संस्थान सुधार : सधैँको एजेण्डा, तर बढ्दो अलमल | Khabarhub Khabarhub

संस्थान सुधार : सधैँको एजेण्डा, तर बढ्दो अलमल



सार्वजनिक संस्थानहरू घुमाउरो जवाफदेहिताका कारण उद्देश्यमुखी हुन नसकेको विषयमा भारतीय विमान कम्पनी इण्डियन एयरलाइन्सको प्रसङ्ग नेपालका लागि पनि ठ्याम्मै मिल्छ ।

त्यहाँ विमान कम्पनीको सेवा राम्रो नभएको सेवाग्राहीको शिकायत हुन्छ । कम्पनीका कर्मचारीले यसको दोष भारतीय ब्यूरोक्रेट्स (कर्मचारी)लाई दिन्छन् । त्यसपछि यो प्रश्न मन्त्रालयमा पुग्छ । मन्त्रालयका कर्मचारीले राजनीतिक नेतृत्वका कारण भारतीय परिवेशमा ठीक नहुने विमान किन्नुपरेको बताएछन् ।

राजीतिज्ञलाई यही प्रश्न गर्दा त्यतिखेर किन सही सुझाव नदिएको भनेर कर्मचारीतर्फ नै आरोप फर्काउन पुगेछन् । त्यसपछि यो प्रश्न संसद्‌सम्म पुुगेर राजनीतिप्रति अलोचनामा टुुङ्गिएछ । विषयले निष्कर्ष त पाएन । तर कम्पनीको अवस्था भने झनै गिरेर गएछ ।

नेपालमा पनि मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको उद्योग वाणिज्य मन्त्रालयमा बसेको बैठकमा संस्थानको अवस्था किन गिरेर गयो भन्ने विभागीय मन्त्रीको प्रश्नमा जनकपुर चुरोट कारखानाका तत्कालीन महाप्रबन्धकले भनेका थिए–‘मन्त्रीज्यूले संस्थानलाई ससुराली र महाप्रबन्धकलाई सालो नठाने संस्थानको अवस्था सुधार्न सकिन्छ ।’ यसको साङ्केतिक अर्थ बुुझ्न कठिनाइ पर्दैन ।

यी दुुई प्रसङ्गले विकासोन्मुख मुलुकमा सार्वजनिक संस्थान व्यवस्थापनको हालत धेरै हदसम्म दर्साउँछ। संस्थानको प्रभावकारिता नदेखिनुमा त्यहाँभित्र जेलिएको जवाफहीन संरचना र आरोप संस्कृति प्रमुख हो । नेपालका धेरैजसो संस्थानमा यो प्रवृत्ति स्पष्ट देखिन्छ ।

समस्यालाई महसुस गरेर सुधारका कार्यक्रम शुरु भएको ठीक तीन दशक भयो । एक दशक कुनै पनि संस्था विकास र परिपक्व हुन चाहिने पर्याप्त समय हो । यसबीच पनि संस्था संस्थागत भएन भने त्यसपछि उपलब्धी अपेक्षा नगरे हुन्छ । तर सुधारका तीन दशकमा संस्थानहरू आफैँमा अल्मलिएका छन् । त्यसैले संस्थानहरूको औचित्यमै सवाल बढ्दो छ ।

संस्थान स्थापना पछिको कारण हेरौं । ३० को दशकमा, विशेषतः दोस्रो विश्वयुद्धपछि बजार असफलता र पुँजी अभाव पूरा गर्न, आर्थिक विकास गर्न, रोजगारी सिर्जना गर्न र अर्थतन्त्रलाई राज्यको नीतिमा निर्दिष्ट गर्न सार्वजनिक संस्थान स्थापनाको लहर चल्यो । संस्थानहरू अर्थतन्त्रमा राज्य संलग्नताका बलिया संयन्त्र बने । विकासोन्मुख मुलुकमा उत्पादन, सेवा प्रवाह, पूर्वाधार विकास, आयात प्रतिस्थापन र रोजगारीका लागि संस्थानलाई आधार बनाइयो ।

निजी क्षेत्रले लगानी गर्न नचाहेको, नहुने वा नसक्ने क्षेत्रमा संस्थानमार्फत्‌ राज्यको लामो हात विस्तार भयो । यो क्रम ८० को दशकसम्म नै जारी रह्यो । कूल गार्हस्थ उत्पादनमा यस्ता संस्थाको हिस्सा उल्लेख्य रहन पुग्यो

नेपाल पनि यसमा अपवाद रहेन । नेपालले योजनाबद्ध विकास शुरु गरेदेखि पाँचौ/छैठौं योजनासम्म संस्थान विस्तारलाई प्राथमिकता दियो । पञ्चायत व्यवस्थाका आर्थिक दर्शन कार्यान्वयन गर्ने प्रमुख आधार साझा संस्था र सार्वजनिक संस्थान थिए । यसै समय मोटरदेखि प्लेन चलाउन, नक्सा बनाउनदेखि निर्माण कार्य गर्न, नून तेलको व्यापारदेखि बिजुली उत्पादनसम्म सबै क्षेत्रमा संस्थानहरू क्रियाशील भए ।

सार्वजनिक संस्थानमा रहने दुई विशिष्ट चरित्र सार्वजनिकता र उद्यशीलताका कारण यीनले महत्व पाएका हुन् । अर्थात्‌ सार्वजनिक स्वामित्वभित्रै रहेर पनि बजारले जस्तै सेवाबस्तु उत्पादन तथा वितरण गर्नु यसको कार्यचरित्र हो । सरकारको लगानी, सरकारी कर्मचारी रहेको सञ्चालक समिति, तर व्यवस्थापन स्वायत्तताका लागि मिनिस्टेरियल पोर्टफोलियोबाट बाहिर राखेर सार्वजनिक संस्थान सञ्चालन गरिन्छन् । व्यवस्थापन स्वायत्तताका कारण बजार गतिशीलतासँग नजिक हुन्छ ।

तर सार्वजनिक स्वामित्व र बजार गतिशीलताबीच सन्तुलनको विषय जटिल हुन्छ । राजनीतिक संस्कार र प्रशासकीय व्यावसायिकता नभएको अवस्थामा यो झनै जटिल हुन्छ । नेपालको संस्थान अभ्यासमा पनि यो देखियो ।

विभागीय संरचनाबाट बाहिर राखिए पनि सञ्चालक समितिमा रहेन पदेन सदस्यहरू कर्मचारीतन्त्रीय स्वभावमा रहने भएकाले स्वायत्तताको वास्तविक मर्म पूरा भएन । सरकारको संरक्षण र लगानीका कारण व्यवस्थापनमा पनि बजार गतिशीलता रहेन । राजनीतिक संस्कार नभएकाले दुवै पक्षमा राजनीतिले गिजोल्यो, आन्तरिक सुशासन पनि खस्कँदै गयो । त्यसैले ९० को दशकसम्म आइपुग्दा सार्वजनिक संस्थान सरकारको स्थायी बोझ बन्न पुगे । महत्वपूर्ण संरचना र राष्ट्रिय उत्पादनमा ठूलो हिस्सा राख्ने भएकाले संस्थानको असफलतालाई राज्यको असफलताका सापेक्ष्यमा हेर्न थालियो । यसले अर्थराजनीतिक लागत बढाउँदै लग्यो ।

नेपालले आर्थिक उदारीकरणको नीति लिएपछि प्रथम पुस्ताको सुधार रणनीतिको अभिन्न भागका रूपमा संस्थान सुधारलाई पनि लिइयो । निजी क्षेत्रले गर्न सक्ने र गर्न हुने कार्य क्षेत्रमा सरकार निजी क्षेत्रको प्रतिस्पर्धी नभई प्रवर्द्धक र उत्प्रेरक रहने, नयाँ संस्थान स्थापना नगर्ने, संस्थानलाई विनिवेशका विभिन्न उपकरणमा लैजाने, शेयर संरचना परिवर्तन गरी निजी क्षेत्रको संलग्नता विस्तार गर्ने र सार्वजनिक क्षेत्रबाट सञ्चालन गरिराख्नुपर्ने संस्थानमा व्यवस्थापन सुधार गर्ने भनियो ।

तर संस्थान सुधारका यी एजेण्डामा राजनीतिक दलहरूबीच मतैक्यता देखिएन । नेपाली काङ्ग्रेस लगायत उदारवादी लोकतान्त्रिक दर्शन बोक्ने दलहरू सुधारका एजेण्डामा प्रतिबद्ध रहे पनि वामपन्थी विचारधाराबाट प्रभावित दलहरूले सार्वजनिक संस्थानलाई सामाजिक न्याय र अर्थतन्त्रमा राज्यवादको दर्शनसँग जोडिरहे । त्यसैले सुधारमा वास्तविक स्वामित्व रहन सकेन ।

निजीकृत संस्थानहरू पनि राजनीतिक आलोचनाका केन्द्रमा रहे, व्यवसाय तथा सम्पत्ति मूल्याङ्कनमा धेरै विवाद भयो । तर नीति भने परिवर्तन भएको थिएन । नीति एउटा र व्यवहार अर्को भएपछि संस्थानहरूमा झनै सङ्क्रमण देखिन थाल्यो । राजनीतिक दलहरू संस्थान व्यवस्थापनका सिद्धान्तमा भन्दा राजनीतिक लाभ-हानीका आधारमा ती संस्थालाई लिन थाले

केही संस्थानहरूको शेयर संरचना बजारमा हस्तान्तरण गरेपछि प्रतिस्पर्धात्मक गमता विस्तार गरेर दह्रो वावसायिक स्थिति देखाएपनि संस्थान सुधारमा एकीकृत दृष्टिकोण बनेन । व्यवस्थापन सुधार र शेयर संरचना परिवर्तनमा सरकारले लिएको नीतिबाट सरकार पटक-पटक पछि हट्न बाध्य भयो ।

निजीकरण र खारेजीको अन्तिम चरणमा पुगेका संस्थानहरू पनि पुनः ब्यूँत्याउने र रुग्ण बनाउने क्रम निरन्तर रह्यो । उदारवादी दर्शन बोक्ने दल सरकारमा रहँदा पनि संस्थान सुधार राजनीतिक रूपमा तातो पिँडालु बन्न गयो, निल्न पनि नसक्ने ओकल्न पनि नसक्ने !

पछिल्लो समय नेपालको संविधानमा उल्लेख भएको ‘समाजवाद उन्मुख अर्थतन्त्र’ को आ-आफ्नै तरिकाले गरिएको व्याख्याले पनि संस्थान सम्बन्धी नीति व्यवहारलाई अस्पष्ट बनाएको छ । यसको प्रभाव पन्ध्रौं योजनामा पनि परेको देखिन्छ । अर्थ मन्त्रालयको प्रतिवेदनले संस्थान अधोगतिमा जानुको कारण संस्थान सम्बन्धमा स्पष्ट नीतिगत मार्गदर्शन अभाव, व्यावसायिक नेतृत्व छनौट नहुनु, मानव संशाधनको कुशलतम् उपयोग नहुनु र वित्तीय, भौतिक र सूचना लगायतका साधनको दुरुपयोग भनेर उल्लेख गरेको छ ।

तर फेरि वार्षिक विकास कार्यक्रमहरूमा मन्त्रालयले आफ्नै निष्कर्षलाई उही रूपमा लेखेको छैन । पछिल्ला तीन आर्थिक वर्षको बजेटले लिएको संस्थान सम्बन्धी नीतिले पनि यसलाई पुष्टि गर्दछ ।

आव २०७९/८० को बजेटका नीति हेरौँः

संस्थानहरूको आवश्यकता र औचित्यका साथै आर्थिक र वित्तीय पक्षको विस्तृत विश्लेषण गरी विद्यमान ढाँचामा सञ्चालन गर्ने, सरकारी स्वामित्वबाट विनिवेश गर्ने र बन्द गर्ने संस्थानहरूको पहिचान गर्ने । निर्यात सम्भावना भएका सिमेन्ट कारखानाहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने,

 अत्यावश्यक बस्तु तथा सेवामा थप सहजता ल्याउन र रणनीतिक महत्वको क्षेत्रमा राज्यको उपस्थिति सुदृढ गराउन संस्थानहरूको पुनःसंरचना गर्ने,

 संस्थानहरूको भौतिक तथा वित्तीय सम्पत्तिको अभिलेख सूचना प्रविधिमा आधारित गर्ने । जनकपुर चुरोट, कृषि औजार, गोरखकाली रबर, ओरिएण्ट मेग्नेसाइट, नेपाल मेटल, विराटनगर जुटमिल, वीरगन्ज चिनी मिल, हेटौंडा कपडा, बुटवल धागो कारखानालाई उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने,

 कृषि, खाद्य, दूध, औषधि स यातायात क्षेत्रमा सञ्चालनमा रहेका संस्थानहरूको सेवा स्थानीय तहसम्म विस्तार गरिने,

 निजी क्षेत्रबाट सञ्चालित जलविद्युत र दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू सरकारमा हस्तान्तरण हुँदा तिनको व्यवस्थापन, सञ्चालनका लागि विधि तयार गर्ने,

तर; आव २०८०/८१ को बजेटमा यी नीति लिइयोः

 संस्थानमा गर्ने लगानीको नीति तर्जुमा गरिने । टेलिकम, नेवानि र अन्य संस्थानको शेयर केही प्रतिशत विनिवेश गर्ने । घाटामा गएका संस्थानमा रणनीतिक साझेदार निम्त्याउने,

 संस्थानमा सञ्चालक र प्रमुख कार्यकारी नियुक्ति गर्दा पारदर्शी आधार अपनाइने । सञ्चालकहरूको सुविधाको एकरुपता कायम गर्न मापदण्ड बनाउने,

 संस्थानलाई कम्पनीको ढाँचामा सञ्चालन गर्ने नीति लिने । संस्थान सञ्चालन व्यवस्थापनमा एकरुपतालाई परिणाममुखी बनाउन होल्डिङ कम्पनी स्थापना गर्ने,

 निजीकृत संस्थानको विवाद निरुपण गर्ने, निजीकरणका र्शतको कार्यान्वयन गराउने ।

आर्थिक वर्ष २०८१/८२ को बजेटले सार्वजनिक संस्थाको जग्गा संरक्षण, सार्वजनिक संस्थालाई संभाव्यताका आधारमा पब्लिक लिमिटेड कम्पनीमा लैजाने, बन्द रहेका जुट, कपडा र रबर उद्योगहरू सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा संचालन गर्ने र नेपाल वायु सेवा निगमको सञ्चालनमा रणनीतिक साझेदारको सहभागिता गरइने, नागरिक उड्डयन प्राधिकरणको पुनसंरचना गरिने लेखिएको छ ।

लिइएका नीतिहरूको निरन्तरता पनि छैन भने निरन्तर भएका नीतिको कार्यान्वयन छैन । यसले संस्थान व्यवस्थापन झनै अन्योलमा पारेको छ । हाल नेपाल सरकारले संस्थानको परिभाषामा समेटेका ४४ वटा संस्थानहरू छन्, जसमा सरकारले शेयर र ऋण गरी ६ खर्ब ६१ अर्ब रुपैयाँ लगानी गरेको छ ।

संस्थानसम्बन्धी अर्थ मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार २६ संस्थान नाफामा, १५ घाटामा र बाँकी तीन सञ्चालनमा छैनन् । संस्थानले अकोषित रूपमा अर्बौं रुपैयाँ दायित्व सिर्जना गरेको छ । यी संस्थानहरूले कूल गार्हस्थ उत्पादनको १२ प्रतिशत हिस्सा ओगट्छन् भने कूल आयकरमा ६.९७ प्रतिशत योगदान गरेका छन् । सार्वजनिक क्षेत्रमा सिर्जित रोजगारी करिब ६ लाखमध्ये ३२ हजार १८० यस क्षेत्रमा छ ।

संस्थानमा कार्यसम्पादन संस्कृति विकास गर्न वि.सं. २०६० को दशकबाट कार्यकारी प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने प्रचलन शुरु गरिएको थियो । अहिले यसलाई औपचारिकतामा राखिएको छ र प्रमुख नियुक्तिमा राजनीतिक आस्था र आग्रहले महत्व पाउँदै आएको छ । व्यावसायिक जवाफदेहिताको शृङ्खलाभन्दा नियन्त्रणमुखी अभ्यास छ ।

संस्थानको कार्यसम्पादन स्थितिका कारण पनि नियामकहरू नियन्त्रणको आवश्यकता देखिरहेका छन् । विभागीय मन्त्रालय र अर्थ मन्त्रालयबाट समेत नियन्त्रण हुँदै आएको छ । व्यवस्थापकीय स्वायत्तता सिद्धान्तमा मात्र छ । सञ्चालक समितिमा सरकारकै कर्मचारीहरू रहे पनि समितिको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयको नियन्त्रण छ । परिणामतः न्यून स्वायत्तता र पर्फमेन्स डेफिसिटको चङ्गुलमा संस्थानहरू छन् । संस्थान नाम नभए पनि सरकारी स्वामित्वमा सञ्चालित अन्य १०० भन्दा बढी संस्थाहरूको हालत पनि यही छ ।

संस्थान सफलताका सूचकहरू क्षमताको उपयोग, व्यवसाय विस्तार, नाफा आर्जन क्षमता, उत्पादन तथा बजार विविधीकरण, सरकारी कोषमा योगदान, रोजगारी सिर्जना, प्रति जनशक्ति उत्पादकत्व, सेवा गुणस्तर, प्रविधि उपयोग र प्रतिस्पर्धात्मकता हुन् । यी सूचकका आधारमा नेपालका सार्वजनिक संस्थानहरू सुधारको सख्त आवश्यकता छ ।

संविधान जारी पछि मुलुक संघीयताको अभ्यासमा छ । यसले तहगत सरकारलाई आर्थिक निर्णय प्रक्रियाको विभाजन गरेको छ । सेवाको स्थानीयकरण र प्रभाव तथा लाभको स्थानीयकरण गर्नुपर्ने अवस्थामा पनि छ ।

नवउदारवादप्रति आलोचनाको स्वर ओजिलो भए पनि सरकारको कार्यक्षेत्र विस्तारको विश्वव्यापी कार्यसूची तयार छैन, सरकार साधनको कमजोर विनियोजनकर्ता हो भन्ने निष्कर्ष कायम छ । साथै नीति नियामक र उत्प्रेरक भूमिकामा सरकारको प्रभावकारिता खोज्नुपर्ने तथ्य स्थापित छ । यिनै सन्दर्भ र संस्थान कार्यसम्पादन सूचकका आधारमा सुधारका रणनीति लिनुको विकल्प छैन ।

सर्वप्रथम आफैँले व्यवस्थापन गर्ने र विनिवेशमा जाने संस्थानहरूको निर्क्योल गर्नुपर्छ । आफैँले व्यवस्थापन गर्ने संस्थानहरू निर्क्योल गर्न आर्थिक सिद्धान्त, सामाजिक अपरिहार्यता र राष्ट्रिय रणनीतिक दृष्टिकोणलाई आधार मान्नु आवश्यक छ ।

बाँकी संस्थानलाई विभिन्न ढाँचामा विनिवेश, निजीकरण वा अन्य उपायहरू जस्तो कि रणनीतिक साझेदारी, सहकारीकरण, खण्डीकरण, व्यवस्थापन करार, आंशिक शेयरमा सर्वसाधारणको सहभगिताबाट सरकारको स्वामित्व संरचना घटाउँदै लैजानुपर्छ । विभिन्न कारणले सार्वजनिक स्वामित्वमा नै सञ्चालन गरिराख्नुपर्ने संस्थानहरूका लागि आक्रामक रूपमा व्यवस्थापन सुधारका कार्य थालनी गर्नुपर्दछ

संस्थानको व्यावसायिक योजना यसको पहिलो क्रम हो । प्रमुख कार्यकारीको नियुक्तिमा त्यो व्यावसायिक योजनालाई कार्यरुप दिनसक्ने क्षमता र प्रवर्तनशीलतालाई आधार लिनुपर्दछ, निजको छनौट भने निष्पक्षताका लागि लोकसेवा आयोगको कार्यप्रक्रियालाई आधार लिनुपर्दछ ।

नेतृत्व छनौट सबैभन्दा महत्वपूर्ण विषय हो । संस्थानभित्रको जनशक्ति व्यवस्थापनमा कार्यसम्पादन संस्कृति विकास गर्ने पद्धति लिनुपर्दछ, जुन संस्थानको प्रकृति अनुसार केही भिन्न हुनसक्छ । साथै संस्थानमा सरकारले लगानी गर्ने नीतिमा स्पष्टता चाहिन्छ । घाटामा गए सरकारले दिइहाल्छ नि भन्ने सोच हटाउनु पर्दछ ।

चौमासिक रूपमा कार्यसम्पादन उपलब्धि समीक्षा गर्ने र आन्तरिक बजारीकरणको विधिमार्फत प्रतिस्पर्धा विस्तार गर्नु आवश्यक छ । सञ्चालक समितिले सीईओलाई नतिजाका उत्पादनमा स्वायत्तता दिने, आवश्यक सहजीकरण गर्ने सामर्थ्य राख्नु पर्दछ । नतिजा बाहेक अन्य आधारबाट नियन्त्रण गर्नु हुँदैन ।

कतिपय संस्थानहरू संवैधानिक आधारमा अन्य शासकीय तहहरूमा हस्तान्तरण गर्न सकिन्छ वा उनीहरूको सहभगिता विस्तारको ढाँचा तोक्न सकिन्छ । रुग्ण संस्थानहरू सहकारीकरणबाट सञ्चालनमा ल्याउन सकिन्छ भने कतिपयमा साझेदारी गर्न सकिन्छ । तर; फेरि पनि भुल्न नहुने कुरा भनेको राजनैतिक समाजले सुधारलाई अन्तर्बोध गरेर एकीकृत प्रतिबद्धतामा रहनु पर्दछ । @mainaligopi

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १ : २९ बजे

जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय

बाँके – वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती

बाढी पसेपछि बस्तीबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न

भक्तपुर –भीषण वर्षाका कारण भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ३०

आज राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा आज रातिदेखि आइतबारसम्म अति

भारतविरुद्ध जिम्बाबेको शानदार जित

काठमाडौं – जिम्बाबेले भारतविरुद्धको टी–२० सिरिजमा विजयी शुरुवात गरेको छ

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कञ्चनपुर – कञ्चनपुरमा आज राति भारी वर्षा हुने सम्भावना देखिएपछि