व्यवसायीको अपेक्षा स्थिरता र लगानीमैत्री वातावरण | Khabarhub Khabarhub

सत्ता समीकरण फेरबदल

व्यवसायीको अपेक्षा स्थिरता र लगानीमैत्री वातावरण


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वि.सं. २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपश्चात्‌ सङ्घ र प्रदेशका सरकार तीनपटक परिवर्तन भइसकेको छ । पछिल्लो सत्ता समीकरणले संघ र प्रदेश सरकारमा चौथो पटक परिवर्तन हुने निश्चितजस्तै देखिएको छ ।

दुवै तहका सरकारमा एउटा अर्थमन्त्रीले बजेट ल्याउने र अर्कोले पूरा कार्यान्वयन गर्न नपाउने अवस्था बनेको छ । आगामी आर्थिक वर्षका लागि हालको प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नयाँ समीकरणको सरकारले कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।

खासगरी निजी क्षेत्रका उद्योगी एम्‌ व्यवसायीहरूले लगानी तथा व्यावसायिक वातावरणको लागि राजनीतिक स्थिरता र नीतिगत स्थिरताको माग गर्दै आएका छन् । पछिल्लो केही वर्षयता उनीहरूले राजनीतिक समीकरणमा फेरबदल आए पनि नीतिगत स्थिरताको पक्षमा राजनीतिक दल एक ठाउँमा हुनुपर्छ भनिरहेका छन्‌ ।

पछिल्लो तथ्याङ्कअनुसार; बैंकहरूमा ६३ खर्ब रुपैयाँ बढी निक्षेप सङ्कलन भएको छ । जम्मा साढे ५१ खर्ब रुपैयाँ मात्रै लगानी भएको छ । जेठ महिनामा केही सुधार भएपनि घरजग्गा कारोबारमा लामो समयदेखि उत्साह छैन ।

गत आर्थिक वर्षको तुलनामा केही अर्ब बढीले नेपालको औद्योगिक क्षेत्रमा लगानी वृद्धि भए पनि लगानी बोर्डले नै आह्वान गरेका आयोजनामा लगानीकर्ताले आशयपत्र समेत पेश गरेका छैनन् ।

वर्षेनी ठूलो संख्यामा श्रम र शिक्षाको नाममा युवा शक्तिले देश छोडिरहेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय सार्वजनिक गरेको तथ्याङ्कले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक भए पनि आन्तरिक रूपमा भने अर्थतन्त्र चलायमान हुन नसकेको देखाएको छ । साथै चालु वर्षको ११ महिनामा देशको वैदेशिक व्यापार तथा उपभोगमा समेत कटौती हुँदैछ ।

तर पनि सरकार, राजनीतिक पार्टी र नेतृत्वले नीतिगत स्थिरता र लगानीमैत्री वातावरणको लागि निर्णायक पहल तथा समझदारी गरेको भने पाइँदैन । निरन्तरको सरकार परिवर्तन र पछिल्लो घट्नाक्रमलाई निजी क्षेत्रले कसरी हेरेको छ भन्ने विषयमा हामीले केही प्रतिनिधिसँग कुराकानी गर्दा उनीहरूले नयाँ राजनीतिक समीकरणले देशमा राजनीतिक स्थिरता प्रदान गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने आफूहरूले अपेक्षा गरेको बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नयाँ देखिएको समीकरण राम्रै कामका लागि भएको विश्वास गर्न सकिने बताए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘अहिलेको सरकारले अर्थतन्त्रमा भएको मूल समस्यालाई नै सम्बोधन गर्न सकेको थिएन, विकास निर्माणका कामहरू जुन ढंगले जानुपर्थ्यो, बजेट खर्च जसरी हुनुपर्थ्यो- त्यो निरन्तर दोहरिरहेको अवस्था छ, यो चक्र तोडिएको सकेको थिएन, आम मानिसमा विश्वास जागृत गराउन सकेको थिएन ।’

आत्मविश्वास जागृत गराउने विषयले व्यावसायिक क्षेत्रमा धेरै फरक पार्ने बताउँदै लोहनीले विश्वासको वातावरण भएपछि क्रियाकलाप बढ्ने बताए । ‘अहिले जुन कुरा भइरहेको यसमा चौतर्फी समर्थन भएको देखिन्छ’, उनले भने, ‘यसले सुस्त भएको आर्थिक गतिविधिलाई सुधार गर्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।’

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले राजनीतिक रूपमा धेरै अस्थिर भएकाले आफूहरूलाई काम गर्न गाह्रो भएको भन्दै जसको सरकार आएपनि स्थायी सरकार आवश्यक भएको धारणा राखे ।

अध्यक्ष कार्कीले अहिलेसम्मको सरकार कहिले ढल्छ भन्ने मानसिकताले पनि कर्मचारीतन्त्रदेखि लगानीकर्ताको मनोविज्ञान अस्थिर भएको र आत्मविश्वासको वातावरण नभएको अनुभव सुनाउँदै नयाँ समीकरण स्थिर हुनुपर्ने आफूहरूको अपेक्षा रहेको बताए ।

‘स्थिर छैन भन्ने बित्तिकै कर्मचारीले नटेर्ने रहेछन्, हामीलाई त्यो खालको अनुभव भएको थियो’, उनले भने, ‘जो सुकैले नेतृत्व गरे पनि हामीले स्थिर सरकार होस्‌ भन्ने चाहन्छौं, यसरी वर्षदिनमा २/३ पटक सरकार परिवर्तन भयो भने न स्वदेशी लगानीकर्ताले लगानी गर्छन्, न त विदेशी लगानी आउँछ ।’

अध्यक्ष कार्कीले सरकार निरन्तर अस्थिर भएको कारणले लगानीको वातावरण, नीति, लगानी सुरक्षा लगायतका विषयहरूलाई लिएर लगानीकर्ताहरूको मानसिकता पनि अस्थिर बनेको बताए ।

उनले अहिले बन्दै गरेको समीकरण केही वर्ष जाओस भन्ने अपेक्षा गरेको बताए । ‘हामी त वाक्क दिक्क भैसक्यौं, यो समीकरण कसको के भन्दापनि २/३ वर्ष जाओस, सरकार टिकोस भन्ने चाहेका छौं ।’ उनले आफ्नो जलविद्युत क्षेत्रमा सरकारले लिएको लक्ष्य पूरा गर्नको सही दृष्टिकोण भएको दिगो नीति ल्याउन सक्ने सरकार बन्नुपर्ने धारणा रहेको बताए ।

पुँजीबजारका लगानीकर्ता छोटेलाल रौनियारले अहिलेसम्मको अवस्थामा प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरको बीचमा तालमेल नमिल्दा एकले अर्कोलाई खुट्टा तान्ने काम भएको पुँजीबजार क्षेत्रमा सुधार हुन नसकेको आफूले अनुभव गरेको बताए ।

उनले विगतमा अर्थमन्त्री प्रकाशशरण महत र अहिलेका अर्थमन्त्री वर्षमान पुन दुवैले पुँजीबजारको सहजताको लागि नीति ल्याउन नसकेको बताए । साथै उनले नयाँ देखिँदै गरेको समीकरणमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने, अर्थमन्त्रीमा विष्णु पौडेल आउने र गभर्नर पनि एमालेकै भएका कारण पुँजीबजार अनुकूल र लगानीमैत्री मौद्रिक नीति आउनसक्ने आफ्नो अनुमान रहेको बताए ।

‘प्रधानमन्त्री ओली बन्ने भए, अर्थमन्त्रीमा हामीले विष्णु पौडेल अपेक्षा गरेका छौं, त्यसपछि गभर्नर त त्यही लाइनकै भउ’, उनले भने, ‘उहाँहरू नआएसम्म मौद्रिक नीति राम्रो नल्याउने भनेर बसेको जस्तो लाग्यो, उहाँ जाने समयपनि आइसक्यो, मौद्रिक नीतिमा त राम्रो गर्लान् ।’

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ४ : ३९ बजे

कोपा अमेरिका : कोलम्बिया सेमिफाइलनमा

काठमाडौँ– कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए

नवलपरासी– नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका

युरोकप : सेमिफाइनल समीकरण पूरा

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पुरा

मेलम्चीको बाढीले बेलिब्रिज जोखिममा

सिन्धुपाल्चोक– लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु

मनसुनसँगै सरुवा रोगको प्रकोप, बच्न के गर्ने ?

देशभर केही दिन यता मनसुन सक्रिय भएको छ। शनिबार दिनभरको