चौरासी नजिकका अजित : चौधरीले फसाए कि आफैं ? | Khabarhub Khabarhub

चौरासी नजिकका अजित : चौधरीले फसाए कि आफैं ?

ज्ञानेन्द्रका बालसखा, सूर्यबहादुरका 'विभीषण'


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


91.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा समातिएका घरानियाँ व्यापारी अरुणकुमार चौधरीको सर्वत्र चर्चा छ । यही काण्डमा चौधरीभन्दा पहिल्यै पक्राउ परेका अर्का ८२ वर्षीय सुकिला–मुकिला भीआइपीको भने खासै चर्चा छैन ।

हिन्दु परम्पराअनुसार चौरासी गर्ने बेला हुन लागेका धनकुटे काजी अजितनारायण सिंह थापा यतिबेला सीआइबीको नियन्त्रणमा छन् । ८२ वर्षको उमेरमा प्रोस्टेडको बिरामीसमेत रहेका उनी ३८ वर्ष पहिल्यै गरेको कर्मका आधारमा प्रहरीको फन्दामा परेका हुन् ।

बाँसबारी छाला जुत्ता कारखानाको १0 रोपनी जग्गा चौधरी परिवारका नाममा विक्रीको निर्णय गर्दा थापा कार्यकारी प्रमुख थिए ।

पञ्चायत र बहुदल दुबै व्यवस्थामा सरकारी नियुक्ति खाएका अजित अघिल्लो सातासम्म पुरानो बानेश्वर नजिकै रातो ईंटाले बनेको निजी निवासमा घाम तापेर ‘रिटायर्ड लाइफ’ बिताइरहेका थिए । फलफूल किन्न घरबाट फुत्त बाहिर निस्कँदा पक्राउ परेका उनको गिरफ्तारीबारे श्रीमतीसमेत निकै समय बेखबर भइन् ।

बत्तीसपुतलीमा रहेको अजितनारायण सिंह थापाको  घर (माथि)

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई) को नियन्त्रणमा रहेका अजितमाथि प्रहरीले अरुण चौधरीसँगै अनुसन्धान गरिरहेको छ । करिब चार दशकअघि नै बाँसबारी छाला जुत्ता कारखानाको कार्यकारी प्रमुख रहेका उनले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णयमा सही गरेका थिए ।
अजितले यो काम नियतबस गरे वा चौधरी ग्रुपको षड्यन्त्रमा फसेर गरे ? अनुसन्धानपछि रहस्य पक्कै खुल्ने छ । यो प्रकरणमा तत्कालीन मन्त्रिपरिषद भन्दा माथि ‘भूमिगत गिरोह’ को पनि संलग्नता त थिएन ? यो पनि अनुसन्धानबाटै खुल्ला ।

डाँडापारिको घामजस्तै वयोवृद्ध अवस्थाको मानिसलाई प्रहरी हिरासतको साटो अस्पतालमा राख्नु मानवीय दृष्टिले अन्यथा मान्न नमिल्ने प्रहरीको तर्क छ । यस्तो वयोवृद्ध मानिस दोषी ठहर भएको अवस्थामा कानुनले नै केही प्रतिशत सजाय छुट हुने प्रवन्ध गरेको छ ।

को हुन् अजितनारायण ?

धनकुटाको मुगामा जन्मेका अजितनारायण सिंह थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका तेह्रदिने दाजुभाइ हुन् । नाताले उनी सूर्यबहादुरका भाइ एवं सुनीलबहादुर थापाका काका हुन् । तर, सूर्यबहादुर र अजितनारायणको राजनीतिक यात्रा भने सधैं ‘शत्रुतापूर्ण’ नै रह्यो । १३ दिने दाजुभाइ भए पनि अजित र सूर्यबहादुर थापाको परिवारबीच ‘इगो’ टस्सल पर्दै आएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहका स्कुले साथीसमेत रहेका अजित पञ्चायतकालमा आफ्ना दाजु सूर्यबहादुर थापाको विपक्षमा परिचालित भएको ‘भूमिगत गिरोह’ सँग नजिक मानिन्थे । पञ्चायतकालमा उनी आफ्ना दाजु सूर्यबहादुर थापाको विरोधी मानिने दरबारको फरक गुटमा रहे ।

पञ्चायती चुनावमा अजितले सूर्यबहादुर थापालाई हराउन धनकुटामा भरत भट्टराईलाई खडा गरेका थिए । तर, उनले सूर्यबहादुरलाई हराउन सकेनन् ।

मुगाली थापाहरुमध्ये ‘सिंह’ र ‘बहादुर’ दुबै खलक सम्पन्न मानिन्छन् । उनीहरुबीच कोभन्दा को कम भन्ने भावना अघिल्लो पुस्तादेखि नै थियो ।

 

मुगामा रहेको अजितनारायण सिंह थापाको  पुर्ख्यौली घर (माथि)

मुगामा कसको घर ठूलो र भव्य बनाउने भन्नेमा पनि थापाकाजीहरुमा प्रतिस्पर्धा थियो । सूर्यबहादुर थापाका पिता लप्टन टेकबहादुर थापाले विसं. २००१ सालमा बनारसबाट कालिगढ ल्याएर भव्य महल बनाएका थिए ।

सूर्यबहादुर थापा कहिलेकाहीँ घर जाने र बस्ने गरेका थिए । तर, सूर्यबहादुरका पिताले बनाएको सो महल सशस्त्र विद्रोहका बेला माओवादीले आगो लगाएर ध्वस्त बनाइदिए ।

अजितनारायणले अहिलेसम्म आफ्नो घरमा कांग्रेसको झण्डासमेत टाँगेर सम्हालेरै राखेका छन् भने सूर्यबहादुरका छोरा–नातिले घरको पुनर्निर्माण अझै गर्न सकेका छैनन् ।

स्व. सूर्यबहादुर थापाको पुर्ख्यौली घरको भग्नावशेष (माथि)

लप्टन टेकहादुर थापाले आफ्ना छोरा सूर्यबहादुर थापालाई काठमाडौं पढ्न पठाए । अजितनारायण सिंह पनि के कम ? उनी धनीहरुले पढ्ने दार्जीलिङको ‘नर्थ पोइन्ट’ अर्थात् चर्चित सेन्ट जोसेफ (क्याथोलिक) स्कुलमा भर्ना भए ।

काठमाडौंबाट दार्जीलिङमा पढ्न गएका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग अजितनारायणको भेट र मित्रता त्यही जोसेफ स्कुलबाटै भयो ।

पञ्चायतकालमा सूर्यबहादुर थापा र अजितनारायणको राजनीतिक मैदान धनकुटा र काठमाडौं बन्न गयो । पञ्चायतकालमा सूर्यबहादुर थापाविरुद्ध सक्रिय बनेका अजितनारायण बहुदलपछि पनि लगातार आफ्ना दाजुविरुद्ध सक्रिय रहे ।

राजाले ०४० को दशकमा आफूलाई प्रधानमन्त्रीबाट हटाएका बेला सूर्यबहादुर थापाले आफूविरुद्ध भूमिगत गिरोह सक्रिय बनेको बताएका थिए ।

धनकुटाका हरेक चुनावमा अजितनारायणले आफ्ना दाजु सूर्यबहादुर थापालाई हराउन भूमिका खेल्दै आएका थिए ।

पञ्चायती व्यस्वस्थाको अन्तिम स्थानीय चुनावबाट पदमबहादुर बस्नेत (रामकाजी) धनकुटा जिल्ला पञ्चायतका सभापति निर्वाचित भए । तर, यसक्रममा सूर्यबहादुर थापाका निकट मानिने बस्नेतले अजितनारायणको चुनौती सामना गर्नु¥यो । त्यसबेला बस्नेतले १४ भोटको झिनो अन्तरले मात्रै जिल्ला सभापति जितेका थिए ।

धनकुटा क्षेत्र नम्बर २ बाट ०४८ को चुनावमा एमाले नेता गोपाल गुरागाईले जित्दा सूर्यबहादुर थापा दोस्रो बनेका थिए । त्यसबेला अजितनारायणले अर्जुन थापालाई नेपाली कांग्रेसबाट उठाएर दाजुलाई हराउन भूमिका खेले । परिणामस्वरुप, एमालेका गुरागाईले १७ हजार ७६३ लोकप्रिय पाए थिए भने सूर्यबहादुरले ८ हजार ५०८ मत मात्र पाए । तेस्रो बनेका अर्जुन थापाले ४ हजार ७५४ मत ल्याए ।

मध्यावधि चुनाव ०५१ मा पनि अजितनारायण थापाले आफ्ना दाजु सूर्यबहादुरलाई हराउन कांग्रेसका मनोहरनारायण श्रेष्ठलाई साथ दिए । तर, सूर्यबहादुरले मध्यावधि चुनाव जिते । एमालेका गोपाल गुरागाई दोस्रो र कांग्रेसका मनोहरनारायण श्रेष्ठ तेस्रो बने ।

अजितनारायणले ०५६ को चुनावमा फेरि आफ्ना दाजु सूर्यबहादुर थापाविरुद्ध आफ्नै बन्धु अर्जुन थापालाई धनकुटा क्षेत्र नम्बर २ मा साथ दिए । तर, त्यो चुनावमा पनि सूर्यबहादुर थापा पहिलो, एमालेका गोपाल गुरागाई दोस्रो र अर्जुन थापा तेस्रो बने ।

बहुदल आएपछि पनि नेपाली कांग्रेससँगको निकटताका कारण विद्युत प्राधिकरण, नेपाल वायु सेवा निगम लगायतका विभिन्न ठाउँमा राजनीतिक नियुक्ति खाएका अजित प्रत्यक्ष राजनीतिमा भने जिल्ला तहभन्दा माथि उठ्न सकेनन् । सूर्यबहादुर भने पटक–पटक प्रधानमन्त्री भए ।

प्रधानमन्त्री वा मन्त्री बन्न नसके पनि अजितले बहुदलकालमा राजनीतिक नियुक्तिहरुबाट बञ्चित हुनुपरेन । सरकारी संस्थानलाई निजीकरण गर्ने लाइनका अगुवा कांग्रेस नेता डा. रामशरण महतको विश्वासपात्र रहेका कारण अजितले पञ्चायतकालमा जस्तै प्रजातन्त्रमा पनि सरकारी संस्थानहरुको जिम्मेवारी निभाए ।

दरबारसँग निकट रहेकै कारण अजितनारायण पञ्चायतकालमा बाँसबारी छाला जुत्ता कारखानाको कार्यकारी प्रमुख बन्न सफल भएका थिए । उनले बहुदलकालमा पनि नेपाली कांग्रेसमा लागेर विभिन्न संस्थानमा राजनीतिक नियुक्ति पाए । तर, कुनै पनि संस्थानमा उनको नेतृत्व सम्झन लायक रहेन ।

जीवनको उत्तरार्धमा सरकारी सम्पत्ति हिनामिनाको बात लागेका अजितनारायण पक्राउ परेपछि परिवारभित्र तरंग उत्पन्न भएको छ । भएकाले राष्ट्रपतिका सल्लाहकार सुनीलबहादुर थापाले काकालाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझेका छन् । यसवापत उनले बचाऊमा लागेको आरोपसमेत खेपेका छन् ।

सूर्यबहादुर थापाको निधनपछि अन्ततः सुनीलबहादुर थापा पनि अजितनारायण सिंह थापा लागेको पार्टी नेपाली कांग्रेसमै एकाकार बनेका छन् । सायद यसले दुई परिवारबीचको पुरानो दुरी घटाएको छ ।

अजितनारायणका श्रीमती, दुई छोरा र एक छोरी छिन् । छोरी र जेठा छोरा अमेरिकामा छन् । कान्छा छोरा स्टाण्डर्ड चार्टर्ड बैंकमा काम गर्छन् । पूर्वमा अजितको आफ्नै विकास बैंकसमेत छ । पुर्ख्यौली रुपमै उनी सम्पन्न व्यक्ति हुन् ।

अजितकी छोरीले पूर्वमन्त्री भेषबहादुर थापाका छोरा भाष्कर थापासँग बिहे गरेका कारण अजित र भेषबहादुर नाताले सम्धी हुन् । तर, भेषबहादुरका छोराको अमेरिकामा भएको दु:खद निधनले दुबै परिवारमा शोक निम्त्याएको अवस्था छ । अजितकी छोरी र नातिनातिना हाल अमेरिकामै बस्छन् ।

विगतमा ज्ञानेन्द्रसँग सम्बन्ध रहेको र सूर्यबहादुर थापाको विपक्षमा उभिए पनि ०४६ पछि अजितनारायण प्रजातन्त्रवादी बने । मुगामा उनलाई समाजसेवीका रुपमा समेत मानिसहरुले लिन्छन् ।

विद्यालय, खानेपानी, पाटी पौवा निर्माणमा अजितले सहयोग गर्ने गरेको स्थानीय सम्झन्छन् ।  मुगामा रहेको घरको स्याहार पनि उनले अरुको भन्दा राम्रै गरेको देखिएको छ । अरु मुगाली थापाहरुले भने आफ्ना भग्न घरहरुको हेरचाह र स्याहार नगरी चटक्क छाडेका छन् ।

बाँसबारीमा अजितनारायणको संलग्नता के हो ?

बाँसबारी छाला जुत्ता कारखाना चीन सरकारको सहयोगमा २०२० सालमा बनेको हो । अहिले गंगालाल हृदयरोग केन्द्र रहेको ठाउँमा  कारखानाको ८३ रोपनी जमिन थियो ।

अजित नारायण सिंह थापाले आफू कार्यकारी प्रमुख रहेका बेला सञ्चालक समितिबाट निर्णय गराएर ०४३ भदौ १३ गते विनोद चौधरी र उनको परिवारले खोलेको ‘च्याम्पियन फुट वेयर’ लाई बाँसबारीको १० रोपनी सरकारी जग्गा दिने निर्णय गराए ।

त्यसबेला प्रतिरोपनी ८ लाख पर्ने जग्गालाई २ लाख ५० हजारका दरले बेच्ने निर्णय थापाले गराएका थिए । चौधरी परिवारले त्यो पैसा पनि सरकारलाई बुझाएन । पैसाको साटो उसले २५ सय कित्ता सेयर दिने भन्यो । ८३ रोपनी जग्गामा रहेको सरकारी बाँसबारी छाला जुत्ता कारखाना १० रोपनीवाला चौधरीको सेयर सदस्यका रुपमा कम्पनी रजिष्टारको कार्यालयमा खुम्चियो ।

यही क्रममा बहुदल आएपछि कांग्रेस सरकारले चीनले खोलिदिएको बाँसबारी छाला जुत्ता कारखाना ०४९ कात्तिक २४ गते भारतको कानपुस्थित छाला उद्योगलाई २ करोड २४ लाखमा बेच्यो । त्यसको पाँच वर्षपछि चौधरीले नेपाल सरकारको शेयर रहेको फुटवेयर कम्पनी निजी बनाए । चौधरीको जुत्ता उद्योग करिब ३ वर्ष चलेर ०४६ सालमा बन्द भयो । १० रोपनी जग्गा वापतको सरकारको सेयर पनि गायव भयो ।

चौधरीले सरकारसँग १० रोपनी जग्गा र शेयर किनेको रेकर्ड कतै छैन । यो अवस्थामा चौधरीले सरकारलाई एक पैसा नतिरी १० रोपनी जग्गा हडपेको आशंकामा सीआइबीले अनुसन्धान थालेको हो ।
अहिले यो जग्गाको मूल्य १ अर्ब ६० करोडसम्म पर्ने अनुमान छ ।

सरकारी जुत्ता कारखानाकै छेउमा खोजिएको निजी जुत्ता कम्पनीले सरकारी उद्योगलाई धरासायी बनायो । चौधरीको यो प्लानमा अजितनारायण थापा साक्षी बने ।

त्यसो त विनोद चौधरीले आफ्नो कितावमा दरबारका ऐश्वर्य र धीरेन्द्रसम्म राम्रो सम्बन्ध रहेको स्वीकार गरेका छन् । चौधरीको एपोलो स्टिलमा धीरेन्द्रको ४९ प्रतिशत सेयर समेत रहेको थियो । धीरेन्द्रको बंश विनासपछि त्यो सेयर ट्रष्टका नाममा आयो कि गायव भयो, त्यसको पनि छानविन भएको छैन ।

एकातिर चौधरी परिवारको धीरेन्द्रसँग व्यवसायिक पार्टनरको सम्बन्ध हुनु र अर्कोतर्फ बाँसबारीका कार्यकारी प्रमुख अजितको सम्बन्ध ज्ञानेन्द्र शाहसँग राम्रो हुनुले त्यसबेलाको जग्गा घोटालामा सरकारभन्दा माथिको प्रभाव र दबाव रहेको अनुमान समेत गरिँदै आएको छ ।

१० रोपनी जग्गा वापतको सरकारी शेयर गायव पारेर ०५४ पुस ४ गते निजी बनाएपछि चौधरीले फुटवेयर कम्पनी अंशवण्डा गरे । उक्त कम्पनीको प्रथम सञ्चालक अरुण चौधरीकी श्रीमती शीला चौधरी बनिन् । कम्पनीमा अब चौधरी परिवारका सदस्यहरु मात्र रहे, सरकारी सेयर गायव भयो ।

त्यसको २० वर्षपछि ०७४ चैत ९ गते च्याम्पियन फुटवेयरका मालिक अरुण चौधरी र श्रीमती शीला चौधरी २ जनामात्र रहे ।

त्यसको चार वर्षपछि ०७८ असार २८ गते कम्पनीको नाम फेरेर ‘सीजी चाँदबाग रेसिडेन्सी’ राखियो र व्यवसायिक प्रयोजनको महल बनाउन थालियो । त्यहाँको १० रोपनी जग्गामा साढे ८ सय विद्यार्थी अध्ययनरत चाँदबाग स्कुल चलिरहेकै छ ।
यहाँको जग्गाको मूल्य प्रतिरोपनी १६ करोडसम्म पर्ने स्थानीयको भनाइ छ, जुन चौधरीले किनेको नभएर पहिले सरकारलाई सेयर दिन्छु भनेर पछि आफ्नो नाममा नामसारी गरेको सीआइबीको दाबी छ ।

चीनले खोलिदिएको कारखाना भारतीय कम्पनीलाई कौडीको भाऊमा बेच्ने अनि सरकारको १० रोपनी जग्गा दरबारको समेत शक्ति प्रयोग गरेर चौधरीको हातमा पुर्‍याउने भूमिका खेलेका ज्येष्ठ नागरिकमाथि अब कस्तो कारवाही होला ? प्रहरीले गर्ने अनुसन्धान र त्यस आधारमा अदालतमा चल्ने बहस पैरवीपछि मात्र थाहा हुनेछ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ३३ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।