क्यान्सरको कष्ट : नेपालमा कुल मृत्युको ११ प्रतिशत कारक क्यान्सर | Khabarhub Khabarhub

क्यान्सरको कष्ट : नेपालमा कुल मृत्युको ११ प्रतिशत कारक क्यान्सर


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

कैलालीको टीकापुरका करिब ५५ वर्षीय लोकराज रेग्मीलाई दाँत दुख्ने समस्या थियो । अत्यधिक दुखेपछि उनले दाँत निकाले । दाँत निकालेपछि उनलाई टाउको दुख्न थाल्यो । दुखाई कम गर्ने औषधी खाए । धामी झाँक्री, जडिबुटी आफूले सक्दो गरे तर उनलाई टाउको दुख्न सञ्चो भएन । झन दिनप्रतिदिन बढ्दै गयो । पछि उनलाई उपचारको लागि काठमाडौं ल्याइयो चेकजाँच गर्दा टाउकोमा ट्युमर भइसकेको रहेछ । अप्रेशन गरेर ट्युमर हटाइयो, तर होशमा नआइकनै उनको मृत्यु भयो ।

त्यस्तै, अछाम पञ्चदेवलकी एक महिलालाई लामो समयदेखि ढाड, तल्लो पेट दुख्ने समस्या थियो । सकुन्जेल सहेरै बसिन् कसैलाई भनिनन् । जब सहनै नसकिने गरी दुखाई भयो र बयलपाटा अस्पतालमा उपचारका लागि लगियो, उनलाई पाठेघरको क्यान्सर रहेछ । उपचार गर्न जाँदा शरीरका विभिन्न भागमा क्यान्सर फैलिसकेको थियो । उपचार त गरियो तर प्रभावकारी भएन केही दिनमै उनको मृत्यु भयो ।

लोकराज र ती महिला जस्तै धेरै बिरामी कुनै गम्भीर समस्या नभइ अस्पताल पुग्दैनन् । मानौं कुनै बिरामीलाई अत्यधिक पेट दुख्यो भने ऊ पहिले पेटको जाँच गर्न अस्पताल जान्छ । पेटको डाक्टरले पेटको जाँच गर्छ नदुख्ने औषधि दिन्छन् । केही समय निको हुन्छ । त्यसपछि फेरि समस्या देखियो भने डाक्टरले सम्पूर्ण जाँच गराउँछन् । त्यसपछि मात्र बिरामी क्यान्सर डाक्टरकहाँ पुग्छन् ।

डाक्टरले कस्तो क्यान्सर हो, कुन स्टेजको हो भनेर मूल्याकंन गर्छन् । कुनै क्यान्सर पहिचान गर्न त भारत वा अन्य देशमा पठाउनु पर्छ । त्यसको रिपोर्ट आउन पनि समय लाग्छ । यसरी रोगको पहिचानमा नै धेरै समय लागेपछि समस्या झन् बढिसकेको हुन्छ ।

त्यसैले समयमै क्यान्सरको पहिचान गर्नेतर्फ व्यक्ति र सरकारले ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । वीर अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डाक्टर विनोद आचार्य भन्छन्– यदि बिरामी पहिलो चरणमै अस्पताल आएमा धेरै क्यान्सर निको पार्न सकिन्छ । अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्ने प्रवृत्तिले एकातिर पैसा पनि खर्च हुन्छ र बिरामीको ज्यान पनि जोगिदैन ।

भयावह क्यान्सर

नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ । नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतशित हिस्सा क्यान्सरको रहेको सरकारले बताएको हो । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।

२०२० को तथ्याङ्कअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीका अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए ।

नेपालमा प्रत्येक वर्ष करिब २० हजार जनाभन्दा धेरै मानिसमा क्यान्सर पहिचान हुने गरेको उनले बताए । २०२० मा क्यान्सरकै कारण नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो । नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर रहेका छन्  ।अहिले २० हजार नयाँ केसको डिटेक्शन भएको र १६ हजार मृत्यु भएको उनले बताए ।

चिकित्सकहरुका अनुसार क्यान्सर गराउन सक्ने प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन हो ।

उनका अनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथा मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरू बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ । अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारण मध्ये एक हो । विश्वको तथ्याङ्कअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ ।

क्यान्सर हुनुको मुख्य कारण

चिकित्सकहरुका अनुसार क्यान्सर गराउनसक्ने प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन हो । हाम्रो समाजमा चुरोट, खैनी, बिँडी, तमाखुको प्रयोग धेरै नै हुने गरेको छ । यसले फोक्सो, मुख, खानेनली आदिको क्यान्सर गराउने डाक्टर आचार्यले बताए । सूर्तीपछि मदिरा क्यान्सरको दोस्रो कारक तत्व हो । अत्यधिक मदिराले विभिन्न रोग निम्त्याउनुका साथै क्यान्सरको संभावना बढाउँछ उनले भने ।

क्यान्सर हुनसक्ने कारणमध्ये अस्वस्थ खानपान जंकफुड, चिल्लोपिरो बढी भएका, विषादी प्रयोग गरिएका खानेकुरा क्यान्सर निम्त्याउने कारक तत्व मानिन्छन् । प्याकेटमा राखिएको, बट्टा अथवा ‘क्यान्ड फूड’ मा ‘प्रेजर्भेटिभ’ हालिएको, कृत्रिम गुलियो राखिएको खानेकुराले पनि क्यान्सरको जोखिम बढाउने गर्छ ।

प्राय सबै परिस्कृत मासुमा मिसाइने सोडियम, नाइट्रेटले मासुलाई ताजा र बासनादार बनाए पनि यसमा क्यान्सर बनाउने तत्व रहने गरेको विभिन्न अध्ययनमा देखिएको छ । धुवाँमा पोलेको मासुमा अँगार हुने भएकाले यो खानेनली र फोक्सोको क्यान्सरको कारक हो । रातो मासुले कोलोन क्यान्सरको खतरा बढाउने डाक्टर आचार्य बताउँछन् ।

त्यस्तै हेपाटाईटीस बी, सी अनि ह्यूमन प्यापीलोमा भाईरसका कारणले पनि क्यान्सर भएको पाईन्छ । उनका अनुसार केही क्यान्सरहरु भने पुस्तैनी रुपमै जिनमा आउने हुन्छ । कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।

क्यान्सरबारे चेतना, रोकथाम र उपचार

कतिपयमा क्यान्सर भएपछि उपचार नै हुँदैन भन्ने भ्रम पनि छ । क्यान्सर भएको सुरुमै थाहा पाइयो भने उपचार हुन्छ । अहिले त धेरै हदसम्म क्यान्सरको उपचार नेपालमै सम्भव रहेको ओम अस्पतालमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर विनोद अर्यालले बताए ।

उनका अनुसार निको नहुने अवस्थामा पुगेको क्यान्सरमा पनि विभिन्न प्रकारका तनाव र असहजताका साथै दुखाइ कम गराएर बाँचुन्जेल आरामसाथ बाँच्न सघाउन सकिन्छ ।जसले बाँचुन्जेल ‘क्वालिटी अफ लाइफ’ राम्रो बनाउँछ । यसलाई पेलिएटिभ केयर भनिन्छ ।

सरकारले क्यान्सर रोगीलाई उपचारको दायरामा ल्याउन एक लाख रुपैयाँ अनुदान दिएको छ ।

क्यान्सरको नराम्रो पक्ष भनेको यसले दुखाई वा अन्य कुनै समस्या नल्याएर पनि बढिरहन सक्छ । यसले गर्दा पहिलो चरण पत्ता लगाउन कठिन हुन्छ र बिरामीहरू क्यान्सर फैलिसकेको अवस्थामा मात्रै अस्पताल आइपुग्छन् । तर यो हुने संभावनाबारे पहिल्यै जानकारी हासिल गर्न सकिन्छ । विशेषगरी महिलामा हुने स्तन र पाठेघरको मुखको क्यान्सर हुने संभावना जाँच हुने प्रविधिको विकास भएको उनले बताए ।

क्यान्सरको बारेमा पर्याप्त ग्रामीण तहसम्म जनचेतना पुग्न सकेको छैन । यसबाट जोगिन आफ्नो जीवनशैली सुरुदेखि नै स्वस्थ राख्नुपर्छ भन्ने जानकारी सबै ठाउँमा पु¥याउन जरुरी छ उनले भने । विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र स्तन क्यान्सर सजिलैसँग प्रारम्भिक जाँच गराएर पत्ता लगाउन सकिन्छ । त्यसैले यी क्यान्सरहरूको स्क्रिनिङ टेस्टका बारेमा जनचेतना जगाउन जरुरी छ ।

पाठेघरको मुखको क्यान्सर लाग्नुभन्दा धरै अगाडि नै पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन पाठघरको मुखको पानी निकाली टेष्ट (प्याप स्मेयर) गरी १० वर्ष अगाडि नै क्यान्सर हुन्छ कि हुँदैन भनेर पत्ता लगाउन सकिन्छ ।

यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरसद्वारा हुन्छ । यदि स्क्रिन गरी यो क्यान्सर देखिएमा पाठेघर नै निकाली क्यान्सरबाट जोगिन सकिन्छ । अहिले यसका लागि नेपालमै भ्याक्सिन पनि उपलब्ध रहेको डा.अर्यालले बताए । उनका अनुसार स्तन क्यान्सरका लागि मेमोग्राम गरिन्छ र ठूलो आन्द्राको क्यान्सरका लागि दिसाको जाँच र क्लोनोस्कोपी गरिन्छ ।

त्यस्तै, सरकारले क्यान्सर रोगीलाई उपचारको दायरामा ल्याउन एक लाख रुपैयाँ अनुदान दिएको छ । यो पर्याप्त नभएपनि केही हदसम्म सहयोग पुगेको छ । यी तथ्यहरूका आधारमा हामीले जीवनशैली परिवर्तन गर्न सक्यौं भने ७० प्रतिशत क्यान्सरको जोखिमबाट जोगिन सकिने डाक्टर आचार्य बताउँछन् ।

त्यसैले, हरेक व्यक्तिले वर्षको एकपल्ट आफ्नो स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ । महिलाको स्तन र पाठेघरको र महिला पुरुष दुवैले ठूलो आन्द्राको जाँच गराउन जरुरी छ । क्यान्सरका उपचार विभिन्न तरिकाले गरिन्छ । जसमा सर्जरी रेडियसशन थेरापी, केमोथेरापी, हर्मोनथेरापी आदिको प्रयोगले गरिन्छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ३८ बजे

पोलियो भाइरस भेटिएपछि काठमाडौंमा विशेष खोप अभियान सुरू हुँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका

आजका समाचार : संसदमा प्रधानमन्त्रीको सवाल जवाफ, लुम्बिनीमा नयाँ मुख्यमन्त्री, बाइडेनले छाडेपछि कमला ह्यारिस मैदानमा

प्रधानमन्त्री ओली र माओवादी उपमहासचिव पुनबीच संसद्‍मै भनाभन प्रधानमन्त्री केपी

विपद्मा परी हालसम्म १३१ को मृत्यु

काठमाडौं– बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म मुलुकभर एक सय

आफ्नै बोलीले विवादमा तानिँदै ओली

काठमाडौं- प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने

‘आउटल : दफा २१९’को टिजरमा सुशीलको एङ्ग्री अवतार

काठमाडौं– असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आउटल : दफा