अर्थसंक्षेप : सुप्रिम सहकारीबाट गोर्खा मिडियामा ६३ करोड बढी ऋण प्रवाह, विनियोजन विधेयक पारित  | Khabarhub Khabarhub

अर्थसंक्षेप : सुप्रिम सहकारीबाट गोर्खा मिडियामा ६३ करोड बढी ऋण प्रवाह, विनियोजन विधेयक पारित 


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी छानबिन समितिले पोखरास्थित सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जीबी राई र रवि लामिछाने संलग्न कम्पनीमा प्रवाह भएको भेट्टाएको छ । अर्थमन्त्री वर्षमान पुनले नेपालको भौगोलिक अवस्थिति अनुसारका अन्य देशहरूको अनुभव लिएर छिमेकी मुलुकसँगको नीति बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ सर्वसम्मत रूपमा पारित भएको छ । सिराहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । रोहिणी गाउँपालिका–७ लठ्टाबाट ७  तोला १०.७ लाल तौलको सुन जस्तो देखिने पहेँलो धातुसहित भारत महाराजगंज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरू : 

जीबी र रवि संलग्न कम्पनीमा मात्रै सहकारीबाट ६३ करोड ऋण लिएको भेटियो

सहकारी छानबिन समितिले पोखरास्थित सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जीबी राई र रवि लामिछाने संलग्न कम्पनीमा प्रवाह भएको भेट्टाएको छ । समितिका संयोजक सूर्य थापाले जीबी राई र रवि लामिछाने संलग्न कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको भेटिएको बताए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेटवर्कमा मात्रै १० करोड ९९ लाख रकम प्रवाह भएको उनले बताएका छन् ।

संसदीय समितिले शुक्रबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख श्यामलाल ज्ञवाली र अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसँग छलफल गरेको थियो । छलफलमा प्रहरी अधिकारीहरूले देशभरि ५५ हजार ४१० जनाले ५०३ वटा सहकारीसम्बन्धी उजुरी दर्ता गरेको बताएका थिए। तीमध्ये हालसम्म ९८ उजुरीमा अनुसन्धान सकेर मुद्दा चलाइएको छ ।

बजेटमार्फत कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने नीति लिएको छु : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले नेपालको भौगोलिक अवस्थिति अनुसारका अन्य देशहरूको अनुभव लिएर छिमेकी मुलुकसँगको नीति बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित कृषि क्षेत्रको रूपान्तरणमा नेपाल भन्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले नेपालको विश्वसँग सहजै अन्तरक्रिया गर्ने सम्भावना कम रहेकाले दुई छिमेकी मुलुकसँग अन्तरक्रिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै अन्य देशहरूको अनुभव लिएर सोही अनुसारको राजनीतिक संरचना, विदेश नीति, अर्थनीति र विकास नीति बनाउनुपर्नेमा जोड दिएका छन्  ।

उनले ६० प्रतिशत भन्दा बढी जनसंख्या आबद्ध रहेको नेपालको कृषि क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा भने २४ प्रतिशतमा सीमित हुन पुगेको बताए । उनले देशको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा मुख्य योगदान सेवा क्षेत्रको ६० प्रतिशत हाराहारी रहेको र औद्योगिक क्षेत्रको निकै न्यून रहेको भन्दै कृषिको आधुनिकीकरणमार्फत कृषिको श्रम शक्तिलाई औद्योगिक क्षेत्रमा आबद्ध गराउनुपर्ने धारणा राखे ।

उनले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषण गरिएको कृषि लगानी दशक विगत देखिको नै योजना भएकाले र त्यसलाई निरन्तरता दिएको भन्दै भोलिका दिनमा सरकार परिवर्तन भए पनि नीति तथा योजनालाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पुनले बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए । उनले सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने बताए ।

राष्ट्रिय सभाबाट विनियोजन विधेयक सर्वसम्मत पारित

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ सर्वसम्मत रूपमा पारित भएको छ । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरिएको हो ।

त्यसअघि विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

त्यस्तै बैठकमा बजेट आश्रित तीन वटा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको छ । राष्ट्रियसभाको अर्को बैठक आइतबार बोलाइएको छ ।

नवराजपुरका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सिराहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार कुसियैत, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूसँग जनही १२ लाख ७ हजार २६० रुपैयाँ बिगो, जरिवाना र सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए । आर्थिक वर्ष २०७७÷७८ मा नवराजपर गाउँपालिका–२ मझौरा हुँदै बरगाछीदेखि पटनासम्मको बाटो ग्राभेल गर्दा भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरिएको घिमिरेले बताए ।

बाटो ग्राभेल गर्दा सम्झौता र नापी किताबमा उल्लेख भए बमोजिम फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गराएको आरोप उनीहरूमाथि थियो । उजुरीमाथि अनुसन्धान गर्दा ग्राभेल गर्दा वास्तविकभन्दा मूल्यांकन बढाएर झुटो भर्पाई गरी भुक्तानी गरेर प्रतिवेदन तयार गरेको पुष्टि भएको घिमिरेले बताए ।

कृष्णपुरका किसानलाई अनुदानमा ‘मिनीटिलर’ वितरण

व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ । वडा कार्यालयको तीन लाख र किसानको तीन लाख गरी छ लाखमा सो औजार खरिद गरी किसानलाई उपलब्ध गरिएको हो । कृषक समूह र कृषि फार्ममार्फत मिनीटिलर खरिद गरी सात जना किसानलाई उपलब्ध गराइएको कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउदले बताए ।

‘व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा मिनीटिलर उपलब्ध गराएका छौँ, किसानको कार्यक्षमता वृद्धि गर्न मिनीटिलर वितरणको कार्यले सघाउ पुग्ने विश्वास छ’, उनले भने । वडाका व्यावसायिक खेती गर्ने सबै किसानलाई यस कार्यक्रममा समेट्न नसकिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षमा चालु आवमा अनुदानमा मिनीटिलर पाउन नसकेलाई उपलब्ध गराउने योजना रहेको बताए ।

किसानलाई व्यावसायिक बनाउनका लागि वडाका तर्फबाट बीउबिजन, पोलिहाउस, किटनाशक, स्प्रे, आधुनिक मेसिन, यन्त्र वितरण गरिँदै आएको र आगामी योजनामा पनि समेट्ने उनले बताए ।

उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ ।  एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पु¥याएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा ३६ लाख लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गत वर्ष वैशाख ५ गतेदेखि सेवा सुरुआत गरेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

कृषि एम्बुलेन्समार्फत हाल पोखरा महानगरपालिका वडा नं २२ पुम्दी भुम्दी, वडा नं २३ चापाकोट, घाँटीछिना, वडा नं २८ माझठाना, वडा नं ३३ भरतपोखरीको बागमारा, वडा नं २५ झिर्झिकालगायत स्थानबाट कृषिजन्य उत्पादन निःशुल्क ढुवानी भइरहेको छ । मागअनुसार कृषि एम्बुलेन्सलाई विभिन्न ठाउँमा पुर्याउने गरिएको जनाउँदै ग्रामीण क्षेत्रबाट ल्याइएका कृषिजन्य उत्पादन बारअनुसार फरक–फरक ठाउँमा लगेर बिक्रीवितरण गर्ने गरिएको उनले बताए ।

कृषि उपज आइतबार पोखराको वडा नं ३ नदीपुर, मंगलबार वडा नं ७ स्थित मुनाबजार, बुधबार मुस्ताङचोकस्थित लोकसेवा आयोग कार्यालय अगाडि, बिहीबार सिद्धार्थ चोकस्थित श्री कम्लेक्स, शुक्रबार वडा नं ४ गैरापाटनस्थित वडा कार्यालय अगाडि र शनिबार मुस्ताङचोकस्थित लोकसेवा आयोगको कार्यालय अगाडि बिक्री वितरण गर्ने गरिएको छ । गाउँबाट आएको ताजा तरकारी लिन सर्वसाधारणको आकर्षण बढिरहेको छ ।

किसानबाट ल्याइएको उत्पादन उनीहरूसँग खरिद गरेको मूल्यको २० प्रतिशतभन्दा बढी नबढ्ने गरी उपभोक्ताले खरिद गर्न पाउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ । यस अघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनचाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ

रोहिणी गाउँपालिका–७ लठ्टाबाट ७  तोला १०.७ लाल तौलको सुन जस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना, ८ केजी ५ सय १ ग्राम चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना र ३४ ग्राम तौलको पहेँलो धातुले बनेको २ थान छप्का तथा ६ थान कानको रिङ सहित भारत महाराजगंज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त टोलीले युपि ५६ एडि ८०३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको उक्त गरगहना फेला पारी मोटरसाइकलमा सवार सुनारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : २१ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय