काठमाडौं– तीजका गीत कस्ता हुनुपर्छ ? बदलिँदो परिवेशमा मनाउने तरिका परिवर्तन भएको चाड तीजको गीतका शब्द चयन कस्तो हुनुपर्छ ? अथवा तीजको झल्को दिने सबै तीजका गीत हुन् ? कस्ता गीतलाई तीजको गीत भनेर दाबी गर्ने ? यी प्रश्नको जवाफ सर्जकहरूले ठोस ढङ्गले बुझ्नु र बुझाउनुपर्ने बेला आएको छ ।
यसै पनि तीजको छेकोमा अन्य चाडको तुलनामा लोक गीत बढी निस्कने गर्छन् । अहिले तीजलक्षित गीतहरू युट्यूबमा धमाधम सार्वजनिक हुँदैछन् । विवादमा पर्नेको संख्या पनि निकै छ ।
यतिसम्म कि– तीज आउन एक महिना बाँकी छ, एक दर्जभन्दा बढी गीत आलोचनाका शिकार भएका छन् । पाँच गीतमा प्रतिबन्ध लागेको छ ।
मौलिक गीतहरूको प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्ने उद्देश्यले स्थापना गरेको भनिएको संस्था ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले तीजलक्षित ५ गीतमा प्रतिबन्ध नै लगाएको हो ।
प्रतिबन्ध लगाइएका गीतहरू हुन्– कविता खत्री र भागिरथ चलाउनेको आवाजमा रहेको ‘दिउँला बरिलै’, प्रिती आलेको आवाजमा रहेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको आवाजमा रहेको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरी बिमर्शीको आवाजमा रहेको ‘बिस्ताराले पोल्यो’ तथा प्रिती आले र प्रकाश शर्माको स्वर रहेको ‘चिर्यस बियर’ !
सर्जकले ‘बिस्ताराले पोल्यो’ र ‘चियर्स बियर’लाई तीजको गीत भनेर दाबी गरेका छैनन् । यद्यपि यी पनि द्विअर्थी शब्दका कारण दर्शकबाट आलोचित गीत हुन् । यी गीतमा प्रतिबन्ध लाग्नुको कारणहरू– द्विअर्थी शब्द, गलत अर्थ झल्काउने शारीरिक हाउभाउ र नग्नता नै हुन् ।
यी बाहेक अन्य तीजका गीतहरूको विवाद छन् । कुनै गीतका शब्द यौवनले भरिएका छन् भने केही गीतका भिडियोका दृश्य !
प्रतिबन्धको अर्थ के ?
पछिल्लो पटक प्रतिबन्धित यी गीतका उदाहरण लिँदा प्रतिबन्धको तात्विक असर देखिँदैन ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सञ्चारमाध्यमलाई विकृतिजन्य यी गीतहरू भनेर किटान गरेर स्थान नदिन पत्राचार गरेको सचिव कलम सरगम बताउँछन् ।
तर, कुनै संस्थाको प्रतिबन्ध नै ती गीतहरू प्रचारको माध्यम बन्छन् । प्रतिबन्धको समाचार अथवा चर्चाले ती गीत प्रचार भएकै हुन्छन् । लोक गीतको सेन्सर गर्ने सरकारी निकाय छैन । प्रतिबन्धित गीत सामाजिक सञ्जालबाट हटाउन सर्जकलाई दबाब दिन सक्ने हैसियतका संस्था छैनन् ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा जारी प्रेस विज्ञप्ति ।
संस्थाका सचिव सरगम भन्छन्, ‘सरकारी निकाय नभएकाले लोक गीतमा विकृति छिर्न नदिने हामीले तदारुकता देखाउनु पर्ने बाध्यता आएको हो । यो अवस्थामा एक्सन लिन सक्ने सरकार मातहतको निकाय चाहिन्छ भन्ने हाम्रो माग हो ।’
अर्कोतर्फ गीत प्रतिबन्ध हुँदाको गम्भीर अवस्थामा पनि सर्जकहरूको व्यवसायिक पक्षमा खासै असर पारेको पाइँदैन । त्यसका उदाहरणहरू हुन्- ज्योति मगर, दुर्गेश थापा, शिव हमाललगायत !
प्रतिबन्धले उल्टै गायक–गायिक र गीतलाई चर्चामा ल्याउँछ । फलतः उनीहरूको माग मेला महोत्सवका प्रस्तुतिका लागि हुने गर्छ । व्यवसायिक पक्ष अझ सुदृढ हुन्छ भन्दा फरक पर्दैन ।
सचिव सगरम पनि यी तथ्यलाई अस्वीकार गर्दैनन् । ‘जिम्मेवार संस्था आयोजना गर्ने कार्यक्रममा पनि गीत प्रतिबन्धमा रहेका कलाकारले प्रस्तुती दिएको पाइन्छ,’ उनी भन्छन्, ‘गीतमा विकृती भित्र्याउने सर्जकहरूलाई उहाँहरूले सोचर निर्णय लिन आवश्य छ ।’
यद्यपि आफूहरूको संस्था सर्जकको सम्पूर्ण पाटोमा हस्तक्षेप गर्ने हैसियत नराख्ने बताउँदै उनी गीत प्रतिबन्धमा परेका कलाकारको ‘कन्सर्ट’ जोखिमपूर्ण नै हुने बताउँछन् ।
उनी थप्छन्, ‘विगतामा हामीले कलाकारलाई नै मञ्चमा आक्रमण भएको पाएका छौं । त्यसको कारण के हो ? गीत र भिडियोमा अश्लीलता कारण दर्शक अनियन्त्रित पनि हुन्छन् ।’
विकृति रोक्ने उपाय के ?
कुनै पनि विधा अथवा अझ मौलिक गीतमा अश्लीलता समावेश हुनु पक्कै पनि राम्रो विषय होइन । यसका लागि नियमन गर्ने सरकारी निकाय खडा हुन आवश्यक छ । अन्यथा गैरसरकारी संस्थाले प्रतिबन्ध लगाउँदा किचलो निम्तने सर्जहरू नै बताउँछन् ।
गायक तथा संगीतकार आलोक श्री भन्छन्, ‘सरकारी निकायले गीतहरूमा सेन्सरको अवधारणा ल्याउनुपर्छ । गैरसरकारी संस्थाले प्रतिबन्ध लगाउँदा विकृति निर्मूल हुँदैन ।’
अझ; पुस्ताअनुसार अश्लीलताको बुझाइ फरक हुने भएकाले नियमनको पाटो गहन रहेको उनको बुझाइ छ । उनी थप्छन्, ‘के अश्लील मान्ने ? कुनै वयस्क मानिसलाई अश्लील लागेको गीत किशोर पुस्तालाई नलाग्न सक्छ । यो जटिल विषय छ । सरकारी नियमन नै आवश्यक छ ।’
यद्यपि आफू विकृतिलाई बढवा दिने पक्षमा नरहेको बताउँदै उनी सर्जकले नै नैतिक रूपमा जिम्मेवार भएर सिर्जना गर्दा उचित हुनेमा जोड दिन्छन् ।
यता मौलिक गीतहरूको प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्ने उद्देश्यले संगीत क्षेत्रमा रहेका व्यक्तिहरूले स्थापना गरेका संस्थाका पदाधिकारीहरूको तर्क छ– ‘सरकारी नियमन छैन । तर यही क्षेत्रमा रहेका हामी पनि त आफ्नो क्षेत्र विकृत हुन चुप बस्नु भएन ।’
कम्तिमा पनि सर्जकहरूलाई नैतिक जिम्मेवारमा चेत जगाउन आफूहरू लागि पर्ने उनीहरूको बताउँछन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगम भन्छन्, ‘दर्शकका लागि गीत दिने सर्जकहरू त जिम्मेवार हुनैपर्छ । कम्तिमा सेल्फ सेन्सरमा नैतिकता त देखाउनुपर्छ ।’
‘सेल्फ सेन्सर’मा समस्या हुने सर्जकले राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल जस्ता विकृतिजन्य गीतहरूको खबरदारी गर्ने संस्थाहरूको सहयोग लिन सक्ने बाटो रहेको उनी बताउँछन् ।
प्रतिक्रिया