आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध प्रविधिले गर्दा साँघुरिँदै गयो। हरेकको हातमा मोबाइल छ। भेटघाट र जमघट हुँदा पनि आ-आफ्नै मोबाइलमा घोप्टे परेर व्यस्त। कसले के भनेको सुन्ने, बुझ्ने र जवाफ दिने ? होसपूर्ण वातावरण पनि भेटिन्न।
घरमा अतिथि आउनासाथ चियापानी भन्दा पहिले वाइफाईको व्यवस्था गरिदिए खुसी मान्ने समय आएको छ। एकछिन नेटवर्कबाट टाढा हुनुपरे सबैमा बेचैनी उत्पन्न हुन्छ। यो यथार्थता प्रत्येक व्यक्ति, बच्चादेखि वृद्धसम्म भेटिन्छ।
एक ठाउँ, एक आशनमा बसेपछि स्क्रिनमै हेरिरहने र हलचलसम्म नगर्ने बानी बसेको छ सबैको। यसकै अत्यधिक प्रयोगका कारण आँखाको समस्या, हाडजोर्नीको समस्यासमेत निम्तिन थालेको छ। विचारको तीक्ष्णता घट्दै जाने, मेशिनरी जस्तो आफ्नो विवेकको प्रयोगबिना अध्ययनदेखि लिएर सबै काम सहज र छिटो खोज्ने बानी बढेको छ।
प्रविधिले मानवीय जीवनमा सघाउ पु-याउनुपर्ने हो तर मानव मनोविज्ञानको कारण मानिसले प्रविधिलाई सघाउ पु-याइरहेको छ। प्रविधिले मानव मनोविज्ञान र स्वास्थ्यलाई सहज र जटिल दुबै बनाउन सक्छ।
अझ सामाजिक सञ्जालको अत्याधिक प्रयोग र नकारात्मक घटनाहरूप्रति ज्यादा रूचिकर हुने आदतले सोच्दै नसोचेका अभिभावक आफ्ना बच्चाप्रति चिन्तित छन्। तर, धेरै प्रविधिको प्रयोगको लत स्वयंमा बसेको भुल्छन्।
अर्ती दिन सजिलो छ, त्यसलाई स्वयंले अपनाउन गार्हो। यो आम मानिसको समस्या हो। तर, प्रविधिले आफूलाई होइन, आफूले प्रविधिको प्रयोग गरेर सूचना तथा सिकाइका लागि सुझबुझका साथ प्रयोग गर्न जान्ने हो भने प्रविधि आफैंमा शक्तिशाली र सहज उपकरण बन्नसक्छ। उपकरण प्रयोगका फाइदा, बेफाइदा अनि मानव जीवनसँग यसको सम्बन्धलाई आफ्नै उदाहरण र अभ्यासबाट हेर्न सकिन्छ।
सिकाइ र शिक्षा
हाम्रै आमा र आमाजूहरूलाई शुरुमा टच मोबाइल र सामाजिक सञ्जाल फेसबुक, युट्युब लगायतका सामग्री प्रयोग र अकाउन्ट खोल्न सिकाउँदा र उहाँहरूले सिकेर अभ्यस्त हुँदा खुसी मान्ने हामी आजकल उहाँहरू त्यसमै झुण्डिरहने र बेला न कुबेला मेसेन्जर, भाइबर र ह्वाट्सएपमा कल गरिरहँदा हाँस्नु न रूनु भएका छौं।
अनलाइन देख्नेबित्तिकै वा हरियो सिग्नल देख्ने बित्तिकै कल गरिहाल्ने, कार्यालय समयको समेत केही वास्ता नै हुँदैन उहाँहरुलाई। कार्यालयको काम र मिटिङमा बस्दा मोबाइल या ल्यापटप साइलेन्समा राख्न सचेत हुनुपर्छ।
अझ हाम्रो पारिवारिक सूचना आदान-प्रदान गर्न र देश-विदेशमा रहेका परिवारका सदस्यलाई एकै ठाउँबाट खबर आदान प्रदान र अपडेट होस् भन्ने हेतुले भाइबर र मेसेन्जर ग्रुप छ। फुर्सद हुने दिदीबहिनी, आमा, भाउजू सबैको बिनासमय ग्रुप कल आउँछ। हामीले त्यसलाई रेस्पोन्स गरेनौं भने उहाँहरु रिसाउनुहुन्छ र भन्नुहुन्छ, ‘तिमीहरूले फोन नै उठाएनौ।’
फुर्सद हुने दिदीबहिनी, आमा, भाउजू सबैको बिनासमय ग्रुप कल आउँछ। हामीले त्यसलाई रेस्पोन्स गरेनौं भने उहाँहरु रिसाउनुहुन्छ र भन्नुहुन्छ, ‘तिमीहरूले फोन नै उठाएनौ।’
हामी व्यस्त थियौं भन्दा समेत विश्वास नगर्ने र हामीलाई असामाजिक प्राणी बनाएर छोड्नुहुन्छ। पचास पटक फोन गर्दा पनि नउठाउने भनेर विशेष असामाजिक प्राणीमा पर्छु म त झन।
फुर्सदमा हुने उहाँहरू अनलाइनमा देखेजतिलाई पालैपालो कल गर्नुहुन्छ। अझ कोही एक व्यक्तिलाई कल गरेर केही भन्नु थियो भने पनि ग्रुपमै कल गरिदिनुहुन्छ। अनि ए तिमी पो बोल्यौ, मैले त उसलाई पो खोजेकी थिएँ…। जसलाई फुर्सद छ, यस्तै यस्तैमा समय र दिन बिताउन सजिलो पनि छ। कामकाजी सदस्यलाई यो उपयुक्त हुँदैन। तर, अब आफ्नै परिवारका बुज्रुग सदस्यलाई बुझाउन कठिन छ।
अर्की आमाजूका सबै सन्तान अमेरिकामा छन्। त्यसैले उहाँसँग त मोबाइल पनि दुईवटा छन्। दिदी, यो दुबै हजुर प्रयोग गर्नुहुन्छ ? भनेर सोधें। उहाँले जवाफ दिनुभयो- हो नि चलाउँदा चलाउँदै एउटामा चार्ज सकिन्छ, अनि अर्को प्रयोग गर्छु र त्यसलाई चार्जमा हाल्छु। एउटा मात्र हुँदा त कहिलेकाहीँ फेसबुक चलाउन र कुरा गर्नै पाइन्न…।
के सिकाई भयो ? के उपलब्धि छ ? र, यसको सीमा के हो ? अनि अनावश्यक कुराकानी र अधिक जानकारीले कतिपय अवस्थामा आफैं दुःखी बनेर, झोक्राएर बसेको पनि पाइन्छ।
प्रविधि र सम्बन्ध
मेरी पैसट्ठी वर्षकी आमाजू दिदी र भिनाजु चाडवाड र विशेष परिस्थितिमा गाउँबाट काठमाडौँ आउनुहुन्छ। आउनासाथ भन्नुहुन्छ– नेट जोडिदेऊ त मोबाइलमा।
मैले गरेको दर्शन, ढोगभेटको राम्रो रेस्पोन्स गर्न नभ्याउँदै अनेक जानकारी र अपडेट सुनाउन र मोबाइल हेर्नमै व्यस्त हुनुहुन्छ। दिदी भिनाजुलाई चिया पानी दिएर एकछिन साथमा बसेर कुराकानी गर्नुपर्छ होला भनेर म सचेत हुँदै छेउमा बस्छु। तर उल्टो उहाँहरु फोनमै व्यस्त र मस्त।
कार्यालयबाट श्रीमान आइपुग्नुहुन्छ। दिदीभिनाजु तल लिभिङ रुममा। बुहारीचाहिँ माथि। उहाँको हेराइ अर्कै हुन्छ। मैले प्रष्ट पारिदिन्छु- दिदीभिनाजु मोबाइलमा व्यस्त हुनुहुन्छ। अनि उहाँ हाँस्न थाल्नुहुन्छ।
केही छिनपछि म लुसुक्क आफ्नो कोठामा छिर्छु र आफ्नो काम गर्न थाल्छु। कार्यालयबाट श्रीमान आइपुग्नुहुन्छ। दिदीभिनाजु तल लिभिङ रुममा। बुहारीचाहिँ माथि। उहाँको हेराइ अर्कै हुन्छ। मैले प्रष्ट पारिदिन्छु- दिदीभिनाजु मोबाइलमा व्यस्त हुनुहुन्छ। अनि उहाँ हाँस्न थाल्नुहुन्छ।
उहाँहरु विदेशमा रहेका छोराछोरीका फोटो र भिडियो हेरेर दंग पर्नुहुन्छ। विदेशमै रहेका भतिजा भतिजी, भदा भदै, भाइबुहारी, आफन्त देख्दा खुसी मान्नुहुन्छ र भन्नुहुन्छ- आँखै अगाडि देखेजस्तो भयो।
अनि एकछिन मोबाइल स्क्रोल गर्दै भन्नुहुन्छ- ती माझघरे साइला दाइले त छोराको बिहे गरेछन् नि। हामीलाई त निम्तो पनि दिएनन्। फेसबुकभर फोटा हाल्या छन्।
यही सामाजिक सञ्जालले वस्तुस्थिति र परिस्थिति बुझ्न नपाउँदै सम्बन्धमा चिसोपन सजिलै ल्याइदिन्छ। कसैका पोस्ट देखेर इष्र्या जाग्छ त कसैका पोष्टले नकारात्मकता भरिदिन्छ। कसैका पोष्टमा सहानुभूति व्यक्त गर्न भने मजा पनि लाग्छ मान्छेलाई।
घरमै भएका आमा बा र छोराछोरीबिच सिधै सम्वाद हुँदैन, मेसेज छोड्ने चलन भैसक्यो। किनकि सबै आ–आफ्नै कोठामा आफ्नै उपकरणमा व्यस्त। कताको सरसल्लाह। कताको भलाकुसारी। एकले भनेको अर्कोले राम्ररी सुन्दा पनि सुन्दैन। उसको पुरै ध्यान उपकरणतिर हुन्छ। यसलाई सामान्य मानिदिनुपर्ने समय आएको छ।
प्रविधि र धैर्यता
अवश्यमेय प्रविधिको विकासले विश्व नै आफ्नो हातमा, आफ्नो उपकरणमा सीमित भएको र त्यसले धेरै जानकारी र कलाको विकास पनि गरेको हुन्छ। युट्युब र फेसबुकको माध्यमबाट दूरदराजका समाचार अपडेट, देश विदेशको अपडेट क्षणमै प्राप्त गर्न सकिन्छ। प्रविधिको गति बढेको छ तर आजका मानिसमा, आजका बच्चामा धैर्यताको कमी हुँदै गएको छ।
आफ्नो सोच, समझ र मिहिनेतबिना नै छिटो जानकारी हासिल गर्नुपरेको छ। सफलता तुरुन्तै चाहिएको छ। हो या होइन तुरुन्तै चाहिएको छ। त्यसैले त अहिले डेढ मिनेटको रिलमा जीवनको रियालिटी देखिन थालेको छ।
समयको परिवर्तन। सिनेमा हल गएर तीन घण्टा सिनेमा हेर्ने अनुमति पाउँदा खुसीको सीमा नरहने हामीलाई युट्युबमा सित्तै सिनेमा हेर्न पाइन्छ रे भन्दा आश्चर्य लाग्थ्यो। एउटा समय थियो, विद्यार्थीकालमा हेर्न नपाएका सिनेमा आफ्नो हातमा ल्यापटप भएपछि तीन घण्टा मात्रै हो र छुट्टीको दिन तीन वटासम्म सिनेमा हेरियो होला। अहिले दश मिनेटको सर्ट सिनेमा र एउटा सिनेमा हेर्छु भनेर बसेको व्यक्ति एकपछि अर्को ब्राउज गर्दै एउटा सिनेमा पूरा हेर्दैन। किनकी अब त्यत्रो धैर्यता छैन।
समय लिएर खाना खाने, परिवारका सदस्य सँगै बसेर खाने, एक अर्कालाई समय दिने फुर्सद छैन। हतार छ, आफ्नै सोच छ। एक अर्काको ख्याल गर्ने समय नै छैन। परिवार सँगै हुन कुनै छुट्टी र कार्यक्रमको तय गर्नुपर्ने समय आएको छ। यसलाई समयानुकुल परिवर्तन र विकास भनेर मानिदिनुपरेको छ।
प्रविधि र स्वास्थ्य
प्रविधिको विकासले स्वास्थ्य सम्बन्धी चेतना र विभिन्न जटिल रोगहरूको उपचार समेत सम्भव भएका छन्। तर, प्रविधिको दुरूपयोगले प्रविधि नै रोग पनि बन्न पुगेको छ भन्दा पनि अनुपयुक्त नहोला।
धेरै समय मोबाइल स्क्रिन हेर्दा हुने शारीरिक अस्वस्थता, सामाजिक सञ्जालका अनावश्यक सामग्रीले सिर्जना गरेका नकारात्मक धारणा र यसले मनोभावनामा पर्ने प्रतिकूल प्रभाव अनि सामाजिक र राजनीतिक क्षेत्रमा हेर्ने नकारात्मक धारणा र त्यसले निम्त्याउने सामाजिक अस्वस्थतालाई ख्याल गरिएन भने प्रविधिको दुरूपयोग भएको मान्नुपर्छ।
प्रविधिको सही सदुपयोग गर्ने हो भने त्यस्ता सामग्री र सूचनालाई प्राथमिकतामा राख्नुपर्छ, जसले आध्यात्मिक ज्ञानको विकास गरोस् र प्रेरणाको स्रोत बन्न सकोस्। त्यस्ता सूचना, समाचार र उपयोगी सामग्रीको प्रयोग होस्, जसले हौसला, शान्ति, प्रेम र सदाचारको विकास होस्।
प्रविधिको विकासले स्वास्थ्य सम्बन्धी चेतना र विभिन्न जटिल रोगहरूको उपचार समेत सम्भव भएका छन्। तर, प्रविधिको दुरूपयोगले प्रविधि नै रोग पनि बन्न पुगेको छ भन्दा पनि अनुपयुक्त नहोला।
सामाजिक सञ्जालमै सबै चिज उपलब्ध छन् भने हाम्रो प्राथमिकतामा जीवनलाई विधायकतातिर लैजाने किसिमका सामग्री परून्। प्रविधि हाम्रो जीवनमा सहजताको माध्यम बनोस् र हामीले प्रविधिलाई प्रयोग गरी स्वस्थ रहन सकौं। न कि, प्रविधिले हामीलाई प्रयोग गरोस् र हाम्रो जीवन अस्त व्यस्त बनोस्।
प्रविधिले मानवीय जीवनमा सघाउ पुर्याउनुपर्ने हो। तर, मानव मनोविज्ञानको कारण मानिसले प्रविधिलाई सघाउ पुर्याइरहेको छ। प्रविधिले मानव मनोविज्ञान र स्वास्थ्यलाई सहज र जटिल दुबै बनाउन सक्छ। त्यसैले रोजाइ आफ्नै हातमा छ।
प्रविधिको विकाससँगै मानव मनोविज्ञानप्रतिको हाम्रो बुझाइ पनि उत्तिकै आवश्यक छ। यी दुईबिचको खाडल कम गरेर मात्र हामी वास्तवमै मानवताको सेवा गर्ने प्रविधिहरू सिर्जना गर्न सक्छौं। (पाण्डे स्वतन्त्र सामाजिक परामर्शदाता हुन्)
प्रतिक्रिया