खेलकुद

प्रधानमन्त्रीले भेटे पलेशालाई, कर नकाटी ६५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा

By खबरहब

September 04, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकाटी ६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई ६५ लाख दिने स्पष्ट गरेका हुन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् ।

उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि,केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए ।

‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ’, प्रधानमन्त्रीले भने ।

उनले पलेशाको कीर्तिमान इतिहासमा लेखिने बताए । ‘यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुराना कीतिमान तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुझाएर बस्नु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।’

उक्त अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका छन् ।