पश्चिमालाई ‘झापड’ बन्यो पुटिनको मंगोलिया यात्रा | Khabarhub Khabarhub

पश्चिमालाई ‘झापड’ बन्यो पुटिनको मंगोलिया यात्रा

अलपत्र पर्‍यो अन्तर्राष्ट्रिय अदालतको पक्राउ पुर्जी


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

उलानवटर- रूसका राष्ट्रपति भ्लादिमिर पुटिन यही मंगलबार दुई दिने मंगोलिया भ्रमणमा थिए । त्यहीबीचमा सामाजिक सञ्जालमा #पुटिनइजवारक्रिमिनल ट्रेन्डिङ चल्न थाल्यो । मानिसहरूले सोध्न थाले, ‘के अब पुटिन पक्राउ पर्लान् ? के उनीविरुद्ध युद्ध अपराधको मुद्दा चल्ला त? के अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले मंगोलियाबाट पुटिनलाई गिरफ्तार गराउन सक्ला ?

यी सबै प्रश्नको जवाफ बिहीबार रुसको सरकार नियन्त्रित अनलाइन आरटीले दिएको छ, ‘पश्चिमको अनुहारमा थप्पड : पुटिनको गिरफ्तारीको आशा किन काल्पनिक थियो?’ शीर्षक लामो समाचार प्रकाशित गरेर ।

‘राष्ट्रपति भ्लादिमिर पुटिनको मंगोलियामा भएको दुई दिने राजकीय भ्रमण रुस र मंगोलियाबीचको द्विपक्षीय सम्बन्धको लागि मात्र महत्वपूर्ण घटना मात्रै थिएन, यो त विश्व समुयादको ध्यान खिच्ने एउटा घटना पनि थियो । मङ्गोलिया अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान अनुमोदन गर्ने देशहरूमध्ये एक हो । जसले एक वर्षअघि रूसी राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसबेलादेखि पुटिनले आईसीसीका सदस्य कुनै देशको भ्रमण गरेका थिएनन्’, आरटी लेख्छ, ‘केही युरोपेली राजनीतिज्ञ र तथाकथित ‘कूटनीतिज्ञ’ ले उलानवटरले आईसीसीको निर्देशन पालना गर्ने आशा राखेका थिए, तर त्यसो भएन। मंगोलियाले आफ्नो सार्वभौमसत्ता पुन: पुष्टि गर्‍यो। अचम्मको कुरा, युरोपले मंगोलियाको आलोचना गर्दै प्रतिबन्धको धम्की पनि दियो ।’

विगत

स्विटजरल्यान्डका एक चर्चित मानवतावादी व्यक्ति थिए- हेनरी ड्युनो। उनको किताब ‘मेमोरी अफ सोलफेरिनो’ छापिएको थियो। जसमा युद्धका क्रममा इटलीमा सैनिकविरुद्ध बर्बर व्यवहारको यस्तो कथा थियो, जसले पूरा विश्ववलाई त्यसबेला सोच्न बाध्य बनायो ।

अन्तत: यो किताब छापिएको १ वर्षपछि अर्थात् २२ अगस्ट १८६४ मा पहिलो पटक युरोपका १२ देशले एक सम्झौतामा हस्ताक्षर गरे । जसको नाम थियो, ‘फर्स्ट जेनेभा कन्भेन्शन ।’

यो सम्झौता युद्धका क्रममा घाइते र बिरामी सैनिकको सुरक्षाका लागि गरिएको थियो । पछि गएर यही सम्झौता ‘हेग सम्झौता’मा परिणत भयो ।

जेनेभा होस या हेग सम्झौता दुवैले युद्धमा प्रतिबन्धन त लगाए । तर यसको सबैभन्दा ठूलो कमजोरी यसलाई पालना गर्ने देशहरूले सजायय निर्धारण गर्न सकेका थिएनन् ।

पहिलो विश्वयुद्धपछि सैनिकको सुरक्षाको मुद्दामा ध्यान दिन थालियो । जब सन् १९१९ पछि युद्धअपराधका जिम्मेवार मानिसलाई सजाय दिनका लागि ब्रिटेन, फ्रान्स र जर्मनीबीच सम्झौता भयो। युद्धको पुरानो कथा बताउनुको उद्देश्य हालै मात्र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन मंगोलियाको भ्रमणसँग जोडिएको छ ।

यस्तोमा अन्तरराष्ट्रिय अपराध अदालत (आईसीसी) को कुरा सुनेर मंगोलियाले पुटिनलाई गिरफ्तार गर्ने आकलन पश्चिमाको थियो । हुन पनि २२ फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण थालेयता पहिलो पटक पुटिन आईसीसी सदस्य राष्ट्रको यात्रामा थिए ।

युद्धयता १२ देशको यात्रा गरिसकेका पुटिन पहिलो पटक आईसीसीको सदस्य राष्ट्रको भूमिमा पुगेका थिए । पश्चिमाको अड्कललाई मंगोलियाले हावा खुवाइदियो । पुटिनलाई मंगोलियाले रातो कार्पेट ओछ्याएर भव्य स्वागत गर्‍यो । अब चर्चा गरौँ, आईसीसी यसको शक्तिबारे ।

सम्झौताबाट जोगिए जर्मन सम्राट

यो सम्झौता त भयो तर जर्मनीका सम्राट क्यासरलाई सजाय दिन सकेन । त्यसबेला क्यासरले आफूलाई जोगाउन नेदरल्यान्ड्समा शरण लिएका थिए ।

त्यसबेला यो सम्झौतामा नेदरल्यान्ड्सले हस्ताक्षर गरेको थिएन । त्यहीकारण क्यासरलाई आईसीसीले कहिले सजाय दिन सकेन । दोस्रो विश्वयुद्धको समय सन् १९४५ मा मित्र राष्ट्रले युद्ध अपराधीलाई सजाय दिन एक व्यापक सम्झौता गरे ।

न्यूयोर्कबाहिर एक्लो राष्ट्रसंघीय अंग

यस सम्झौतापछि अन्तरराष्‍ट्रिय अपराध अदालत (आईसीसी) को स्थापना जुन १९४५ मा संयुक्त राष्ट्र संघको बडापत्र अनुसार भएको थियो । यसले १८ अप्रिल १९४६ मा जब काम गर्न सुरु गर्‍यो तब यसको पहिलो सम्मेलन भयो।

यसको स्थापना संयुक्त राष्ट्र संघको घोषणा पत्रअनुसार भयो । अदालतको मुख्यालय द हेग (नेदरल्यान्ड्स) को पीस प्यालेसमा छ । संयुक्त राष्ट्रका ६ प्रमुख अंगमा यो एकमात्र यस्तो अंग हो, जुन न्यूयोर्क (अमेरिका) मा छैन ।

आईसीसीले कसरी चलाउँछ मुद्दा ?

अन्तरराष्ट्रिय आपराध अदालतले विश्व मानव समुदायले प्रश्न उठाएका सबैभन्दा गम्भीर अपराधका आरोपी व्यक्तिको जाँच गर्छ । नरसंहार, युद्ध अपराध, मानवताविरुद्धको अपराध र आक्रामकता जस्ता अपराधको मामिलामा यसले मुद्दा चलाउँछ ।

पुटिनको मंगोलिया यात्राको चर्चा

वास्तवमा पुटिनको यो भ्रमण यस्तो समयमा भएको छ, जब मंगोलिया र सोभियत सेनाहरूले जापानमाथि जितको ८५ औँ वर्षगाँठ मनाइरहेका थिए । सन् १९३९ मा भएको यस लडाइँमा दुवैतर्फका हजारौँ सैनिक मारिएका थिए ।

जब पुटिन उलनवटर पुगे तब आईसीसीको आदेशलाई बेवास्ता गर्दै चंगेज खान चोकमा घोडामा सवार सैनिकहरूबीच उनलाई रातो कार्पेट ओछ्याएर भब्य स्वागत गरियो ।

जब यसबारेमा सञ्चारमाध्यमले मंगोलिया सरकारका अधिकारीलाई सोधे तब उनीहरूले यसबारे जवाफ नदिई ‘सरी’ भन्दै पन्छिए । पुटिनको यो उच्चस्तरीय भ्रमण अन्तर्राष्ट्रिय अपराध अदालतको विरोधस्वरुप भएको पश्चिमाहरूले ठानेका छन् ।

पुटिनले मंगोलियाका राष्ट्रपति उखागी खुलेलसँग भेटवार्ता गरे । जब युक्रेन, पश्चिम देश र कयौँ अन्य संगठनले पुटिनलाई गिरफ्तार गर्न माग गरिरहेका थिए तब मंगोलियाका राष्ट्रपति रसियासँग साझेदारी बढाउने कुरा गरिरहेका थिए ।

पुटिनमाथिको आरोप ?

अन्तर्राष्ट्रिय अपराध अदालतले अघिल्लो साल पुटिनमाथि युद्ध अपराधको आरोप लगाएको थियो । अदालतले गैरकानुनी रुपमा बालबालिकालाई युक्रेनबाट रूस पठाएको कुरामा पुटिनलाई जिम्मेवार ठहर्‍याएको थियो ।

रूसमा बालबालिकाको अधिकारसम्बन्धी आयुक्त मारिया लभोभा-बेलोभाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको थियो । आरोपअनुसार यो अपराध युक्रेनमा २४ फेब्रुअरी २०२२ देखि रसियाले हमला गरेपछि लागेको हो । तर रुसले यस कुरालाई ठाडै इन्कार गरिरहेको छ। एक कदम अघि बढेर उसले यो आरोपलाई अपमानजनकको संज्ञा दिएको थियो ।

आईसीसीसँग छैन पुटिनलाई गिरफ्तार गर्ने शक्ति ?

