हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते « Khabarhub

हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्लामा डेढ वर्षको अवधिमा हात्तीको आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरूको ज्यान गएको हो । डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छ जनाको हात्ती आक्रमणमा ज्यान गएको छ भने छ जना घाइते भएका थिए । यसैगरी, विसं २०७९ मा सातजनाको मृत्यु र आठजना घाइते भएको उनले जानकारी दिए।

सोही अवधिमा छ हात्ती मरेको तथ्यांक वन कार्यालयमा रहेको छ । गत वर्ष तीन र चालु आर्थिक वर्षमा तीन गरी छ हात्ती मरेका हुन् । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ । त्यसमा सात गैरनेपाली पनि छन् । एक दशकमा ७५ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ ।

जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्यांक उपलब्ध छैन ।

मेचीपारी भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेलले बताए । सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गर्न थालेका छन् ।

गत कात्तिक १९ गते बाहुनडाँगीको गौडाबाट नेपाल प्रवेश गरेका ३६  हात्तीले हाल मोरङ र सुनसरीमा वितण्डा मच्चाइरहेका छन् । एक दशकयता नेपालकै जङ्गलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका वडा नं ३ का सीताराम बाँस्तोलाले बताएका छन् । एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्ने गरेका छन् ।

सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ । अधिकांश पीडितले बेलैमा सो रकम नपाएको गुनासो छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले १० लाख राहत दिने व्यवस्था छ ।

सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत रु २० हजारसम्म दिने कानुनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्‍याएको अवस्थामा रु १० हजारसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन वन कार्यालयका अधिकृत पराजुलीले बताए ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ३ : ५१ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक