीव्ररुपमा सञ्चालन थालिएको बताउँदै सचेतनामूलक कार्यक्रमलाई थप तीव्रता दिइने उनले उल्लेख दिए। 

गलकोट नगर अस्पतालमा दैनिक २५ जनासम्म उच्च ज्वरोका बिरामी आउने गरेका नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले जानकारी दिए । अस्पताल आएकामध्ये करिब ३० प्रतिशतमा डेङ्गी र स्क्रब टाइफस पुष्टि हुने गरेको छ । 

‘दैनिक २० देखि २५ जना अस्पताल आउनुहुन्छ, परीक्षण गर्दा पाँचदेखि सात जनासम्ममा डेंगी र स्क्रब टाइफस पुष्टि हुने गरेको छ’, डा पौडेलले भने , ‘गलकोटमा उच्च सर्तकता अपनाउन आवश्यक छ ।’

 अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने, रिंगाटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भएको जनाउँदै सबैमा डेंगी सङ्क्रमण भने नदेखिएको उनले जानकारी दिए।

लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा सरसफाइ गर्ने, सुत्दा नियमित झुलको प्रयोग गर्ने, घर बाहिर, खेतबारीमा काम गर्दा पूरै शरीर छोपिने किसिमका लुगा लगाउनेलगायत कुरामा विशेष ध्यान अपनाउनुपर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

यसको समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अन्य अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुने डा पौडेलले बताए। यो रोगबाट बच्ने प्रभावकारी माध्यम भनेको सरसफाइमा विशेष ध्यान दिने र सावधानी अपनाउने रहेको उनले उल्लेख गरे  ।