तीजको दरमा खाइने परिकारको महत्त्व र स्वास्थ्य | Khabarhub Khabarhub

तीजको दरमा खाइने परिकारको महत्त्व र स्वास्थ्य


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

महिलाले पुर्खौदेखि निकै महत्त्व, श्रद्धा अनि उत्साहका साथ मनाउने पर्व हो तीज। तीजको मुख्य रमाइलो भनेको विभिन्न परिकार समावेश गरिएको दरका साथै दिदी-बहिनी, साथी एवम् माइतीसँगको भेटघाट हो। तीजको दिन केही पनि नखाई व्रत बस्ने चलन रहेकाले शरीररमा शक्ति प्रदान गरोस् भन्नका लागि अघिल्लो दिन पौष्टिक आहारका रुपमा दर खाने चलन छ। तर, अहिले दिदीबहिनीलाई एक महिना अगाडिदेखि तीज लाग्छ। दर खानेको लर्को होटलदेखि पार्टी प्यालेससम्म हुन्छ।

तीजको दरमा घरमा पकाएको खानेकुरा भन्दा रेष्टुरेन्टमा बनेका अस्वस्थ्य खानपानमा दिदीबहिनी रमाएको देखिन्छ। कोल्ड डिङ्क्सदेखि हार्ड डिङ्क्ससम्म सबै भ्याएका हुन्छन्। खानु एउटा रमाइलो होला तर सांस्कृतिक पर्वलाई त्यसको मर्म अनुसार मनाउनु राम्रो हुन्छ। सांस्कृतिक र स्वास्थ्यका दृष्टिले महत्त्वका साथ हेरिएको पर्व तीजको खानपान गलत भएको भन्दै आलोचना हुने गरेको छ।

दर भनेको के हो ?
तीजको अघिल्लो दिन खाइने विशेष परिकारलाई दर भन्ने गरीन्छ। जसमा ठाउँ अनुसार फरकफरक खानेकुरा हुन्छन्। दरमा ढकने, खिर, अनदीको लट्टे, सेलरोटी, मौसम अनुसारका फलफूल, तरकारी, अचार, मिठाइ जस्ता खानेकुरा हुन्छन्। तर अहिले यो परम्परा एक दिनमा मात्रै सीमित नहरेर लामो समयसम्म मनाउन थालिएको छ। जुन स्वास्थ्यका हिसाबले राम्रो नहुने पोषणविद् विनिता पन्त बताउँछिन्। खबरहबसँग कुरा गर्दै पन्तले भनिन् ‘पहिले पहिले तीजको अघिल्लो दिनलाई मात्रै दर खने दिन भनिन्थ्यो। अहिले पार्टी प्यालेसमा खाइने खानाहरु चिल्लो त्यसमा पनि धेरै तारेका चिजहरु खाने प्रचलन छ। जुन हाम्रो स्वास्थ्यका लागि विष समान हुन्छ।’

‘होटेलमा पाकेको खाना कुनैपनि फाइवरयुक्त हुँदैन। जसले एकातिर आन्द्रा र ग्यास्ट्राइटिसका समस्या ल्याउँछ भने अर्कोतर्फ मुटुको समस्या हुने, कोलेस्ट्रोलको मात्रा बढ्ने, मोटोपन बढाउँदै जाँदा सुगरको मात्रा बढ्ने जोखिम हुन्छ’, पोषिणविद पन्तले भनिन्। यस्तो खानाले हाइपरटेन्सन बढाउने लगायत स्वास्थ्यमा धेरै समस्या निम्त्याउने उनको भनाइ छ।

दरमा खाइने परम्परागत परिकार र महत्त्व
खिर
दूधबाट बनाइएको खिरलाई प्रसादको रूपमा प्रयोग गर्ने हाम्रो पुरानै परम्परा हो। पुरानो समयमा मिठो मसिनो खानको लागि चाडपर्व नै पर्खिनुपर्ने भएकाले खिरलाई निकै महत्त्व दिने गरेको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन्।

खिरमा दूध, चामल लगायत विभिन्न किसिमका मसलाको प्रयोग हुने भएकाले पोषण तथा स्वास्थ्यका हिसाबले यो दरका लागि महत्वपूर्ण परिकार मानिएको उनको भनाइ छ।

ढकने
तीजमा दरका रुपमा खानेकुराको नाम ठाउँ अनुसार फरकफरक हुन्छ। पोषणविद् पन्त भन्छिन्, ‘तीजमा खाइने परिकार एउटै भए पनि यसको नाम ठाउँ अनुसार फरकफरक हुन्छ। पूर्वतिर ढकने भनेर चिन्छन्। यसलाई कतिपयले खाजा भन्छन्। कतैकतै त्यही परिकारलाई चाम्रेसमेत भनेको पाइन्छ। यो पोषणका लागि एकदम राम्रो हुन्छ।’

यो पकाउँदा चामल भिजाएर अथवा त्यत्तिकै घिउमा गाढा खैरो हुँदासम्म भुटेर दूधमा पकाइन्छ। पाकिसकेपछि नरिवल, काजु, किसमिस, बदाम लगायत विभिन्न मसला राखिन्छ। यसरी सबै कुराको मिश्रण हुने भएकाले यो एकदमै तागतिलो र पोसिलो खाना मानिने उनको भनाइ छ। यसमा चिल्लो र पोषणयुक्त कुराहरु धेरै हुने भएकाले धेरै नखान पनि उनको सुझाव छ।

सेलरोटी
प्रायः बजारमा सेलरोटीलाई खाजाको रूपमा खाइने भए पनि चाडपर्वको समयमा यसको बढी महत्त्व हुन्छ। यो चामलको पिठोबाट बनाइने परिकार हो। हिन्दू धर्म अनुसार सेलरोटीलाई प्रसाद र सगुनको रूपमा प्रयोग गरिन्छ। यो आलु र केराउको अचार, तामाको अचार, करेलाको अचारसँग खाने गरिन्छ। दरका रुपमा खाने सबै परिकारमा चिल्लोको मात्रा धेरै हुने भएकाले यससँगै दाल, भात विभिन्न किसिमका तरकारी तथा मौसमी फलफूलहरु पनि खान पोषणविदको सुझाव छ।

दरमा के खाने के नखाने ?
जनस्वास्थ्यविद् उप्रेती भन्छिन्, ‘परम्परागत रुपमा हाम्रो आमा हजुरआमाले खाने ढकने, चाम्रे, लट्टे, खिर लगायतका खानेकुराहरु एकदमै स्वस्थकर खाना हुन्। सधैं खाइरहेको भन्दा केही नयाँ र घरमै तयार पार्न सकिने भएकाले यी परिकारलाई हामीले दरका रुपमा प्रयोग गर्न सक्छौं।’

पहिले पहिले चेलीबेटीहरुलाई माइतीले बोलाएर मिठा मिठा परिकारहरु दिने चलन थियो भने अहिले महिलाहरु आफै मिलेर पनि खाने गरेका छन्। तर दर खाने नाममा एकदमै धेरै चिल्लो पिरो अमिलो माछामासु खाएर भोलिपल्ट भोको बसेको अनुभव नहोस् भन्ने गलत किसिमको अभ्यास भएको र यसले गर्दा शरीरमा झन हानी गर्ने उनले बताइन्।

पोषणविद् पन्त भन्छिन्, ‘पहिले दर एकदिन मात्रै खाने गरिन्थ्यो र दरमा आलु तामा बोडी लगायतका तरकारी हुन्थे, चिल्ला परिकार पनि शुद्ध घिउ अथवा तोरीको तेलमा पकाइएका हुन्थे। ब्रत बसेकै बेला पनि हाम्रा आमा धेरै काम गर्नुहुन्थ्यो जसले गर्दा त्यो खाएको चिल्लो पनि पच्ने र काम गर्ने जाँगर पनि रहिरहन्थ्यो। तर अहिलेको हाम्रो पुस्ताको दरको कुरा गर्नुपर्दा दैनिक पार्टीप्यालेसमा गएर चिल्लो मसालेदार खानेकुराहरु खाने र घरमा आएर आनन्दले सुत्ने प्रवृतिले मोटोपन, हाइपरटेन्सन, सुगर र क्यान्सरका समस्यासम्म पुग्ने गरेको देखिन्छ।

दरका नाममा हरेक दिन खाइने अस्वस्थकर खानाले हामीलाई सामाजिक, आर्थिक र स्वास्थ्य लगायत कुनै पनि रुपमा फाइदा नपुग्ने पोषणविद् पन्तको भनाइ छ। ‘संस्कृति र परम्परा बचाउनु राम्रो कुरा हो। तर दरका नाममा एक महिना अगाडिदेखि खाने अस्वस्थकर खानाले हाम्रो स्वास्थ्यसँगै आर्थिक अवस्था नै खराब बन्ने बाटोमा गएको देखिन्छ’, उनले भनिन्। उनले दरखाने दिनमा मात्र तीज मनाएर रमाइलो गर्नसमेत सुझाव दिएकी छन्।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : ५६ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन