गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीका तुलसी श्रेष्ठ (४५) ले विगत पाँच वर्षदेखि अस्पतालमा बिरामी र बिरामी कुरुवालाई खाना खुवाउँदै आएका छन्। कोभिडले निम्त्याएको संकटमा असहायका लागि खाना खुवाउँदै गर्दा उनले यो कामले चार वर्षको यात्रा तय गर्ला भन्ने सोचेकै थिएनन्।
आफ्नै घर वरिपरि, छिमेकी लकडाउनले आकुल व्याकुल परेपछि केही दिन सहुलियत होस् भनेर उनको परिवार निःशुल्क खाना वितरणमा लाग्यो। त्यो समय आफ्नै खर्चमा उनीहरुले दैनिक डेढ, दुई सयलाई खाना खुवाए। लकडाउनको समयमा रत्नपार्कमा मात्रै निःशुल्क खाना वितरण गरिन्थ्यो।
तुलसीले त्यहाँ बाहेक अन्त खाना वितरणको क्षेत्र फराकिलो बनाउँदै लगे। विभिन्न ठाउँमा खाना बाँड्दै गर्दा उनले थाहा पाए- ‘सबैभन्दा धेरै समस्या सरकारी अस्पतालमा रहेछ। आफ्नो विरामीलाई सिटामोल किन्न पुग्छ भनेर खानासमेत नखाइ, चियासमेत नखाएर कुरुवा भोकै बसेको श्रेष्ठले देखे। त्यसपछि उनी अस्पताल केन्द्रित भएर निःशुल्क खाना बाँड्ने अभियानमै लागे। तुलसीले समाजसेवामा लाग्नुको पृष्ठभूमि यसरी सम्झिए :
हामी धनकुटाबाट काठमाडौं २०५० सालमा बसाइँ आयौं। बुवा कृषि विकास बैंकको जागिरे हुनुहुन्थ्यो। मैले आइएसम्म मात्रै अध्ययन गरँे। हाल श्रीमती शान्ति र दुई छोरा छन्। बुवाआमासहित हामी संयुक्त परिवार छौं। साउदी र कतारमा बसेर ८ वर्ष मास्टर सेफको रुपमा काम गरेँ।
कोभिड सुरु भएपछि लकडाउन लाग्यो। त्यस समयमा धेरै मानिस अलपत्र परे। सुरुमा समाचारमा मात्रै मानिसको बिचल्ली देखियो। विस्तारै बौद्ध, जोरपाटी क्षेत्रमा छिमेकी नै समस्यामा परेको देख्न थालें। खानै नपाएको स्थिति देख्न थाल्यौं।
त्यस्तो दृश्य मलाई सह्य भएन। पहिलो दिन घर वरिपरिकै करिब डेढ सय जति मानिसलाई खाना बनाएर बाँडे। खाना बाँड्न थालेपछि मान्छेको संख्या बढ्न थाल्यो। आफ्नै खर्चले परिवारको सदस्य मिलेर खाना खुवाउन थालियो। हाम्रो उद्देश्य करिब एक हप्तासम्म खाना खुवाउने थियो।
लकडाउन खुल्छ र मान्छेको दैनिकी सहज हुँदै जाला भन्ने थियो। आठ दश दिन खाना खुवाएपछि अब बन्द गर्नुपर्छ भन्ने थियो। सामाजिक सञ्जालको प्रभाव यति फराकिलो रहेछ कि यसैबाटै स्रोत जुटिरहेको छ। हामीले आफूले गरेको सेवालाई सञ्जालमा फोटो वा भिडियोमार्फत सम्प्रेषण गरिरहेका छौं। मनकारी दाताहरु त्यसैमार्फत जोडिनुभएको छ।
हामी संयुक्त परिवारमा भएकाले काम गर्न सजिलो भयो। यो अभियानमा परिवारका सदस्य कसैले असहमति देखाएनन्। हाम्रै घरमा भाडामा बस्नेहरुले पनि सामान जुटाउन, खाना बनाउन र बाँड्न सहयोग गरे। एक परिवारले यतिभन्दा धेरै गर्न सकिदैन। तर बन्द गर्ने तयारी गर्दै गर्दा स्रोत जुट्न थाल्यो। त्यसरी सुरु गरिएको काम आजको दिनसम्म निरन्तर हुन्छ भन्ने लागेकै थिएन।
विस्तारै छिमेकीहरुले मेरो तर्फबाट ‘खाना खुवाइदिनु’ भन्न थाले। त्यो काम हामीले सञ्जालमा राख्न थालेपछि, विदेशतिरबाट पनि खर्च जुट्न थाल्यो। हामीलाई धेरै पैसा हुनेहरुले भन्दा पनि थोरै कमाइ भएका मानिसले हजार, दुई हजार, पाँच हजार पैसा पठाएर खाना ख्वाइदिन आग्रह गर्न थाले। त्यसपछि हामी सडकमा बेवारिसेहरुलाई पनि खाना खुवाउन थालियो।
त्यतिबेला रत्नपार्कमा जो पनि आएर खाना खुवाउँथे। हामीले अरुले नखुवाएको ठाउँमा गएर खुवाउँथ्यौं। त्यसमध्ये हामीले पहिलोपटक वीर अस्पतालमा खाना खुवायौं। ट्रमा अस्पताल, तिलगंगा, वसन्तपुर नख्खु र इँट्टा भट्टालगायत १२ ठाउँमा पुग्ने गरी दैनिक ८ सय प्याकेट खाना बाँड्थ्यौं।
अस्पतालमा खाना खुवाउन थालेपछि नै थाहा भयो। सबैभन्दा धेरै समस्या त्यहाँ रहेछ। त्यहाँ कोही आफ्ना नभएका बेवारिसे मानिस हुने रहेछन्। अस्पतालमा बिरामी हुन्छन्, कुरुवा हुन्छन् आफन्त हुन्छन् भन्ने थियो। अस्पतालमा आफ्नै परिवार आफन्तले छोडेर भाग्ने रहेछन्।
‘समानुभूति, नेपाल’ भन्ने संस्था दर्ता गर्यौँ। त्यस्ता बेवारिसेलाई बास पनि दिने भनेर होल्डिङ सेन्टर स्थापना भयो। कपनमा अहिले त्यो सेन्टर छ। एउटा घर भाडामा लिएर राखेका छौं। हाल ४० जना जति बसेका छन्। क्यान्सर रोगी पनि बसिरहेका छन्। यसको उपचार वर्षौं लाग्छ।
क्यान्सरका केही पीडितको उपचार गरेर घरखेत केही बाँकी छैन। सडकमा आएका छन् विरामीको परिवार। सरकारले दिने एक लाख र प्रदेश सरकारले दिने ५० हजारले केही पुग्दैन। राहत हो, तर केही पुग्दैन। महिनौं अस्पताल बस्नु परेका विरामी कुरुवा भोकभोकै हुन्छन्। कतिपय खाना किन्ने पैसा नभएर अस्पतालले बिरामीलाई दिने खाना बाँडेर खाइरहेका थिए।
टिचिङ, कान्ति, वीर, ट्रमा, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल खाना खुवाइरहेका छौं। क्यान्सरको उपचार हुने सबै अस्पतालमा निःशुल्क खाना खुवाइरहेका छौँ। लामो अवधी अस्पतालमा बस्नेहरुलाई खुवाउने नयाँ तयारी भइरहेको छ। बिरामी र कुरुवालाई खुवाइएको छ। कुनै बिरामीलाई अस्पतालले दिएको खाना पुग्दैन। जस्तै ठूलो घाउचोट भएकालाई अण्डा, मासु र फलफूल चाहिन्छ। अस्पतालले यी सब पोषक खानेकुरा उपलब्ध गराउँदैन। तर हामीले बिरामीको अवस्था हेरेर दिएका छौं।
क्यान्सरका बिरामीलाई छुट्टै खाना बनाउनु पर्छ। स्यानो ग्याँसमा धेरैबेर पकाउनु पर्छ। उनीहरुको खानामा थोरै पनि हेलचेक्र्याइँ भयो भने जीवन नै तलमाथि हुनसक्छ। डाक्टरसँग सल्लाह गरेर मात्रै उनीहरुलाई खाना उपलब्ध गराउँछौ। अस्पतालमा खाना दिनु त्यसमाथि पनि क्यान्सर पीडितलाई सजिलो छैन।
सेल्टरमै बसेकाहरुले खाना बनाइरहेका छन्। उनीहरु यो पुन्यको काम गर्न पाउँदा खुसी छन्। मेरी श्रीमती बिहानदेखि बेलुका खाना पकाउने काममै छिन्। हामी अस्पतालमा एक समय खुवाउँछौ। अहिले खाना स्कुटर, टेम्पोमा बोक्ने गरेका छौं। दालभात, तरकारी र अचार छुट्दैन। दाताहरुले मासु खुवाउन भन्नुहुन्छ। त्यो बेला मासुसहित दिने गरेका छौं।
मान्छेपिच्छेका प्रतिक्रिया
बिरामीको आर्शिवादले खुसीको सीमा छैन। खाना खानेबेला बिरामी वा कुरुवाहरुले लाख बराबरको सहयोग भन्नुहुन्छ। त्यसले नै जाँगर चलाएको छ। खाना नलाने हो भने धेरै भोकै बस्नुपर्छ। हामीले एक छाक दिन्छौ, त्यति एक छाकको भर बस्ने धेरै छन्। त्यसकारण हामीले दालमोठ र चिउरा पनि लगेर राखिदिने गरेका छौँ।
पैसा भएकाहरु पनि खान आउँछन्। निःशुल्क भनेपछि नेपालीलाई अरुको भाग खानु हुँदेन भन्ने छैन। भेज हुँदा भन्दा अझ ननभेज हुँदा बढी आइदिने गर्छन्। त्यही भएर हामीले थोरै टाइट पनि गरेका छौ। यत्तिका वर्षदेखि अस्पतालमा खाना खुवाउँदै गर्दा वास्तविक पीडित छुट्याइसकेका हुन्छौं ।
पीडित हामी पुग्ने बित्तिकै लाइनमा बस्न आउँछन्। जो पीडित होइनन् उनीहरु पहिले खानामा के के आएको छ ? हेरेर मात्रै लाइनमा बस्छन्। नआउ भन्न मिल्दैन तर आफैं बुझेर नआइदिए हुन्थ्यो। पीडितले आफ्नो घर, परिवारको अवस्था, रोग सबै हामीलाई जानकारी गराएका हुन्छन्। डिस्चार्ज भएर घर जाने बेला गाडी भाडा पनि हुँदैन। उनीहरुको पनि हामीले अवस्था हेरेर व्यवस्थापन गरिदिने गरेका छौं।
छैन सरकारको भरोसा
अस्पतालमा वास्तविक आसुँ भेटिन्छ। उपचार नपाएर मृत्यु वरण गर्नुपर्ने अवस्था छ। उपचार गर्न नसकेर आफन्त अस्पतालको बेडमा बिरामीका छोडेर भागेका छन्। कति अस्पतालमा आत्महत्या गरेको पनि सुनिन्छ। यो सबै समस्याको समाधान उपचार हो।
सरकारले हरेक नागरिकको पहुँचमा उपचार पुर्याइदेओस्। स्वास्थ्य बीमामा सरकारले लगानी गर्नुपर्यो। भरसक त स्वास्थ्य नि: शुल्क गरिदिनुपर्छ। हाल भएको अनुदान पानीको थोपा जति हो। स्वास्थ्यमा विशेष पहल गर्न आवश्यक छ।
रिफर भएर आउने भक्तपुर र काठमाडौं नै हो। दुर्गम जिल्लाको बिरामी आइपुग्दा कति धेरै समस्या हुन्छ, उनीहरुलाई। एक छाक खाना एक कप चिया नखाँदा मेरो बिरामीले सिटामोल खाने पैसा पुग्छ भनेर भोकै बसेको देखें।
बदनाम गर्ने प्रयास
सेवा गर्नु जागिर खाए जस्तो होइन। व्यापार गरे जस्तो पनि होइन। सेवाको लागि हृदयलाई आकाश जति फराकिलो बनाउन सक्नुपर्छ। दुखी, असहाय र पीडितको दुखले मुटु पोल्नु पर्छ। अरुको सेवामा जुट्न रहरले मात्रै पुग्दैन। बलियो प्रतिबद्धता बिना सेवालाई निरन्तरता दिन सकिन्न।
हामीले मन, वचनले गरेको सेवा कार्यमा केहीले खुट्टा तान्ने प्रयास गरे। जिल्ला प्रशासन कार्यालयले नै मलाई सतर्क गरायो। नत्र मैले त्यस्ता मान्छेहरुको बदमासी नबुझ्ने रहेछु। प्रशासनले ब्यानर लिएर आएकालाई प्रवेश नदिनु भन्यो।
हामीले काम गरिरहेका ठाउँमा केही मान्छेहरु आएर भिडियो र फोटो खिचेर दुरुपयोग गरेको पाइयो। हामीले गरेको भनेर प्रचार गरेर पैसा उठाएको थाहा पाएँ। मैले खाना बाँडेको देखाएर १५ लाख उठाएर हामीलाई प्रन्ध हजार सहयोग गरे। हामीले ओहो यत्ति धेरै मनकारी भन्यौ तर हाम्रो काम बेचेर उनीहरुले पैसा उठाइरहेका रहेछन्।
बाँचुन्जेल भात बाँड्छु
अब बाचुन्जेल यही काम गर्छु। बिरामी र पीडितहरुसँग मेरो साइनो गाँसिइसक्यो। मलाई यसमै सन्तुष्ट छ। आफन्तहरुले आफ्नो काम गर्नु, व्यापार गर्नु भन्छन् तर म यसमै खुसी छु। श्रीमतीले साथ दिएपछि अरु जसजसले जे भनेपनि केही नहुने रहेछ।
श्रीमतीले यस्तो समाजसेवा सधैं हुँदैन भनिदिएको भए, निरन्तरता हुँदैनथ्यो। उनले मलाई पैसा कमाउन जाउ भनेकी छैनन्। अर्को उनी आफैं पनि यसमै खुसी छन्। मेरो अनुभवमा सम्पन्न मानिसहरु भन्दा सामान्य कमाइ भएकाहरुले सहयोगको भाव हुने पाएँ। अस्पतालको दुख भोगेकाहरुले धेरै सहयोग गर्नुभएको छ।
साग बेच्नेहरुसमेत आएर आजको साग तपाईंलाई भन्छन्। ठेलामा तरकारी बेच्नेहरुले तरकारी ल्याएर दिएका छन्। दुःख बुझेको मान्छेमा मात्रै सहयोगी भाव हुन्छ।
प्रतिक्रिया