अर्थसंक्षेप : बीआरआई न ऋण, न अनुदान, १५.९३ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : बीआरआई न ऋण, न अनुदान, १५.९३ अंकले घट्यो नेप्से


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीन भ्रमण गरी बिहीबार अपराह्न काठमाडौं फर्किए । राष्ट्रिय कृषिगणना, २०७८ को नतिजाअनुसार नेपालका ६२ प्रतिशत घरपरिवार कृषिमा सङ्लग्न छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले इन्साइडर ट्रेडिङ रोक्न आफू प्रतिबद्ध रहेको बताएका छन्। नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबार हुने साताको अन्तिम दिन आज (बिहीबार) १५.९३ अंकले घटेको छ ।

बीआरआईबारे ओली : न ऋण भन्छन्, न अनुदान !

प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीन भ्रमण गरी बिहीबार अपराह्न काठमाडौं फर्किए ।
स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गरी ओलीले चीनसँग भएको ‘फ्रेमवर्क अफ बीआरआई कोअपरेसन’ सम्झौता ऋणकेन्द्रित नभएको दाबी गरे ।

दुई दिनअघि मंसिर १८ मा नेपाल र चीनले संयुक्त वक्तव्य जारी गरिसकेपछि भोलिपल्ट बुधबार मात्रै नेपालले चीनको बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको थियो ।
अनुदान अपेक्षा गरिरहेको नेपाल र ऋण देखाइरहेको चिनियाँ अधिकारीहरूबीच बेइजिङमा दुई दिन लामो रस्साकस्सीपछि ‘एड असिस्टेन्स फाइनान्सिङ’ शब्द राखेर सो सम्झौता भएको थियो ।

बीआरआई सहकार्य फ्रेमवर्कमा यातायात, शहरी विकास र औद्योगिक विकाससम्बन्धी विभिन्न १० आयोजना विकास गर्न दुई देशबीच सहमति जुटेको थियो ।

कृषक बाहुल्य नेपाली परिवार : भान्सामा पाक्छ आयातित आलुप्याजको तरकारी

राष्ट्रिय कृषिगणना, २०७८ को नतिजाअनुसार नेपालका ६२ प्रतिशत घरपरिवार कृषिमा सङ्लग्न छ । वि.सं. २०६८ को तुलनामा कृषि पेसामा थप तीन लाख नागरिक आवद्ध छन् । देशभर किसानको संख्या ४१ लाख ३० हजार भन्दा बढी रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको दाबी छ ।

बाहुल्य परिवार कृषिमा सङ्लग्न भए पनि अधिकांश नेपालीको भान्सामा आयातित आलु प्याजको तरकारी पाक्छ । उपभोग प्रवृत्ति हेर्दा हरेक नेपालीको भान्सामा आवश्यक आलु र प्याज नभए बिहान–बेलुकीको छाक नै नटर्नेजस्तो भइसकेको छ । भान्सामा आलुप्याजबाटै तरकारी र अचारसमेत बनाइन्छ ।

अधिकांश परिवारको भान्सामा आलुप्याज खपत हुने गरे पनि स्वदेशमै यसको उत्पादन अपर्याप्त छ । आवश्यक आलुप्याज हरेक महिना विदेशबाटै भित्रिने गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को चार महिना अवधिमा मात्रै नेपालमा विभिन्न देशबाट एक लाख ४४ हजार ८०० टन खाने आलु भित्रिएको छ । यति परिमाणको आलु आयातमा तीन अर्ब ६५ करोड ५९ लाख रुपैयाँ बराबर रकम बाहिरिएको छ ।

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ३४ लाख सात हजार मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ३३ लाख २५ हजार २३१ मेट्रिकटन आलु उत्पादन भएको थियो । तर, नेपालमा आलुको वार्षिक माग ३६ लाख सात हजार २५६ मेट्रिकटन छ ।

एनएमबि बैंकलाई युएन वुमन डब्लुईपीएस अवार्ड

एनएमबि बैंकको लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई युएन वुमन एशिया प्यासिफिकले २०२४ डब्लुईपीएस अवार्ड प्रदान गरेको छ ।
यो लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने बैंकको पहलको सम्मान स्वरूप पाएको अवार्ड हो ।

यूएन वुमन र यूएन ग्लोबल कम्प्याक्टबाट कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरिएको छ । बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकले प्रयास गरेको बताइएको छ । ती प्रयासहरुमा सी लिड्स टुमरो स्कलरसीप, एनएमबि नेक्स जेन बैंकिङ लिडरसीप, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू छन् ।

यस अवार्डले बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गत युएन वुमनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको बैंकले जनाएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरूमध्ये यो अवार्ड बैंकलाई प्रदान गरिएको छ ।

बीएमडब्ल्यूको महँगो गाडी एक्स७ एक्सड्राइभ ४०आई एक हप्ताभित्र बिक्री

नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै महँगो लक्जरी गाडी बीएमडब्ल्यू एक्स७ एक्सड्राइभ ४०आई ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ ।

कम्पनीका अनुसार यो मोडल कार्तिक २९ गते नेपाल आयात गरिएको थियो । अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको छ। कम्पनीका अनुसार यो गाडीको छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ ।

ईन्साइडर ट्रेडिङलाई रोक्न म प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले इन्साइडर ट्रेडिङ रोक्न आफू प्रतिबद्ध रहेको बताएका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालीको ३० औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन ।

उनले बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न भखरै आएको र आफुले फेयर काम गर्ने साथै आफ्नो कार्यकालमा बोर्डको संस्थागत सुधार गर्ने पनि बताए ।

नयाँ टिएमएस मार्जिङ लेन्डिङ जस्ता कुरालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा छलफल गरेर अगाडि बढ्ने अध्यक्ष श्रेष्ठले बताए । शेयर कारोबार गर्दा राफसाफ गर्न ढिलो हुने गरेको र त्यसलाई छिटो गर्न आफूले पहल गने समेत बताए ।

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो ।

सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् । गाउँपालिका र कोसी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको गाउँपालिका अध्यक्ष किरण राईले बताए।

अरुण डाँडालाई गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर यहाँ पूर्वाधार विकासको काम भइरहेको बताउँदै पर्यटकीय गन्तव्य भएसँगै पालिकाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने उहाँले विश्वास व्यक्त गरे ।

विद्युत् प्राधिकरण हेटौँडाका सात करोड बराबरका सामान गायब

हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ ।

विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन गरेको छानबिन समितिले सात करोड बराबरका सामान हराएको प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।

हेटौँडास्थित जिन्सी शाखाका तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो ।

तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताए ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड पनि छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा १५रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो ।

आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल बिछ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ । अहिले शहीदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उनले बताए। निर्माण कार्य तीव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ ।

जमिनको सतहभन्दा माथि देखिने काम र जमिनमा नदेखिने गरी दुई चरणमा विभाजन गरेर काम गरिएको छ । डिभाइस र फाउण्डेसन निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको उनले बताए। अन्य कामलाई तीव्र गतिमा लैजान निर्माण कम्पनीलाई आयोजनाले आग्रह गरेको छ ।

सुवेदीले भने, “निर्माण कम्पनीले समय थप गर्न गरेको निवेदनलाई मध्यनजर गर्दै दश महिनाको समय थप गरिएको छ ।” सन् २०२२ को अक्टोबरमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का सकारेको थियो ।

पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगत मार्फत गर्दै लगिने उनले जानकारी दिए ।

साताको अन्तिम कारोबारमा १५.९३ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबार हुने साताको अन्तिम दिन आज (बिहीबार) १५.९३ अंकले घटेको छ । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार ४०२ रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता कारोबार हुँदा नेप्से दोहोरो अंकले घटेको हो ।

बिहीबार भएको कारोबारबाट नेप्सेको पुँजीकरणमा ०.५७ अंकले गिरावट आएको छ । आजको कारोबारमा जीवन बिमा र व्यापार समूह बाहेक सबै समूहका सुचकांक नकारात्मक देखिए ।

दुई बाहेक समूहको सूचक नकारात्मक देखिँदा पनि ४० वटा कम्पनीको शेयर मूल्य आज बढेको छ भने २०१ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ । त्यस्तैको आजको कारोबारमा ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको शेयर कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनीका शेयर ट्रेडरले सबैभन्दा धेरै आम्दानी गर्न सफल भएका छन् भने सपोर्ट माइक्रो फाइनान्स लघुवित्तका ट्रेडरले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ६ : ४२ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता