मुन्धुम मन्थन : सीमान्तकृत ‘न्यारेटिभ’ | Khabarhub Khabarhub

संस्कृति

मुन्धुम मन्थन : सीमान्तकृत ‘न्यारेटिभ’

मुन्धुमको थप व्याख्या आवश्यक



मूलतः म कविता लेख्ने मान्छे हो । तर, मैले नलेखेको धेरै भयो । मैले गरिराखेका कामहरु याक्थुङ लिम्बूको मुन्धुम सम्बन्धी लोकवार्ता विद्याअन्तर्गत आउने विषयमा धेरै अगाडिदेखि काम गरिराखेको थिएँ । याक्थुङ मुन्धुममाथि मैले पहिला गरिरहेका कामहरुमा धेरै परिमार्जनहरु गर्नुपर्ने रहेछन् । भ्याएसम्म र सकेसम्म तिनीहरुलाई परिमार्जन गर्दैछु ।

मुन्धुमभन्दा हामी लिम्बूहरु खासमा ब्रह्माण्डदेखि पृथ्वी र मानिस लगायत यो चराचर जगतको सृष्टि बर्णन हो भनेर बुझ्छौं । सृष्टिलाई पूर्णता दिने नश्वर चोलाधारी मानिसको उत्थान र पतन, उसले उत्तर जीवनका लागि गरेका संघर्ष, अर्थात बाँच्नका लागि गरेका संघर्ष, हितकारी र अहितकारी देवी देवताका परिकल्पना, पूजा र अनुष्ठान पनि एकैचोटि बुझ्छौं । अर्थात, आख्यानमात्र होइन, मिथ मात्र होइन, रिचुअल (अनुष्ठान) पनि एकैचोटि बुझ्छौं ।

मुन्धुम याक्थुङ पूर्खाको गाथा हो । अब अनुष्ठान कसरी गर्ने, कतिवटा रेखी हाल्ने, अनुष्ठान गर्दा लिम्बूले कतिवटा केराको पात ओच्छ्याउने, सुल्टो कि उल्टो राख्ने, सिधा ओच्छ्याउने कि क्रस पार्ने आदि यसका विधानसहित मुन्धुममा व्याख्या गरिएको कुरो पनि बुझिन्छ, आख्यानमात्रै होइन ।

हामीलाई लिम्बू जातीय पुरोहितहरुले हाम्रा लागि सबै कुरा विषेश अवसरमा अर्थात पूजा अनुष्ठानमा मुन्धुम गाएर सुनाउँछन्, भनिदिन्छन् । यो गायनसँगसँगै अनुष्ठान पनि सम्पन्न गरिदिन्छन् ।

हाम्रा जातीय पुरोहितलाई हामी साम्बा, येवा, येमा, फेदाङमा भन्छौं । यिनीहरुका आफ्नै–आफ्नै वर्ग र विषयगत कार्यक्षेत्रहरु छन् । श्रुति परम्परागत मुन्धुम हाम्रा जातीय पुरोहितहरुले मुखमुखै भन्दै आएको जो छ, अहिलेसम्म अलिखित छन् । लिखित रुपमा वा पुस्तकका रुपमा पछिल्लो समयमा हामीले राखे पनि पुजाअनुष्ठान गर्दा पुरोहितहरुले पढेर गर्दैनन् । मौखिक रुपमा नै गाउँदै आएका छन् आजसम्म । एउटा ओरेकल (आकाशवाणी) का आधारमा उनीहरुले गर्ने हो ।

सृष्टि उत्पतिको बर्णन गाउने जातीय पुरोहितलाई हामी मूलतः साम्बा भन्छौं । तर, साम्बा नभएका बेलामा फेदाङमाले पनि गरिदिन्छ, येवा र येमाले पनि गरिदिन्छन् । येवा (पुरुष पुरोहित) को विपरीत लिङ्ग येमा (स्त्री पुरोहित) हुन्छ । तर, लिम्बूमा फेदाङमा र साम्बाको विपरीत लिङ्ग हुँदैन ।

मुन्धुमको थप व्याख्या जरुरी

मुन्धुमको थप व्याख्या र विष्लेशण गर्न धेरै आवश्यक छ । किनभने कसैले मुन्धुमभन्दा त्यसलाई मनमनै भावानुवाद गरेमा नेपालीमा प्रचलित शब्द वेद, मिथक, पौराणिक आख्यान भनेर मात्रै बुझ्छौं । पौराणिक आख्यानहरु कल्पनाका आधारमा अडिएको हुन्छ । मिथक पनि त्यही हो । मुन्धुम पनि त्यै हो तर के भने त्यसमा विश्वास र आस्थाहरु जाति र समुदायसँग जोडिएको हुन्छ । त्यसैले त्यसको सांस्कृतिक र धार्मिक महत्व ठूलो हुन्छ । त्यसकारण हामीले यसलाई कल्पनाको बस्तु हो भनेर मात्रै उडेर हिँड्ने वा उडाएर हिँड्ने गर्‍यौं भने हाम्रो अहिलेसम्मको जति पनि प्राप्ति छ, सप्पै ध्वस्त हुन्छ । त्यसकारण समय सुहाउँदो रुपमा यसलाई व्याख्या गर्दै जानु पर्छ भन्ने मेरो धारणा हो ।

व्याख्या कसरी गर्ने त ? व्याख्या त भाषा हो । हामीले अहिलेसम्मको याक्थुङ लिम्बू जातीय उत्थान र पतनको जो कुरा गर्छौं, यसलाई कल्पनाकै कुरामात्रै मान्यौं भने यो त कुनै एउटा दन्त्यकथा जस्तोमात्र हुन्छ । तर, हामीले मानिआएका यी महाआख्यानका कथाहरुमाथि, हाम्रा पूर्खाका गाथाहरुप्रति हाम्रो अपार विश्वास र आस्था भएको हुनाले यसलाई हामीले हाम्रो जीवन शैलीअनुसार अनुसरण गरेका छौं /हौं ।

मुन्धुमलाई धार्मिकताको रुप दिएर पनि बडो पालन गरिल्याएको छ । अर्थात हाम्रो सांस्कृतिक धार्मिक जीवनको एउटा आधार बनाएर हिँडिरहेका छौं । जुनदिन हामी यो मुन्धुम कल्पना हो, हाम्रो होइन भन्छौं, त्यसदिन हामी मान्छे त हुन्छौं, तर आफूलाई याक्थुङ लिम्बू नभने पनि हुन्छ । मान्छुे मात्र हुँं भन्दा भइगयो नि । तर, याक्थुङ लिम्बू भनेपछि उसले आफ्नो मुन्धुममाथिको जीवनको जुन आधार छ, त्यसलाई बिर्सनु हुँदैन । मुन्धुमको यो एउटा ठूलो महत्व हो ।

तर, मुन्धुमको राम्रो व्याख्या भइसकेको छ जस्तो मलाई लाग्दैन । किनभने, अहिलेसम्म व्याख्या गर्नेहरु कसले गरे त भन्दा हामीजस्तै मुन्धुम अलिअलि सुन्नेले मात्रै त गर्‍यो । साम्बा, येवा येमा, फेदाङमाहरुले राम्ररी व्याख्या गर्न सकेका छैनन् । र, उनीहरुले गरिरहने कुरा पनि भएन ।

आजभोलि भर्खरमात्र केही युवाहरु येवा साम्बा उत्रेकाहरु शिक्षित पनि हुँदैछन् । शिक्षित भइसकेपछि फेरि परम्परागत रुपमा थान थपना गाडेर पूजा अनुष्ठान गर्न लजाउँदा रहेछन् । त्यसो गर्दा हाम्रा सारा जातीय ज्ञान र विद्या नष्ट हुँदो रहेछ । यसो गर्ने त को छ भन्दा हाम्रा येवा, येमा, साम्बा, फेदाङमाहरु नै हो ।

शैक्षिक दृष्टिकोणले उनीहरुमा आधुनिक शिक्षा र ज्ञानको कमी हुन्छ । आधुनिक शिक्षाको दृष्टिकोण राखेर गर्ने मुन्धुमको व्याख्या गर्ने दक्षता उनीहरुमा कम हुन्छ । सुनिआएकोसम्म उनीहरुले गर्छन् । उनीहरुले अरुलाई रिले गरिरहेका छन् । त्यसलाई हामीले अहिलेको समय सुहाउँदो व्याख्या गर्नुपर्छ ।

मुन्धुमको व्युत्पति

मुन्धुम भन्ने शब्दबारे केही कुरा राख्छु ।

यो सृष्टि ब्रह्माण्डको उत्पति अनि सृष्टिको प्रकृया, र सृष्टिकर्ताको उपस्थितिको वर्णन भएको लिम्बू मौखिक शास्त्रलाई हामी मुन्धुम भन्छौं । त्यो शास्त्र मान्छेको उत्पतीमा आएर टुंगिदैन । मान्छेको सर्भाइवल (जीवन अस्तिवको) लागि गरेका अनेक सघर्ष छन्, त्यसको पनि बर्णन गर्छ ।

मुन्धुम शब्दमा यति ठूलो शक्ति छ भने यही शब्दका आधारमा मुन्धुम के हो त ? किन नहेर्ने त जस्तो लाग्यो मलाई । यसका लागि व्युत्पति शास्त्र जान्न पर्‍यो, जुन भाषा वैज्ञानिकहरुको कुरा हो । कसरी मुन्धुम भन्ने शव्दको व्युत्पति हुन्छ ? त्यो भाषा वैज्ञानिकहरुले गर्ने कुरा हो ।

मुन्धुम शब्द ‘मुन्’ र ‘थुम्’ दुईवटा क्रियापदको धातु मिलेर बनेको छ । यसबारेमा मैले विभिन्न समयमा भेट हुँदा प्रदीप मेन्याङ्बोजीलाई पनि पहिले भनेको थिएँ होला । जीवन र जगतलाई चलायमान राख्ने शास्त्र हो याक्थुङ मुन्धुम ।

जुन दिन हामी गतिशील हुन छाड्छौं, सबै ठप्प हुन्छ । स्थिर हुन्छ । हामीमा कुनै परिवर्तन आउँदैन । जुन दिन हामीमा कुनै परिवर्तन आउँदैन, ढुङ्गा जस्तो हुन्छौं । हिरामोती, सुनजस्तो हुन्छौं । हामीलाई चलाउन अर्कै बस्तु चाहिन्छ । कलाको बस्तु हुन्छौं । आफ्नो जीवन्त जीवन बाँच्ने मान्छेका रुपमा रहँदैनौं । यसकारण जीवनको यो जुन गतिशीलता छ, चेतनाले युक्त चोला पाएको याक्थुङ लिम्बू समुदायले आफ्नो जीवन र जगतलाई हेर्ने एउटा व्यापक दृष्टिकोण नै मुन्धुम हो ।

किनभने, मुन्धुम भन्ने शब्दको बनावट नै यस्तै छ । जसले एउटा गतिमयता, शक्ति र बल के हो भन्ने कुराको आग्रह गर्छ । गतिशील हुनलाई फोर्स चाहिन्छ । विज्ञानमा फोर्सको कुरा आउँछ । ‘भेलोसिटी’को कुरा आउँछ । ‘मुभमेन्ट’को कुरा आउँछ, ‘स्पिड’को कुरा आउँछ । त्यसलार्ई केले चलाउछ त ? त्यो प्रकृति के हो त ? भन्ने कुरालाई खोज्नु जरुरी छ ।

खोज्ने कुरामा जुन चिज अप्ठ्यारो छ, त्यसलाई सरल तरिकाले सम्पन्न कसले गर्छ त ? कमजोरले गर्न सक्छ ? गर्न सक्ने त बलियो नै हो, जोसँग क्षमता छ । क्षमता हुनेले जस्तोसुकै अप्ठ्यारोलाई पनि पार लगाउन सक्छ । त्यो क्षमता ज्ञानमा छ । लिम्बूका लागि ज्ञान के हो त भन्दा मुन्धुम हो । याक्थुङ लिम्बूका लागि मुन्धुम एउटा ज्ञान र चेतनाको शास्त्र हो । फरक यति हो, उहिले लिखित थिएन । मौखिकरुपमा जीवन्त थियो।

याक्थुङ लिम्बूमा मुन्धुम शब्द दुईवटा क्रियाले बनेको रहेछ । एउटा ‘मुम्मा’ र एउटा ‘थुम्मा’ । यहाँ शब्दको अन्तमा आएको ‘मा’ भनेको नेपालीको ‘नु’ भने जस्तै हो । ‘इन्फिनिटी मार्कर’ भन्नुहुन्छ नि मास्टरहरुले व्याकरण पढाउँदा । नेपालीमा असमापक क्रियाको चिन्हजस्तै ‘गर्’ प्लस ‘नु’ । ‘नु’ चाहिँ ‘इन्फिनिटी मार्कर’ भयो । ‘गर्’ चाँहि धातु भयो, त्यसको रुट ।

लिम्बूमा ‘मा’ चाहीँ ‘इन्फिनिटी मार्कर’ रहेछ भनेर भन्नु पर्‍यो । ‘मुन्’ अनि ‘मा’ । याक्थुङ लिम्बूभाषाको ‘मुन’ भनेको नेपालीमा ‘हल्ल’ मात्रै भयो । ‘मा’ भनेको ‘नु’ । अर्थात ‘हल्लनु’ । यो ‘इन्ट्रान्जिटिभ भर्ब’ (अकर्मक क्रिया) भयो । यसका त दुईवटा रुप हुन्छन् । ‘मुन्’ अनि ‘मा’ जोड्दा ‘मुम्मा’ हुन्छ । नेपालीमा ‘हल्ला’ प्लस ‘उनु’ पनि हुन्छ । दुवैलाई जोडेर भन्दा ‘मुन्मा’को अर्थ ‘हल्लाउनु’ हुन्छ । यो सकर्मक भयो । ‘हल्लाउनु’ अनि ‘हल्लिनु’ भनेको आफैं गतिशील रहिरहनु हो ।

पृथ्वी आफ्नै अक्षमा घुमिरहेन भने २४ घण्टा समय नै हुँदैन । रात र दिन नै हुँदैन । स्थिर बस्यो भने घाम लागेको लागैकै हुन्छ । त्यसकारण यो गतिमयता भनेको जीवन हो । दाना (बिउ) बारीमा रोपिन्छ, उम्रिन्छ, टुसा हुन्छ, विरुवा हुन्छ, फल्छ । त्यो समाप्त हुन्छ । फेरि दाना हुन्छ । यो जीवनको चक्रलाई गतिशील तुल्याउने चक्रवत रहन्छ । यो क्रियाको अर्थले बहुत ठूलो चिज दिँदो रहेछ ।

अर्को, योसँग जोडिने क्रिया ‘थुम्’ मा ‘थुम’ अनि ‘मा’ रहेको छ । यसका दुईवटा अर्थ छन् । कोही मानिस बलियो छ भने ‘हेन् मना थुम्’ (यो मान्छे बलियो छ) भनिन्छ । त्यो काम गर्न कडा छ है भन्नुपरे पनि ‘हेन् याम्बकिन् थुम्’ भनिन्छ । कडा पनि हो यसको अर्थ । बलशाली हुनु पनि हो ।

जुन चिज अप्ठ्यारो छ, सामान्यले गर्न सक्दैन, कसले गर्न सक्छ ? जोसँग बल छ, तागत छ । यसरी एउटै क्रियाले दुइटा चिज बताउँदो रहेछ । अर्थात गतिशील ब्रह्माण्ड भनौं वा पृथ्वी भनौं वा यो चराचर जगतको प्राचीन समयको बर्णन गर्ने शास्त्रलाई याक्थुङ लिम्बूहरुका आदिम पूर्खाले मुन्धुम भने । जुन मौखिक शास्त्रको रुपमा प्रचलित छ । अहिले चाहिँ बिर्सँदै जाला कि भनेर हामी धेरैले लिपिवद्ध गर्न थालेका छौं ।

मुन्धुमलाई लिपिवद्ध गर्न थालेको पनि झण्डै–झण्डै दुईसय बर्षको इतिहास छ । अहिले धेरै मुन्धुमहरु लिखितरुपमा वा पुस्तकका रुपमा भए पनि अहिले पनि हाम्रो परम्परा के छ भन्दा साम्बा, येवा, येमा, फेदाङमाले अनुष्ठान गर्दा त्यो लिपिवद्ध भएको मुन्धुमको पुस्तक पढेर मुन्धुम फलाक्दैनन् । इमानसिं चेम्जोङले बटुलेको मुन्धुम पढेर ती साम्बा, येमा येमा फेदाङमाले कुनै अनुष्ठान गर्दैनन् । मैले बटुलेको मुन्धुम पढेर पनि गर्दैनन् । उनीहरुले गाउने, वाचन गर्ने वा फलाक्ने भनेको त उनीहरुको मुखमा आएको जे छ, जानेको र सिकेको ज्ञान जे छ, त्यो गाउँछन् ।

त्यसो गर्दाखेरि पाठान्तर भन्छन् नि, टेक्समा केही हेरफेर हुन्छ कि भनिन्छ । हेरफेर त हुन्छ । जीवन्त चिजको हेरफेर हुन्छ । बाँस उम्रिन्छ, खपेटा लाग्छ, बाहिर बोक्रा लाग्छ, आफैं झर्छ, आफैं बढ्छ, आफैं मर्छ । यो भएन भने जीवनै रहँदैन ।

जीवन्त भएन, हेरफेर भएन भने वेद आजभन्दा चार–पाँच हजार बर्षअगाडि लिखित भयो, वेदजस्तै स्थिर रहन्छ, फेरिँदैन । त्यो त डेथ टेक्स्ट भयो । मृतपाठ भयोे । त्योभित्रका कुरा राम्रा छन्, तर पाठमा मृत । अदली बदली हुँदैन ।

तर, लिम्बूको मुन्धुम मौखिक भएको हुनाले ताप्लेजुङको एउटा फेदाङमाले गाउँदा त्यही चिजलाई अर्को भाषाको संरचनामा गाउँछ । तेह्रथुमकोले अर्को संरचनामा, पान्थरकोले अर्को संरचनामा । मुल कुरो र चुरो चाहिँ त्यही हो, तर भाषाको बनोट र अभिव्यक्त गर्ने शैली, प्रस्तुत गर्ने तौरतरिका भिन्न हुन्छ । यो चाहिँ अलिखित साहित्यको एउटा स्वरुप हो । यसको गुण हो । कुरो त्यहीँ रहँदो रहेछ तर भाषा (लवज) फरक हुन्छ । संरचनामा केही भिन्न हुन्छ ।

लयको कुरा उस्तै हो । हाम्रो मिटरमा गन्दै गयो भने मात्राको हिसाबमा पाँच–छ, पाँच–छ होला, या चार भयो भने अलिकति तानेर घाँटीमा घुमाएर फेरि गाउँला । लय मिलाउँला । तर, चुरो कुरो त्यही हो । यो चिजलाई हामीले नयाँ ढंगले व्याख्या गर्दा मनुष्यको जीवनमा आइलाग्ने कठिनतम समस्याहरुलाई पार लगाउन सहज हुन्छ । उदाहरणका लागि रिसईवी, छलकपट, लोभ लालचबाट पार लगाउन मद्दत गर्ने शक्ति सामर्थ्य जोसँग छ, जसले सामर्थ्य दिन्छ, त्यो ज्ञानको पुञ्ज वा संग्रह मुन्धुम हो भनेर हामीले व्याख्या गर्न थाले कसो हुन्छ ? यस्तो दृष्टिकोण बनाएर म त्यो हिसाबले अगाडि बढ्दैछु ।

मलाई लाग्छ, हामीले यसरी व्याख्या गर्‍यौं भने धेरै नै गहनतासँग मुन्धुमलाई बुझ्छौं ।

याक्थुङ लिम्बूको ईश्वर ‘तागेरानिङ्वाफुमाङ’

सामान्यतया लिम्बूको माङ शब्द भनेपछि ईश्वर भने पनि भयो । क्यापिटल जीओडी ‘गड’ भने जस्तै । अथवा सामान्यता ‘डेइटिज’ भनेर पनि बुझ्न सकिन्छ । ‘डेइटिज’लाई हामी देवी देवता भनेर पनि बुझ्छौं । देवी देउता र ईश्वरमा के फरक हुनुपर्ने ? ईश्वर निर्गुण पनि हुन सक्छन् ।

लिम्बूको मुन्धुमअनुसार त देवी देउता त मान्छेको देहअनुसार आङमा चढछ । जसलाई हामी ‘थक्लेसाम्माङ’ भन्छौं । जीउ शरीर भएको देउता, ईश्वर अर्थात देहधारी । अर्थात ईश्वरको अवतार चरित्र । हाम्रोमा (हिन्दु) मा यो ब्रह्मा, विष्णु कृष्ण छन् नि, हातमा शंख, चक्र, गदा के–के बोकेको देखिन्छ नि, सरस्वतीलाई पनि विणा बजाइरहेको देखिन्छ, त्यो त तस्वीरमा बनाउन सकियो । परिकल्पना गर्न सकियो । तर, निर्गुण र निराकारलाई परिकल्पना गर्नैै सक्तैनौं हामी ।

के हो त त्यो निर्गुण निराकार ? जसलाई आकारमा देख्न सकिन्न । जसको रस, रुप, गन्ध थाहा पाउन सकिन्न । हामी न त ईश्वरको स्वाद चाखेर थाहा पाउन सक्छौं । न त सुँघेर गन्ध थाहा पाउन सक्छौं । न छामेर आकार नै थाहा पाउन सक्छौं । यो कुरा लिम्बूका ती प्राचीन बुढा पुर्खाले कसरी जानेका ? हामी देवारी, धामी (साम्बा, येवा येमा, फेदाङमा) भनेर हेप्छौं हिजोआज । तिनीहरुले कसरी कन्ठस्तै गर्न सकेका होलान् ? कसरी जानेका होलान् ? यही आश्चार्यजनक छ ।

हाम्रा पुर्खासँग औपचारिक ज्ञान पनि थिएन । उनीहरुसँग भएको ज्ञान भनेको यो नेचर (प्रकृति) को अब्जर्भेसन (अवलोकन, निरीक्षण) को कुरालाई कति गहिरोसँग हेरेका रहेछन् । अनि यो नजानिने ईश्वरलाई दुईवटा शब्द लगाएर विशेषणका रुपमा प्रयोग गरे । एउटा ‘तागेरा’, एउटा ‘निङ्वाफु’ भने ।

लिम्बूले माङ भनेकोलाई ‘तागेरानिङ्वाफुमाङ’ भन्यो भने मात्र राम्ररी बुझ्छ । ईश्वरकै कुरा गर्दा, ईश्वर देखिँदैन । देउता भनेर मात्रै हिड्यौं भने पार पाउँदैनौं । हाम्रा पुर्खाले कसरी तागेरा भने त ? लिम्बुले आफ्नो ईश्वरलाई किन तागेरा माङ भन्यो ? किन तागेरा लगायो ? किन युगेरा भनेनन् ? किन फेगेरा भनेनन् ? किन थाङ्गेरा भनेनन् ?

परबाट मात्रै आउनेचाहिँ देउता भएको भए फेगेरा लगाउँथे (भन्थे) होला । माथिबाट तलमात्रै आउन सक्ने भए युगेरा भन्थे होला, तलबाट माथि मात्र आउन सक्ने भए थाङ्गेरा भन्थे होला । तर, जतैबाट पनि आउन सक्ने देउता हो । देउता, ईश्वर भनेको सर्वव्यापी हो । परबाट मात्र आउने, माथिबाट मात्रै आउने, तलबाट बाटमात्रै आउन सक्ने भए केको शक्ति छ त त्योसँग ? त्यो त सर्वशक्तिमान ‘अलमाइटी गड’ त हुँदैन । त्यसकारण सर्वशक्तिमान हुनलाई त जहीँबाट आउन सक्छ ।

त्यसो भए के हो त यो ‘तागेरा’ ? के हो त ‘निङ्वाफु’ ? के हो ‘माङ’ ? यी शब्दहरु मुख्य कडीका रुपमा आएका छन् । ईश्वरलाई विशेषित गर्ने शब्द के हुन् त ? तिनको अर्थ के हो ? तिनले देखाउन र भन्न खोजेको के हो त मुन्धुममा ? यी कुरामा म यहाँहरुलाई अलिकति राख्छु ।

‘माङ’ त भनियो । ईश्वर त भनियो । देहधारीरुपमा आएर हामीले अर्को शब्द थपेर ‘साम्माङ’ पनि भन्छौं । तर ‘माङ’लाई विशेषित गर्ने ‘तागेरा’ के हो र ‘निङ्वाफ’ के हो भन्ने कुरा हेरौं ।

यो ‘ता’ र ‘गेरा’ भन्ने दुईवटा शब्द, दुईवटा क्रियाबाट बनेको रहेछ । एउटा ‘तामा’ भन्ने, एउटा ‘केप्मा’ भन्नेबाट । ‘केप्मा’ भनेको पुग्नु हो । घरमा आएर पनि पुगिन्छ, गएर पनि पुगिन्छ । तर, भाषाशास्त्रीका अनुसार लिम्बूमा के रहेछ भने यसको जुनचाँहि जड हुन्छ, रुट धातु दुईवटा हुँदारहेछन् । ‘केप्मा’ को ‘केत्’ प्लस ‘मा’ र ‘केर्’ हुँदो रहेछ । ‘केत्’ वर्तमानकालीन धातु, ‘केर्’ चाहि भूतकालीन धातु ।

त्यो आइपुग्छ भन्दा ‘हेन् केत्, केर् भन्दैन लिम्बूले । सफाङ् केत् (एकछिनमा आइपुग्छ) भन्छ । ‘केर्’ भनेपछि चाँहि पुग्यो भन्दा ‘केरा’ भनिन्छ । ‘केरा’ भनेको पुग्यो ।

जर्ज भान्ड्रीम भन्ने नेदरल्याण्डका भाषाशास्त्रीको व्याख्या अनुसार यसका दुई प्रकारका रुट हुँदा रहेछन् । एउटा– भूतकालिक रुप, जुन रुटलाई रुपावलीमा लैजाँदा सामान्य भूतकाल बुझाइहाल्छ । अर्को सामान्य वर्तमानकाल । याक्थुङ लिम्बूमा त्यति भविष्यतकाल हुँदैन । नेपालीमा जस्तो आउने छु, ‘आ’ ‘उने’ ‘छु’, ‘जानेछु’ मा जा नेछु, खाने मा खानेछु यस्तो प्रष्टसँग लिम्बूमा त्यति आउँदैन ।

अनि ‘ता’ भनेको ‘तामा’ ‘आउनु’ भन्ने शब्दको रुट हो । अर्थात ‘तामा’ रुट ‘ता’ रहेछ । याक्थुङ लिम्बू भाषामा ‘आउनु’ शब्द जनाउने चारवटा जति शब्द रहेछन् । नेपालीमा आउनु भन्यो, सकिगयो । अगाडि क्रिया विशेषण माथिबाट, तलबाट, उताबाट, त्यताबाट आउनु । याक्थुङ लिम्बूमा चाहि ‘थाङ्मा’ भन्यो भने वक्ताको सतह भन्दा उँधोबाट आउनु भन्ने बुझ्नु पर्छ । मान्छे तल छ, माथि आइज भन्नु परेमा ‘थाङे’ भन्दा भयो । माथिबाट तल आइज भन्नका लागि तल भनिरहनुपर्दैन ‘ये’ भन्छौं । त्यसको रुट, त्यसको ‘इन्फिनिटस् मार्कर त ‘यु’ मा रहेछ ।

एउटै सतह (वरपर) भएको अवस्थामा यता आइज भन्दा ‘फेम्मा’ बाट ‘फेरे’ भन्दोरहेछौं । अर्थात अगाडिबाट, पछाडिबाट, दाहिनेबाट, देव्रेबाट, एउटै सतहमा आएमा ‘फेरे’ भन्दा रहेछौं । लिम्बूको यी दिशाबोधक क्रियाहरु तीनवटा रहेछन् । तलबाट माथि आइज दिशाबोध गरायो । माथिबाट तल आइज दिशाबोध गरायो । उता परबाट यता आइज दिशाबोध गरायो । तर, लिम्बूमा एउटा क्रिया रहेछ ‘तामा’ । त्यो कहाँबाट आउनु ? जहाँबाट पनि आउँदा पनि ‘त्याङ्वा’ भन्दा पुग्ने शब्द छ ।

उताबाट आएँ, माथिबाट आएँ, तलबाट आएँ अर्थात जुनै दिशाबाट आउँदा पनि ‘त्याङ्वा’ भने पनि भयो । जुनै दिशाबाट पनि आउन सक्ने नन्डाइरेक्शनल भर्ब (क्रिया) ‘ता’ त्यसको रुप हो । अनि ‘केप्मा’ अघि भनिहालें, त्यसको अर्थ पुग्नु हो । यो भूतकालिक रुप हो । ‘केरे’, ‘केरा’ को अर्थ पुग्यो । कताबाट पुग्यो ? जतैबाट पनि पुग्यो ।

दाहिने पट्टिबाट मात्र आउन सक्ने ईश्वर भए कसरी सर्वशक्तिमान हुन्छ । देव्रेबाट, अगाडि पछाडिबाट, आउने ईश्वर सीमित शक्ति भएको सर्वशक्तिमान हुन्छ र ? माथिबाट तल आउन नसक्ने ईश्वर पनि सर्वशक्तिमान हुन सक्छ र ?

अघि मैले वर्तमानकालिक रुट ‘केत्’ भनें । हाम्रो देवता ‘केत्’ भन्यो भने आइपुग्छ । भनेपछि यहाँ त छैन नि अहिले । यहाँ छैन भने कसरी सर्वव्यापी हुन्छ त्यो ? सर्वव्यापी त जहिले तहिले विद्यमान हुन्छ । त्यसकारण यो ‘केप्मा’ भन्ने क्रियाको भूतकालिक धातु र आउनु क्रियाको दिशाबोध नगर्ने क्रियाको धातु मिलेर बनेको शब्द रहेछ ‘तागेरा’ ।

अर्थात आएर अघि नै पहिलै पो उपस्थित रहेछ यो । हामी आएपछि आइपुग्ने होइन । जुनसुकै बेला, तत्कालै, जहिले पनि, जहाँ पनि आइपुगिसकेको । त्यसकारण सर्वव्यापी ईश्वर बुझाउनका लागि, सर्वशक्तिमान ईश्वर हो भनेर जनाउनका लागि ‘तागेरा’ भन्ने एउटा यो विशेषण बनाए हाम्रा याक्थुङ पुर्खाहरुले ।

अर्को छ ‘निङ्वाफु’ भन्ने शब्द । यो शव्द ‘तागेरा’सँगै जोडिन आइपुग्छ ।

याक्थुङ लिम्बूमा ‘फु’ को अर्थ सामान्यतया खानी हो । सुनखानी, हिराखानी, कोइला खानी, अर्थात खानी भनेको भण्डारण हो । जमिनमुनि छ भने खानी भन्छौं, माथि छ भने ढिकुटी भन्छौं । ढिकुटी वा भकारीमा राखेको चिज त एक सिजनमा सिद्धिन्छ तर जमिनमुनि, खानीभित्रको तत्व उति सिद्धिने चिज होइन । केको खानी भन्दा लिम्बूले ‘निङ्वा’ भन्छ । ‘निङ्वा’ भन्ने शब्द चाहिँ बहुअर्थी हो । मन, रीस, चित्त, ज्ञान, विवेक, बुद्धि, धेरै अर्थ लाग्छ । बुद्धि र विवेकको खानी भनेको ईश्वर हो भन्यो भने बुद्धि र विवेक भनेको चेतना हो । ‘सुपर कन्ससनेस’ भनौं न ।

‘सुपर कन्सस्नेस’ कसैले छेकेर छेकिन्न । ज्ञानको बाटो, दैलो कसैले थुनेर थुनिन्छ ? नजानी बस्नु एउटा कुरो हो । तर, जान्न चाहानेका लागि द्वार जहिल्यै खुला हुन्छ । त्यो ज्ञानको खानी वा चैतन्य स्वरुप जो जहाँ व्याप्त छ । त्यसभित्र निहीत अत्यन्तै ठूलो शक्ति छ । त्यही सत्तालाई लिम्बूहरुले ईश्वर अर्थात ‘माङ’ भनेका रहेछन् ।

यही ईश्वरले यो सारा ब्रह्माण्ड, ब्रह्माण्डको एउटा अंश पृथ्वी र पृथ्वीका यावत चिजको सिर्जना गर्‍यो । यो कथा संसारका सबै मिथक र पौराणिक कथाहरुमा पाइएला । तर, लिम्बू मुन्धुमले आफ्नै तरिकाले बखान गरेको छ ।

शब्द भनेको बडो शक्तिशाली अस्त्र रहेछ । त्यसै कारण हिन्दु धर्मशास्त्रहरुमा शब्द ब्रह्म भन्छ । ब्रह्म भनेको सिर्जनकर्ता हो । भगवान नै हो ।

बाइबलले ‘देयर वाज वर्ड, वर्ड इज गड’ भन्छ । अगाडि भूतकाल लगायो, पछाडि बर्तमानकाल लगायो । शब्द थियो, त्यही शब्द ईश्वर उनीहरुले भने ।

यता हामी याक्थुङ लिम्बूले भने सर्वव्यापी, सर्वशक्तिमान जहाँ पनि, जहिले पनि विद्यमान रहने, अघि नै आइपुग्ने, ज्ञान र विवेकको खानी, जीवन र जगतको संरक्षकका रुपमा ‘तागेरानिङ्वाफुमाङ’ भन्यौं । जहीँबाट पनि आउन सक्ने र विद्यमान (उपस्थित) हुन सक्ने जो सत्ता छ, त्यसलाई हाम्रो याक्थुङ लिम्बूको साम्बा, येवा, येमा, फेदाङमाहरुले ‘तागेरानिङ्वाफुमाङ’ (ईश्वर) भनेर परिभाषा गरे ।

त्यो तत्व केहो त ? पक्कै पनि चेतन तत्व हो । ‘कन्ससनेस’ । ‘कन्ससनेस’ चाहिँ यो ब्रह्माण्डमा आएपछि त्यसबाट सिर्जनाहरु हुन थाले ।

मुन्धुममा सृष्टि, सौन्दर्य र सम्पूर्णताको खोजी

जीवनलाई जीवन्तता दिने अर्थात गतिमयता दिने सामर्थ जुन ज्ञानमा छ, त्यै ज्ञानको शास्त्र लिम्बूहरुको मुन्धुम हो । यो शास्त्र जान्यो भने हामीले सृष्टिका बारेमा जान्दछौं । मान्छेको सृष्टिदेखि मान्छे कसरी हुर्कँदै गए, बढ्दै गए, उसका जीवनमा, समाजमा कस्ता जटिलताहरु उत्पन्न भए, दुःख कसरी उत्पन्न भए, झैंझगडा कसरी उत्पन्न भयो ? त्यसलाई कसरी समाधान गर्ने ? रिस भनेको के हो ? क्रोध भनेको के हो ? राग, लोभ लालच, आँखी, डाही इर्ष्या भनेको के हो ? यी सबैको प्रभाव जीवनमा पर्दा जीवन कति साह्रो नर्कतुल्य (दुःखदायी) हुन्छ, त्यो नर्क (दुःख) बाट जीवनलाई कसरी हामी सुरक्षित र राम्रो बनाउन सक्छौं ? यसको खोजी गर्न मद्दत दिने शास्त्रलाई लिम्बुहरुले मुन्धुम भने ।

मुन्धुमको पाठअन्तर्गत साम्बा, येवा येमा, फेदाङमाहरुले सृष्टि, उत्पतिको कथा बर्णन गर्दा (गाउँदा वा फलाक्दा) ‘सृष्टिको प्रारम्भमा अरु केही थिएन । महाशून्य मात्रै थियो’ भनेर सुरु गर्छन् ।

त्यो महाशून्यबाट सृष्टिको प्रारम्भ भएको कुरा हाम्रा येवा, येमा, साम्बा फेदाङमाले बखान गर्दै आएका छन् । प्रारम्भमा नै महाशून्य मात्रै थियो तर अरु केही थिएन भन्नुको अर्थ केही त थियो नि । त्यो ‘केही’ चाहिँ शून्य हो । एकजना बुद्धिष्ट दार्शनिकले योखालको शून्यलाई परिपूर्ण शून्य भनेका छन् । जहाँ यसो हात थमायौं भने केही त आउँछ । रिक्त भनेपछि त खाली हुन्छ । हात हाल्दा पनि केही आउँदैन ।

के गर्दा सृष्टिले पूर्णता पाउँछ भन्ने कुराहरु सुरुमा आउछ । हाम्रो याक्थुङ लिम्बूको मुन्धुममा त्यो महाशून्यमा अचानक एउटा ठूलो हावा हुण्डरीजस्तो चल्यो । भूमरी चल्यो । हावाहरु ठोकिए । बज्रिए । आवाज आयो । त्योभित्र एउटा स्वयम्भू भनौं न संस्कृत शब्दलाई लिने हो भने । लिम्बूमा ‘इच्छिङ्साम’ भन्ने शब्द छ । त्यो भनेको आफैं इच्छा गर्ने अर्थात स्वयम्भू हो । अरुले इच्छा गरिदिने होइन् । त्यस्तो सत्ताको जन्म भयो ।

र, त्यो सत्ताले यो ब्रह्माण्डलाई सृष्टि गर्‍यो । सिर्जना हुँदै जाँदा अनेक ग्रह नक्षत्रदेखि लिएर पृथ्वी पनि एउटा सानो ग्रह बन्यो । यो पृथ्वीमा त्यही चेतन तत्वको कारणले जीव, खोलानाला, पहाड, पर्वत बने । अनि जीवका रुपमा वनस्पती बने । किटपतंग, पशुपक्षीको उत्पती भयो । सजिव र निर्जिव बस्तु बने । सजीव प्राणी जगतअन्तर्गत मान्छे पनि बन्यो अन्त्यमा ।

मान्छेको सृष्टि हुनुभन्दा अगाडि तागेरानिङ्वाफुमाङले पृथ्वीलाई हेर्‍यो तर चित्तै बुझेन । खाली ‘मेघेम्दुन्, मेघेम्दुन्’ (सुहाएन, सुहाएन) मात्रै भन्यो । मेलारुन् (सुन्दर चिज पुगेन, राखिएन) मात्रै भन्यो । मेयारुन् (पूर्ण भएन) मात्रै भन्यो । जब मान्छे बन्यो, ‘अँ अबचाहिँ मान्छे भयो, यो संसार बल्ल सुन्दर र पूर्ण भयो भन्यो ।

तर, मान्छेको जुनी दुई दिनको मात्रै भयो । किन भन्दा अनेक बहुमुल्य धातुबाट बनाउँदा पनि मान्छे बोलेन । यो अर्थमा कति राम्रो उपमा छ । हाम्रो लिम्बूमा सुनको मान्छे बनाउँदा बोलेको भए सुनजस्तै पहेलो भएर कहिल्यै नसिद्धिने हुन्थ्यो तर चल्दैन थियो । हिँड्दैन थियो । अर्कोले हिँडाउनुपर्थ्यो । अर्कोले गहना बनाएर नाकमा, कानमा, नारीमा कि शीरमा लगाउनुपर्थ्यो  होला । मोतिलाई त्यसै गर्नुपर्थ्यो होला । मान्छेको चोला अन्त्यमा नश्वर भयो । नश्वर नभएको भए जीवनको महत्व नै हुँदैन थियो ।

ढुङ्गाको के महत्व छ ? महत्व दिएको त मान्छेले हो । ताछेर देउताजस्तो बनाउँदा भगवान भयो । यो मान्छेले दिएको हो । (भगवान बनाएको हो ) । ‘इम्पोज्ड’ गरेको हो । त्योमाथि आफैंले थपेको अर्थले गर्दा ईश्वर भएको (बनेको ) हो ।

एउटा बाटोमा चुच्चो ढुङ्गा देख्यो, त्यसलाई एउटा रुखको फेदमा लगेर राखिदियो । सिन्दुर गाजल यस्सो लगाइदियो । धागो बेरिदियो । लु है तिमी त वनको देवता, घरको देवता भनेर पूजा गर्‍यो । मान्छेले आफ्नो मुल्य त्यसमा आरोपित गरेपछि मात्रै त्यसको (त्यो मूर्ती वा ढुङ्गा) को मूल्य भयो । यो सवै मान्छेले काम (सिर्जना) गरेको हो । ढुङ्गा त आफैंमा ढुङ्गा नै हो । तर, यो सप्पै मूल्य स्थापना गर्ने चाँहि मान्छे हो । मान्छेको जुनी छ ।

ईश्वरले जे गर्‍यो, त्यसमा अब मृत्यु त जोडिएरै आयो । यो नश्वर देहको चोला लिएको मान्छेलाई अमर तुल्याउनका लागि कुन मूल्य दिने, कुन संस्कार दिने भन्ने कुराहरु हाम्रा पूर्खाहरुले ल्याए । यो दृष्टिकोणले पनि हामीले हाम्रो मुन्धुमलाई व्याख्या गर्न सकिएमा हाम्रो मुन्धुमको महत्वलाई उचाइमा पुर्‍याउन सकिन्छ भन्ने मेरो धारणा हो ।

मुन्धुममा धेरै ठाउँमा समग्रता, सहअस्तित्व, सम्पूर्णता र सुन्दरताको आग्रह गरिएको छ । लिम्बूको ईश्वरले यसो हेर्छ, ठीकठीकै छ, राम्रै छ । तर, यसो फेरि हेर्‍यो– अहँ त्यति राम्रो देखिएन त ? सुन्दर त देखिएन त ? भन्ने उसलाई लाग्यो । किन देखिएन त सुन्दर ? सुन्दर भनेको के हो ? हिजो–आज तपाईहरुले नेपाली समालोचनामा हेर्नुभयो भने समालोचना भन्न छोडेर खाली सौन्दर्यशास्त्रको मात्र कुरा हुन्छ । यो शास्त्रमा सबैभन्दा ठूलो कुरा त सृष्टिकर्ताको कुरा आउँछ, मान्छे भन्दा पहिले ।

त्यो सृष्टिकर्ता चाहिँ के हो त भन्ने कुरामा संक्षिप्तमा भन्छु ।

लिम्बूका हाम्रा पुर्खाहरुले के जान्दथे र भन्नु हुन्छ होला । यता (हिन्दुको ) त लिखितशास्त्र थियो र ऋषिहरु थिए, जसका सन्तान हौं भनेर उनीहरु भन्छन् । गोत्र छुट्याउँछन् । हाम्रोमा त्यो पहिल्याउने ठाउँ त अहिलेसम्म भेटिएको छैन । लिम्बूको बरु माङ्गेना यक चोत्लुङ (एउटै बंशको उत्पतिस्थल, विस्तार भएको ठाउँ र मिङ्श्रा (थर) मात्र हुन्छ । यसको उद्देश्य एउटै के रहेछ भने पूर्णताको प्राप्ति ।

पूर्णता भनेको सुन्दर हुँदोरहेछ । सुन्दर भनेको के हो ? उहिले जोन किट्स (ब्रिटिश कवि) ले नै लेखे, ‘ब्यूटी इज ट्रुथ, ट्रुथ इज ब्युटी ।’

महाकवि देवकोटा पनि लेख्नु भयो ‘सुन्दर रहेछ सत्, सत् छ सुन्दरै ।’

मानव जीवन सुन्दर भयो भने त्योबाहेक खोज्ने के छ ? अपूर्ण छ भने पो पूरा गर्नलाई खोज्नुपर्‍यो त । अनि जुन चिज सुन्दर हुन्छ, त्यसैलाई हामीले सत्य मान्नुपर्छ । र, त्यो सत्यलाई आधार बनाएर जीवन यापन गर्न सकियो भने मानव जीवनको ‘सर्वाइभल’ एउटा उत्तरजीवन सम्भव हुन्छ । यो सम्भव हुनका लागि के गर्नु पर्छ भन्दा अघि मैले व्यभिचारबाट मुक्तिको कुरा गरें ।

लिम्बू मुन्धुमको सारमा सत्य र सुन्दरको कुरा आयो । पूर्णताको कुरा आयो । पूर्णता र सुन्दरसँग सकारात्मक सोच, अर्थात नैतिक जीवनमा मुन्धुमले जोड दिँदोरहेछ । नैतिक जीवन भनेको पुरुष–स्त्रीको सम्बन्ध मात्र होइन, दाजुभाइ। बाबुछोराको सम्बन्धमा पनि हुन्छ । लोभलालच, आँखी, डाही, इष्र्या, रिसईवी वा आफ्नो स्वार्थपूर्तिका लागि अर्कोलाई छल नगर्नु, कपट गरेर अरुलाई दुःख नदिनु जस्ता धेरै कुराहरु मुन्धुममा आउँछन् ।

यो चिजले के हुन्छ त ? किन यी चिजहरु हामीले खोज्यौं ? यसका पछाडि लिम्बूको मुन्धुममा एउटा कथा छ।

अन्त्यमा आएर सृष्टिलाई पूर्णता दिन ईश्वरले मान्छेको सृष्टि त गर्‍यो । अब मान्छे भइस्, बोलिस् । मान्छे हुँ भनेर बोल्यो । ईश्वर खुशी भयो । तर, रिस त देउतालाई पनि उठ्दो रहेछ । त्यत्रो सुनको बनाउँदा बोलिनस्, चाँदीको बनाउँदा बोलिनस्, हिरामोतीको बनाउँदा पनि बोलिनस् । माटो, कुखुराको सुली र मालिङ्गोको खरानी मुछेर मूर्ति बनाएर बोलाउँदा चाँहि बोलिस् । थुक्क ! गरेर ईश्वरले रिसाउँदै सराप्यो । मान्छे मर्‍यो । अर्थात मान्छे नश्वर चोलाको भयो । जलाउँदा खरानी भएर जाने । गाड्दा माटो भएर जाने । दुई दिने चोलाको भयो ।

मैले मुन्धुमसम्बन्धी केही किताब इन्द्रबहादुर राईलाई दिएको थिएँ । उनले पढेर प्रतिक्रिया दिए, ‘के हो भाइ, तिमीहरुको लिम्बूको ईश्वर त खाली यो त भएन, होइन मात्र भन्छ । रुन्छ मात्रै । राम्रो देखिएन मात्र भन्छ । बिलौना मात्रै गर्छ त । यो के हो ?’   

मन्धुमले भनेको र खोजेको त्यो सौन्दर्य के हो ? लिम्बूका देउताले भनिराखेको सुन्दर देखिएन भनेको के हो ? सुहाएन भनेको के हो ?

आकाश थिएन, अन्तरीक्ष थिएन । आकाश बनायो । अन्तरीक्ष बनायो । हेर्‍यो, सुहाएन । किन सुहाएन ? जून नभएर पो नसुहाएको हो कि भनेर आकाशमाथि शीतल जून टाँसिदियो । हेर्‍यो, अँ अलिकति सुहायो । तर, राम्रो अझै देखिएन । घाम नभएर पो हो कि भन्यो । घाम टाँसिदियो । अनि यसो हेर्‍यो, अझै सुहाएन । यसरी हाम्रो सृष्टिकर्ता बिलौना गरेको गरेकै हुन्छ ।

धेरै बर्ष अगाडि मैले मुन्धुमसम्बन्धी केही किताबहरु इन्द्रबहादुर राईलाई दिएको थिएँ । उनले पढेर एक–डेढ बर्ष पछाडि प्रतिक्रिया दिए, ‘के हो भाइ, तिमीहरुको लिम्बूको ईश्वर त खाली यो त भएन, होइन मात्र भन्छ । रुन्छ मात्रै । राम्रो देखिएन मात्र भन्छ । सुहाएन मात्र भन्छ त । सुन्दर देखिएन भन्छ । बिलौना मात्रै गर्छ त । यो के हो ?’

उनले यो बहुत डरलाग्दो र गहिरो प्रश्न मलाई गरे । त्यसपछि मुन्धुमले भन्न खोजेको के हो त भनेर मेरो मनमा पनि उत्कट जिज्ञासा उत्पन्न भयो । धेरै बर्षअघिदेखि मैले साथीहरुलाई पनि भन्दै आएको छु ।

विस्तारै घाम बनाए, सुहाएन । जून बनाए, सहाएन । तारामण्डल बनाए, सुहाएन । के गर्दाचाँहि सुहाउँछ ? सृष्टिकर्ता ईश्वर हो, बिलौना गरेको गरेकै छ । यसरी सुहाएन, सुन्दर देखिएन भनेर बिलौना गर्ने इश्वर कुन जातिको धर्मग्रन्थ वा मिथकमा होला ? यो आश्चार्यको कुरा छ । यो बारेमा सबैले खोज्नु पर्ने कुरा छ ।

सृष्टि गर्दै लाँदा पृथ्वी बनायो र पनि सुहाएन । पृथ्वीमा ढुङ्गा हाल्यो, माटो हाल्यो, सुहाएन । पानी हाल्यो, खोला, नदी बनायो, समुद्र बनायो, सुहाएन । जलचर हाल्यो, थलचर हाल्यो, सुहाएन । चराजुरुङ्गी, पशुपंक्षी हाल्यो तैपनि सुहाएन । चित्तबुझ्दो भएन ।

अर्थात, निष्कर्ष के हो भने अन्त्यमा मान्छे बनायो । मान्छे बनाएपछि सृष्टिले पूर्णता पायो र सुन्दर देखियो । अर्थात सम्पूर्णता भनेको सुन्दर रहेछ । यही नै मुन्धुमले सिकाउने लिम्बूको जीवन दर्शन हो ।
लिम्बूको जातीय जो विश्वदर्शन छ, त्यसले भन्छ– जुन चिज पूर्ण हुँदैन, त्यो राम्रो हुँदैन र सुन्दर पनि हुँदैन । पूर्णता भनेको के हो ? लिम्बूको दृष्टिकोणमा त्यतिबेला व्याख्या गरेनन् होला । अहिले हामी के व्याख्या गर्दैछौं भने पूर्णता भनेको त्यो अवस्था हो, जहाँ कसैलाई वायस (पक्षपात) गरिँदैन । बाहिर पारिँदैन ।

एक सयमा एक झिकिदियो भने उन्नान्सय हुन्छ, शतप्रतिशत हुँदैन भनेजस्तै हो । अहिले पोलिटिक्समा नेपालमा आएको समावेशिता र समानुपातिकताको कुरा गरेजस्तै पूर्णता भनेको सबैको समाविष्ट भएको अवस्था हो । सबैको प्रतिनिधित्व भएको अवस्था हो । सबैको उपस्थिति भएको अवस्था हो । कसैको उपस्थितिलाई नकार गरेको अवस्था नभएको स्थिति नै त्यो सम्पूर्ण हुँदोरहेछ । त्यो मात्रै सुन्दर र सबैले मनपराउने अवस्था हुँदोरहेछ । यो अवधारणामा लिम्बूको याक्थुङ मुन्धुमको फिलोसोफी (दर्शनशास्त्र) विकसित भएको रहेछ ।

जो सृष्टि गर्ने थियो, त्यो तत्वचाँहि के हो त ? कहाँबाट आयो ? अचानक यताबाट एउटा हुण्डरी आयो, उताबाट एउटा हुण्डरी आयो, अनि ठोकियो । ठोकिएपछि केही चिज जन्मियो । जसले गर्दा यो सबै उत्पति र सृष्टिको प्रकृया सुरु भयो । त्यो तत्व के हो त ? यता त हामी ईश्वर (अन्य धर्मको सन्दर्भमा) भन्छौं । ईश्वरलाई पूर्वनिर्धारित सत्यका रुपमा मानिरहेका छौं । दार्शनिकहरु के भन्छन् ? हाम्रो लिम्बूमा केही तत्वहरुको घर्षणबाट बिस्फोट भएर एउटा नयाँ तत्व जन्म्यो, जसका कारणले सृष्टिको प्रारम्भ सम्भव भयो भन्छ ।

यसो भनेर मैले विज्ञानसँग दाँज्न खोजेको होइन । बिगब्याङ थ्यनैरी र स्टेफन हकिङ्सले सानो विन्दुबाट विशाल विश्व भयो, एकदिन त्यो सानो विन्दुमै खुम्चेर विलीन हुन्छ, ब्ल्याकहोलमा पस्छ अनि अस्तित्वविहीन हुन्छ भनेका छन् । मैले त्यसैसँग सार मिलाउन खोजेको होइन । तर, हाम्रो यो मुन्धुमी दर्शनले के देखाउँछ भने एकापसको घर्षणबाट एउटा नयाँ तत्व जन्म्यो, त्यो तत्वले गर्दा सृष्टिको प्रकृया सुरु भयो । हामी (लिम्बू) ले त्यही तत्वलाई, सत्ता वा परमसत्तालाई ईश्वर मान्यौं ।

सृष्टि सकिएपछि लिम्बूको मुन्धुम अनुसार ईश्वर लोप हुन्छ । अल्पिन्छ । मुन्धुमअनुसार ऊ त मर्‍यो भन्छ । तर, लिम्बूमा एउटा शब्दको अर्थ थुप्रै लाग्छ । ‘मासिङ्मा’ भन्ने एउटा शब्द छ । ‘सीमा’ भन्यो भने मर्नु हुन्छ । ‘मासिङ्मा’ भन्यो भने त्यसको अर्थ दुईवटा हुन्छ । एउटा डाई (मर्नु), एउटा डिसएपियर (अल्पिनु) । दृष्टिबाट ओझेल हुनु । त्यसकारण हामी अल्पिनुलाई मर्‍यो भन्छौं । यसरी मासिङ्मा (अल्पिनु) लाई नेपालीमा अनुवाद गर्दा मर्‍यो भनिएको छ । वास्तवमा ईश्वर मरेको होइन, अल्पिएको हो ।

त्यसो भए मुन्धुम के हो त ? एउटा श्रुतिशास्त्र हो । मुखमुखै आएको । यतिमात्रै हो त ? यदि त्यसो हो भने कसरी मान्छेलाई यसले समस्या, विघ्नबाधा, अवरोध र पापबाट मुक्त गराउँछ त ? कसरी उसलाई स्वतन्त्र तुल्याउन सक्छ ? यी कुरामा केही शब्दका आधारमा कुरा गर्छु ।

ईश्वरले सम्पूर्ण सृष्टि गर्‍यो, चित्त बुझेन । अन्त्यमा मान्छेको सृष्टि गर्‍यो । बोलायो, बोलेन । फ्याँकिदियो । ‘रिजेक्ट’ गर्दै गयो । तँ मान्छे होइनस् भन्यो । जब एउटा मूर्ति बनाएर ‘ए मान्छे’ भन्दा ‘हँ’ भनेर बोल्यो । ईश्वरले अब तँ मान्छे भइस् भन्यो । अर्थात भाषा, बाणीले सार्थक शब्दले अन्य जीव भन्दा मान्छेलाई बेगल तुल्याउँदो रहेछ ।

लिम्बूको एउटा प्रचलित कथा छ ।

उहिले देउता, मान्छे र पशुपंशीको सबै कुरा मिल्थ्यो रे । आपसमा भेला भएर बात मार्थे । अनि बाँच्ने उपायको खोजी गर्थे । पछि एकदिन मान्छेमा अज्ञानताले गर्ला लोभ पलाएछ । अनि देउता छुटिएछ ।

छुटिएपछि मान्छेको अर्कै भाषा भयो । मान्छेको आफ्नै बाणी र भाषा निर्माण नभएसम्म त्यो मान्छे भएकै थिएन भन्ने एउटा बायोलोजिकल सत्य पनि हो । र, भाषा निर्माण भएपछि ऊ अरुभन्दा बेगल, मान्छे हुन सक्यो । भनेपछि भाषा, शब्द भनेको ध्वनि आवाज मात्र होइन, जब यो ध्वनिमा सार्थकता आउछ, अर्थमय हुन्छ, अनि त्यो भाषा भएर जाने कुरा हो ।

मैले खोज्दै जाँदा मुन्धुम के हो र अरुको कथा के हो भन्ने जिज्ञासा आयो । यो पहिल्याउँदा एउटा चिजचाहिँ के राम्रो भयो भने प्रभावशाली र व्यापक मानिएका मिथकहरु, पौराणिक कथाहरु मात्रै होइन कि हाम्रो मुलुकमा अनगिन्ति यस्ता पौराणिक कथाहरु, मिथकहरु छन्, जसलाई हामीले नजरअन्दाज गरेमा हाम्रो सामाजिक जीवन पनि सरल र सहज हुँदैन ।

हाम्रो मुलुकमा अहिले धेरै समस्या होला । कोही भन्छन् वर्गसंघर्षको कुरा, कोही भन्छन् के जाति असमानताको कुरा । मैले देखेको चाँहि अर्को कुरा हो– एकले अर्कोलाई नचिन्नु । लिम्बूले राईलाई, राईले लिम्बूलाई, मेचेले धिमाललाई, अर्थात एक जातिले अर्को जातिलाई सामाजिक, सांस्कृतिक र धार्मिकरुपमा नचिन्नु ।

सबैको आफ्नै–आफ्नै मौलिक पहिचान र दर्शन छ । यिनीहरुको जीवन दर्शन के हो ? बाँच्ने शैली के हो ? कथा के हो ? तुक्का उखान के हो ? यिनहरुको आफ्नै सामाजिक र सांस्कृतिक प्रणालीमा कुन तरिकाले सामान्य जीवन यापन गर्छन् ? भाषा कस्तो छ ? आदि कुराहरुमा एकले अर्कोलाई नचिन्दा नेपालमा ठूलो समस्या छ ।

तल्लो सीमान्तकृत समुदायले आफ्नो कुरा उठाउँदाखेरि ‘ए ! यो त बडो साम्प्रदायिक हो’ भन्ने चलन बढिरहेको छ । समाजका लागि यो खतराको संकेत हो । एकले अर्कालाई अस्वीकार गर्न खोजेको संकेत हो ।

विश्वव्यापीरुपमा ग्रेट न्यारेटिभ अथवा ग्राण्ड न्यारेटिभको विरुद्धमा स्माल न्यारेटिभहरु आए । अर्थात हिरो मात्र होइन, सामान्यतया नाटकमा खेल्ने सबै पात्रको भूमिका उत्तिकै हुन्छ भन्ने साहित्यदेखि लिएर दर्शनमा व्यापक रुपमा आयो । र, यही कुराले राजनीति, समाजशास्त्र, साहित्य लगायतमा प्रभाव पार्‍यो । खास गरेर हामीले साहित्यमा खुब लेख्यौं ।

हेदाहेर्दै उहिले एउटै पात्रका लागि भाग एक, भाग दुई, भाग तीनसम्म उपन्यास आख्यान लेखिए । हिरो एउटै हुन्थ्यो । अब कुनै कथामा हिरो खोज्दै गइयो भने हिरो नै पाइँदैन । सबैको उत्तिकै भूमिका हुन्छ । अर्थात केन्द्र अब अकेन्द्रमा परिणत भइसक्यो । यो स्थितिमा हामीले पनि हाम्रो मुलुकमा हिन्दु धर्मशास्त्रले प्रभावित बनाएको हुनाले एउटा सम्पूर्ण आदर्श पुरुष भनेको राम हुन्, सबैलाई लीला देखाउन सक्ने कृष्ण हुन्, संसारका पालनकर्ता ब्रह्मा– विष्णु–महेश्वर हुन् भन्ने मात्र होइन पत्याउने स्थिति बन्यो ।

यहाँ मेचे, कोचे, धिमालको पनि त आफ्नो कथा होला नि त । जसका आधारमा उनीहरुले आफ्नो सरल जीवन जिउन सक्छन् । यी कथाहरुमा पनि स्माल न्यारेटिभ्स होलान् । तिनलाई पनि ध्यानमा राख्नुपर्छ । तब हाम्रो सामाजिक जीवन सद्भावपूर्ण, सरल र सहज हुन्छ ।

मैले मुन्धुमको अध्ययन गर्न थालेको धेरै भयो । त्यसका पछाडि मुख्य कारणचाँहि एउटा छ– पहिलाजस्तो चहकिलो कविता लेख्न सकिएन । अब के गर्ने त ? अलिकति भएको उर्जा केमा खर्च गर्ने त ? राजनैतिक नेताले एक नम्बरमा पहिला चुनाव जित्यो, अर्कोताल हार्छु भन्यो भने तीन नम्बरमा गइहाल्छ । निर्वाचन क्षेत्र परिवर्तन गरेजस्तै मैले पनि कविता लेख्न नसकेपछि लिम्बू लोकवार्ता ‘फल्कलोर’ मा जान्छु भनेर यतातिर निर्वाचन क्षेत्र परिवर्तन गरेजस्तै उठ्न आएँ ।

पहिला त जित्छु–जित्छु जस्तो लाथ्यो । अहिले त कति साह्रो प्रतिस्पर्धा भइरहेको छ । मुन्धुम अध्ययन गर्नेहरु शिक्षित युवा वर्गहरु आइरहेका छन् । अब यहाँ पनि हार्छु र अर्को निर्वाचन क्षेत्र छानौं कि भन्दैछु ।

यो हिसाबले मैले आफ्नो मुन्धुमको अध्ययन गर्ने केन्द्रलाई अलिकति फरक पारें । त्यसको कारणचाहिँ के हो भने हामी लिम्बूहरु घरमा पालेको ठूलो सुंगुर मार्नु परेमा एउटा देवारी, फेदाङमा ल्याएर पूजा गरेर काटेर खान्छौं । रातो भाले पूजा गरेर चढाउँछौं । यस्तो चलन छ । आफूले उब्जाएको या पालेको चिज भोग वा उपभोग गर्दा पनि प्रकृतिलाई भोग दिने चलन छ । त्यो चलनमा पनि त्यो सँगसँगै आएको भाषाको जुन खेल छ, बडो महत्वपूर्ण छ ।

याक्थुङ मुन्धुम र लिम्बूको जीवन दर्शनसम्बन्धी भन्नु पर्दा वास्तवमा मुन्धुम हाम्रो जीवनलाई सहज सरल बनाएर बाँच्न सघाउने ज्ञानको शास्त्र हो । कसो गर्दा हामी सजिलोसँग, आनन्दले बाँच्छौं ? हामी आनन्दले बस्दा अरुलाई दुःख नपुगोस् । उनीहरु पनि खुशी बनुन् । यो कसरी हामी प्राप्त गर्न सक्छौं ? यो चिज गर्नका लागि हामीले के गर्नुपर्छ र कसो गर्दा हुन्छ भन्ने चिज हाम्रा पुर्खाहरुले सोचे, विचार गरे र एउटा दृष्टिकोण बनाए ।

पुर्खाको त्यो दृष्टिकोण अनुसार मुन्धुमलाई हामीले हाम्रो जातीय दृष्टिकोण अनुसार संरक्षित गर्‍यौं । मैले देख्दाखेरि लिम्बूको चिन्तनले उसको जीवन दर्शनलाई निर्माण गर्‍यो । त्यो बडो परिपूर्णवाला रहेछ । समग्रतामाथि जोड दिँदोरहेछ ।

समग्रता मान्छेले जीवन सार्थक तुल्याउनका लागि आफू मात्रै बाँचेर नहुने, उसलाई बाँच्न सघाउने चराचुरुङ्गी, वनस्पती, झार, जंगल, रुखपात, खोलानाला, हावापानी, अर्थात समग्र वातावरण, सबैलाई जोगाउन सक्नुपर्ने रहेछ । अनि मान्छे बाँच्दोरहेछ । मान्छे एक्लै निरपेक्ष भएर बाँच्न सक्तैन । रुखजति फाँडिदिएर मान्छे एक्लै बाँच्छु भन्यो भने उ बाँच्न सक्दैन । ढुङ्गाजति सबै फ्याँकिदिएर ढुङ्गारहित माटोमा मात्र पनि मान्छे बाच्न सक्दैन । प्रकृतिको यो समग्रताभित्र मान्छे पनि जोडिन्छ ।

उदाहरणका लागि लिम्बूले पूजा गर्दा, के के चढाउँदा ‘हे तागेरानिङफुमाङ, युमामाङ मैले दिन नजाने पनि लिन जान्नु, भन्न नजाने पनि सुन्न जान्नु’ भन्ने गर्छ । यो भाषा कति राम्रो छ है ! यो भाषा लिम्बू समुदायमा प्रशस्तै छ । यसभित्रको साहित्यिकता, यसभित्रको काव्यात्मकता बडो महत्वको हुनाले मैले मुन्धुमलाई अध्ययन गर्ने जमर्काे गरेको हो ।

गेयात्मक हुन्छ मुन्धुम

यो ‘साम’ भन्ने शब्द बडो प्राचीन शब्द रहेछ । हिन्दुको पवित्र ग्रन्थमध्ये एउटा सामवेद छ । ‘साम भनेको काव्यात्मक संरचना हो । लिम्बूमा पनि ‘साम’ भनेको गेय रचना हो । ‘साम’मा एउटा सहायक क्रिया ‘लोमा’ जोडिदियो भने ‘साम्लोमा’ हुन्छ । त्यो भनेको गीत गाउनु हो । ‘साम’मा अर्काे सहायक क्रिया ‘मेSमा’ जोडिदिएमा त्योचाहिँ भजन गाउनुहुन्छ । भन्नाले ‘साम’ भनेको झण्डै–झण्डै वेदको सामजस्तै गेय संरचना हो । यो गेय संरचना गाउने अवश्य पनि कवि हुन्छ ।

काव्यात्मक संरचना भनेको कवितै हो । त्यस्तो काव्यात्मक रचना गाउने पुजारीलाई यसै कारण साम्बा भन्छन् याक्थुङ लिम्बूहरु । यो अहिले मैले बनाएको होइन । अहिले त कवितालाई याक्थुङ लिम्बूले ‘सामइःला’ भन्छ । यो विसं १९०३ भन्दा अगाडि बटुलिएको कागजपत्रमा ‘साम्बा’ शब्दको नेपाली अनुवाद कवि भनिएको छ । धेरै पुरानो शब्द रहेछ यो ।

तर, सबै मुन्धुम एकै लयमा मात्र गाइँदैनन् । अनुष्ठान अनुसारका दर्जन बढी लयहरु छन् । कति त थुमअनुसार पनि फरक लयहरु छन् । ती लयहरुलाई हाम्रा याक्थुङ साम्बा, येवा, येमा र फेदाङमाहरुले बचाउँदै आएका छन् । उनीहरु लोप हुने हो भने ती लय पनि लोप हुनेछन् ।

मुन्धुममा याक्थुङ सभ्यतासँगै समाज र सबन्धको निर्माणको बर्णन

हाम्रो याक्थुङ मुन्धुम शास्त्रमा एउटा कथा आउँछ । लिम्बूमा पापबोध सबैभन्दा डरलाग्दो चिज हो ।

समाज निर्माण हुँदै गर्दा एक्लाएक्लै बस्नेहरु हुलमा बस्न थाले । हुलमा बस्दै गएपछि विस्तारै परिवारको निर्माण भयो । परिवारको निर्माणपछि कुल र बंश निर्माण भए । कुल र बंश निर्माण हुनुभन्दा अगाडि पहिला त पुरुष र स्त्री मात्रै थिए, अब पति र पत्नी हुन थाले । परिवारमा आमाबाबु, छोराछोरी, दाजुबहिनी, फूपु–भदै–भदैनी भए । परिवारमा साइनोको निर्माण भएपछि अर्थात साइनो लाग्न थालेपछि सम्बन्धको नयाँ समीकरण सुरु भयो ।

अगाडि त पुरुष–स्त्री मात्रै थिए, जोसँग संसर्ग गर्दा पनि हुन्थ्यो । तर, साइनोको निर्धारण भएपछि स्त्री र पुरुषमा हुने यौन संसर्गका सीमाहरु तोकिए । यसो गर्‍यो भने त राम्रै हो, उसो गर्‍यो भने पाप र व्यभिचारको सुरुआत हुन्छ भन्ने अवधारणाको विकास भयो ।

त्यो पापको बाढीबाट सुरक्षित तर्न सकिन्न भनेर कथाहरु कथिए । हाम्रा आदिम पुर्खाहरुमा एउटै बाबुका दुई बेग्लाबेग्लै आमाबाट जन्मेका दाजु–बहिनी (सुच्छुरु सुहाम्फेवा–तेत्लारा लाहादङ्ना मुन्धुम) थिए । उनीहरुबाट जन्मेका सन्तानहरु अहिले आएर फैलिए । समाज र साइनो सम्बन्ध भर्खर निर्माण हुदै गर्दाको समयको कथा हो यो ।

जब एउटै हाडनाताबाट जन्मेका सन्ततीमा संसर्ग हुँदा पापबोध हुन्छ र त्यसले हाम्रो सामाजिक जीवन अभिशप्त बनाउँछ । त्यसबाट मुक्ति पाउनका लागि अनेक उपायहरु गरिन्छ । लिम्बूले पनि गर्छ । यही चिजबाट उम्किनका लागि कथाहरु बनिए । अनुष्ठानका नियम र विधिविधान बनिए ।

अहिलेसम्म पनि लिम्बूले एकराते तङ्सिङ, तीनराते तङ्सिङ भन्छ । अहिलेसम्म पनि एउटा प्रतीक राख्छ टाँड बनाएर । पुरुष र स्त्रीको सँगसँगै प्रतीक । त्यो एउटा प्रतिकात्मक कुरा हो । त्यहाँ राखेर हामीलाई यो समाज बिगारेको तिमीहरु गर्दा हो, अनैतिक कर्म गरेर, व्यभिचार गरेर, हाम्रो मानव जीवनलाई तिमीहरुले अहिलेसम्म नर्कतुल्य बनायौ भन्दै पुर्खालाई सराप्दै छोरा–नाति पुस्तामा पनि दण्ड तिर्नुपर्छ भनेर त्यो टाँडमा थुथु गर्दै नाघ्ने चलन पनि छ । यो सबै चिजबाट पार लगाउने मौखिक शास्त्र लिम्बूको मुन्धुम हो ।

अर्को कथा छ दाजु–भाइबीचको झगडा (नामसामी–केसामी मुन्धुम) ।

दाजु बाघजस्तो खुँखार रहेछ । भाइ सरल, सहज र सोझो । दुई जनाबीच प्रतिस्पर्धा भयो । एउटा राम्रो आचरणको थियो, अर्को हिंश्रक थियो । दाजुभाइबीच भएको द्वन्द्वले नराम्रो रुप लिँदाखेरि हत्यासम्म हुदोरहेछ । बंश हत्या । भाइले बाघ दाजुलाई मारेको कथा छ हाम्रो मुन्धुममा । त्यो कथामा आमाले पाएको पीडाको कथा पनि उस्तै छ । बाघजस्तो हिंस्रक भए पनि आमाका लागि त आफ्नै सन्तान हो ।

मान्छे बाठो हुन थालेपछि उसले बोलेको कुरा बुझ्न थाल्यो । अर्कोले बुझ्न थाल्यो । भाषामा सञ्चार गर्न थाल्यौं । वार्तालाप गर्न थाल्यौं । त्यसरी नै हामीले अरुलाई हेय गर्न थालेछौं । जसरी बाघ स्वभावको दाजुलाई हेय गर्‍यौं, त्यो हेय चाँहि आँखी, डाही रिसईवीले गर्दा भएछ । जीवनमा यो अत्यन्त्यै क्रुर तत्व रहेछ, जसले हाम्रो जीवनलाई नष्ट गर्न सक्दोरहेछ । यसबाट पार पाउन के छ उपाय ? अनि पुरोहितको निर्माण र विकास भएपछि उसले निकाल्यो (उपाय) । कथा त त्यही भन्यो तर भाले काट, बोका काट, केके काट भन्ने कुराहरु थप हुँदै गए ।

ईश्वरले पनि एउटा कुरा जित्न सकेन, त्यो हो मृत्यु । मान्छेले कसरी जित्ने त ? कुरा यो हो । मान्छेले मृत्युलाई जित्न के गर्नु पर्छ ? चक्र घुमाउनु पर्छ कि लिम्बूको देउताले घुमाएजस्तो तरवार घुमाउनुपर्छ ? भाला, बर्छा घुमाउनुपर्छ कि ? के हो त ? एउटा चिज देखाएको छ, त्यो हो– सकारात्मक सोच ।

लिम्बूको मुन्धुममा सबभन्दा नराम्रा दुर्गुणहरुमा आएको छ आँखी, डाही, यसलाई परित्याग गर, अनि आँखी, डाहीको पनि जड चाहिँ रिस, लोभ र लालच हो । अर्काको बस्तुमा लोभ नगर । लोभले रिस जन्माउँछ । ए, त्यसले दिएन भनेर सोच्न थालेपछि रिस जन्मिन्छ । रिस र क्रोधले छल गर्न सिकाउँछ । कपट गर्न सिकाउँछ । हत्या गर्न सिकाउँछ । लिम्बूको अघि मैले भनेको कथामा बाघ दाजुले मान्छेमात्रै भएर जित्न सकेन तर मान्छे मात्रै भएर नै छल गर्न जानेको हुनाले ‘दाजु मुखमा पसिदिन्छु, मुख ठूलोगरी आँ गर’ भन्यो । बाघ दाजुले मुख आँ गर्दा भाइले छल गरेर बाण हानेर मार्‍यो । यस्तो छलकपट गर्नु हुँदैन । यी चिजहरुबाट पार कसरी पाउने?

हाम्रा पुर्खाहरु, जो अत्यन्तै अग्लो ठाउँमा बस्थे । हामी सिद्धि भन्छौं । लिम्बू भाषामा चो?लुङ भनिन्छ । त्यहाँ उनीहरुको बास छ । त्यहाँ जिउँदै पुग्नका लागि वा मरेपछि पुग्नका लागि हामीले यी चिजहरु गर्‍यौं भने मृत्युलाई केहीबेर वा आंशिक वा कुनै पनि रुपमा अलिकति भए पनि पराजय गर्न सक्छौं भन्ने कुरा मुन्धुमले कहेको छ ।

मुन्धुमको वाचन भनेको लिम्बूले मानव चोलालाई सरल, सहज र सामाजिक–पारिवारिक हिसावले सद्भावपूर्वक बाँच्नका लागि के–के उपाय गर्न सकिन्छ भनेर मार्गदर्शन गर्ने हो । लिम्बूको जनजीवनलाई नियमित गर्न सक्ने एउटा शास्त्र भएको हुनाले मुन्धुम बडो शक्तिशाली छ र अप्ठ्यारो कुराबाट पनि पार गराउन सक्छ भन्ने कुरा आउँछ ।

लिम्बूको एउटा अनुष्ठान छ– गालीसराप बगाउने ।

एउटा कुलका सबै दाजुभाई एकैठाउँ भेला भएर कुनै खोला वा नदी किनारमा गाली सराप बगाउँछौं । हिजो एक सालभरि मैले तँलाई जे भने पनि, सीमाना मिचे पनि, तैंले मलाई जे भने पनि, गाली गरे पनि, रिसराग राखे पनि आजको दिन त्यो सबै बगाएर जाओस् । यसलाई बगाउँदै बगाउँदै महासागरमा पुगोस् । अर्थात् फर्केर नआओस् ।

मैले लिम्बूको यो गालीसराप बगाउने अनुष्ठानलाई पारिवारिक सद्भाव बढाउने उत्सवको रुपमा लिएको छु । त्यसैकारण हामी एक साल, दुईसालमा गालीसराप बगाउने अनुष्ठान गरिरहन्छौं ।

हिजोआज लोगोका रुपमा छातीमा के–के टाँसेको देख्नुभएको होला लिम्बूहरुले । त्यसलाई ‘सिलाम साक्मा’ भन्छौं । सि भनेको मर्नु, लाम भनेको बाटो, साक्मा भनेको छेक्नु, अर्थात मृत्युको बाटो छेक्नु । पूजाको अन्त्यमा घुङ्ग्रीङका डाँठहरु खिपेर काँचो धागोको मद्दतले सिलाम साक्मा बनाएर दैलोको माथि राखिन्छ, घरभित्र पनि होइन । त्यो दैलोबाट भित्र प्रवेश गर्न नसकोस् भनेर मृत्युको बाटो छेकिन्छ ।

अन्ततः हामीले गरेको चिज एउटै के रहेछ भने नश्वर चोला भएका मानिसहरुले कसरी मृत्युबाट पार पाउने या कसरी दीर्घजीवन बाँच्ने ? कसरी जीवनलाई ईश्वरीय तुल्याउने भन्ने दिशातिर एउटा निर्देश मुन्धुमले गर्दो रहेछ ।

कुखुरा नभई लिम्बूको जीवन चल्दैन । सुँगुर नभई लिम्बूको जीवन चल्दैन । पूजाआजामा सुँगुर र कुखरा नै चाहिन्छ । मर्चा र जाँडरक्सीविना पनि लिम्बूको संस्कार पूरा हुँदैन । हिजोआज सुँगुर मार्ने छि भन्नेहरु पनि निक्ले । तर, सुँगुरले आदिमकालमा मानवलाई सर्भाइबल हुन कति मद्दत गर्‍यो होला ? त्यतापट्टि गहिरिएर नहेर्नेले यो कुरा गरिरहेको छ ।

हाम्रा पुर्खाले कृषियुगमा पदार्पण गर्नुभन्दा अगाडि जब पशुहरुलाई घरेलु बनाउने प्रत्यत्न गर्न थाले, मान्छेहरु घर बनाएर बस्न थालेपछि र चराहरुले उडाएर ल्याएको अन्न आफैं उब्जन थालेपछि त्यो खाँदा कस्तो हुन्छ होला भनेर चाख्न थाल्यौं । पकाएर खाँदा झन राम्रो हुन्छ होला कि भनेर त्यसलाई पकाएर चाख्यौं । अनि आगो बाल्न सिक्यौं । नयाँ टेक्नोलोजी सिक्यौं । नयाँ ज्ञान सिक्यौं । त्यस्तै सुंगुरले जमिन उधिनिदिएर उब्जेको अन्न खान थाल्यौं ।

यही समग्रता र सम्पूर्णताको सिद्धान्त लिएर बढ्ने हाम्रो मुन्धुम याक्थुङ लिम्बूको दर्शन भयो । र, यसैअनुसार हामी अगाढि बढ्दो रहेछौं । हाम्रा येवा, साम्बा फेदाङमाले पूजा अनुष्ठान गर्दा हेरौं न, तङ्सिङ राख्दा महलाहरु राख्छौं । एउटा हाङ तङ्सिङ (मुल तङ्सिङ), एउटा पुरुषका लागि, एउटा स्त्रीका लागि ।

साम्बा, येवा येमा र फेदाङमाहरुले लयमा गाउन (फलाक्न) थाल्छन् । गाउन थाल्दा आँगन वा सिकुवामा हुन्छ त्यो तङ्सिङ लिङ्गो गाडेको । घरभित्र पस्दै चुला, चुलादेखि माथि सराङ मोसो हुँदै छानामाथि धुरीमा चढ्छन् । अनि विस्तारै घरको बलेसीमा झर्छन् । अनि फलाक्दै भन्छन्, ‘बाँसको झ्याङमा पुग्यौं । पैयुँको रुख भएको ठाउँमा पुग्यौं । चिलाउनेको रुख भएको ठाउँमा पुग्यौं । यस्तो रुख भएको ठाउँमा पुग्यौं । यस्तो झारजंगल, बोटविरुवा र विभिन्नखाले फूल भएको ठाउँमा पुग्यौं । यस्तो डाँडामा पुग्यौं । यस्तो पोखरीमा पुग्यौं । यस्तो खोला, नदीमा पुग्यौं । उकालो लाग्यौं है । ढुङ्गा, चट्टान, भीरपहरा देख्यौं है । त्यही मार्ग भएर होसियारले हिँड है । रंगीबिरंगी चराचुरुङ्गी भेट्यौं है…. इत्यादि भन्दै नाम फलाक्छन् ।

यो चराचर जगत, पर्यावरण र भूगोलविना लिम्बूको जीवन सहज हुँदैन । यसले के देखाउँछ भने प्रकृति र वनस्पतीशास्त्र वा रुखपात, फूलसंँग लिम्बू जातिको अति घनिष्टता थियो । त्योविना लिम्बू जातिको जीवन सार्थक नै हुँदैन । सम्भव पनि हुँदैन ।

त्यति मात्र होइन, फलाक्दै जाँदा उनीहरुले भौगोलिक विविधताको कुरा पनि गाउँछन् । बेंसीमा हुने रुखपात, पहाडमा हुने रुखपात, लेकमा हुने रुखपात, त्यहाँ हुने वन्यजन्तु, पशुपंक्षी, पोखरी, नदीनाला यो सबै बर्णन गर्नुको अर्थ प्रकृतिसंँग लिम्बूहरुको सम्बन्ध कति घनिष्ट रहेछ भनेर देखाउँछ । यो घनिष्टतालाई बचाउनका लागि प्रकृतिको संरक्षण गर्नुपर्छ अनि मात्रै मान्छेको जीवन सम्भव र सार्थक हुन्छ । सर्भाइबलका लागि यो आवश्यक छ भन्नेकुरा लिम्बूको जीवन दर्शनभित्र पर्दो रहेछ ।

सबै चिज सहज त हुँदैन । राम्रो काम गर्नु पनि सहज हुँदैन । उदाहरणका लागि भनौं न, हामीले सफल जीवन बाँच्नका लागि नराम्रो काम त्याग्नुपर्‍यो, लोभलालच त्याग्नुपर्‍यो । अर्काको डाहा गर्न भएन । त्यसले त एप्पलको मोबाइल बोकेको छ, मेरो त केजातिको मात्र छ भनेर डाहा, इष्र्या गर्न भएन । चानचुने काम हो यो त्याग्नलाई?

माङ आफैंमा सम्पूर्णताको प्रतीक

सबैभन्दा ठूलो कुरो– हाम्रो मुन्धुमले दिन खोजेको कुरा सम्पूर्णतावादी रहेछ । कसैलाई छुट्याउनुहुँदैन, फ्याँक्नु हुँदैन । नराम्रो पनि आफूभित्रै छ, राम्रो पनि आफूभित्रै छ । राम्रो र नराम्रो दुवैको सन्तुलतले मात्रै जीवन सार्थक र सन्तुलित हुन्छ भन्ने हाम्रो मुन्धुमी दर्शन छ । यो कुरालाई कथाका रुपमा हाम्रा मुन्धुम साम्वाहरुले सुनाए । यसलाई अहिले वैज्ञानिक हिसावले तर्क गरेर, छलफल गरेर व्याख्या गरिदिनु आवश्यक छ ।

उदाहरणका लागि लिम्बूले तङ्सिङ गर्दाखेरि हाम्रा मुन्धुम साम्वाहरुले पोखरीमा माछा ल्याएर हालेको कथा भन्छन् र पोखरीलाई जीवन्तता दिन्छन् । अथवा, जीवन्तताका लागि प्राणीहरु चाहियो । त्यति मात्र गरेर पनि हुँदैन, त्यसलाई सार्थकता र सुन्दरता दिनका लागि वरिपरि फूलका बोट किसिम–किसिमका हुन्छन् । ती फूलले सौन्दर्य प्रदान गर्छ ।

फूल भनेको लिम्बू मुन्धुमले यौवनको प्रतीक मानेको छ । अनि यौनको प्रतीक पनि । जीवनलाई जीवन्तता र चिर यौवन प्रदान गर्नका लागि हामीले गर्नुपर्ने प्रयत्न नै पुर्खाहरुको इतिहासलाई जीवन्त बनाउने काम हो । यसो गर्न सकेमा मान्छेको रुपमा याक्थुङ लिम्बूले एउटा ठूलो सफलता हासिल गर्छन् । हासिल गरेको त्यही सफलता नै चोत्लुङ पुगेको हो । यसरी हाम्रो याक्थुङ मुन्धुमी दर्शनले भन्छ ।

सबैले यो दृष्टिकोणले नहेर्लान् । कसैले भाले खाने निहुँले हेर्लान्, कसैले सुँगुर खाने निहुँले हेर्लान्, तर मैलेचाहिँ कवि भएको नाताले मुन्धुमभित्रको काव्यात्मकताले के भन्छ, कुन सौन्दर्यको स्थापनाका लागि उस्ले त्यसो भनेको हो ? भन्ने हेर्दै जाँदा यी चिजहरु देखें ।

याक्थुङ मुन्धुममा माङ आफैंमा सम्पूर्णताको प्रतीक रहेछ । तागेरानिङ्वाफुमाङलाई धेरै साम्बा, येवा येमा, फेदाङमाहरुले स्त्री शक्तिका रुपमा पुकार गरेको सुनिन्छ । तर, मेरो धारणामा माङ आफैंमा पूर्ण छ । माङको शक्ति ग्रहण गरेर मानव चोलामा आएपछि स्त्री पनि भो, पुरुष पनि भो । तर, माङ न स्त्री हो, न पुरुष ।

युमा निर्गुण होइन । हाम्रा फेदाङमाहरुले त साम्याङ खेम्मे अम्ल्याङदिम्मे युक्पा खेम्मे फरेङदिम्मे थाकथाकुम्मे मावोहाङमे (सुनको गनहना लगाएर झ्याप्प बसेकी, चाँदीको गहना लगाएर सुहाउँदिलो गरेर तान बुन्दै बसेकी) भनेर देखेको कुरा गर्छन् । आँखाले देखेको चिज त निराकार होइन । हाम्रो लिम्बूहरुले देहस्वरुपमा प्रकट भएको देवी (युमा) । इश्वरले देह लिएर मान्छेको वीचमा प्रकट भएको रुपमध्ये युमा सबैभन्दा प्रमुख हुन् ।

हिन्दु धर्ममा पनि कि नारायणको पूजा गर्छन्, कि शिवको गर्छन् । ब्रह्मा समेतको गर्दैनन्, जसले विश्व ब्रह्माण्ड बनायो भनिन्छ । बरु कृष्णको, रामको पूजा गर्छन् । ईश्वरको मनुष्य चोलामा अवतरण गरेको जो रुप छ, त्यसले हामीलाई चिन्न सजिलो भयो । ‘ए ईश्वर त यस्तो पो रहेछन्’ भनेर ।

अर्थात, मान्छेले आफूजस्तै स्वरुपमा मात्रै कल्पना गर्दो रहेछ ईश्वरलाई । हामी साहित्यमा भन्छौं नि अतियथार्थवाद । शिवजीका ससुरा दक्ष प्रजापतिको बोकाको टाउको भएको कल्पना गर्छन् । पशुत्व र मावनत्व मिलेका कुराहरु ।

तर, जेसुकै भए पनि मान्छेले आफ्नै स्वरुपमा वा साकार पशुपंक्षीका रुपमा ईश्वरको कल्पना गर्दारहेछन् । निर्गुण, निराकार भए त भजन मात्रै गाउथे होलान् । त्यसले त न भोग माग्थ्यो, न बली माग्थ्यो, न फूल नै माग्थ्यो, केवल बसेर भजन गाउँदा, सेवा साम्लो मात्रै गर्दाखेरि हुन्थ्यो ।

यसरी मनुष्यको जीवन सहज तुल्याउन, नियम गर्न प्रकट भएको ईश्वरीय चरित्र र शक्तिलाई युमा भन्यौं । हाम्रा साम्बा, येवा, येमा, फेदाङमाहरुले पनि पछि जहाँजहाँ उनीहरुलाई बर्णन गर्न कठिन भयो, मानिसको सृष्टि भएपछि जहानेर उनीहरुलाई कुरा बुझ्न अप्ठेरो भयो, अनि दौडेर गएर ‘तागेरा हिम थो निङ्वाफु हिम थो’ भनेर ईश्वरको लोकमा पुगेर ‘ए युमाए’ भनेर सम्बोधन गर्दैै फलाक्छन् । हे बोजु भनेर आफ्नो पुर्खालाई स्त्रीरुप कल्पना गरेर सम्बोधन गरेर मद्दत माग्छन् । मद्दत माग्दाखेरी ‘मेरो खुट्टाको आंैलामा सिरानी पारेर सुत, सपना देख्छौ’ भन्छ हाम्रो कथामा । अनि सुत्छ सपना देख्छ, त्यहीअनुसार गर्छ ।

यो कुरालाई हामीले यसरी बुझ्नु पर्छ, मेरो पाउ पर, शरण पर, ध्यान गर, चिन्तन तप गर, मेरो शरणमा आयौ, अब तिमीलाई ज्ञान दिन्छु भनेको हो ।

मतलव, त्यो ज्ञानबाट तिमीले पाएको कठिनाइबाट पार हुन्छौ भनेको हो । यसकारण लिम्बूले सपनालाई ‘सेप्माङ तुम्बा’ भन्छन् । अर्थात सपना सबैभन्दा जेठो हुन्छ रे । यसको अर्थ, केही गर्नुभन्दा अगाडि त सोच्नुपर्‍यो, विचार गर्नु पर्‍यो, चिन्तन मनन गर्नु पर्‍यो । यसो गर्छु भनेर सपना त देख्नु पर्‍यो नि । यसलाई हामीले अर्थ दिँदा ध्यान र परिकल्पनाको कुराहरुसँग जोड्न सक्छौं ।

यसरी हामीले ईश्वरलाई स्त्रीका रुपमा परिकल्पना गरेकाले र हाम्रो मूल ईश्वर युमा भएको हुनाले हामीले पालन गरिरहेको धार्मिक आचरणलाई युमा भनेर भन्दा के हुन्छ भनेर लिम्बूहरुले सुरु गरेका हुन् । अहिले आएर युमाको व्यापकता भयो । किनभने, पहिचानको समय हो यो । संसारभरि पहिचानको कुरा चलिरहेको छ । नेपालमा पनि त्यही चलिरहेको छ ।

एक जातीय हैकमले गर्दाखेरि धेरैवटा जातिहरुको धार्मिक र अध्यात्मिक चिन्तन र मनन, सांस्कृतिक अस्तित्व, भाषा, लिपि, संस्कृति, जीवन शैली नष्ट हुन थालेपछि जोगाउनका लागि राजनीतिक अभियान पनि सुरु भयो । धार्मिक अभियान, सामाजिक र सांस्कृतिक अभियानहरु सुरु भए ।

पहिचानको आन्दोलन सुरु भएपछि हामीले पालन गर्दै आएको जुन धार्मिक प्रणाली छ, यो लिम्बूको लोकधर्म भनिरहेका छौं । आम लिम्बूले पालन गरेको धर्म हो । संस्कृतिलाई धार्मिक महत्व दिएर पालन गरिरहेको जीवनशैली हो । लिम्बूले पनि युमाले मानवजाति (लिम्बू) लाई गरेको संरक्षण, उसले सिकाएको शीप, कला र ज्ञान, जस्तो तान बुन्ने कला, सभ्यताको सुरुमा लुगा लगाउने ज्ञान सिकायो । उद्योग धन्दा गर्न सिकायो । उसलाई ईश्वरीय शक्ति मानेर कालान्तरमा धार्मिक नामकारण गर्दा केही बिग्रने होइन ।

एउटा धर्म विशुद्ध हुन्छ । धर्म कुनै पनि जातिसँग जोडिएको हुँदैन । त्यो जातिको संस्कृतिसँग जोडिएको हुँदैन । अर्कोचाँहि जातिसँग जोडिएको हुँदोरहेछ । अब युमा धर्मचाहिँ लिम्बू जातिविषेशसँग जोडियो ।

मकहाँ केही सत्यहाङमापन्थी किरातधर्मी पनि आउँछन् । उनीहरुले मलाई सोधेका थिए– किरात धर्म नभनेर युमा धर्म भनेछौं ? त्यसो भए के भन्नु पर्ने त ? मैले सोधें । त्यसो गर्दा लिम्बू जाति टुक्रिन्छ भने उनीहरुले ।

लिम्बूजाति त्यतिबेला मात्र टुक्रिन्छ, जब किरात धर्म लिम्बूले मात्रै मानेको हुन्छ । युमा भन्दा कसरी टुक्रिन्छ ? तपाईहरुले भनेको किरात धर्म लिम्बू जातिले मात्र मान्ने हो ? तपाईहरुको लक्षित अनुयायी लिम्बू मात्र हो ? मैले सोधें ।

रवि (इलाम) तिर मैले राईहरु सत्येहाङमा किरात भएको भेटेको छु । बाहुनहरु पनि सत्यहाङमा पन्थ मान्ने मैले भेटेको छु । गुरुङहरु छन् । अरु जातिका पनि किरात सत्येहाङ धर्ममा लागेको देखेको छु ।

यत्तिविधि जातिहरुलाई समावेश गर्ने धर्म लिम्बूको मात्रै भयो भने त उनीहरुले ती जातिहरुले किरात सत्येहाङ धर्म छाड्छन् । छाड्दा के भो त ? एक हजार जालान्, दुई हजार, पाँच हजार जालान् । लिम्बूले क्षतिपूर्ति गर्ला । तर, व्यापकता त एउटा जातिविशेषमा सीमित भयो नि । त्यो चाँहि धर्म मानेको हो त ? होइन । हामी सबैमा व्यापक छ भने लिम्बूले पालन गरेको युमा धर्म मान्नेजतिले युमा धर्म भन्नुपर्छ भनेर कसैले भन्यो भने लिम्बू जाति कसरी टुक्रिन्छ त ? यो मेरो प्रश्न हो ।

विशुद्ध धर्ममा एउटा गुरुको शिक्षा र दर्शन हुन्छ । यसो गर्दा मान्छेको जीवन सुखी हुन्छ । पापरहित हुन्छ । धर्मले भरिपूर्ण हुन्छ । स्वर्ग पुग्छौं । नर्क जान पर्दैन । समाजको कल्याण हुन्छ भनेर एउटा शिक्षा दिइन्छ । त्यो शिक्षामा आधारित धर्म नै विशुद्ध धर्म हो । त्यसमा जुनै जातिका मान्छे पनि इच्छा लागे भने प्रवेश गर्न सक्छन् ।

( करिब आधा शताब्दीदेखि याक्थुङ लिम्बू समुदायको धार्मिक ग्रन्थ ‘मुन्धुम’ को खोज अनुसन्धान, संकलन, लेखन र सम्पादन गरेर १३ पुस्तक प्रकाशित गरिसकेका शिखर पुरुष नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति प्राज्ञ बैरागी काइँला (तिलविक्रम नेम्बाङ) ले खबरहबकर्मी प्रदीप मेन्याङबोसँग विभिन्न समयमा गरेको भलाकुसारीका आधारमा मुन्धुम दर्शनबारे उहाँकै शब्दमा यो सामग्री तयार पारिएको हो ।)

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : ४० बजे

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको

आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

चितवन – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा