अन्तर्राष्ट्रिय

दिल्लीतर्फ जाँदैछ शेख हसिना सवार बंगलादेशी सेनाको जहाज

By खबरहब

August 05, 2024

ढाका- बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना सवार जहाज ढाकाबाट सिधै भारतको राजधानी नयाँदिल्लीतर्फ गएको छ ।

ढाकाबाट भागेकी उनी भारतको त्रिपुरा राज्यमा अवतरण गरेको चर्चा थियो । तर हसिना सवार जहाज अहिले भारतीय राज्य बिहारबाट पनि पश्चिमतर्फ लागेर उत्तर प्रदेशको आकाशमा पुगिसकेको छ ।

यो जहाज भारतीय राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको त्यहाँस्थित सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सुरक्षा एजेन्सीका अनुसार बंगलादेशबाट उडेको जहाज अहिले उत्तर प्रदेशको राजधानी लखनऊको आकाशमाथि पुगिसकेको छ ।

एजएएक्स१४३१ कलसाइन भएको बंगलादेशी सेनाको सी-१३० जहाजलाई भारतीय सुरक्षा एजेन्सीले कडा निगरानीमा राखेका छन् ।

समाचार अनुसार बंगलादेशकी निवर्तमा प्रधानमन्त्री शेख हसिना, उनकी बहिनी र परिवारका सदस्य जहाजमा सवार छन् ।

यो जहाज सी-१३० दिल्लीको रनवेमा साढे ५ बजेसम्म अवतरण गर्ने बताइएको छ । बंगलादेश वायुसेनाको विमानबाटै उनले देश छाडेकी हुन् । भारतीय शीर्ष सुरक्षा अधिकारी अवस्थाबारे कडा नजर राखिरहेका छन् ।