समाचार

अमेरिकामा मुना पाण्डेको हत्याका आरोपी शाहलाई जमानत दिन अस्वीकार

By खबरहब

September 04, 2024

काठमाडौं– अमेरिकामा नेपाली युवती मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ ।

शाहलाई हिजो अदालतमा प्रस्तुत गरिएको थियो । अदालतले शाहविरुद्ध हत्याको यथेष्ट प्रमाण रहेको भन्दै जमानत दिन अस्वीकार गरेको अमेरिकामा नेपाली पत्रकारहरूले सञ्चालन गरेको पोर्टल नेप्योर्कले उल्लेख गरेको छ ।

अदालतमा पेस गरिएको विवरणमा शाह भारतीय मूलको रहेको र उनको जन्मस्थान भने स्पष्ट रहेको छैन । उनको हाल अमेरिकी नागरिकता समेत नरहेको बताइएको छ ।

लुटपाटको उद्देश्यले बबिसिंह मुनाको अपार्टमेन्टमा पुगेको र सोही क्रममा गोली हानेर हत्या गरेको उल्लेख गरिएको छ ।

उनीमाथि मुनाको हत्या बाहेक गैरकानुनी हतियार राखेको मुद्दा समेत चलाइने भएको छ । गैर कानुनी हत्याको मुद्दामा उनलाई सेप्टेम्बर ५ मा अदालतमा उपस्थित गराइने भएको छ ।

५१ वर्षीय शाहलाई प्रहरीले तस्बिर सार्वजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो ।

शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्वजनिक गरेको थियो । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।

भोजपुरकी २१ वर्षीया पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।