अन्तर्राष्ट्रिय

सोमालियाको राजधानीमा आत्मघाती हमला हुँदा ३२ जनाको मृत्यु

By खबरहब

August 03, 2024

एजेन्सी– सोमालियाको राजधानी मोगादिशुमा भएको आत्मघाती हमलामा ३२ जनाको ज्यान गएको छ । दर्जनौं मानिसहरू घाइते भएका र धेरैको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।

आत्मघाती हमलाकारी र बन्दुकधारीले सर्वसाधारण ओहरदोहर गरिररहेकै स्थानमा आक्रमण गरेका थिए । मिडियाहरूमा उल्लेख भएअनुसार, मध्य सोमालियाको ठूलो हिस्सामा प्रभाव जमाइरहेको अल-शबाब नामक आतंककारी समूहले सो हमला गरेको हो ।

सुरक्षा कारबाहीमा पाँच आक्रमणकारी मारिएका र एक आक्रमणकारीले आत्मघाती बिस्फोटमा आफैँलाई उडाएको उल्लेख छ । अल-शबाबले पछिल्लो हमलाको जिम्मेवारी लिएको छ ।

अल-शबाबको विश्व आतङ्कवादी सङ्गठन अलकायदासँग सम्बन्ध छ । संयुक्त राष्ट्रसंघ समर्थित सोमालियाको सरकारविरुद्ध सो सङ्गठन विद्रोहरत छ ।