बाढीपहिरो : काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन | Khabarhub Khabarhub

बाढीपहिरो : काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति भएपछि राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको छ । 

हाल जिल्लाका पाँच स्थानीय तहमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारद्वारा घोषित राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयबाट सबैभन्दा बढी मृतक सङ्ख्या रहेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिका गरी पाँच स्थानीय तहमा टोली खटिएको हो । 

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उमेशकुमार ढकालसहितको टोलीले सुरुमा बनेपा र पनौतीका एक-एक परिवारलाई राहत रकम उपलब्ध गराएको थियो । 

काभ्रेपलाञ्चोकमा पीडित परिवारलाई स्थानीयस्तरमै राहत दिन टोली खटाइएको ढकालले बताए। उनका अनुसार पीडित परिवारलाई दुःख नदिने उद्देश्यका साथ सकेसम्म मृतकका घरमै पुग्ने र कठिन अवस्थामा वडा कार्यालयसम्म पुगेर भए पनि राहत रकम प्रदान गर्ने गरी टोली परिचालित गरिएको हो ।

सडक अवरुद्ध भएका कारण तेमाल गाउँपालिकामा खटाइएको टोली वैकल्पिक बाटोको खोजीमा रहेको जनाइएको छ ।

‘स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर छिट्टै टोली पुग्नेछ’, सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले भने । मृतक प्रति व्यक्तिले सङ्घीय सरकारबाट दुई लाख नगद राहत पाउनेछन् । परिवारमा एकभन्दा बढी मृतकको हकमादुई लाखमा एक लाख थपिने जनाइएको छ । 

गत साताको बाढीपहिरो र डुबानबाट अतिप्रभावित तीन दर्जनभन्दा बढी स्थानीय तहलाई राहत तथा पुनःनिर्माणलाई प्राथमिकता दिन सरकारले शुक्रबार ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सरकारले तीन महिनाका संकटग्रस्त क्षेत्र घोषणा गरेमध्ये जिल्लाका रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।  

जिल्लाका १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी ७२ जनाले ज्यान गुमाएका छन् । पाँच जना अझै बेपत्ता रहेको तथा ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो । घटनामा हालसम्म ३१ महिला, २५ पुरुष, आठ बालक र छ बालिकाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहले समेत राहत रकम घोषणा गरेका छन् । बाढीपहिरोले सयौँ परिवार घरबारविहीन भएका छन्  । क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै अवरुद्ध छ भने प्रभावित क्षेत्र विद्युत् र सञ्चारविहीन अवस्थामा रहेका छन् । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १ : ५२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित