एनपीएल : लुम्बिनीको उच्च स्कोर ‘चेज’, सन्दीप र विराटनगरले खाता खोले | Khabarhub Khabarhub

एनपीएल : लुम्बिनीको उच्च स्कोर ‘चेज’, सन्दीप र विराटनगरले खाता खोले


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको सातौँ खेल अर्थात् विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीचको भिडन्त अन्तिम बलसम्म रोचक बन्यो ।

लुम्बिनीले विराटनगरलाई एनपीएलकै अहिलेसम्मको उच्च १९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सुरुवाती दुई खेल गुमाइसकेको अवस्थामा जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले अन्तिमसम्म संघर्ष गरेर नतिजा आफ्नो पक्षमा पार्‍यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको विराटनगरले लुम्बिनीविरुद्ध जवाफी ब्याटिङका क्रममा अन्तिम ओभरमा जितका लागि  १६ रन बनाउनु पर्ने थियो । त्यसबेला उसका ७ विकेट झरिसकेका थिए ।

१९ औँ ओभरको पहिलो बलमा विराटनगरले अर्को विकेट गुमायो । बाउन्ड्री हान्न खोज्दा कप्तान सन्दीप लामिछाने आउट भए । त्यसपछि क्रिजमा आएका स्कटल्यान्डका बलर क्रिस सोलले उन्नाइसौँ ओभरको तेस्रो, चोथो र पाँचौ बलमा क्रमशः छक्का, चौका र चौका हानिदिए ।

फलतः विराटनगरले लुम्बिनीको विशाल चुनौती ‘चेज’ गरेर यसअघिका दुई खेलमा भोगेको हारबाट पनि राहत लियो ।

सन्दीप र विराटनगरलाई पहिलो सफलता

विराटनगरले यसअघि एनपीएलका दुई खेल खेलेको थियो । उद्घाटन खेलमा शनिबार विराटनगरले जनकपुर बोल्ट्ससँग ८ विकेटको फराकिलो हार भोगेको थियो । विराटनगरले दिएको १२७ रनको सामान्य लक्ष्य छिमेकी जनकपुरले १५ दशमलव ३ ओभरमै पूरा गरेको थियो ।

दोस्रो खेलमा विराटनगरले सुदूपश्चिम रोयल्सको सामाना गर्‍यो । विराटनगरले त्यस खेलमा पनि एनपीएलको उच्च लक्ष्य १८३ रनको चुनौती पायो ।

तर विराटनगरले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो । विराटनगरले लगातार दोस्रो खेलमा ९० रनको फराकिलो हार भोग्न बाध्य भयो ।

दुई खेल हारेको अवस्थामा बुधबार विराटनगरले पहिलो खेल खेलिरहेको लुम्बिनीको सामना गर्‍यो । लुम्बिनीले विराटनगरसामु प्रतियोगिताकै सबैभन्दा उच्च अर्थात् १९२ रनको चुनौतीपूर्ण लक्ष्य राखिदियो ।

विराटनगरले यस खेलमा भने पहिलो र दोस्रो खेलमा भएको कमजोरी सुधार्‍यो । ब्याटिङमा ब्यापक सुधार गरेको उसले शक्तिशाली लक्ष्य ‘चेज’ गर्दै समर्थकलाई पनि खुसी बनायो । यससँगै उसले जितको खडेरी पनि तोड्यो ।

जितसँगै विराटनगरका कप्तान सन्दीप लामिछानेलाई समेत व्यक्तिगतरुपमा आजको खेल सुखद बन्यो । टिमको हेभीवेट बलर मानिएका उनी यसअघिका दुवै खेलमा विकेटविहीन थिए ।

आजको खेलमा उनले एनपीएलकै व्यक्तिगत पहिलो विकेट लिए । सन्दीपले लुम्बिनीका साद बिन जफरलाई मार्टिन गुप्टिलमार्फत क्याच आउट गराउँदै राहतको श्वास फेरे ।

तस्बिर : चिरायु शाक्य

लोकश बमको अर्धशतक

लगालग विकेट गएको अवस्थामा ओपनर लोकश बम क्रिजमा सम्हालिएर खेल्दा विराटनगर लगातार तेस्रो हारबाट जोगिएको हो ।

विराटनगरको जितका लागि लोकशले ४७ बलमा ३ चौका र ६ छक्कासहित ७१ रनको शानदार पारी खेले ।

लोकेश १७ दशमलव ४ ओभरसम्म टिकिरहे । उनी मैदानबाट बाहिरिँदा विराटनगर ६ विकेटको क्षतिमा १६३ रनको आशाजनक अवस्थामा थियो । अर्थात् विराटनगरलाई जितका लागि १४ बलमा २९ रनको खाँचो थियो ।

लोकेश जारी प्रतियोगितामा अर्धशतक पूरा गर्ने सातौँ ब्याटरसमेत बनेका छन् । यसअघि शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशत प्रहार गरेका थिए ।

दुर्गेशको घातक बलिङ, खर्चिला विवेक

आफ्नो टीमलाई हारबाट जोगाउन नसके पनि लुम्बिनीका १९ वर्षीय बायाँ हाते मिडियम फास्ट बलर दुर्गेश गुप्ताको प्रस्तुति सम्झनलायक रह्यो ।

उनले न्यूजील्यान्ड राष्ट्रिय टिमका पूर्व सदस्य तथा ओपनर मार्टिन गप्तिललाई लाई बोल्ड गरे । प्रतिश जीसी र बारिस आहमदको पनि विकेट उनैले लिए ।

चार ओभर बलिङ गरेका उनले २१ रन मात्रै खर्चिए । जबकि आजको खेलमा चारै ओभर बलिङ गरेका वेस्ट इन्डिज एवम् लुम्बिनीका बलर रामोन सिम्न्ड्सले ३३ र क्यान्डाका अलराउन्डर साद बिन जफरले ३५ रन खर्चिए । यी दुवैले समान २-२ विकेट लिए ।

लुम्बिनीका २१ वर्षीय घरेलु अलराउन्डर विवेक यादव आजको खेलमा खर्चिला बलर बने । ३ दशमलव ५ ओभर बलिङ गरेका उनले ६४ रन खर्चिए ।

विवेकको बलमा विराटनगरका ब्याटरले ५ चौका र ३ छक्का हिर्काए । यद्यपि विवेकले एक विकेट लिन सफल भएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : ५८ बजे

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण

नागढुंगाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

काठमाडौं– लामो दुरीको यात्रुवाहक बस चढेर आएका भारतीय नागरिक लागूऔषध

दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

एजेन्सी – दक्षिणी म्यानमाको मोन राज्यमा बुधबार भएको सवारी दुर्घटनामा

सभापति कप फुटबल : संकटा क्लब विजयी

काठमाडौं – राजधानीमा आजदेखि सुरु सभापति कप पुरुष फुटबल प्रतियोगितामा