नेताका कारण निराशा बढ्यो, युवा देशमा बस्न सकेनन् : चन्द्र भण्डारी

By खबरहब

September 05, 2024

रामपुर (पाल्पा)- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन् ।

नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले युवा पुस्तामाझ निराशा छाएको बताए ।

युवाहरू विदेशिने क्रम बढ्दो रहेको हुदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनले बताए ।

युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उनी पाल्पा आए हुन् ।

मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने भण्डारीले बताए । अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।