मोदीसँग नायडु र नीतिशको सम्बन्ध : एकले मागेका थिए राजीनामा, अर्काले तोडेका थिए १७ वर्ष लामो सम्बन्ध | Khabarhub Khabarhub

मोदीसँग नायडु र नीतिशको सम्बन्ध : एकले मागेका थिए राजीनामा, अर्काले तोडेका थिए १७ वर्ष लामो सम्बन्ध


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


22.2k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली : भारतीय प्रधानमन्धी नरेन्द्र मोदीलाई तेस्रो कार्यकाल सरकारको नेतृत्व गर्न नीतिश कुमार र चन्द्रबाबु नायडुको साथ अनिवार्य भएको छ । किनभने सन् २०१४ र २०१९ को लोकसभा निर्वाचनमा एकल बहुमत ल्याएको भारतीय जनता पार्टी (भाजपा) यसपल्ट २७२ सिटको आँकडा पार गर्न असफल भयो ।

भारतीय संसद्को तल्लो सदन ५४३ सदस्यीय छ । जसमध्ये २७२ जना सरकार गठन गर्ने दलको साथमा हुनु अनिवार्य छ । भाजपासँग यसपटक २४० सिट छ । यद्यपि, भाजपा नेतृत्वको गठबन्धनसँग २९२ सिट छ, जुन बहुमतभन्दा २० धेरै हो ।

एनडीएको सबैभन्दा ठूलो पार्टी भाजपा हो, दोस्रोमा चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टी (टीडीपी) हो । ऊसँग १६ सांसद छन् । तेस्रोमा नीतिश कुमारको जनता दल युनाइटेड (जेडीयू) छ । जेडीयूसँग १२ सिट छन् । अर्थात्, नायडु र नीतिशसँग कुल २८ सांसद छन् । एनडीए गठबन्धनको सरकारलाई निरन्तरता दिन मोदीका लागि दुवै नेताको साथ अनिवार्य चहिन्छ । अहिलेसम्म टीडीपी र जेडीयू दुवैले एनडीएमै रहने बताइरहेका छन् ।

नायडु र नीतिश दुवैको सम्बन्ध प्रधानमन्त्री मोदीसँग उतार–चढावयुक्त छ । दुवैजना यसअघि भाजपा नेतृत्वको गठबन्धन एनडीएको साथ छोडिसकेका नेता हुन् । उनीहरु १८ औँ लोकसभा निर्वाचनको केही समयअघि मात्रै एनडीए गठबन्धनमा फर्किएका थिए ।

मोदी–नीतिश जोडी

मेदी र नीतिशबीचको सम्बन्धमा उतार–चढाव देखिएको उहिल्यैदेखि हो । नीतिशलाई मोदीको साथले आफ्ना मतदाता भड्किने सन्त्रास थियो । त्यहीकारण २००९ को लोकसभा निर्वाचनमा उनले मोदीलाई बिहारमा चुनावी प्रचार गर्न दिएनन् । त्यसपछि २०१० मा सम्पन्न विधानसभा निर्वाचनमा पनि नीतिशले मोदीलाई आफ्नो गृहराज्य बिहारमा चुनावी प्रचार गर्न दिएका थिएनन् ।

२०१० जुनमा बिहारको पटनामा भाजपाको राष्ट्रिय कार्यकारीणी बैठक डाकिएको थियो । बैठकअगावै पत्रिकाहरुमा मोदी र नीतिशले एकअर्कासँग हात मिलाएको तस्बिरलाई विज्ञापनका रुपमा प्रकाशित गरिएको थियो । जसकारण नीतिश यतिसम्म रिसाए कि उनले भाजपा नेताहरुका लागि आफूले आयोजना गरेको रात्रिभोज नै रद्द गरिदिएका थिए ।

उनले कोशी नदीका बाढीपीडितहरुका लागि गुजरात सरकारले दिएको ५ करोड आर्थिक सहायताको चेकसमेत फिर्ता गरिदिएका थिए ।

मेदी र नीतिशको चिसो सम्बन्ध २०१३ मा छताछुल्ल भएको थियो । २०१३ सेप्टेम्बरमा भाजपाले मोदीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्दा उनले आपत्ति जनाएका थिए ।

२०१३ जुनमा नीतीशले एनडीए गठबन्धनसँगको सम्बन्ध तोडेका थिए । भाजपा र जेडीयू १७ वर्षदेखि साथै थिए । तत्कालीन गठबन्धनको साथ छाड्ने घोषणा गर्दै नीतिशले भनेका थिए, ‘हामी आफ्नो मूल सिद्धान्तमा सम्झौता गर्न सक्दैनौँ । हामीलाई गठबन्धनबाट अलग हुन बाध्य पारियो ।’

२०१४ को लोकसभा निर्वाचनमा नीतिश कुमार एक्लै प्रतिष्पर्धामा उत्रिएका थिए । जसका कारण उनको दल जेडीयूलाई ठूलो क्षति भएको थियो । पराजयको नैतिक जिममेवारी लिँदै २०१४ मेमा उनले मुख्यमन्त्री पदबाट राजीनामा गरेका थिए ।

