बीपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै « Khabarhub

बीपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोकरोशी खोलाको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । 

रोशी खोलाको बहावलाई सोझ्‍याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।  विभागले बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम सुरु गरेको हो । रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाइमा कटान गरेको छ । 

सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्‍याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरि निर्माण थालिएको बताए।

‘हिजोदेखि काम थालिसकेका छौँ, अब दुई दिनभित्र एकतर्फी भए पनि यातायात सञ्चालन गर्नेगरी अस्थायी सडक बनाउने काम गर्नेछौँ’, उनले भने । 

उनका अनुसार छिट्टै सडक सञ्चालन गर्न सकिने ‘क्रस–डाइभर्ट’ विधि खोलामा पानीको बहाव नघटेकाले हाललाई असम्भव छ । बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाइभर्ट गर्न असम्भव भएको उनले बताए। 

अविरल वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि स्थानीय तथा यात्रु अलपत्र परेका थिए । उनीहरूलाई गत आइतबारदेखि हेलिकप्टरमार्फत उद्धार गरिएको  थियो । राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न असहज छ । 

उक्त राजमार्गमा रोकिएका सवारी सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मत थालिएको हो । सडक डिभिजन भक्तपुरले मङ्गलबारदेखि रोशीले सबैभन्दा बढी क्षति गरेको सडक १ नं पुलदेखि नेपालथोकसम्म मर्मत सुरु गरेको हो । 

पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल–भकुण्डेबेँसी सडक गत सोमबारदेखि नै एकतर्फी सञ्चालन गरिएको छ । भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मत अघि बढाइएको सडक डिभिजनले जनाएको छ । 

डिभिजनले काभ्रेतर्फबाट स्काभेटर लगायत चार उपकरण प्रयोग गरेको छभने  नेपालथोकबाट पाँच डोजरलगायतका उपकरण  प्रयोग गरेको छ । जनकपुरबाट आएका पाँच उपकरणले मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरी सडकमा अलपत्र सवारिसाधन सिन्धुलीतर्फ फर्काउने योजना छ । 

हालसम्म भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने यकिन तथ्याङ्क आइनसकेको भए पनि २९ किमिको यस खण्डमा करिब दुई किलोमिटर सडक बाढीले पूर्ण रुपमा बगाएको अनुमान छ । राजमार्गको कुल एक सय ६० कीमीमध्ये अविरल वर्षाले तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ कीमी र चौथोखण्ड नेपालथोकदेखि धुलिखेलसम्म ५० कीमी गरी ८४ कीमी सडकको विभिन्न स्थानमा क्षति पुगेको कार्यालयले जनाएको छ । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो राजमार्ग निर्माण गर्दा प्रतिकिमी रु ३५ करोड लागत थियो । सो रकम हालको मूल्याङ्कन अनुसार रु ५० करोडभन्दा माथि हो । क्षति पुगेको करिब दुई कीमी सडक र अन्य स्थानको क्षतिको मूल्याङ्कन प्रारम्भिक अनुमान दुई अर्बभन्दा माथि रहेको डिभिजन प्रमुख योगेशले बताए । 

बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडक भने सोमबारदेखि सञ्चालनमा ल्याइएको छ । 

जाइकाको सहयोगमा आर्थिक वर्ष २०५३-०५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते सम्पन्न सडक जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

तत्कालीन अवस्थामा जापान सरकारको २६  ‘बिलियन’ जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  १२ : २१ बजे

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको