बालुवाटारको दम्भ बालकोटमा लम्पसार ! | Khabarhub Khabarhub

बालुवाटारको दम्भ बालकोटमा लम्पसार !



एकदिन प्रचण्ड र शेरबहादुर कतै गइरहेका बेला अकस्मात एउटा भालु देखा परेछ । भालु देख्नेबित्तिक्कै शेरबहादुरलाई कुनै छनक नै नदिई प्रचण्ड हत्त न पत्त एउटा रुखमा उक्लिएर हाँगामा छेकिएर बसेछन् । हेर्दाहेर्दै भालु देउवाकै छेउमै आइसकेछ । अनुभवले खारिएका शेरबहादुरलाई सुझेछ– ‘भूईंमा मरे जसरी लम्पसार परेर सुत्यो भने भालुले केही गर्दैन ।’

सास पनि रोकेर सुतेका उनको शरीर मृत ठानेर भालु केही नगरी बाटो लागेछ । भालु बाटो लागेपछि रुख चढेका प्रचण्डले सोधेछन्– ‘भालुले तपाईंको कानमा के साउती गर्‍यो ?’ रिसले आगो भएका शेरबहादुरले जवाफ दिएछन्– ‘भालुले भविष्यमा त्यस्ता साथीहरुसँग नहिँड्न सचेत गरायो, जसले आपत विपतमा सहयात्री, कुल, पितृ सबै बिर्सन्छन र आफ्नो मात्रै स्वार्थ हेर्छन् ।’

तेस्रो पार्टीका हेडसर प्रचण्डले फेरि काँध फेरेका छन् । केपी ओलीले समानान्तर सरकार चलाएपछि वाक्क, दिक्क, प्याक्क भएर ‘बालकोटको बार्दली’ त्यागेका उनले फेरि वाम गठबन्धनको फेरो समाएर सत्तायात्रा सुरक्षित गरेका छन् ।

सत्ता प्राप्तिको यो सुयोगसँगै एमालेको मेची–महाकाली मिसन ०८४ यात्राको भाकल पनि पूरा भएको छ । स्वतन्त्र पार्टीको सत्तालाई हेर्ने ‘अंगुर अमिलो’ को दृष्टिकोण रातारात फेरिएको छ । संसदमा सङ्ख्यात्मक प्रतिनिधित्व उल्लेख्य भएपनि ‘केपी बा’को हातेमालोबिना थिग्रिन हिम्मत नगरेका रवि लामिछानेले फेरि दौरासुरुवाल फेर्ने मौका पाएका छन् ।

जहिले हुने सत्ताको समीकरण, ध्रुवीकरणले एउटा ‘मिडफिल्डर’ जन्माउने गर्छ । अहिले त्यो भूमिकामा वर्षमान पुन देखिएका छन् । कांग्रेससँगको सत्ताको हिसाब किताब हुँदा त्यो पात्र हुने संयोग जनार्दन शर्मालाई जुरेको थियो । अबको केही दिनभित्र स्वास्थ्योपचारको बहानामा वर्षमान उत्तरतिर लागे भने आश्चर्य हुने छैन । सबैलाई थाहा छ– सम्धीको घरमा लगाएको सप्ताहले आफ्ना पितृ तर्दैनन् । तर यो अभ्यास यहाँ जबर्जस्त भइरहन्छ ।

डेढ दशकयता मुलुकको घरेलु राजनीति कहिले प्रचण्डको धम्की, कहिले लाचारी, कहिले चलाखीमा घुमेको छ । राजा वीरेन्द्र–ज्ञानेन्द्रसँग मिलेर कांग्रेस, एमाले सिध्याउने रणनीतिबाट शुरु भएको त्यो चलाखी गिरिजाप्रसादलाई राष्ट्रपति बनाउने सम्मका धोखाधडीलाई कांग्रेस–एमालेले कहिल्यै विवेकपूर्ण कसीमा राखेनन । देशको मूल कानुन मानिने संविधान निर्माण क्रममा माओवादीले कांग्रेस, एमालेलाई दुर्योधन जालमा पारेर गान्धारी र धृतराष्ट्र बनाउँदा मेसो पाएनन् । प्रचण्डको जालसाजी कागजमा छड्के साक्षी बस्न पाउनमा गौरव गरे । त्यसैको सिलसिलावद्ध पीडा मुलुकले भोग्नु परिरहेको छ ।

प्रचण्ड, शेरबहादुर, केपी ओली तीन प्रालिका ती मेनेजर हुन्- जसका लागि सत्ताबिनाको यात्रा एक पल पनि निरर्थक छ । यिनीहरु सत्ता र शक्तिका लागि सबै बाचा, बन्धन, कसम तोड्न तयार छन् । फाइदा हुन्छ भने भैंसी पूजा गरेर गाई हुत्याउन तयार हुन्छन् । वेद, कुरान, बाइबल, त्रिपिटकदेखि तामो तुलसोमा निसङ्कोच खेल्न सक्छन् । देशका लागि यिनीहरुको दैनिकी भेलुबाजे, पुण्य गौतम, युवराज सफल, सावित्री सुवेदीभन्दा माथि देखिदैन । नेताहरुको देश समृद्ध बनाउने एजेण्डा र पुण्य गौतमहरुको सामाजिक न्याय खडा गर्ने अभिव्यक्तिको तौल उति नै छ ।

केपी ओलीसँगको सहयात्रा रहँदा प्रचण्ड भन्थे– ‘आमा भन्नुहुन्थ्यो म असाध्य फुर्के थिएँ । ओली कमरेडले थोरै दिए त म खुसी भइहाल्थेँ नि ।’ सपनाको जहाजमा रहरको बोइङ चलाएका स्वघोषित दुई क्याप्टेन दाहाल र ओलीको अप्राकृतिक सम्बन्ध छरपस्ट भएको कति नै भयो र ! अहिले माधव नेपाललाई कुर्सी छोड्नुपर्ने दिन नजिकिँदै आएपछि प्रचण्डले कित्ता फेरेका छन् । यो नविकरणले यसअघिको डेढ वर्षे सत्तायात्राको अडिट हुँदैन ।

बिहारका मुख्यमन्त्री नितिशपथमा दाहालको रुचि बढ्दै गयो भने उनी अनन्त यो देशको कार्यकारी हुनेछन् । अरु पार्टीका नेताहरुको हैसियत हलीसमान हुनेछ । प्रचण्ड र शेरबहादुरलाई सरकारको मुखिया बनाउन एमालेमा रहेको आफ्नो शीर्षस्थ हैसियत तिलाञ्जलि दिएर आएका माधव नेपालको गला रेट्न यत्तिको दुस्साहस गर्ने प्रचण्डपथ कति निर्मम छ, अनुमान गर्न सकिन्छ ।

कम्युनिष्ट टुट्नु , फुट्नु र जोडिनुले यो देशको आन्तरिक जीवनमा रौं बराबरको प्रभाव पर्ने छैन । यहाँ बहुमत, अल्पमत, लोकतन्त्र, सङ्घीय गणतन्त्र भनेको पान पसलका अलग अलग नाम हुन् । जनताले पाउने स्थायी सेवा भनेको धोका मात्र हो । यो देशमा भएका राम्रा कामको जस र अपजस समयले पाउने हो । यहाँका राजनीतिक दल भनेका विकासे अड्डा हुन् । नेता रिटायर्ड नहुने मेनेजर हुन् । राजतन्त्रलाई जीवनभर सरापेर गणतन्त्रको कलेवरमा आफूलाई उभ्याएका नेताको अनुपातमा राजाहरुको ठाँट फिका देखिन थाल्यो ।

जब सरकारी नूनमा नेताहरुको सम्झौता बाक्लिँदै जान्छ, त्यसपछि इमानका पखेटा काटिँदै जान्छन् । कार्यकर्तामा विग्रह बढ्दै जान्छ । जसरी फलामभित्रको खियाले फलाम सिध्याउँछ, त्यसरी नै कम्युनिष्ट पार्टीभित्रका धमिराले नै यसको इन्जिन स्वाहा पार्ने छन् । ओली र प्रचण्डको मन भाँचिएर पार्टी फुट्यो के भयो ? त्यसको सहज उत्तर– अर्को सरकार बन्यो । उनीहरु फेरि जोडिए । के हुन्छ ? एकाध हुक्के, ढोके, चम्चेले जागिर पाउँछन् । दलालहरु डेरा सर्छन् । सिंहदरबारको ढर्रा उही हुन्छ । सचिवले फाइलमा हस्ताक्षरको नाटक रच्छन् । फूलमालाको व्यापार हुन्छ । प्रधानमन्त्रीले मन्त्री, मन्त्रीले सचिव, सचिवले सहसचिव, उपससचिव, शाखा अधिकृतलाई अर्ती बुद्धि दिन्छन् । अर्का खाले पात्रहरुको नाटक मञ्चन शुरु हुन्छ ।

फौजी, न्याय, संवैधानिक निकाय सर्वत्र यही मेसो चल्छ । मेलम्चीको तारिख उही गतिमा फेरिन्छ । लोकतन्त्र, सुशासनका अन्तरा उसैगरी दोहोरिन्छन् । जब राजनीतिक नेतृत्व मिलको फित्ताजस्तै चलेको चलनमा रमाउँछ भने परिवर्तन भाषणको मसला मात्र हो । तबेलामा घोडा पाल्नु र चित्र बनाएर रमाउनु समान कर्म हुँदै होइन । मुखियाहरुमा आलोचना खप्ने क्षमता कटौती हुँदै गएपछि असफलताका दिन धेरै टाढा हुँदैन ।

नेपालको इतिहासमा राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला, केपी ओली र पुष्पकमल दाहाललाई समयले राजनेता हुने मौका दिएको थियो । तर चारै पात्र रानो मौरी हुने अवसर छोप्न नसक्दा बारुलोमा सीमित भए । गिरिजाप्रसाद र प्रचण्ड त इमान्दारपूर्वक भन्दा राजनीतिक डनमा सीमित भए । केपी चटकेमा अनुवाद भए । एउटा समय थियो– गिरिजाप्रसाद नेपाली राजनीतिका डिलर थिए । कम्युनिष्टका नेता समेत उनीबाट थोकमा अलिकति किनेर आफ्नो राजनीतिक उद्यम चलाउँथे ।

तिलस्मी पात्र भएर यस धरामा ओर्लिएका पुष्पकमल दाहालले थितिको नजिर बसालिदिएको भए एक वर्षमा मुलुक अर्कै लयमा कुद्थ्यो । भाषणमा कम्युनिष्ट भएर के गर्नु ? केपी र पीकेको हिँडाई, बोलाई, खुवाई, दम्भ सबै गिरिजाप्रसाद कोइरालासँग हुबहु मिल्छ । सक्षम र योग्य मानिस नजिकै नपार्ने, आलोचना फिटिक्कै मन नपराउने, अयोग्य तर आफ्नो दासलाई जहाँ पनि लैजाने गिरिजापथ यिनीहरुको अन्तिम गन्तव्य बनेको छ ।

हिजोसम्म मुलुकभर अक्करेभीर देख्ने केपी ओलीको आँखाले रामराज्य देख्न सुरु गरिसकेको छ । आफूले निर्देशन दिएपछि पहाड समथर भएको भ्रम छ । छाते, बैठकेहरुले जुँगा, लुगा, बोलीको प्रशंसा गरेर उनलाई अकबर राजाको आसनमा पुर्‍याएका छन् । आलोचना नरुचाउने ओलीको विशेषता बुझेका उनीहरुका लागि यो कर्म भरपर्दो जागिर बनेको छ । व्यक्तिले भ्रष्टाचार गर्छ गर्दैन त्यो कुनै सवाल हैन, ऊ कस्ता मानिसबाट घेरिएको छ भन्ने प्रमुख हो ।

एक समय इटलीको मिलान शहरमा वेनिटो मुसोलिनीको साधारणभन्दा साधारण कार्यक्रममा लाखौँको भीड जुट्थ्यो । मुसोलिनी जता जान्थे, भीड त्यतै डोरिन्थ्यो । उनको नाममा लाखौं युवाहरु एल ड्यूचे, ड्यूचे भन्दै मर्न मार्न तयार हुन्थे । मुसोलिनी त्यहाँका जनताका लागि अगुवा मात्र नभएर ईश्वर नै थिए । पाँच वर्षपछि तिनै युवाले मुसोलिनी र उनकी प्रेमिकालाई बीच सडकमा उल्टो झुण्ड्याएर थुकेर इज्जत लिलाम गरिदिए ।

भ्रमको आयु छोटो हुन्छ । त्यसैले नेपालका सरकारी पदाधिकारीहरुले आदर्शका क्वीन्टल भाषण गर्नुभन्दा यथार्थको एक पाउ बाँडिदिए कल्याण हुनेछ । जिन्दगीभर सामन्तवादको विरोध गर्ने कम्युनिष्ट नेताहरुले विशुद्ध सामन्तवाद सरकारी प्रणालीमा छ भनेर कहिल्यै आत्मसात गरेनन । त्यहाँभित्रको रसरमाइलोमा चिप्लिएर दिन गएको कसैले पत्तै पाएन ।

लोभी पापी र आफू अनुकूलका मानिस जम्मा गरेर दुई चारदिन रमाइलो त होला तर त्यसले कीर्तिमानी बन्न सकिदैन । सिंहदरबारमा जानेहरु रङ्गहीन, ढङ्गहीन भएर खुइलिएर जानुको रहस्य यही हो ।

उमेर घर्किदै गएपछि आफ्ना पालाको अन्तरङ्गमा रमाउनु हरेक बुढ्यौलीको दिनचर्या हो । नेपालमा कम्युनिष्ट आन्दोलनको वर्ष जति पुग्यो, सोही अनुपातमा कम्युनिष्ट पार्टीहरु फुट्दै जानुको रहस्य अभिमान हो । कुर्सीमा बसेकाले कुर्सी बाहिर रहेमध्ये जसलाई खतरा ठान्छ, उसलाई ‘गद्दार’ को क्याप्सुल खुवाइदिएपछि त्यो बाटोमा सधैँ आफ्नो मात्र गाडी गुडाउन पाइने आकाङ्क्षाका कारण घात, प्रतिघात पुस्तेनी कोसेली बन्दै आएको छ । नेपालमा मात्र किन ? कम्युनिष्ट नामभित्र छिरेका झुसिलकिराका कारण कम्युनिष्ट आन्दोलन विश्वमै मानमर्दनको श्रृङ्खला बन्दै आएको छ । वर्ग शत्रुका नाममा संसारमा लाखौँ करोडौँ मान्छे मारिएका छन् ।

भनिन्छ– नयाँ पात पुरानो पातसँग झर्न बनेको हुँदैन् । तर नेपालको राजनीतिको हाँगामा सुकेको पात झर्न नमान्दा नयाँ मुनाहरु असमयमै ओइल्याएका छन् । पहिला पहिलाका राजा, महाराजा र राजनेताहरुमा प्रताप हुन्थ्यो । त्यसैले तिनीहरु प्रतापी कहलाउँथे । प्रताप भनेको नाममा जोडिएको फुँदो नभएर नैतिकताको अर्को नाम हो । हाम्रा नेताहरु महाराज यायातिजस्ता भएका छन्, जसले काम वासनामा तृप्त नभएपछि कान्छो छोरा पुरुको जवानी पैँचो लिएका थिए । कालान्तरमा ती राजा काम वासनाबाट थकित भए तर किमार्थ तृप्त भएनन् ।

प्रकृतिमा मान्छेभन्दा अगाडि जन्मिएको प्राणी साङ्लो हो । जुन प्राणी चार अरब वर्षअघि पृथ्वीमा आएको विश्वास गरिन्छ । यो जति पुरानो छ, यसले बोकेको सत्य उति घतलाग्दो छ । तपाईं पत्याउनुहुन्छ ? साङ्लो एकमात्र त्यस्तो प्राणी हो, जसको रगत सेतो हुन्छ । परीक्षण त भएको छैन तर जति परिपक्व हुँदै गयो, उति असहिष्णु हुने हाम्रा नेताहरुमा बढ्दो चरित्र कतै सेतो रगतको करामत त हैन ?

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ५ : ३१ बजे

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे

काठमाडौं- अघिल्लो वर्ष अक्टोबर ७ मा विद्रोही समूह हमासले इजरायलमा

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्‍यो

क्यानबेरा– अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको