काठमाडौं– लामो समय फिल्मबाट विश्राम लिएका नायक राजेश हमाल पुनः ठूलो पर्दामा फर्किने भएका छन् । उनको कमब्याक रहने फिल्मको नाम भने घोषणा भएको छैन ।
हमालले दिवाकर भट्टराईको निर्देशन रहने एक ‘अनटाइटल’ फिल्मका लागि आइतबार सम्झौता गरेका हुन् । सम्झौतापछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’
हमाल पछिल्लो फिल्म ‘सकुन्ता’मा देखिएका थिए । सो फिल्म प्रदर्शनमा आएको करिब ८ वर्ष भएको छ । उनी म्युजिक भिडियोमा र व्यवसायिक विज्ञापनमा अभिनय गर्दै आएका छन् ।
विभिन्न सार्वजनिक कार्यक्रममा उनले उपयुक्त स्क्रिप्ट खोजीमा फिल्मबाट विश्राम लिएको बताउँदै आएका थिए ।
निर्माण पक्षकाअनुसार केही दिनमा फिल्मको नाम र अन्य कलाकार सार्वजनिक हुनेछ । भदौ महिनाबाट छायांकनमा निस्कने तयारीमा निर्माण पक्ष रहेको छ । फिल्म एक्सन प्रधान रहेको निर्देशक भट्टराईको भनाइ छ ।
निर्देशक भट्टराईका अनुसार कथा मन परेका कारण हमाल फिल्म खेल्न राजी भएका हुन् । यो फिल्मबाट राजेश हमालको उत्कृष्ट कमब्याक हुने उनको दाबी छ ।
प्रतिक्रिया