इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानलाई सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) ले ‘राज्यविरोधी’ भाषणको आरोपमा बोलाएको दि एक्सप्रेस ट्रिब्युनले बताएको छ ।
एफआईएले कथितरूपमा जनता र पाकिस्तानी सशस्त्र बलबीच ‘विभाजन सिर्जना’ गरेको आरोपमा अलिमाविरुद्ध अनुसन्धान सुरु गरेको छ । उक्त संस्थाले फेब्रुअरी ६ को बिहान ११ बजे (स्थानीय समय) उनलाई बोलाएको छ ।
एजेन्सीका सहायक अनुसन्धान निर्देशक एजाज अहमद शेखले जारी गरेको सूचनामा गृह मन्त्रालयलको अनुरोधमा एफआईए शाखा अधिकृतले अलिमाविरुद्ध अनुसन्धान सुरु गरेको बताइएको छ । एक्सप्रेस ट्रिब्युनले दिएको जानकारीअनुसार सूचनामा अलिमालाई ‘आपराधिक षड्यन्त्र र राज्यविरोधी भाषणमार्फत जनता र सेनाबिच विभाजन सिर्जना गरेको’ आरोप लगाइएको छ ।
उनी इस्लामाबादमा एफआईएको मुख्यालयमा हाजिर हुनुपर्ने उल्लेख छ । उक्त सूचना पाकिस्तानको आपराधिक प्रक्रिया संहिता (सीआरपीसी) को धारा १६० अन्तर्गत जारी गरिएको थियो र अलिमाले सोधपुछमा आफ्नो उपस्थिति सुनिश्चित गर्नुपर्नेछ ।
अन्यथा कानूनी कारवाही गरिने जनाइएको छ । अलिमालाई उक्त सूचना उनको लाहोरस्थित निवासमा प्राप्त भएको छ ।
प्रतिक्रिया