गीतकार जस योञ्जन : जसका गीत सुन्नैपर्छ | Khabarhub Khabarhub

गीतकार जस योञ्जन : जसका गीत सुन्नैपर्छ



नेपाली गीत संगीतको आकाशमा गीतकारकै नामले आफ्नो भव्य उपस्थिति जनाएका एक स्रष्टाको नाम हो- जस योञ्जन ‘प्यासी’। नेपाल बाहिर भारतको पश्चिम बंगालको दार्जीलिङमा जन्मिएका गीतकार योञ्जनले उपनाम ‘प्यासी’ जोडेका छन्। उनीभन्दा धेरै अगाडि अर्का कवि तथा गीतकार खुशविक्रम राणाले पनि आफ्नो नाममा ‘प्यासी’ जोडेका थिए। दोस्रो गीतकार प्यासीका रूपमा जस योञ्जन आए।

रेडियो कार्यक्रम सञ्चालक, गीत-संगीतका अध्येता र ज्ञाताका रुपमा सबैले उनलाई नेपाली गीत-संगीतको ‘इन्साइक्लोपेडिया’ भनेर पनि चिन्ने गर्छन्।

जस योञ्जन प्यासी थोरै गीतमा आफ्नो उत्कृष्ट पहिचान दिन सक्ने गीतकार हुन्। उनका कविता वा अन्य लेखका विधा पनि सशक्त छन्। तर, सधैँ गीतकारकै छविले बलियो र घना देखिन्छन्।
एउटा खुला किताब हुँ म
तिमीले पनि पढे हुन्छ
उसले पनि पढे हुन्छ
सबले जस्तै पढेपछि पन्नाहरू च्याते हुन्छ।

डिजी बराइलीको स्वर र कर्म योञ्जनको संगीतमा उहाँको यो गीत लोकप्रिय भयो। रेडियो नेपालको विद्युतीय तरंगमा फरमाइसी गीति कार्यक्रममा यो गीत उच्चकोटीको गीतमा पर्दछ।
गीत

यही गीतको चर्चापछि जस योञ्जन प्यासीको अर्को गीत कर्म योञ्जनकै सङ्गीत डिजी बराइलीले गाइन्।
तिमीले पनि खेलाउने
उसले पनि नचाउने
म सस्तो, धेरै सस्तो खेलौना भएछु….
यो गीतलाई रेडियो नेपालले एक किसिमको अघोषित रूपमा प्रतिबन्धित गरिदियो। व्यापक रूपमा डिजी बराइलीका गीतहरू बजिरहँदा यो गीत भने ओझेलमा पर्दै गयो।
गीत

डिजी बराइलीले बाहिर कहीँ कतै कार्यक्रममा गाउँदा मात्रै यो गीतले गुन्जिने मौका पायो। तर, रेडियो नेपालबाट भने यो गीत लगभग बज्न नै छोड्यो। जस योञ्जन प्यासी यो गीतका कारण पनि सदा स्मरणीय र सम्मानित छन्।

आकाशवाणी खरसाङमा रेडियो प्रस्तोताका रूपमा कार्यरत जस योञ्जन प्यासीले त्योबेला धेरै गीत लेखे। उनको अर्को लोकप्रिय गीत, जसले गायक/संगीतकारद्वय बद्री दुर्गा खरेललाई अकासिने परिचय दियो।
बोलाउँ भने तिमीलाई बात लाग्ने डर
नबोलाउँ त तिम्रो प्रीतको पाप लाग्ने डर…
गीत

आधुनिक गीत सुन्ने स्रोताले यो गीत पहिलो पटक सुन्दा दुर्गा खरेल र बद्री खरेललाई यही गीतबाट चिनेका हुन्। यी दुबै बन्धु संगीतमा समर्पित छन्। तर, बद्री खरेल नाटकमा अभिनेताका रूपमा पनि सक्रिय थिए।

मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ र भवानी भिक्षुको नाटक ‘त्यो फेरि फर्कला’ जस्ता विभिन्न नाटकमा बद्रीले नायकका रूपमा अभिनय गरे। आफ्ना भाइसँग संयुक्तरूपमा संगीत गर्दा उनले जस योञ्जन प्यासीको शब्दको यो गीतमा ख्याति र नाम कमाए।

यसपछि बद्री दुर्गा खरेलले जस योञ्जन प्यासीकै शब्दलाई संगीत भरे। त्यो गीत गायिका दावा ग्याल्मोले गाइन्।

‘अमृत भनी विष पिलायौ तर म मरिनँ’ यो गीतले ग्याल्मोलाई विशेष परिचय दिलायो। यद्यपि ग्याल्मोका आफ्ना पहिलेका गीतहरू नै सर्वाधिक लोकप्रिय थिए।

गीतकारका रूपमा हेर्दा जस योञ्जन प्यासी अन्य नेपाली गीतकार भन्दा पृथक र भिडमै उभिए पनि अलगै देखिन्छन्।

‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर’, ‘रात गहिरिँदै जान्छ कल्पनाको सहरमा’ वा ‘सहरभित्र केको हल्ला’ यी सबै गीत हिट हुँदाहुँदै पनि जस योञ्जन प्यासीको शब्द बद्री दुर्गा खरेलको सङ्गीतमा ‘अमृत भनी विष पिलायौ तर म मरिनँ’ आएपछि ग्याल्मोको एक प्रकारको ‘कमब्याक’ जस्तो भयो।

गीतकारका रूपमा हेर्दा जस योञ्जन प्यासी अन्य नेपाली गीतकार भन्दा पृथक र भिडमै उभिए पनि अलगै देखिन्छन्। डा. जस योञ्जन प्यासीका गीतहरू भन्नेवित्तिकै प्रायः दार्जीलिङका कलाकारले धेरै गाएको पाइन्छ। नेपालमै सङ्गीत गर्ने, सङ्गीतसँग आवद्ध हुने सङ्गीतकर्मीहरूले पनि उहाँका गीत गाएका छन्।

गायक ओमविक्रम विष्ट र सङ्गीतकार प्रकाश गुरुङले पनि उनका गीतलाई सङ्गीत गरेर गाएका छन्।

जस योञ्जन प्यासी यो समय हरेक युवायुवती र गायक गायिकाले पनि सम्झिएर गाइनुपर्ने गायक अथवा गीतकार हुन्। किनभने, गीतकारले एकपटक गीत लेखेपछि उसको युग सकिँदैन। उसको युग बारम्बार दोहोरिइरहन्छ। त्यस कारण जस योञ्जन प्यासीका गीतहरूमा अहिलेका पुस्ताका गायक/सङ्गीतकारले पनि ‘रि-भिजिट’ गर्नुपर्ने, पुनरावलोकन गर्नुपर्ने देखिन्छ।

जस योञ्जन प्यासी अहिलेको समयका लागि पनि बेमौसमका बादल हैनन्। यस कारण उनका गीतलाई जसरी दीप श्रेष्ठ र सोफिया गुरुङले गाएका छन्। दावा वा कुमार सुब्बाले लेखेका छन्। वा बद्री दुर्गा खरेलले गाएका छन्, त्यसरी नै अहिलेका पुस्ताले गाउन जरुरी छ।

गीतकार डा. जस योञ्जन प्यासी ओझेल परेका गीतकार हुन् भन्दा फरक नपर्ला। बेला-बेलामा अस्वस्थताका कारणले, बेला-बेलामा साहित्यिक सभा समारोहमा कम देखिनुका कारणले उनी अहिले चर्चामा देखिँदैनन्।

तर, नेपालमा स्थापना भएको राष्ट्रिय गीतकार संघले उनलाई इलाममा गएर सम्मान गर्ने योजना बनायो। सम्मान ग्रहण गर्न गीतकार प्यासी अस्वस्थताका कारण आउन सकेनन्। उनको त्यो सम्मान ग्रहण गर्न दार्जीलिङबाट अर्का गीतकार प्रतिनिधिका रूपमा कमल रेग्मी आए। उनले राष्ट्रिय गीतकार संघबाट दिइएको जस योञ्जन प्यासीको सम्मान ग्रहण गरे। यो सम्मान ग्रहण पश्चात् जस योञ्जन प्यासीको फेरि अलिकति चर्चा भयो।

गीतकार डा. जस योञ्जन बेला-बेलामा अस्वस्थताका कारणले, बेला-बेलामा साहित्यिक सभा समारोहमा कम देखिनुका कारणले उनी अहिले चर्चामा देखिँदैनन्।

तर, चर्चा हुँदाहुँदै उनी अस्वस्थ हुँदै गए र सबै बदलिँदै गयो। कोरोनाको पहिलो काल र दोस्रो कालमा उनी सिलिगुडीमा उपचार गर्दागर्दै एकदमै गम्भीर भइसकेका थिए। पछि विस्तारै स्वास्थ्य लाभ गरेर घर फर्किए। अहिले जस योञ्जन प्यासी स्वास्थ्यलाभ गरेर घरमै छन्। साहित्यिक भेटघाट जारी नै छ। उनका लेखन, गीतहरूको प्रकाशन भइरहेको छ। उनका ती गीतमध्ये दीप श्रेष्ठ र सोफिया गुरुङले गाएको ‘धर्तीलाई साक्षी राखी सम्झिन्छौँ’ एउटा महत्वपूर्ण गीतका रुपमा रहेको छ।

डिजी बराइलीले गाएको ‘मैले मन मन्दिरमा तिमीलाई सजाइसकेँ’ कम बज्ने तर चर्चित गीत हो। सबै गीतहरूलाई सम्मानपूर्वक सम्झिरहनु, बजाइरहनु, गाइरहनु एकदमै जरुरी छ। डा. जस योञ्जन प्यासीको गीति लेखन जारी रहोस्। यही कामना।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : १४ बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