जब काठमाडौंबाट विमान हाइज्याक गरी कन्धार पुर्‍याइयो... | Khabarhub Khabarhub

जब काठमाडौंबाट विमान हाइज्याक गरी कन्धार पुर्‍याइयो…


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको आईसी–८१४ कलसाइनको विमान अपहरणमा परेको २५ वर्ष नाघिसकेको छ ।

काठमाडौंबाट नयाँ दिल्लीतर्फ उडेको विमान २४ डिसेम्बर सन् १९९९ मा भारतीय सीमाक्षेत्र प्रवेश गर्दैगर्दा अपहरणमा परेको थियो । काठमाडौंबाट दिउँसो ४ बजे उडेको विमानमा सवार पाँचजना अपहरणकारीले एकाएक विमान ‘हाइज्याक’ (अपहरण) भएको घोषणा गरेका थिए ।

अपहरणकारीमध्ये एकजनाले विमानको ककपिटमा पुगेर विमानलाई निर्धारित रुट नभएर पाकिस्तानको लाहौरतिर लैजान पाइलटलाई आदेश दिएका थिए ।

विमानमा १७६ यात्री र चालक दलका १५ जना (क्रु मेम्बर) थिए । उक्त विमान अपहरण नेपाल र भारतको हवाई इतिहासमा एउटा नबिर्सिने घटना भएको छ ।

यही विमान अपहरणको घटनालाई लिएर हालै भारतीय फिल्म निर्माता अनुभव सिन्हाको वेबसिरिज ‘आईसी–८१४ द कन्दाहर हाइज्याक’ प्रदर्शनमा आएको छ । सो विमान अपहरण प्रकरण के थियो त ? यो सामग्रीमा सारसङ्क्षेप चर्चा छ ।

पाइलटलाई ‘गन प्वाइन्ट’ मा भनियो– ‘विमान पाकिस्तान लैजाऊ’

कलसाइन आइसी–८१४ का फ्लाइट इन्जिनियर रहेका अनिल के जगिया र भारतीय खोज पत्रकार सौरभ शुक्लाको चर्चित पुस्तक ‘आइस ८१४ हाइज्याक्ड : द इनसाइड स्टोरी’ का अनुसार पाकिस्तानको ‘हरकत उल मुजाहिद्दिन’ का चरमपन्थीले क्याप्टेन देवी शरणलाई ‘गन प्वाइन्ट’ मा राखेर विमान पाकिस्तान लैजान आदेश दिन्छन् ।

चरमपन्थीहरूले लखनऊ (भारत) हुँदै दिल्लीतर्फ गइरहेको विमान एकाएक लाहौर (पाकिस्तान) तर्फ लैजाने आदेश दिएपछि क्याप्टेन देवी शरणले इन्धन कम भएको बताएका थिए । उनले इन्धनका लागि भारतको पञ्जाबस्थित अमृतसरमा विमान अवतरण गर्नुपर्ने बाध्यता सुनाए ।

यद्यपि, विमान हाइज्याक भएको थाहा पाउनासाथ भारतीय सुरक्षाबलले अपहरणकारीविरुद्ध कारबाही तयारी थालिसकेको थियो । तर, विमानमा रहेका अपहरणकारीलाई पनि उक्त तयारीबारे जानकारी भइसकेको हुन्छ ।

अपहरणकारीले इन्धन नथपिकन विमानलाई पाकिस्तानको लाहौर लैजान चालकलाई बाध्य बनाउँछन् । विमान अमृतसरमा अवतरण त भयो तर, इन्धन नभरी पाकिस्तानतिर लगियो ।

लाहौर पुग्दा अन्धकार एयरपोर्ट

अपहृत विमानले अमृतसरमा केही समय रोकिएर बेलुकी झण्डै ६ बजे लाहौरतर्फ उडान भर्छ । विमान लाहौर पुग्दा सुरुवातमा पाकिस्तानले अवतरण अनुमति दिँदैन । पाकिस्तानी अधिकारीहरूले एयरपोर्टका सबै बत्ती बन्द गरेर अन्धकारमय बनाइदिन्छन् ।

तर, विमानलाई इन्धन भर्न लाहौर एयरपोर्टमा अवतरण गराउनुको विकल्प थिएन । अनेक प्रयासपछि विमानलाई अवतरण अनुमति मिल्छ । पाकिस्तान सरकारको अनुमतिबिना नै विमान राति झण्डै ८ बजे लाहौर एयरपोर्टमा अवतरण हुन्छ ।

लाहौरबाट दुबई, २७ यात्री रिहा

इन्धन भरेपछि पाकिस्तानले विमान चालकलाई तत्काल एयरपोर्ट छोड्न आदेश दिन्छ ।

लाहौरबाट विमान दुबई एयरपोर्ट पुग्छ । जहाँ अपहरणकारीले इन्धन भर्ने बहानामा २७ यात्रीलाई बाहिरिने अनुमति दिन्छन् । जसमा अधिकांश महिला र बालबालिका थिए ।

भारतले दुबई एयरपोर्टमा विमान र यात्रुलाई छुटाउन कारबाही प्रक्रिया अघि बढाउन यूएईसँग अनुमति त माग्यो । तर, प्रस्ताव अस्वीकार भयो ।

बिहानै कन्धार एयरपोर्टमा विमान

लाहौरबाट दुबई हुँदै इन्डियन एयरलाइन्सको विमान अर्को दिन झण्डै ८ बजेर ३० मिनेटमा अफगानिस्तानको कन्धार (कन्दहार) एयरपोर्टमा अवतरण हुन्छ ।

त्यसबेला अफगानिस्तानमा तालिवानको शासन थियो । अपहरणको घटनाक्रम नसकिँदासम्म अर्थात ३१ डिसेम्बरसम्म विमान कन्धारमै रह्यो ।

भारतले यहाँ पनि अपहरणकारीविरुद्ध कारबाहीका लागि तालिवानसँग अनुमति मागेको थियो । तर, तालिवानले अस्वीकार गरिदियो ।

डोभालको दाबी– हाइज्याकमा आइएसआइको हात

भारतका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार (वर्तमान पनि) अजीत डोभाल आफैं अपहरणकारीसँग वार्ता गर्न कन्धार पुगेका थिए ।

उनले विमानमा पाकिस्तानी खुफिया एजेन्सी आइएसआइका दुईजना बसेको देखे । पछि आइएसआइका केही अरू मानिसहरू पनि त्यहाँ पुगे । जसमा एकजना लेफ्टिनेन्ट कर्णेल र एकजना मेजर थिए ।

डोभालको भनाइ थियो– अपहरणकारीलाई पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको समर्थन नभएको भए भारतले उक्त सङ्कटलाई सहजै टार्न सक्थ्यो । भारतको कुनै पनि सैन्य अभियानबाट अपहरणकारीलाई जोगाउने उद्देश्यले तालिवानका लडाकुले भारतीय जहाजलाई चारैतिरबाट सुरक्षा दिएका थिए ।

पाँचै अपहरणकारीको कोड नेम– चिफ, बर्गर, डाक्टर, शंकर र भोला

भारतीय लेखक निलेश मिश्राको पुस्तकमा यात्रुले विमान भित्र १७३ घण्टासम्म पाएको दुःखको बयान गरेको छ ।

यसै पुस्तकमा पाँचै अपहरणकारीहरु एकअर्कालाई चिफ, बर्गर, डाक्टर, शंकर र भोला ‘कोड वर्ड’ले सम्बोधन गर्थे । हालै आएको वेब सिरिजमा पनि यिनै नामहरूको जिकिर गरिएको छ ।

तर, नामकै विषयमा भारतमा विवाद चलिरहेको छ ।

गृहले ठम्याएको थियो अपहरणकारीको नाम

भारतीय गृह मन्त्रालयले ६ जनवरी २००० हाइज्याकमा प्रत्यक्ष सङ्लग्न पाँचै जनाको नाम सार्वजनिक गर्‍यो ।

उनीहरू बहावलपुरका इब्राहिम अतहर, कराचीका शाहिद अख्तर सइद उर्फ गुलशन इकबाल, कराचीको डिफेन्स एरियाका सनी अहमद काजी, कराचीको अख्तर कोलोनीका मिस्त्री जहुर इब्राहिम र सुक्कुर सिटीका शाकिर थिए ।

भारतीय विदेश मन्त्रालयको वक्तव्यमा अपहरणकारीले विमानमा चिफ, डाक्टर, बर्गर, भोला र शंकर जस्ता ‘कोड नाम’ राखेका उल्लेख थियो ।

जब नवविवाहितको घाँटी रेटियो

अपहरणकारीले विमानमा आतङ्क फैलाउन यात्री रूपेन कात्यालको घाँटी रेटिदिएका थिए । जसकारण विमानमा रगतको आहाल बनेको थियो ।

अपहरणकारीले नवविवाहित दुलही रचना कात्यालकै अघि उनका पति रूपेनको घाँटी रेटेका थिए । घाँटी रेटेका कारण रूपेनले तड्पी–तड्पी प्राण त्यागेका थिए । जसका कारण विमानका केही यात्रु बेहोस भएका थिए ।

अपहरणकारीको माग : ३६ साथीको रिहाइ, २० करोड डलर फिरौती

अपहरणकारीले भारतीय जेलमा थुनिएका ३६ आतङ्ककारी रिहाइका साथै २० करोड अमेरिकी डलर फिरौती मागेका थिए ।

तर, भारत सरकारले अस्वीकार गरेपछि उनीहरू पछि हटेका थिए । त्यसपछि अपहरणकारीहरू भारतमा बन्दी बनाइएका तीनजना साथीलाई रिहा गर्नुपर्ने मागमा अडिए ।

जसवन्त सिंहका साथ आए तीन आतङ्ककारी

अपहरण सङ्कट नसकिँदासम्म कन्धार एयरपोर्ट भारत र तालिवानी अधिकारीहरूको केन्द्रमा परिणत भयो ।

त्यस दौरान भारतमा अटल बिहारी वाजपेयी नेतृत्वको सरकारका विदेशमन्त्री जसवन्त सिंह थिए । त्यसबेला उनी दुईपटक कन्धार एयरपोर्ट पुग्नुपरेको थियो ।

पहिलोपटक अपहरणकारीसँग वार्ताका लागि गएका जसवन्त दोस्रो पटक भारतीय जेलमा बन्द आतङ्ककारी जैश–ए–मोहम्मदका मौलाना मसुद अजहर, मुस्ताक जरगर र अहमद उमर सइद शेखका साथ कन्धार पुगेका थिए ।

आतङ्ककारीलाई साथमा लैजानुको मुख्य उद्देश्य थियो– विमानका यात्रुको रिहाइ ।

बाजपेयीमाथि आतङ्ककारीसामु घुँडा टेकेको आरोप

भारतका तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीले नयाँ वर्षको पूर्वसन्ध्यामा सरकार अपहरणकारीका माग सक्दो कम गर्न सफल रहेको प्रतिक्रिया दिएका थिए । उनले सङ्कट समाधान भएको पनि बताएका थिए ।

डिसेम्बर ३१ मा जब भारतले अफगानिस्तानको कन्धारमा तीन आतङ्ककारी रिहा गरेपछि यात्रु अपहरणमुक्त भएका थिए । विमानमा रहेका यात्रीहरू अपहरणमुक्त भएपछि सरकारले सङ्कट समाधानका लागि अपनाएको तरिकाबारे प्रश्न उठाइएको थियो ।

आतङ्ककारीसामु घुँडा टेकेको भन्दै प्रधानमन्त्री बाजपेयीको भारतमा तीव्र आलोचना गरिएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : १६ बजे

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

काठमाडौ‌ं– आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड

रविको गुनासो – कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदनमा

१६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं– संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको

आर्थिक विकासमा कछुवा गति, नागरिक पलायन दोब्बर

काठमाडौं– तत्कालीन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा चलेको १० वर्षे सशस्त्र

संविधान संशोधन कि पार्टीमा सुधार ?

हामी नागरिकहरूको सार्वभौमसत्ता मतपत्र उचालेपछि सुरु हुन्छ र खसालेपछि समाप्त