अन्तर्राष्ट्रिय अपराध अदालतसँग अभियुक्तविरुद्ध युद्ध अपराधको जाँच गर्ने, उसको खोजी गर्ने जस्तो अधिकार छ । तर यस्ता अपराधीलाई गिरफ्तार गर्ने शक्ति उसमा छैन ।

यसले केवल सदस्य देशमा युद्ध अपराधीविरुद्ध कानुनी काबारही शुरू गर्न सक्छ । आईसीसीले युद्ध अपराधमा संलग्नलाई सदस्य देशसँग गिरफ्तारीको आग्रह गर्न गर्छ, आफैंमा त्यो अधिकार छैन ।

यदि कुनै देशले उसको आदेश पालना नगरेमा अदालतका न्यायाधीशले निगरानी गर्न सक्छन् । यसबारेमा सदस्य देशहरूको बैठकमा छलफलको एजेन्डा बनाइन्छ ।

त्यसपछि जरुरी ठानेमा कारबाही चलाइन्छ । मंगोलिया आईसीसीको सदस्य भएकाले अदालतले ऊसँग पुटिनलाई गिरफ्तार गर्न भनेको थियो, तर मंगोलियाले गिरफ्तारको साटो पुटिनलाई रातो कार्पेटमा स्वागत गर्‍यो ।

चीन र रुसबीचमा सानो मंगोलिया

मंगोलिया पूर्वी एशियामा चीन र रूसको बीचमा रहेको नेपाल जस्तै भूपरिवेष्ठित देश हो । मंगोलियाको रूससँग बलियो सांस्कृतिक सम्बन्ध छ । अर्कातिर चीनसँग पनि ठूलो व्यापारिक सम्बन्ध छ । केवल ३३ लाख जनसंख्या भएको मंगोलियाले सन् १९९० मा राजनीतिक र आर्थिक सुधारको उद्देश्यसहित देशमा एक दलीय व्यवस्था समाप्त गरेको थियो । यो ७० वर्ष पुरानो व्यवस्था सोभियत संघको जमानादेखि थियो ।

मंगोलियाको धेरैजसो आवश्यकता रूस र चीन पूरा गर्छन् । त्यहीकारण मंगोलियाले यी दुई छिमेकी देशसँग कुनै हालतमा जोखिम लिन सक्दैन । मंगोलिया सरकारका प्रवक्ताले आफ्नो देश छिमेकी रुसबाट ९५ प्रतिशत पेट्रोलियम र २० प्रतिशतभन्दा धेरै बिजुली आयात गरिरहेको सुनाए ।

मंगोलियालाई तेल र बिजुली दिन्छ रुस

मंगोलियामा रहेको ठूलो परिमाणको खनिज भण्डारमा विदेशी लगानीकर्ताहरूको नजर छ । यसकारण सानो देश भए पनि मंगोलियाले तीव्र गतिमा आर्थिक वृद्धि गरिरहेको छ । अब यो देश बढ्दो अर्थव्यवस्था भएको देशमा परिणत भइसकेको छ ।

मंगोलिया तेल र बिजुलीका लागि रूसमा निर्भर छ । यदि रूसले उसलाई यी दुई पदार्थ नदिएमा मंगोलिया अन्धकारमा डुब्नेछ । २० औँ शताब्दीको सुरुमा मंगोलियामा चीनको चिङ्ग राजवंशको नियन्त्रण थियो ।

सन् १९११ मा जब चिङ्गको पतन भयो तब मंगोलियालाई लिएर चीन र रूसबीच तानातानी सुरु भएको थियो । यसबीच सन् १९२० को सुरुवातमा सोभियत समर्थक कम्युनिस्ट सरकारले यहाँ सत्ता हातमा लियो ।

सन् १९९१ मा सोभियत संघको पतनसँगै मंगोलिया मुक्त बाजार अर्थव्यवस्थामा प्रवेश गर्‍यो । यससँगै मंगोलियामा लोकतन्त्र स्थापना भयो । त्यही समयदेखि मंगोलियाको सम्बन्ध रुस र चीन दुवैसँग झन् बलियो भयो ।

पुटिनको योजना पाइपलाइन

रूसबाट चीनसम्म मंगोलिया हुँदै जाने प्राकृतिक ग्यास पाइपलाइनको योजनालाई ‘पावर अफ साइबेरिया २’ का रुपमा जानिन्छ । यो प्रस्तावित पाइपलाइनबाट एक वर्षमा ५० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास रूसबाटचीनसम्म जानेछ ।

यो परियोजना रूसको रणनीतिको एक हिस्सा हो । सन् २०२२ मा युक्रेनमाथि सुरु गरिएको आक्रमणपछि युरोपमा ग्यास बिक्री कम भएको छ । रूस यस क्षतिको भरपाई चीनसम्मको पाइपलाइनबाट गर्न चाहन्छ । पुटिन स्वयम्ले पनि यस पटक यो परियोजना चाँडै पूरा हुने संकेत गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ७ : १६ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन