समाचार

सुनसहित हेटौँडाबाट दुई भारतीय नागरिक पक्राउ

By खबरहब

October 05, 2024

मकवानपुर– पूर्व-पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट आठ वटा बिस्कुटको आकारको (तौल गर्दा आठ किलो २४३ ग्राम ९७) मिलिग्राम सुन बरामद भएपछि निजहरूलाई पक्राउ गरिएको हो । 

उनीहरूको साथबाट बरामद भएको उक्त परिणामको सुनको मूल्य (आजको मूल्यअनुसार) ११ करोड ४३ लाख ५७ हजार ८७८ रहेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।

 पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको जनाइएको छ ।