राजनीति

राप्रपाका युवाले गरेका थिए सांसद सोवितासँग गलफत्ती, २ मिनेटको भिडियोमा के छ ?

By खबरहब

August 05, 2024

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६ स्थित मनकामनामा पुग्दा स्थानीय युवाहरूसँग भनाभन र गलफत्ती भएको छ ।

गौतमले यो गलफत्तीबारेमा सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा कुरा उठाइन् । आफूलाई आइतबार साँझ गाँजा र मादक पदार्थ लिएका युवाहरूको समूहले दुर्व्यवहार गरेको दाबी उनले गरिन् ।

‘पहिरो हेरेर फर्किने क्रममा युवा साथीहरू त्यहाँको सडकमा चिया पिइरहेका थिए । १५/२० जना युवा साथीहरू जम्मा भएका थिए। कोही गाँजाको नशामा र रक्सीले लठ्ठ भएका थिए’, उनले भनिन्, ‘बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने, हामीले बोलाएको ठाउँमा नआउने भनेर दुर्व्यवहार गरे । मलाई घेर्ने काम भयो । १० जनाजति एकै स्वरमा कराएर के गरिस् फोहोरी भन्दै फोहोरी शब्द प्रयोग गरेर गाली गरे ।’

बाढी-पहिरोले पुर्‍याएको क्षतिको अनुगमनका क्रममा पुगेका बेला आफूलाई दुर्व्यवहार भएको दाबी उनले सोमबारको संसद् बैठकमा गर्नुअघि नै उनी र युवाहरूबीचको गलफत्तीको भिडियो सामाजिक सञ्जजालमा भाइरल भएको छ ।

उनले आफूलाई गाली नगर्न भनेर अनुरोध गर्दा पनि नसुनिएको बताएकी छन् । तर १ मिनेट ५३ सेकेन्डको भिडियोमा उनलाई अपशब्द प्रयोग गरेको देखिँदैन । यद्यपि उनले ५/७ मिनेट विवाद हुँदा आफूलाई अपशब्दसहित गालीगलौज र दुर्व्यवहार गरिएको जिकिर संसदमा गरेकी छन् ।

‘मैले नम्र भएर बोल्दा पनि चर्किरहेका थिए। मलाई दुर्व्यवहार गरे । दुर्व्यवहार गर्न उनीहरू बाटो ढुकेर बसेका थिए । मलाई तर्साए । राष्ट्रिय दलकै युवा नेताको नेतृत्वमा ममाथि दुर्व्यवहार भएको छ’, उनले भनिन्, ‘यो हर्कतको जिम्मा उनी आवद्ध त्यो राष्ट्रिय दलले लिने कि नलिने ?’

आखिर ती युवा कुन दलका थिए ?

सोविताले संसद्‍मा बोल्ने क्रममा आफूलाई एउटा राष्ट्रिय दलसम्वद्ध युवाहरूले दुर्व्यवहार गरेको जिकिर गरेकी छन् ।

उनले फेसबुक प्रोफाइल हेर्दा उक्त गलफत्तीको भिडियो, प्रोफाइल र कभर फोटोका आधारमा ती युवा राष्ट्रिय दलका सदस्य रहेको जिकिर गरेकी थिइन् ।

सोविताको दाबीअनुसार त्यो विवादका क्रममा नदेखिएका तर फेसबुकमा भिडियो अपलोड गरेका युवा हुन् सुदीप फुयाँल । उनी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता रहेको फेसबुक प्रोफाइलले देखाउँछ ।

फुयाँलले प्रोफाइलमा राप्रपाको चुनाव चिह्न हलो काँधमा बोकेको फोटो राखेका छन् । त्यस्तै कभरमा अध्यक्ष लिङ्देनसँगको फोटो छ । तर सोवितासँगको विवादमा उनी पनि थिए भन्ने भिडियोले पुष्टि गर्दैन । यद्यपि सोविताले ५ देखि ७ मिनेट विवाद भएको र अपशब्द पनि प्रयोग भएको बताइरहँदा सुदीपले भने पूरै हेर्नुस् भनेर केबल १ मिनेट ५३ सेकेन्डको मात्रै भिडियो फेसबुक र युट्युबमा पनि हालेका छन् ।

उनले उक्त प्रकरणको भिडियोमा आफ्नै क्षेत्रका युवाहरूले समस्या राख्दा सोविता भागेको दाबी गरेका छन् । ‘आफ्नै क्षेत्रका युवाहरूले समस्या राख्दा यसरी तर्केर हिँडिन् काठमाडौं क्षेत्र नं २ की संघीय सांसद (सोविता गौतम)’, उनले उक्त घटनाबारे यति लेखेका छन् ।

सोविताले भने जस्तै स्थानीयबासीले उनलाई घेरेर प्रश्न गरेको भिडियोमा देखिन्छ । उनी आफूलाई घेरेका युवाहरूसँग सवाल-जवाफमा पनि उत्रिएकी छन् । उनले त्यही प्रसंगामा गाँजा खाएका र मदिराले मातेका युवाहरूले घेरेर दुर्व्यवहार गरेको उनले सोमबार बसेको संसद् बैठकमा बताइन् ।

यस्तो छ १ मिनेट ५३ सेकेन्डको सवाल-जवाफ

सोविता : म गएर कुरा गर्छु युवा : तपाईं गएर आउनेसम्म कुर्नुपर्ने हामीले, तपाईंलाई माथि कसले पुर्‍याएको ? सोविता : तपाईं एकछिन पख्नुस् म बोल्छु पहिले यसैबीच भिडियो लिइरहेका युवातिर स्वकीय सचिव आउर भिडियो नखिच्न भन्छिन् ।र युवा : अगाडि नजितुन्जेल हाम्रो लागि आउने भन्ने अर्का युवा : होइन नि हामीले त नेतालाई पो गाली गरेको त, उहाँलाई होइन नि अर्का युवा : त्यसो भए हामी केही बोल्दैनौँ, झन्डा बोकेर मात्रै हिँड्छौँ अर्का युवक : हामी भोट मात्रै माग्न हिँडिदिन्छौँ (नमस्कार गर्दै) सोविता : यस्तो कुराले देश बन्दै न क्या युवा : पहिले गाउँ घर बनाउनुपर्‍यो हाम्रो ठाउँ बनाउनुपर्‍यो । युवा : तपाईंले त नम्र भएर बोल्नुपर्‍यो नि सोविता : त्यो होइन गाउँ बनाउन घर बनाउन तपाईं हामी त बस्नुपर्‍यो युवा : मूल कुरा पहिले त हामी राम्रो हुनुपर्‍यो नि सोविता: तपाईंले यही अपेक्षा गलत गर्नु हुन्छ, तपाईंले ढुंगा हाने त मलाई नि लाग्छ नि । तपाईंहरूले मिठो बोल्नुपर्यो । युवा : मिठो बोलेर काम भएन नि, मिठो बोल्ने भए त केपीको समर्थन गरिजान्थ्यौँ नि, रेल ल्याउँछु भन्छन् के ल्याउँछु भन्छन् । अर्का युवा : हामीले तपाईंलाई भेट्न खोजेको हो नि ! सोविता : तपाईंहरूलाई शुभकामना छ साथीहरू, राम्रो गर्नु भयो (यति भनेर बाटो लाग्छिन्) एकजना युवा : कतिजनालाई रोजगारी दिनु भयो म्याम तपाईं सांसद भएदेखि ? सोविता : रोजगारी मैले….. सोविताकी स्वकीय : तपाईंहरू अफिसमा आउनुस् न ।

आफूलाई दुर्वयवहार गरिएको भिडियो काटेर अन्तिमको सानाे क्लिप मात्रै सामाजिक सञ्जालमा अपलोड भएको भन्दै शुरुमा आफूमाथि दुर्व्यवहारको चक्रब्युह रचिएको र सुरक्षामा चुनौती महसुस भएको बताएकी छन् ।

यो पनि- सोविताको दाबी : बाटो छेकेर राष्ट्रिय दलकै कार्यकर्ताले तर्साए, दुर्व्यवहार गरे