राष्ट्रियसभामा भागबण्डा : ओलीले किन गुहारे प्रचण्ड ?  | Khabarhub Khabarhub

राष्ट्रियसभामा भागबण्डा : ओलीले किन गुहारे प्रचण्ड ? 



काठमाडौँ– आगामी माघ ११ मा हुने चुनावमा आफ्नो दलले ९ सिट गुमाउने स्थिति आएपछि नेकपा एमालेले राष्ट्रियसभामा आफ्नो भाग खोजेको छ । एमाले अध्यक्ष ओलीले गठबन्धन फुटाउन नसकेपछि प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रियसभाका लागि हारगुहार गरेको वाम विश्लेषकको बुझाइ छ ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी  विधेयक (टीआरसी) टुङ्गो लगाउन सहयोग गर्नुपरे राष्ट्रियसभामा आफूलाई गठबन्धनले भाग दिनुपर्ने एमालेले अनौपचारिक प्रस्ताव अघि सारेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुमा गठबन्धन फुटाउन खोजेको र पछि गठबन्धनमा रहेका दलहरू असमर्थ देखिएपछि प्रचण्डलाई टीआरसी विधेयकमा धम्काएको जस्तो देखिएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाइ छ । 

श्रेष्ठले खबरहबसँग भने, ‘एमालेले सबै प्रदेशमा मुख्यमन्त्री गुमाइसकेको छ । राष्ट्रियसभा पनि एमाले खुम्चिएको छ । त्यसैले यसलाई जोगाउन निकालिएको जुक्ति हो ।’ 

एमाले प्रतिपक्षी भएर पनि सरकारमा भाग खोज्नु आफैँमा लज्जास्पद विषय भएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘दुई-चारवटा सांसदका लागि दरिलो प्रतिपक्षीले यसो नगरेको भए हुन्थ्यो । पहिले पनि एमालेले संसदीय समितिको सभापति टीआरसी विधेयक नै बैना राखेर लिएको भन्ने सुनिन्छ । मिलिमिली खाउँ भन्ने रणनीति रहेछ ।’ 

कोशी प्रदेशमा कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्री हुँदा एमालेले सघाएदेखि नै एमाले र कांग्रेसको दुरी नजिकिएको थियो । तर त्यसमा कांग्रेस संस्थापन इतर समूह भने असन्तुष्ट रहँदै आएको थियो । पछिल्लो समयमा भने कांग्रेस सभापति शेरबहादुर देउवा पनि एमालेलाई समेट्ने विषयमा केही लचिलो देखिएका छन् ।   

एमालेले मंसिर १४ गते बैतडीबाट बाट सुरु गरेको महाकाली मेची अभियानका बेला नै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग निरन्तर फोन संवाद गरेर ओलीले एमालेलाई पनि राष्ट्रियसभामा सिट छुट्ट्याउनुपर्ने माग राखेको एमाले उच्च स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘हामीले पनि टीआरसीमा नीतिगत रूपमा सघाउने हो, यसबापत गठबन्धनले पनि हामीलाई केही न केही त गर्नु पर्छ नि’ 

उता एमालेले राखेको मागेको विषयलाई लिएर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच तारन्तार संयुक्त बैठक भइरहेको छ । 

बिहीबार बिहान पनि गठबन्धनको बैठक बसेको थियो । तर त्यो बैठकमा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीको चरित्र र विश्वासमाथि प्रश्न उठाएका थिए । उनी बैठक सकिनुपूर्व नै निस्किए । उनले ओलीलाई राष्ट्रियसभामा सिट दिन नहुने पक्षमा मत राखेका थिए । 

हुन त कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादवले पनि ओलीलाई राष्ट्रियसभामा समेट्नु परे सर्तसहित समेट्न भनेका छन् । संसदीय समितिमा एमालेले देखाउने चरित्र र प्रस्तुति हेरेर उसलाई समेट्ने, नसमेट्ने विषयमा छलफल हुने सत्ता पक्षका नेताहरु बताउँछन् । 

यदि गठबन्धनमा एमालेलाई राष्ट्रियसभामा सिट मिलाउनु परे राष्ट्रियसभा निर्वाचन टीआरसी विधेयक निर्वाचन पूर्व नै पास हुनुपर्ने गठबन्धनको अडान छ । यसै सन्दर्भमा ओलीसँग छलफल गर्न अहिले बेलुका बैठक बस्ने भनिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई फकाएर एमालेले गठबन्धन फुटाउने प्रयास गरेको र पछि  नेपाली कांग्रेससँग गठबन्धन गर्न चाहेको माओवादी नेताहरुको दाबी छ । 

तर, कांग्रेससँग गठबन्धन गर्न सभापति शेरबहादुर देउवा सकारात्कमक देखिएका थिएनन् । शेखर–गगन समूह भने एमालेसँग सहकार्य गरेर गठबन्धन गर्न सकारात्मक देखिएको थियो । 

कोशी प्रदेशमा एमालेले सहयोग गरेपछि एमालेलाई पनि केही त दिनुपर्यो नि भन्ने भाष्यमा रहेर एमाले अध्यक्ष ओलीले विभिन्न विषयमा कांग्रेस नेताहरूलाई पनि गुहार मागेको कांग्रेसका एक नेताको भनाइ छ । ती नेता भन्छन्, ‘कांग्रेससँग पनि मिलौं भनेर एमाले अध्यक्षले धेरै पटक प्रयास गर्नुभएको रहेछ । तर, हामी गठबन्धनलाई कसिलो बनाउन चाहान्छौं ।’ 

रास्वपाका महामन्त्री मुकुल ढकाल भन्छन्, ‘ठूला दलमा कुरा नमिलेपछि हामीलाई पनि विभिन्न कुराहरू आएका थिए तर हामी त्यो ढङ्गको राजनीतिमा छैनौं ।’ 

ढकालका अनुसार एमालेले नै गठबन्धन फुटाउने प्रयासमा साथ दिन भनेको थियो । उनी भन्छन्, ‘पार्टी नै किन तोक्नु, तर सरकाको विकल्पबारे अगाडि जान प्रस्ताव आएका थिए । अहिले काम गर्न सकिन्न, जानु हुँदैन भनेर हामीले रोक्यौँ ।’ 

नेकपा माओवादी केन्द्रले त सहकार्यका लागि सम्पूर्ण ढोका खुल्ला गरेको बताइरहेको छ । माओवादीका महासचिव देव गुरुङ सहमतिको सरकारका लागि एमाले तयार भइरहेको बताइरहेको छ । तर, एमालेसँग मिल्न पनि अफर आयो रे नि ? भन्ने प्रश्नमा गुरुङले भने, ‘यो कुरा त अध्यक्षज्यूले राख्नु भएको छैन । तर राजनीतिमा विभिन्न कोणबाट छलफल हुन्छ ।’ 

एमाले अध्यक्ष ओली साना दल नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका साना दलसँग पनि निरन्तर छलफलमा थिए । उनीहरू एमालेसँग मिल्न तयार भएको स्रोतको भनाइ छ । 

एमालेले पाउला त भाग ?

राष्ट्रियसभामा एमालेलाई भाग दिने या नदिने भन्ने बारेमा बिहीबार बिहान गठबन्धनमा चार दल बसेर छलफल गरे । त्यसपछि पार्टीमा पनि आन्तरिक रूपमा छलफल सबै दलले गरेको नेताहरूको भनाइ छ ।

नेपाली कांग्रेस शेखर-गगन समूह भने एमाले र कांग्रेस मात्रै मिलेर सरकारमा जानुपर्ने लाइनमा छ । उसले सबै मिलेर राष्ट्रियसभामा गए पार्टी खुम्चिन सक्ने कुरामा सचेत छ । तर, सभापति देउवा भने मिलेर जाने पक्षमै रहेका छन् । उनले आफ्नो पार्टीले राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी पाउने कुरा गुमाउन नचाहेको बुझिएको छ । 

जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘ठूला दलले आफ्नो स्वार्थ अनुसार कुरो मिलाउन लागे भने त्यो मान्य छैन । पार्टीमा पनि छलफल त हुनुपर्छ नि । आफ्नो–आफ्नो पार्टीमा छलफल गरेर पुनः गठबन्धनमा छलफल हुने भनिएको छ ।’ 

यता माओवादी महासचिव देव गुरुङ पनि सबै नेताहरूले आफ्नो पार्टीमा छलफल गर्ने बताउँछन् । उनले भने,  ‘एमालेसँग पनि छलफल हुन्छ । प्रतिपक्षी भए पनि साझा सरोकारका विषयमा त छलफल हुनुपर्छ नि ।’ 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १ : ०६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि