अर्थसंक्षेप : सहकारी विशेष छानबिन समितिको म्याद थप, असोजको पहिलो साता मेलम्चीको पानी काठमाडौं आउने | Khabarhub Khabarhub

अर्थसंक्षेप : सहकारी विशेष छानबिन समितिको म्याद थप, असोजको पहिलो साता मेलम्चीको पानी काठमाडौं आउने


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप गरिएको छ । असोजको पहिलो साता मेलम्चीको खानेपानी काठमाडौं आउने खानेपानी मन्त्रीले बताएका छन् ।

आज शेयर बजार झिनो अंकले बढेको छ । आज सुनको मूल्य स्थिर रह्यो । त्यस्तै चिनियाँ अर्थतन्त्र घट्दै गएको सूचकहरूले देखाएका छन् ।

आजका प्रमुख आर्थिक समाचार : 

सहकारी प्रकरण : संसदीय समितिको म्याद १५ दिन थपियो

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप गरिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले समितिको म्याद थप गर्ने समिति संयोजक सूर्य थापाको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यसअघि बैठकमा समिति संयोजक थापाले म्याद थपको प्रस्ताव प्रस्तुत गर्दै समितिले गरेको कामकारबाहीका बारेमा जानकारी गराएका थिए । उनले अहिलेसम्म समितिको ५१ वटा बैठक बसेको र सहकारी दुरुपयोग सम्बन्धी तथ्यमा पुग्ने काम भएको जानकारी दिए । जरैदेखि समस्याको पहिचान र समाधान गर्ने तर्फ कोसिस गर्नका लागि विभिन्न निकायदेखि आरोपितसँग समेत छलफल गरिएको उनले बताए । उनले तथ्यको पुष्टि र पुनर्पुष्टि गर्न समय नपुगेकाले म्याद थपको प्रस्ताव गर्नुपरेको जिकिर गरे ।

‘सञ्चालकले एक वर्षसम्म शेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरूको स्वामित्वमा भएको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्ड (सेबोन) को ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ ९१ क ० अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको तर्क छ ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शेयर विक्रीसम्बन्धी व्यवस्था अत्यन्तै कठोर रहेको जानकारी गराउँदछौँ । कम्पनीमा कायम रहेका सबै शेयरधनी जस्तै सञ्चालकहरू पनि लगानीकर्ता नै रहेको र शेयर धनीहरूको साधारण सभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा उनीहरूमाथि यति कठोर भेदभाव गरिनु न्यायोचित नभएको जानकारी गराउँदछौ, ।’

नीतिगत सुधारमा सरकार प्रतिबद्ध  : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिन सक्ने आयोजनाहरूमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डेबन साञ्चेजसँग अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने बताएका हुन् ।

उनले नेपालका लागि विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी(इसीएफ) को चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारमा प्रतिबद्ध रहँदै सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौ समीक्षाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

असोजको पहिलो सातादेखि काठमाडौंमा मेलम्चीको पानी आउने

खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोध्नु भएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनः सञ्चालनमा ल्याई काठमाडौँवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उनले बताए ।

मौसममा सुधार आउने बित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराइएको उनले बताए ।

चिनियाँ अर्थतन्त्रका सूचक लगातार घट्दै

चीनमा अर्थतन्त्रका सूचकहरू लगातार घट्दै गएको पाइएको छ । चीनको  राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ताको विश्वास सूचकांक ३० वर्षयताकै न्यून विन्दुमा छ ।

त्यसबाहेक त्यहाँको औद्योगिक उत्पादन जुलाई महिनामा पनि घटेको छ । यो सूचक लगातार तीन महिनादेखि घट्दै गएको रोयटर्सले जनाएको छ । त्यसैगरी, त्यहाँको खुद्रा माग पनि घटेर २ देखि २।५ प्रतिशतमा खुम्चेको छ ।

६ अंकले बढ्यो नेप्से, कारोबार १३ अर्बमाथि 

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । नेप्से झिनो अंकले बढ्दा कारोबार भने केही बढेको छ । सोमबार १२ अर्ब ९१ करोडको कारोबार भएकोमा आज बढेर १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा ११ अंकले बढेर सुरु भएको शेयर बजार सुरु भएको केही समयमै माथि गएको थियो । तर बजार पुन बजार लत झर्‍यो । आज दिनभर शेयर बजारको उतार चढाव कायम नै रह्यो ।

मंगलबार नेप्से न्यूनतम २८०२.९२ विन्दु र उच्चतम २८६०.४३ विन्दुसम्म पुगेको थियो । बजार बन्द हुँदा भने २८३० विन्दुमा पुग्यो । आज एकै दिने नेप्सेमा ३० अंकको करेक्सन भएको छ । आज ९ पटक बजार तल झरेर माथि गएको थियो । आज बजार ६ अंकले बढ्दा ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर १ लाख ४४ हजार १९७ पटक किनबेच भएको छ ।

सुनको मूल्य स्थिर

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुपरमाई हाईड्रोपावरले १३.६३ प्रतिशत बोनस दिने

सुपरमाई हाईड्रोपावर लिमिटेडले १३.६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०–८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई नगद र शेयर बोनस दिने भएको हो ।

कम्पनीका सचिव दिनेश कुमार बर्तौलाका अनुसार कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ३ करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो ।

यस्तै, करसहित ५.६३ प्रतिशत अर्थात २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश दिनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : २४ बजे

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग जोडिएका सडक तथा रेलमार्ग बन्द

एजेन्सी– उत्तर कोरियाले बुधवारदेखि दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग

ऊर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण

काठमाडौं– ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

काठमाडौं– वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको

राष्ट्रपतिबाट नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको