गोरखा राज्य विस्तारसँगै गोरखाली फौज लिम्बूवानमा आइपुग्दा कोही पृथ्वीनारायण शाहको लालमोहर लिएर उनीहरुसँगै मिल्ने निस्किए। कोही उनीहरुसँग लड्ने भिड्ने निस्किए। कोही भने आफ्नो बूँताले भ्याएसम्म लडेर हातहतियार सकिएपछि सिक्किमतिर पलायन भए। यो वि.सं. १८३१ साउन महिनाअघि र पछिको घटना हो।
त्यसबेला लिम्बूवान आक्रमण गर्न गोरखाली सेनाको सेनापतित्व गर्दै पहाडी खण्डबाट रामकृष्ण कुँवर, अमरसिंह थापाहरु र तराई खण्डबाट अभिमानसिंह बस्न्यात तथा पारथ भण्डारीहरु अगाडि बढेका थिए। बाबुराम आचार्यले “पूर्णिमा” पूर्णाङ्क २७ (असोज २०२९:१६७)मा वि.सं. १८३१ साउन ५ गते गोरखाली सेनाले विजयपुर कब्जा गरेको उल्लेख गरेका छन्।
विजयपुर हात लिइसकेपछि पृथ्वीनारायण शाहले वि.सं. १८३१ भदौ सुदी ६ मा आफ्ना गुरु भगवन्तनाथलाई लेखेको पत्र योगी नरहरिनाथले “इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह ” भाग १ (२०५५:६–७) प्रकाशित गरेका छन्। पत्रमा “मध्येसमा कनकाइ नदी पहाडमाहा साभा खोलो तमोर नदी को साध लाग्यो. मानिस काट्न पाइयेनन् भाग्या कति मागेलाना तिर गयो कति सुखिमतिर गयो” भन्ने परेबाट पनि कतिपय सिक्किममा पुगेको स्पष्ट हुन्छ।
खजुम लिम्बूहरुले रणबहादुर शाहबाट वि.सं. १८३९ मा पाएको नगरानिशानको रुक्का । स्रोतः भरत तुङघङ
पृथ्वीनारायण शाहले लिम्बूहरुलाई हिजो सेनहरुले दिएको अधिकार कायमै गर्ने वाचाबन्धनका साथ लिम्बू सुब्बाहरु सुन राय, कुम राय र जङ्ग रायको नाममा वि.सं. १८३१ साउन सुदी १ रोज २ (पात्रोअनुसार साउन २७ गते सोमबार) एक लालमोहर जारी गरिदिए (शङ्रमान राजवंशी, “प्राचीन नेपाल” सङ्ख्या ३-वैशाख २०२५:२९–३०)।
यो मोहरको नक्कल उतार गरिएको छायाँप्रति राष्ट्रिय अभिलेखालयको माइक्रोफिल्ममा सुरक्षित छ। इलाम, जमुनका कहरसिंह लिम्बूसँग रहेको प्रतिबाट सारेर ल्याइएको नक्कलको डीएनए नम्बर ७-६० रहेको छ।
यस्तो मोहर जारी गर्नुअघि लिम्बूहरुलाई दिएको अधिकार नखोस्ने बाचा बन्धन गर्न तामाको खड्कुलोमा राखिएको पानी र नून छोएर गोरखाली सेनापति अभिमानसिंह बस्न्यातलगायतले प्रतिज्ञा गरेका थिए (इमानसिंह चेम्जोङ, “किरातकालिन विजयपुरका सङ्क्षिप्त इतिहास”–२०५९:९५)। यो प्रतिज्ञा “नुनपानीको थिति” को नामले इतिहासमा चर्चित छ। यसरी नुनपानी समारोह गरेर गोरखालीसँग मिल्ने लिम्बू सुब्बाहरुमा सुन राय चेम्जोङ थरका, कुम राय आङ्देम्बे थरका र जङ्ग राय इङ्नाम थरका लिम्बू हुन् (भगिराज इङ्नाम र शेरबहादुर इङ्नाम, “तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा”-२०७०:३२)।
त्यसबेला लिम्बूवानका सुब्बाहरुमा फूट पैदा हुन पुग्यो। सुन राय, कुम राय र जङ्ग राय गोरखालीसँग मिल्न पुगे तापनि छथरका सुनुहाङ राय, याङरोकका योङ्याहाङ राय र चारखोलाका आसदेव राय आ–आफ्नो गढमा बसी लड्दै रहे। तर हातहतियारको अभावले उनीहरुले हार स्वीकार गर्नुप-यो। आफ्नो देश छाडेर सिक्किम पसी उतै बसेर शत्रु सेनासित लड्न उनीहरुले छाडेनन् (इमानसिंह चेम्जोङ, “किरात इतिहास” २०५९:४६)।
चेम्जोङ (२०५९:४६)ले तीमध्ये फेदापको आतहाङको नेतृत्वमा तम्बरखोलाको शुभवन्त राय, मैवाखोलाका श्रीदेव राय र मेवाखोलाका रैनसिंह राय पनि वि.सं. १८३१ मै गोरखासँग मिले भनी उल्लेख गरे तापनि उनीहरु तत्कालै मिलेको भने देखिदैन। शिवकुमार श्रेष्ठले “लिम्बूवानको ऐतिहासिक अध्ययन”(२०५२:१३४)मा प्रकाशमा ल्याएको रणबहादुर शाहले श्रीदेव, शुभवन्त, श्रीदेव र रैनसिंह रायलाई वि.सं. १८३९ साउन वदी ८ मा दिएको लालमोहरमा “तिमीहरुले खोलिकन बिन्ती नगर्दा आजसम्म ढिलो भएको हो अब तिमीहरुको कुरा भारदारहरुबाट बिस्तार बिन्ती ग-यो सुन्यौं हिजु हिन्दुपतिले बक्स्याको नगरा निशानमा मर्यादा जो हो हामीले बक्सन्छौं मोहर देख्न चाडो हजूरमा आव” भन्ने उल्लेख भएको छ। यहाँनेर “तिमीहरुले खोलिकन बिन्ती नगर्दा आजसम्म ढिलो भएको हो” भन्नुको अर्थ नै यी सुब्बाहरुले मन खोलेर गोरखालीलाई तत्कालै समर्थन गरेका थिएनन् भनीबुझ्न कठिन छैन। हिन्दुपति भनेका सेनवंशी राजा हुन्। यसरी मोहर पाउनेमध्ये श्रीदेवको थर फागो वनेम, आतहाङको थर पयाङ्गु, शुभवन्तको थर लिवाङ र रैनसिंहको थर सेरेङ हो।
विद्रोहपछि खजुम लिम्बूलाई थमौती कतिपय लिम्बूहरुमा पनि एउटा ठूलो भ्रम रहेको छ, वि.सं. १८३१ साउनमा विजयपुर गोरखालीको अधिनमा गएपछि गोरखाली राजाबाट सेनहरुले जस्तै लिम्बूहरुले पनि सुवांगी पाए, त्यसपछि पूर्ण रुपमा यस भेगमा शान्ति छायो।
माथि फेदाप, मैवाखोला, तम्बरखोला र मेवाखोलाका सुब्बाहरुलाई वि.सं. १८३९ मा मात्रै मोहर दिइएकोले पछि मात्रै उनीहरु गोरखाली पक्षसँग मिलेको सङ्केत पाइएको उल्लेख गरिसकिएको छ। यस्तै छथर थुमकासुनुहाङ राय गोरखालीहरुसँग नमिल्ने, सकेसम्मको युद्ध लड्ने र हातहतियार सकिएपछि सिक्किम पलायन हुने लिम्बू सुब्बा हुन् भन्ने प्रसङ्ग पनि माथि परिसकेको छ। छथर थुमकै खजुम रायलाई पनि वि.सं. १८३९ मा मात्रै मोहर दिइएकोले उनीहरु पनि सुरुमै गोरखालीसँग नमिल्ने लिम्बूहरु हुन् भन्ने स्पष्ट हुन्छ। खजुम रायले पाएको मोहरबारे फेरि पनि चर्चा गरिनेछ। यसअघि गोरखा राज्यसँग नमिल्ने वा असन्तुष्ट पक्ष बनेका केही लिम्बू समूहको चर्चा गरौँ।
विद्रोहपछि खजुम लिम्बूहरुलाई समेत किपट जिम्मा थामिदिएको पत्रको नक्कल । स्रोतः भगिराज इङ्नाम
इतिहासकार दिनेशराज पन्तले “पूर्णिमा”को पूर्णाङ्क ५८ (चैत २०४०:३०-४४) मा “श्री ५ रणबहादुर शाहका नौ वटा अप्रकाशित लालमोहर” शीर्षकमा प्रकाशित ऐतिहासिक पत्रहरुमध्ये तीन वटामा सेरेङहरुको प्रसङ्ग परेको छ। सेरेङसँगै साँवा लिम्बूको प्रसङ्ग पनि परेको छ।
रणबहादुर शाहले विजयपुरमा रहेर प्रशासन चलाइरहेका सुब्बा योगनारायण (कतै जोगनारायण) मल्ललाई लेखेको पत्रमध्ये पृष्ठ ४१मा छापिएको एउटा पत्रमा लिम्बू साँवा र सेरेङहरुले गोरखाली गुहारेको कुरा गोरखाली प्रशासककातर्फबाट राजासमक्ष पुगेको बुझिन्छ। पत्रमा “सांभा र सिरिंले फेदावबाट पनि गुहार मागी पठायो। सुब्बा २-३ हामीतिर भयाका छन्। प्रजा भोट्यातिर छन् भनी लेखेछौ। योग्यै हो…” भन्ने उल्लेख छ। त्यो बेला भोटबाट पनि बेलाबेलामा लिम्बूवानतिर हुँदोरहेछ। त्यस्तो बेला सेरेङ र साँवाहरुले गोरखालीहरुसँग सहयोग मागेका थिए भन्ने बुझिन्छ।
तर गोरखालीहरुले सेरेङहरुलाई तत्कालै विश्वासमा लिन नसकेका र बरु उनीहरु आफूहरुका लागि खतरनाक समूहका छन् भन्ने भय गोरखालीहरुले पालिराखेका बुझिन्छ, अर्को पत्र पढ्दा। त्यो समय सेन राज्य फर्काउने उद्योगमा विस्थापित मकवानी राजघरानासँग भारतमा रहेर अङ्ग्रेजहरुसँग सरसल्लाह गरिरहेका थिए थिए, स्वरुपसिंह कार्की। त्यो बेला विस्थापित सेन राजघराना पूर्वतिरबाट गोरखालीका लागि खतरनाक थिए। कार्की पहिले चौदण्डीका काजी थिए। उनलाई दक्षिणतिरबाट खतरनाक मानिएको छ। यस्तै सेरेङहरु चाहिँ उत्तरतिरबाट आफूहरुका लागि खतरनाक भएको महसूस गोरखालीहरुलाई भएको झल्को एउटा अर्को पत्रबाट मिल्छ। सेरेङहरुले गोरखालीसँग गुहार मागेको पत्रपछिको क्रममा राखिएको यो पत्र सम्भवत अघिल्लो पत्रभन्दा पछि नै लेखिएको हुन सक्छ। पत्र अपूर्ण भएकोले मिति खुलेको छैन। पृष्ठ ४३–४४मा प्रकाशित पत्रमा सेरेङको प्रसङ्ग यस्तो छः “…मकवानी साहेव पनि यहाँबाट भागेर मुगलानमा हांगामा गर्न लागि रहेछ पूर्वतिर पनि उत्तर भन्या लिंवु श्रृंग्या दषिन नी सरुप छदैछन्…।” यसबाट सेरेङहरु कहिले आफूहरुसँग मिल्ने र कहिले फुट्ने गरेकाले गोरखालीको टाउको दूखाईको समूहका रुपमा लामो समय टिकिरहेको देखिन्छ।
अघिल्ला पत्रहरुको मिति खुले पनि सेरेङहरुको प्रसङ्ग परेका ती पत्रमा मिति खुल्दैनन्। अघिल्ला पत्रहरु १८३४ देखि १८३७ सम्ममा लेखिएको देखिन्छ। त्यसैले सेरेङहरुको प्रसङ्ग परेको पत्र वि.सं. १८३७/३८ साल तिरको हुन सक्छ।
वि.सं. १८३९ मा मात्रै रैनसिंह सेरेङको नेतृत्त्वमा सेरेङहरु गोरखालीसँग मिलेको देखिदा बीचको समय उनीहरु पनि असन्तुष्ट समूहका रुपमा रहेका थिए।
वि.सं. १८४८ मा त चैनपुरमा सिक्किमी र लेप्चाहरुसँग मिलेर लिम्बूहरुले ठूलो विद्रोह मच्चाएका थिए। विजयपुर तथा पूर्वमा रहेका गोरखाली फौज विद्रोह दबाउन असमर्थ हुँदा काठमाडौंबाट काजी देवदत्त थापा मगरको नेतृत्त्वमा पठाइएको फौज तथा चैनपुरमै रहेका गोरखाली भारदार आशा खत्रीले अनेक तिकडम गरी विद्रोह दबाएको प्रसङ्ग यो लेखकले लेखेको “आदिवासी विद्रोहको इतिहास” को “लिम्बू विद्रोह” खण्ड (२०७९:१५-५५)मा पढ्न पाइन्छ।
यो विद्रोहपछि लिम्बूहरुलाई फकाउँदै थाम्दै गर्न ठाउँ ठाउँका सुब्बाहरुको सुवांगी थमौतीको मोहरहरु जारी गरियो। यस्तो मोहर पाउनेमा खजुम लिम्बूहरु पनि रहेका थिए। भूमि व्यवस्था तथा अभिलेख विभाग, डिल्लीबजारमा यस मोहरको नक्कल सुरक्षित छ। खजुमहरुलाई समेत दिइएको वि.सं. १८४९ मङ्सिर वदी ४ मा जारी मोहरमा “कुल धुलमा पस्याका सुउहीया छहि रहता वहता पनी आफना आफना कुरी आको आफु आफु र्उघाई लीन छौ गरेल्याका हाको सीरी साहो सवै रकम सुवा पुर्नानन्द पाध्या कनजरी देर्उ…” भन्ने उल्लेख छ (इङ्नाम, २०७७:२९१)। मोहरमा उल्लेख भएको “कुल धुलमा पस्याका” भन्नुको अर्थ विद्रोहमा सामेल भएका भन्ने हो। ती विद्रोहमा सामेल भएकाहरुबाट पनि जग्गाको मालपोत उठाएर विजयपुरमा रहेका सरकारी हाकिम पूर्णानन्द उपाध्ययसमक्ष बुझाउन यो मोहर जारी गरिएको थियो।
खजुम लिम्बूको सुवांगी तत्कालिन लिम्बूवानलाई विभिन्न १७ थुममा राजनीतिक विभाजन गरिँदा एउटा थुम “छथर” कायम भयो। तेह्रथुम जिल्लाको दक्षिणी भाग र धनकुटाको उत्तरी भागका केही गाउँहरु छथरमा पर्छन्। कमल तिगेला र भैरव आङलाले सम्पादन गरेको “छथरको ताक्लुङ” (२०६९:१०)अनुसार छथर थुममा तेह्रथुमको आङ्दिम, हमरजुङ, बसन्तपुर, फुलेक, दागपा, सुदाप, ओख्रे, फाक्चामारा र पञ्चकन्या तथा धनकुटाको तेलिया, हात्तिखर्क, मारेकटहरे, लेगुवा, जीतपुर, मूर्तिढुङ्गा, सान्ने, घार्लिखर्क, फलाटे, पाख्रिबास, ताङ्खुवा र परेवादिन लगायतका साविकका गाविस पर्थे। अहिले तेह्रथुममा पर्नेहरु छथर गाउँपालिका र धनकुटामा पर्ने गाविसहरु छथर जोरपाटी गाउँपालिका अन्तर्गत पर्छन्।
त्यही छथर थुममा रहँदै आएका एक लिम्बू हुन्, खजुम। खजुमभित्र पनि पारघरी, चोङबाङ, कुरुम्भङसहित ओयम, लेक्वा र इम्सङ गरी ६ वटै थर रहेका छन्। तर खजुमभित्रको ६ वटा थरका कारण नै यस थुमको नाम छथर रहेको भने होइन। खजुमहरुको बसोबास स्थल भने तेह्रथुमको पञ्चकन्या, धनकुटाको तेलिया, ताङ्खुवा र चौबीस इलाका रहेको छ।
खजुमहरुमा प्रचलित एक लोकवार्ताअनुसार उनीहरुको प्राचीनताको लहरो निक्कै लामो छ। खजुमहरुको बसोबास क्षेत्रमा रहेको पेवालुङ ढुङ्गा र त्यहाँ रहेको हातका पाँच वटा औंलाका छापको कथा खजुम लिम्बूहरुसँग जोडिन्छ। कथा यस्तो छ : उहिले एक बालक देखा प-यो। बालक निक्कै समयसम्म बालकै रह्यो। पछि उनैले ग-हौँ ज्यावलहरु मागेर खनजोत सुरु ग-यो। उसको अद्भूत शक्तिले छोटो समयमै बालीनाली लटरम्म फल्यो। तर उसलाई खजुमहरुले राक्षस सम्झेर लखेटे। त्यो बालक तमोर किनार हुँदै छरुवा पुग्यो। त्यहाँबाट पनि लखेट्दै जाँदा त्यो व्यक्तिले बच्नका लागि फेरि बालकको रुप धारण ग-यो। खजुमहरुले धनुकाँड प्रहार गर्दा शिला ढुङ्गामा परिणत भयो। त्यो शिला ढुङ्गा बराहक्षेत्रमा रहेको छ।
त्यसपछि पहिले बँदेलको रुपमा भाग्दा खुकुरीले चोट परेको हुँदा बँदेलको चोट परेको टाउकोको प्रतिरुप बनाई खजुमहरुले पञ्चकन्यामै पूजा गर्ने गरेका छन्। प्रत्येक साउने संक्रान्तिमा त्यही प्रतिमूर्तिको विशेष पूजा गर्ने गरेका खजुमहरु बराहक्षेत्र भने कहिल्यै जाँदैनन्।
खजुमको सेनकालिन विरासत हरेक दशैंको नवमीमा धनकुटाको ताङ्खुवा र तेह्रथुमका पञ्चकन्या खजुमहरुले निशान निकाली पूजा गर्छन्। तीमध्ये पञ्चकन्या कुरुम्भङसँग दुईवटा र ताङ्खुवाका पारघरी र चोङबाङसँग एक–एक वटा निशान रहेका छन्।
नगरा निशान पाउने लिम्बूहरु आफ्नो क्षेत्रका सुबांगी प्राप्त अगुवा लिम्बूहरु मानिन्छन्। नगरा निशान राजाहरुबाट सोझै दिइन्थ्यो। यस अर्थमा खजुमहरु पनि राजाबाट नगरा निशान पाउने लिम्बूहरु हुन्। खजुमहरुले पहिले सेनकालमै बिजयपुरका सेनहरुबाट नगरा निशान पाउने गरेकोले पछि शाह राजाले पनि त्यसलाई निरन्तरता दिदै उनीहरुलाई नगरा निसान दिएको स्पष्ट हुन्छ। राजा रणबहादुर शाहले एक रुक्का जारी गरी खजुम रायको नाममा वि.सं. १८३९ श्रावण वदि ८ बिहीबार नगरा निसान लिन आउन खजुम रायलाई राजदरबार बोलाएका थिए।
खजुमका कुरा भारदारहरुबाट विस्तारपूर्वक सुनेको, हिजो सेनहरुले दिएको नगरा निसान र मान मर्यादा जेजस्तो हो, त्यो आफूहरुले पनि दिने र त्यसका लागि लालमोहर पनि दिने भएकोले चाँडो गरी दरबार आउन र त्यसका लागि बाटो खर्च पनि दिइने ब्यहोरा त्यस रुक्कामा उल्लेख छ। रुक्काको ब्यहोरा यस्तो छ : स्वस्ति श्री महाराजधिराज कस्य रुक्का………………. आगे षजुम राये के आसिकपुर्वक पत्र मिदम याहा कुसल ताहा कुसल चाहिये याहाको समुचार भलो छ तिमिहरुको कुरा जो छ हाम्रा भारदारहरुबाट विस्तार ग-या सुन्यु हिजो हिन्दुपतिले बक्स्याको नगरा निसान मान म-यादा ज्या हो सो हामीले पनि बक्स्यौं मोहर देषत चाडो हजुरमा आइपुग षानदानका अर्थकन केही रुपैञा बक्सौंला तम्रा मानिसका हात लाग्यो केहि रुपैञा तिमिहरु आइपुग्नु बक्सन्छौं काज पनि लाउछौं षातिर्जामा चाडो दरबार सर्वथा आउ इति सम्वत १८३९ श्रावण वदि ८ रोज ५ सुभम्……… यो मोहरको छायाँप्रति यो लेखकले लिम्बू इतिहास तथा मुन्धुमविज्ञ भरत तुङघङबाट प्राप्त गरेको हो। उनी दिवंगत भइसकेका छन्।