तत्पश्चात २०१५ को विधानसभा निर्वाचन उनले लालु यादवको दल आरजेडीसँग मिलेर लडेक । उनीहरुको जोडी बिहारमा चल्यो, जेडीयू–आरजेडी सरकार बन्यो । तर, दुई वर्षपछि २०१७ जुलाईमा नीतिश ‘युटर्न’ हुँदै भाजपा नेतृत्वको गठबन्धन एनडीएमै फर्किए ।

एनडीएमा फर्किएपछि २०१९ मा सम्पन्न लोकसभा निर्वाचन र २०२० मा सम्पन्न विभानसभा निर्वाचनमा उनले भाजपासँग मिलेर लडे । २०२० मा बिहारमा एनडीएको सरकार बन्यो । तर, त्यसको दुई वर्षमै अर्थात् २०२२ मा नीतिश फेरि भाजपालाई धोका दिँदै आरजेडीसँग मिलेर सरकार बनाए । तर फेरि उनी गत जनवरीमा ‘युटर्न’ लिएर आरजेडीलाई धोका दिँदै एनडीएमा फर्किएका थिए ।

मोदी–नायडु मित्रता
नीतिश कुमारको जस्तै मोदी–नायडु मित्रता पनि उतार–चढावमै बितेको देखिन्छ । २०१८ सम्म नायडुको दल टीडीपी भाजपा नेतृत्वको एनडीए गठबन्धनको सदस्य थियो । त्यही वर्ष एनडीएबाट अलग भएपछि टीडीपीले २०१८ मार्चमा मोदी सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर, उक्त प्रस्ताव फेल भयो ।

२०१९ मा सम्पन्न लोकसभा निर्वाचन दौरान मोदी र नायडुबीच कयौँ पटक एकअर्कालाई दोषरोपण गर्ने होडबाजी चल्यो । गठबन्धनबाट अलग भएका कारण प्रधानमन्त्री मोदीले नायडुलाई ‘युटर्न बाबु’ को संज्ञा दिए ।

यतिमात्रै नभएर २००२ को गुजरात दंगामा मोदीको राजीनामा माग्ने नेतामध्ये नायडु एक थिए । तत्कालीन समयमा मोदी गुजरातका मुख्यमन्त्री थिए । हिन्दु–मुस्लिम दंगाका कारण मोदीमाथि राजीनामो दबाब बढेको थियो ।

२००२ को गुजरात दंगाको जिकिर गर्दै २०१९ को एक चुनावी सभामा नायडुले भनेका थिए, ‘म नै पहिलो व्यक्ति हुँ, जसले मोदीको राजीनामा माग्यो । त्यसपछि कयौँ देशहरुले उनलाई इन्ट्रिी बन्द गरेका थिए । प्रधानमन्त्री बनेपछि उनी एक पटक अल्पसंख्यकमाथि आक्रमण प्रयास गरिरहेका छन् ।’

यद्यपि, २०१९ को लोकसभा निर्वाचन र आन्ध्र विधानसभामा पराजय भोग्नु परेपछि नायडुले कयौँ पल्ट एनडीएमा भित्रिने प्रयास गरेका थिए । आफूविरुद्धको अभिव्यक्तिका कारण मोदी टीडीपीलाई एनडीएमा भित्र्याउन अनिच्छुक थिए । तर, अभिनेताबाट राजनीतिमा गएका पवन कल्याण प्रधानमन्त्री मोदी र नायडुबीचको तिक्तता मेटाउने कसी बन्न पुगे । जसकारण भर्खरै सम्पन्न लोकसभा निर्वाचनका लागि नायडु मार्च महिनामा एनडीएमा भित्रिए ।

मोदीलाई नायडु–नीतिश किन चाहियो ?

भारतको केन्द्र सरकार गठनका लागि २७२ सिट आवश्यक छ । भाजपाको २४०, टीडीपी १६ र जेडीयूको १२ सिट मिलाएर एनडीएको आंकडा २६८ पुग्छ । बाँकी २४ सिट अन्य पार्टीहरुको छ । यदि नायडु र नीतिशमध्ये कुनै एकले पनि साथ छाडे एनडीए बहुमतको सरकार बनाउन त सफल होला तर कमजोर बन्ने छ ।

यदि टीडीपीले साथ छाडे एनडीएसँग २७६ सांसद बच्ने छन् । यस्तै यदि नीतिशको जेडीयूले साथ छाडे एनडीएसँग २८० सिट हुने छ । दुवै स्थितिमा एनडीएसँग बहुमत त रहन्छ तर सरकार कमजोर र विपक्षी इन्डिया गठबन्धन अझै मजबुत हुने छ।

तर, दुवै पार्टीले साथ छाडे एनडीएले बहुमत गुमाउने छ । टीडीपी र जेडीयूसँग २८ सांसद छन् । दुवै नेताले एनडीएको साथ छाड्नु भनेको ऊसँग २६४ सिट बच्नु हो । अर्थात् बहुमतभन्दा ४ सिट कम हुँदा मोदीलाई तेस्रो कार्यकालको सुरुवात नै दाँतमा ढुंगो जस्ते हुनेछ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ७ : ११ बजे

शालीनदीमा माधवनारायण स्वस्थानी व्रत मेला (तस्बिरहरू)

काठमाडौं- पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाका दिनसम्म एक महिना 

क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु

काठमाडौं– बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक

पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध

सिमकोट– माघः सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१

५५ वर्षीया महिलाको शव नग्न अवस्थामा भेटियो

दमक– झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा

जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए

जुम्ला– तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका