काठमाडौं– चालु आर्थिक वर्ष ०८१-०८२ मा नेपाल सरकारका १४ जना विशिष्ट श्रेणी (सचिव) का कर्मचारीहरू सेवानिवृत्त हुँदै छन् । चालु आर्थिक वर्षको सुरुवातदेखि अहिलेसम्म दुई जना विशिष्ट श्रेणीका कर्मचारीहरू पनि सेवानिवृत्त भइसकेका छन् ।
सेवानिवृत्त भइसकेका सचिवहरूमा लीलादेवी गड्तौला र तोयनारायण ज्ञवाली रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहँदा गड्तौला मुख्य सचिवमा बढुवा भएर उमेर हदका कारण अवकाश गएकी हुन् । ०८१ फागुनमा अवकाश पाउने तर्खरमा रहेका सचिव एकनारायण अर्याल मुख्य सचिव भएसँगै उनको कार्यकाल तीन वर्ष थपिएको छ ।
यस्तै सचिव ज्ञवाली राष्ट्रिय योजना आयोगको सचिवालयबाट गत भदौ २२ सेवानिवृत्त भएका थिए भने गड्तौलाले गत भदौ १५ मा अवकाश पाएकी थिइन् । नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारीले पनि अवकाश अवधि आउनुअघि नै राजीनामा दिइसकेका छन् ।
चालु आर्थिक वर्षमा अवकाश हुन लागेका विशिष्ट श्रेणीका कर्मचारी
चालु आर्थिक वर्ष०८१-०८२ मा रा.प. प्रथम श्रेणी (सहसचिव) हरू ८३ जना, रा.प. द्वितीय श्रेणी (उपसचिव) हरू १७७ जना र रा.प. तृतीय श्रेणीका २५३ जना सेवा निवृत्त हुने सूचीमा छन् । जसमध्ये केही अवकाश गइसकेका छन् ।
यसैगरी ११ औं तहका ६, १० तहका २६ जना, नवाैँ तहका १२ जना, आठौं तहका ७९, छैटौं तहका २२३, पाँचौं तहका २०४, चौथो तहका १७ र श्रेणीविहीन ६४१ कर्मचारीहरू चालु आर्थिक वर्षमा अवकाश जाँदै छन् ।
चालु आर्थिक वर्ष ०८१-०८२ भित्र अवकाश जानेमा राजपत्र अनंकित प्रथम श्रेणीअन्तरगत १८८ जना कर्मचारी पनि सेवानिवृत्त हुँदैछन् । राजपत्र अनंकित द्वितीय श्रेणी, तृतीय श्रेणी र अन्य श्रेणीका पनि थुप्रै कर्मचारीहरूको नाम अवकाश जानेमा सूचीमा समावेश छ । ठूलो सङ्ख्यामा कर्मचारी अवकाशमा गएसँगै पेन्सनमा पर्ने दबाबका कारण सरकारमाथि ठूलो वित्तीय भार थपिने निश्चित छ ।
प्रतिक्रिया