कथा : आफ्नै विद्यार्थीले ‘प्रपोज’ गरेपछि... | Khabarhub Khabarhub

कथा : आफ्नै विद्यार्थीले ‘प्रपोज’ गरेपछि…



सिनियर सर, म्यामहरु  गैसक्नुहुथ्यो, विद्यालयमा अन्तिमसम्म बसेर मैले काम गर्नुपर्थ्यो । जुनियर कर्मचारीको कामको समयाअवधि थिएन । काम नसक्नुञ्जेल जति बजेसम्म बसेर पनि गर्नुपर्थ्यो ।

शिक्षकहरुको ४ बजे छुट्टी हुन्थ्यो । तर, एकाउन्टमा हरेक दिन दिनभरको हिसाब–किताब गर्नुपर्ने हुँदा ५/६ बजेसम्म वा काम नसकिँदासम्म काम गर्नैपर्ने हुन्थ्यो ।

क्याबिनमा बसेर काम गर्दै गर्दा संयोग आइपुग्यो । ऊ कक्षा १० मा पढ्ने विद्यार्थी । स्कुलकै होस्टलमा बस्थ्यो । एसईई दिने बेलामा प्रायः सबै विद्यार्थी होस्टलमा बस्छन् तर ऊ कक्षा चारदेखि नै होस्टलमा बसेको थियो ।

होस्टलमा सबैभन्दा पुरानो विद्यार्थी उही थियो । त्यसैले उसले अरुलाई थर्काउने, हप्काउने गथ्र्याे । उपद्रो गर्नमा एक नम्बर थियो । ऊ कुनै शिक्षकसँग पनि डराउँदैनथ्यो । शिक्षक उसँग डराउथे । उसलाई सम्हाल्न नसकेर केही शिक्षकले जागिर छोडेकोसमेत कुरा चल्थ्यो ।

स्कुलको प्रिन्सिपल म्यामको भने ऊ छायासँग पनि तर्सिन्थ्यो । उसले बदमासी गर्दा शिक्षकहरुले प्रिन्सिपलकै नाम लिनुपर्ने स्थिति थियो । व्यवसायीको छोरो थियो, पैसाको कुनै कमी थिएन । दुःख भन्ने थाहै नभएकाले पनि होला, ऊ संयम र अनुशासनमा जिरो थियो ।

‘होस्टलबाट हेर्दा एकाउन्ट सेक्सनमा लाइट बलिरहेको देखेँ, तपाई नै हुनुहोला भनेर आएको ।’ उसले भन्यो ।

मैले उसलाई मैले होस्टलमा फर्किन भनेँ तर मानेन । शिक्षकहरुलाई नै नटेर्ने उसले म एकाउन्टेन्टलाई के टेर्नु ।

उसलाई भगाउने उपाय नलागेपछि म आफ्नै काममा व्यस्त भएँँ ।

ऊ प्रिन्सिपलको कुरा काट्न थाल्यो ।

‘मिस, तपाईलाई थाहा छ ? हाम्रो एमडी सरले म्यामलाई (प्रिन्सिपल) बिहान कफी बनाएर बेडमै लगिदिनुहुन्छ । म्याम सारै छुची हो । बिहान उठेर बुढीले पो बुढालाई कफी दिने हो त । यहाँ उल्टो छ । कहिलेकाँही त सरले म्यामलाई आफ्नै हातले भात खुवाइदिनुहुन्छ । म लुकीलुकी हेर्छु । हामी विद्यार्थीलाई मात्रै होइन, आफ्नै बुढोलाई पनि यिनले अत्याचार गरेकी छन् ।’

मैले सम्झाउने प्रयास गरेँ ।

‘त्यो अत्याचार होइन, श्रीमान–श्रीमतीबीचको प्रेम हो । भोलि ठूलो भएपछि थाहा हुन्छ तिमीलाई यस्तो प्रेमका बारेमा । र, अर्को कुरा म्याम र सर मात्रै होइन, कसैको पनि व्यक्तिगत क्रियाकलापमा यसरी निगरानी गर्न हुँदैन ।’

ऊ केहीबेर एकाउन्टमा घुमिराख्यो । र, निस्केँ पनि नभनी निस्कियो ।

हेल्थ पठाउने सरले अचानक जागिर छोड्नुभयो । म्यानेजमेन्टसँग केही कुरा मिलेको थिएन । उहाँले विना सूचना जागिर छोड्दिँदा कक्षा रोकियो ।

म्यामले सबै कर्मचारीलाई मिटिङमा बोलाउनुभयो । अर्को शिक्षक नपाउञ्जेल कसैले कक्षा हेर्दिनुपर्ने उहाँको कुरा थियो । सबै शिक्षकको व्यस्तता र विषय विज्ञताको कमीले गर्दा पढाउन सक्ने स्थिति आएन ।
अन्तिममा त्यो जिम्मेवारी मेरैमा आयो । नौ र दश कक्षामा दुई पिडियड हेर्दिनुपर्ने भयो ।

मलाई कहिल्यै पढाउँछु भन्ने थिएन । भोलिपल्टबाट कक्षा लिनुपर्ने । रातभर निन्द्रा लागेन । तर, जिम्मेवारी लिइसकेपछि पछाडि हट्ने कुरा भएन ।

पहिलोपटक कक्षा १० लाई पढाएँ ।

त्यो दिन संयोगले कत्ति पनि हल्ला गरेन । मलाई उसैको डर थियो । उसैलाई कक्षामा सम्हाल्न नसकेर बेइज्यत पो हुन्छ कि भनेर तर्सिरहेकी थिएँ । विद्यार्थी सम्हाल्न नसकेर जागिर छोड्नुपर्ने युगमा पो छु म त ! तर अरु शिक्षकले भनेजस्तो उसले कत्ति पनि हल्ला गरेन ।

अर्कोपटक पनि एकाउन्टमा कोही नभएका बेला ऊ आयो । त्यो दिन उसले मलाई थोरै राम्री बनेर हिँड्नु भन्यो ।

उसको कुरा सुनेर मलाई रिस उठ्यो । मलाई आफू नराम्री लागेकै थिएन । तर, त्यो फुच्चेले त्यसोभन्दा रिस उठ्यो । जुरुक्क उठेँ र तँ यहाँबाट गैहाल् भनेँ ।

उसलाई थर्काएँ, ‘तँ पाजीले सल्लाह दिनुपर्छ ? कति बनेर हिँड्नुपर्छ, मलाई थाहा छ । अब आइन्दा एकाउन्डको बिल्डिङमा छिरिस् भने प्रिन्सिपल म्यामलाई कम्प्लेन गर्दिछु । तेरो ममी नै हिरोइन, म त नराम्रो लागिहाल्छु नि ।’

‘मेरो स्टेप मम हो, केही राम्री छैन । खै ड्याडीले के हेरेर बिहे गर्या होला ? मेकअपविना हेर्नुभयो भने तपाई बहोस हुनुहुन्छ ।’ फेरि उसले मलाई राहत दिने कुरा गर्यो ।

उसले थप्यो, ‘मलाई मेरी ममीको धेरै याद आउँछ । ड्याडले अर्को बिहे गरेपछि मेरो खासै ख्याल गर्नुहुन्न । पैसा पठाइदिनुहुन्छ, त्यत्ति हो । होस्टलबाट त्यति बाहिर निस्कन पनि पाइँदैन । मेरो त गफ गर्ने मान्छे पनि छैन ।’

यो आवाराले यस्तो गम्भीर कुरा गर्छ भनेर मैले सोचेकै थिइनँ । त्यो पल मलाई उसको कपाल मुसार्दै एक्लो महसुस नगर्नू भन्न मन लागिसकेको थियो । तर, हिम्मत नै आएन । म उसकी मिस हुँ भन्ने कुरा बिर्सेँ भने उसले भोलि कक्षामा टेर्दैन भन्ने कुराले मैले आफ्नो भाव व्यक्त गरिनँ ।

उसका बाबुआमा दुवै सेलिब्रेटी थिए । आमाको स्वर्गबास भैसकेको थियो । हालकी कान्छीआमा थिइन् ।

प्रायः उनका अभिभावक ६/७ महिनासम्म छोराको स्कुल फी तिर्न आउन भ्याउँदैन थिए । फोन गरेर सम्झाउँदा पनि अहिले भ्याइएन, पछि आउँछु भन्ने जवाफ आउँथ्यो । बिलमा फाइन जोडेर पठाउँदा पनि आउन फुर्सद हुँदैनथ्यो उनीहरुलाई ।

एकपटक ८ महिनाको बिल तिर्न र छोरा भेट्न उनका बुवा आए ।

उनले मेरा लागि पनि कलम र चकलेट ल्याएका थिए । घरमा जाँदा छोराले मेरो बारेमा कुरा गर्ने रहेछ । यत्रा मिस छन् स्कुलमा तर तपाईको कुरा नगरी बस्न सक्दैन । आज त तपाईको पनि दर्शन गर्न आएको भने ।

उसका ड्याड यो धर्तिमा मेरो छोराको चिन्ता मलाई बाहेक अरु कसैलाई छ भने त्यो तपाई हो भन्थे । यता छोराको एक्लोपनको कथा पनि मैले नै सुन्नुपरेको थियो । उसका बुवाले पनि मेरो छोराको चिन्ता मलाईपछि तपाईलाई छ भन्दा एउटा गरुङ्गो भारी बोकेको आभाष भयो ।

एक दिन केटाले भन्यो, ‘मिस काठमाडौंमा कसैले तपाईलाई जिस्कायो वा केही गर्यो भने मलाई भन्नु है ।

के गर्छस् र ?

म तिनीहरुको हातखुट्टा भाँचिदिन्छु ।

तैँले आफ्नै हातखुट्टा सम्हाल्न थालेको धेरै भएको छैन, हिरो हुन पर्दैन ।

बिहान हजुर स्कुल आउदैँ गर्दा घट्टेकुलो चोकमा बसेका केटाहरुले तपाईलाई जिस्काइरहेका थिए । भोलि मेरा साथीहरु लिएर जान्छु, तिनीहरुलाई हान्न ।

उसको कुरा सुनेर म छक्क परेँ । चोकैपिच्छे आवारा केटाहरुले जिस्काउँदा पनि सुनेको नसुन्यै गरेर हिँड्नुपर्ने केटी मान्छेको बाध्यता हो । हामीलाई बानी लागिसकेको हुन्छ । भुक्ने कुकुरलाई ढुङ्गाले हान्दै हिँडेर समयमा स्कुल कसरी पुगिएला ?

छोरीलाई पो घरमा संस्कार सिकाइन्छ । आजसम्म कुन घरका अभिभावकले बाटोमा हिँडिरहेकी केटीलाई जिस्काउनु हुँदैन, दुःख दिनु हुँदैन भनेर सिकाएको छ र ? ? केही केटा वंशानुगत अनुशासित हुन्छन् । तर, अधिकांश केटा चोकमा बसेर केटी जिस्काइनुलाई मनोरञ्जन नै मान्छन् ।

मैले उसलाई सोधेँ, ‘आफ्नी मिसलाई केटाहरुले जिस्काएको मन परेन ? आफूले कहिल्यै क्लासका केटीहरु जिस्काएको छैनस् ?’

‘साथीहरुको लहैलहैमा लागेर जिस्काएको छु । प्रमिस मिस, अबदेखि जिस्काउदिनँ ।’

मलाई उसको कुरा सुनेर खुसी लाग्यो । कमसेकम चोकमा बसेर केटी जिस्क्याउने काम राम्रो होइन भनेर उसले बुझ्यो ।

उसले अभिभावकको समय पाएको थिएन । सबथोक भएर पनि ऊ रित्तो थियो । ऊ भन्दा सायद ५ देखि ७ वर्ष जेठी थिएँ होला । मलाई उसको अभिभावकजस्तो फिल भैरहेको थियो । कता–कता आफ्नो छोरा जस्तो लाग्ने, बच्चा जस्तो लाग्ने भएको थियो ।

ऊ हरेक दिन एकाउन्टमा आउन थाल्यो ।

मलाई पनि पहिलेभन्दा केही सहज लाग्दै गएको थियो ।

एकदिन उसले घरमा तपाईलाई खाना खाने गरी बोलाउनुभएको छ भन्यो । अब विद्यार्थीको घरमा खाना खाँदै हिँड्ने कुरा भएन । फेरि उसका बुबाको विभिन्न हिरोइनहरुसँग अफेयर छ भनेर समाचार आइरहन्थ्यो ।

उनी सेलिब्रटी थिए । उनीहरु एक अर्कासँग नाम जोडिएर समाचार आउनुलाई सामान्य मान्थे । तर, म त गाउँकी किसानको छोरी । कसैसँग नाम जोडियो कि सकियो । त्यसैले खाना खाने प्रस्ताव टार्दै आएँ ।

एक दिन एकाउन्टमा अलि निराश हुँदै आयो । सोधेँ, ‘के भयो ?’

उसले नरिसाउने सर्त राख्यो । यस्तो बच्चोसँग किन पो रिसाउँथे । मैले नरिसाउने बताएँ ।

उसले मलाई सोच्नै नसक्ने कुरा गर्यो ।

‘मिस तपाई मलाई धेरै मन पर्छ, हामी लभ गरौँ न ।’

म उसको कुरा सुनेर थर्रथराउन थालेछु ।

आफूले सानै सोचेको, बच्चै मानेको आफ्नै विद्यार्थीले यस्तो कुरा राख्ला भनेर कसैले सोच्न सक्छ ? मेरो बस चल्थ्यो त त्यसलाई गालै गालामा चड्कन हानौं जस्तै भयो ।

आफूभन्दा सानोसँग बराबरी गर्न पनि नसुहाउने । न त चिच्याउन मिल्ने । आफ्नै विद्यार्थीलाई गर्ने के हो ? कसैलाई थाहा भयो भने मेरो के होला ? मेरो इज्जत माटोमा मिलाउने भयो यसले । यो पो केटाकेटी हो, सबैले मलाई नै दोष दिन्छन् ।

यस्तो पनि झेल्नुपर्ला भनेर मैले कहिल्यै सोचेकी थिइनँ । हामी त आफ्नो शिक्षकलाई कति आदर गथ्र्यौँ ।

मलाई डराएर बस्ने फुर्सदै थिएन । जुरुक्क उठेर त्यसलाई त्यहाँबाट निस्कन भनेँ ।

‘म छोड्दिनँ मिस हजुरलाई’ भन्दै पो निस्कियो ।

त्यो दिन काम नसकी कोठामा फर्किएँ । राति त ज्वरो आएछ ।

भोलिपल्ट बिरामी बिदा मागेर बसेँ ।

तर, मलाई फर्केर स्कुल जान मन लागेन । जागिर नगरी सुखै थिएन । तैपनि त्यो ठाउँमा फर्केर जान मन लागेन । एक हप्तापछि राजीनामा लेखेर इमेल गरिदिएँ ।
प्रिन्सिपल म्यामले के भयो, सेवा सुविधा, तलब पुगेन कि, हामीले केही भन्यौं कि ? दुई पक्ष मिलेर छलफल गरौँ, समस्या समाधान हुन्छ भन्नुभयो ।
समस्या अर्कै थियो । मैले बोल्नै सकिनँ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १० : १३ बजे

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित

नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन भलिबल टोलीबीच

राप्रपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ

पाकिस्तानमा आईएसआईलाई फोन कलमा निगरानी गर्न दिने सरकारको निर्णयको विरोध

काठमाडौँ– पाकिस्तान सरकारले मुलुकको जासुसी निकाय आईएसआईलाई जनताको फोन कलमा

त्रिशूलीमा खसेका यात्रु खोज्न भारतीय टोली परिचालन

चितवन–  नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई  बस