वि.सं. १८३१ साउनमा नभई त्योभन्दा आठ वर्षअघि मात्रै गोरखाली राजाहरुबाट सेनहरुले दिएजस्तै अधिकार खजुम लिम्बूहरुले पाएको देखिँदा उनीहरुले पनि तत्कालै गोरखा राज्यको अधिनस्थता स्वीकार नगरेको बुझिन्छ। चेम्जोङ (२०५९:४६)ले गोरखालीसँग अन्तिम समयसम्म लडेका र हतियार सकिएपछि सिक्किम पुगी त्यहीँबाट गोरखाविरुद्ध लडिरहेका छथर क्षेत्रका सुब्बा सुनुहाङ यिनै खजुम लिम्बूहरुका पुर्खा हुनसक्छन्।
दशैँको नवमीमा खजुमहरुले ताङ्खुवामा निकालेको निशान । स्रोतः भैरव आङ्ला
नगरा निशानमा नगरा (दमाहा) र निशानस्वरुप झन्डा हुन्छ। यी सामग्रीहरुलाई दशैंको बेला पूजा गरिने र नवमीमा बाहिर निकाली परिक्रमा गर्ने गरिन्छ। राजाबाट नगरा निशान पाउनु त्यसबेलाका लिम्बू सुब्बाहरुको प्रतिष्ठासँग गाँसिन्थ्यो।
खजुमको जिम्मामा परेको किपट सेन राजासँगको खजुमहरुको सम्बन्धको इतिहास पुरानै छ। शंकरमान राजवंशीले सम्पादन गरेको “पुरातत्व पत्र सङ्ग्रह” भाग दुई (२०१८:४)मा प्रकाशित भएका स्याहामोहरमध्ये वि.सं. १७१९ पुस सुदि ४ मा मोरङबाट हरिश्चन्द्र सेन र बुष सेनले जारी गरेको स्याहामोहरमा “खेजीम राय” उल्लेख हुनुले खजुमहरुको सेन राजाहरुसँगको सम्बन्ध निक्कै पुरानो भएको प्रष्ट हुन आउँछ। स्याहामोहरमा छापिएको “खेजीम राय” खजुम राय नै भएकोमा कुनै द्विविधा छैन।
इतिहासकार महेशराज पन्तले “पूर्णिमा” पूर्णाङ्क ९५ (कात्तिक २०५५:५३–५८)मा प्रकाशमा ल्याएको राजा गिर्वाणयुद्धविक्रम शाहले जारी गरेको विभिन्न लालमोहरहरुमध्ये एउटा खजुमलाई लेखेको लालमोहर पनि परेको छ।
खजुम सहरसिंह लगायतको नाममा वि.सं. १८७३ कार्तिक वदी ९ आइतबार जारी गरिएको यस लालमोहरले खजुम सहरसिंहलगायत अरु लिम्बूले सुबांगी जिम्मा पाएको र उनीहरुको साँध सिमाना स्पष्ट पारिएको छ। सोअनुसार पूर्वको तमोर नुभु खोला, दक्षिण फाकुवा ताङ्खुवा खोला, उत्तर पश्चिम अरुण खोला र उत्तर काबाई मनांगीसम्म उनीहरुले पाएको जिम्माको साँध किटान गरिएको छ। लालमोहरको ब्यहोरा यस्तो छ :
आगे षुजुम सहर्सिं राई सुभामुषी राई ञ्युं सामुषी राइ षेम्साबोन्द राइ तुम्यांजित राइके तिम्रा बाबज्यादाले सेनका पालादेषि सुबांगी बेहोरि आयाको रहेछ. आज हामिले पनि सुबांगी र आजसम्म आफुले षाइ आयाको जिमी जग्गा पोषरि फदुम पेघा घड्यारी त्यसको सांध पुर्व तमोर्नुभु षोला दछिण फाकुवा तंषुवा षोला पश्चीम होबेलां अरुन षोला उत्तर काबाइ मनांगी एति चार कीला भीत्रको जगा लगापातसमेत् पंचषत बाहीक राषी आफ्ना जातको अपुताली बाजे मामीला षानु भन्या बंजेद बाधी बक्स्यौं. आफ्ना षातिर्जमासंग दस लिंबुका तरहसंग चैनपुर मानी सुबागी भोग्य गर.
खजुमको माङ्गेना यक छैटौँ शताब्दीमा लिम्बूवान १० प्रान्तमा विभाजित हुँदा छथरे लिम्बूहरूले पनि गढी खडा गरे। इडेन भ्यान्सिटार्टले पुस्तक “गुर्खाज” (१९०६) मा यसक्षेत्रमा ताक्लुङ खजुमहाङ राजाले शासन गरी उनले चिमलिङ गढी बनाए भनी लेखेको र त्यसलाई इमानसिंह चेम्जोङले आफ्नो पुस्तक “हिस्ट्री एण्ड कल्चर अफ किरात पिपल” (सन् १९६७) मा समर्थन गरे पनि इतिहासकार शिवकुमार श्रेष्ठले यसप्रति विमति प्रकट गरेका छन्। श्रेष्ठले आफ्नो पुस्तक “लिम्बूवानको ऐतिहासिक अध्ययन” (२०५२:३८–३९) मा छथर क्षेत्रको गढीमा रहेर इमिभूहाङले छथर इलाकाको शासन गरेका र उनी खेवा थरका लिम्बू थिए भनेका छन्। ताक्लुङ यकमा खेवाहरुले नै पूजा गर्ने गरेका छन्।
तर छथर इलाकामा खजुमहरुको पनि गढी नरहेको होइन। तेह्रथुमको पञ्चकन्या गाविसमा रहेको पोखरीभन्दा करिब एक किलोमिटर पूर्वको डाँडामा रहेको भग्नावशेषलाई उनीहरुले आफ्नो माङ्गेना यक (विरासतको गढी) मान्दै आएका छन्। वरिपरि सुरक्षा खाडल खनिएको पुरानो डोब यहाँ देख्न सकिन्छ। २००७ सालसम्म यहाँ नेपाली सेनाले पहरा दिने गरेका थिए भन्ने स्थानीय भनाई पाइन्छ। पञ्चकन्यामै तीनवटा शिला स्तम्भ पनि रहेका छन्। यसलाई छथरका खजुम फुङयाङ राय, खजुम काम्भुङ राय र खजुम जमुना रायले आफ्नो नामका गाडेको अनुश्रुति भएको इतिहास तथा मुन्धुमविद् भरत तुङ्घङ्ले चर्चा गर्दै आएका छन्। खजुमहरुको गडीलाई “योमोई चम्खासिं यक” भनिन्छ। यो गढी वरपर खजुमहरुमा यो गीत प्रचलित छ : तुतु तुम्याहाङ यम्वासे याक्ला सुहाङ यम्वासे मुलंखे मुसुंना कुभुमीसा यम्वुसे योमोई चम्खासिं कुयक्मी सा यम्बुसे चाचाला चाहिदो हाङ यम्वुसे आङ्गा चुंजिएच्छासारे थेसुम्थेले माहोप्लो (हे भद्रभलाद्मी हे गण्यमान्य जानिफकार महासयहरु ! मुलुंखे सुसुङ्ना फूलले सुहाउने। अनि विशिष्ट वंशहरु। योमोइ चम्खासिं गढीका मालिक वा यस गढीमा बसी राज गर्ने वंश चाचाला चाहिदोहाङ राजाका सन्तति महानहरु हो, म अञ्जानले केही नजाने तापनि एक दुई बोली बोल्न अनुमति चाहन्छु है।) यो गीत र यसको अनुवाद पनि तुङ्घङ्ले नै उपलब्ध गराएका हुन्। यी तथ्यहरुबाट खजुम लिम्बूहरुको इतिहासको विरासत निक्कै पुरानो र महत्वपूर्ण देखिन्छ।
फोटो क्याप्सन १. २. विद्रोहपछि खजुम लिम्बूहरुलाई समेत किपट जिम्मा थामिदिएको पत्रको नक्कल (स्रोतः भगिराज इङ्नाम) ३. दशैंको नवमीमा खजुमहरुले ताङ्खुवामा निकालेको निशान (स्रोतः भैरव आङ्ला)