काठमाडौं – नेपाली युवा टोलीले यूएईमा जारी यू-१९ एसिया कपको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराएको छ।
अफगानिस्तानले पहिले ब्याटिङ गर्दै बनाएको १२४ रनको चुनौती नेपाली टोलीले ४१ ओभर ३ बलमै भेट्टाएर जित पक्का गरेको हो ।
नेपाललाई जिताउने क्रममा नरेन साउदले सर्वाधिक २६ रनको योगदान दिए । त्यसपछि अविजित रहेका कप्तान हेमन्त धामी २२ रनको योगदान दिए । नेपालका अन्य ब्याटरमा अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९, रोशन विश्वकर्माले ९ रन बनाए ।
नेपाल कुनै समय ८४ रनमा आठ विकेट गुमाएर धरासायी भएको थियो। तर नेपाललाई हेमन्त र नरेनले सम्हाल्दै जितसम्म डोर्याए । दुवैले नवौँ विकेटका लागि ३१ रनको साझेदारी गरेपछि नेपालले जित निकाल्न सक्यो ।
पराजित अफगानिस्तानका लागि अल्लाह गजन्फर र खातिर स्टानिकजाईले समान ३-३ विकेट झार्न सफल भए ।
यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानलाई नेपालले १२३ रनमा समेटेको थियो । अफगानिस्तानका कप्तान महबुब खानलाई शून्यमा बोल्ड आउट गरेको नेपालले १२३ रनमा रनआउट गरेको थियो ।
अफगानिस्तानका लागि फैसल खानले अर्धशतक बनाएका थिए ।
बलिङमा प्रभाव देखाउन सफल नेपालले अफगानिस्तानलाई ३५.४ ओभरमै १२३ रनमा अलआउट गरेको थियो । नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३-३ तथा अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २-२ विकेट झारे ।
यसअघि एसिया कपमा नेपालले पहिलो खेलमा श्रीलंकासँग ५५ रनले हार भोगेको थियो । उता दोस्रो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजि भएको थियो ।
प्रतिक्रिया