अन्तर्राष्ट्रिय

पाकिस्तानमा यसवर्ष लडाकुको आक्रमणमा सयबढी प्रहरीको मृत्यु

By खबरहब

October 05, 2024

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा लडाकुको आक्रमणमा परी यो वर्ष ज्यान गुमाउने प्रहरीको सङ्ख्या एकसयभन्दा धेरै रहेको पाइएको छ । प्रान्तमा लडाकुले यो वर्ष २ सय ३० भन्दा धेरै आक्रमण गरेका छन् ।

यो वर्ष प्रान्तमा विभिन्न किसिमका ४ सय ९२ वटा लडाकु गतिविधि भएको खैबर पख्तुनख्वाको प्रतिआतङ्कवाद विभागले सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ ।

विभागको प्रतिवेदन उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारका अनुसार प्रान्तको दक्षिणी जिल्लाहरूमा लडाकुका गतिविधि धेरै देखिएको छ ।

यस वर्ष विभागको कारवाहीमा परी १४ जना मोस्ट वान्टेड लडाकु मारिएका छन् । कारवाहीमा परी मृत्यु हुने लडाकुमा ८ जना वरिष्ठ कमाण्डर पनि रहेको ट्रिब्युनले जनाएको छ ।