बिरामी वीपी प्रतिष्ठानमा बढ्यो निराशा | Khabarhub Khabarhub

बिरामी वीपी प्रतिष्ठानमा बढ्यो निराशा



 

सुनसरी – प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत आफ्ना हरेक भाषणमा जनतालाई आशा जगाउनुपर्ने बताउन छुटाउँदैनन् । तर, उनीहरुकै नेतृत्वमा रहेको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले चरम निराशा बढेको छ ।

वीपी प्रतिष्ठानका चिकित्सक, शिक्षक, कर्मचारी र भविष्यका कर्णाधार विद्यार्थीहरुमा यतिबेला चरम निराशा देखिन थालेको छ । अरुको उपचार गर्नुपर्ने बीपी प्रतिष्ठान आफैं बिरामी छ ।    प्रतिष्ठानमा विरामीको उपचार सेवा र पठनपाठनसहित परीक्षा हुन नसकेको सोमबार २४ औं दिन भएको छ ।

यो तीनसाताका वीचमा वीपी प्रतिष्ठानका नियमित गतिविधि सञ्चालन गर्न अनेक प्रयास भए । अस्पतालजस्तो संवेदनशील संस्था ठप्प हुँदा कुनै पनि सरोकारवाला निकायले खासै चासो लिएको देखिएन ।

लामो समयदेखि रोकिएको आन्तरिक बढुवा प्रक्रिया सुरु गर्न दवाव दिन शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले भद्र अवज्ञा गर्दै आन्दोलित हुदा कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीले पनि समाधान गर्नतिर भन्दा पनि तीन-चारपटक अपिल जारी गर्न बाहेक अरु बाटो रोजेनन् ।

प्रधानमन्त्री र मुख्यसचिवले दुई साताअघि नै कार्यकारिणी समितिको बैठक राखेर शिक्षक र कर्मचारीको माग सम्बोधन गरी सञ्चालक परिषद (सिनेट) बैठकको मिति तोक्नु भन्दै निर्देशन नदिएका होइनन् । कास बैठक पनि माघ ८ र ९ गते बस्यो । तर, दुईजना कास सदस्यलाई नै नबोलाई बसेको बैठक पनि अधुरो नै रहयो ।

यसबीचमा सिनेट सदस्य समेत रहेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले उपकुलपतिलाई तत्काल समस्या समाधान गर्न दबाव दिँदै तालासमेत लगाए । अदालतमा मुद्दा परेपछि वार्ताको वातावरण सृजना होस भनेर पर्सिपल्ट आफैं गएर खोले ।

पछिल्लो समय शनिबार सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यवस्थापन र आन्दोलनरत पक्षलाई वार्ताको टेवलमा ल्याउन र सहमति जुटाउन प्रयास गरे । तर, प्रजिअ आचार्य पनि असफल भएपछि निराश भएर इनरुवा फर्किए ।

सांसदहरु रमेशकुमार बस्नेत, विजयकुमार राई, रेवतवीरमण भण्डारी, रामप्रसाद महतो, रोहितबहादुर कार्की, रामदेव यादव र मीना श्रेष्ठले वीपी प्रतिष्ठान ठप्प भएको र विरामीले उपचार सेवा नपाएको, विद्यार्थीको पठनपाठन र परीक्षा नभएको सन्दर्भ उठाउँदै तत्काल पहल गर्न मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराउदै संयुक्त हस्ताक्षरसहित एक पत्र पनि बुझाए । तर, मुख्यमन्त्री कार्की पनि पहल गर्न असफल भए ।

विरामीको उपचार सेवाबाट मात्रै दैनिक ५० लाख देखि ६० लाख रुपैयाँसम्म आम्दानी हुने वीपी प्रतिष्ठानमा कामु उपकुलपति प्राडा कार्की र आन्दोलनरत पक्षवीच एकपटक पनि वार्ता नहुँदा यो २४ औं दिनमा करिव १५ करोड रुपैयाँ क्षति भइसकेको छ ।

आर्थिक अनियमितता, भ्रष्टाचार र कमिसनखोरीका कारण त्यसै पनि प्रतिष्ठान आर्थिकरुपमा कङ्गाल भइसकेका बेला सहमति नखोजी थप अस्तव्यस्त बनाउन प्राडा कार्की उद्दत्त देखिएको आरोप आन्दोलनकारीको छ ।

कार्कीले यसैबीच फेरि अर्को अपिल जारी गर्दै पठनपाठन सुचारु गरिदिन शिक्षकहरुसँग आग्रह गरेका छन् । उनले शिक्षक, कर्मचारीहरुको बढुवालगायत महत्वपूर्ण विषयमा निर्णय गर्न माघ २९ गते सिनेट बैठक आह्वान भइसकेकाले पठनपाठन सुचारु गर्न आग्रह गरेका छन् । कार्कीले विषम परिस्थितिको वैधानिक समाधान खोज्न र पढ्न पाउने अधिकार सुनिश्चित गर्न प्रतिष्ठान व्यवस्थापन लागिरहेको भन्दै विद्यार्थीहरुलाई पनि विरोधको कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।

वीपी प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्की

उनका अनुसार एमबीबीएस चौथो बर्षको आन्तरिक परीक्षाका साथै बीडीएस दोस्रो र तेस्रो वर्षको अन्तिम परीक्षाका साथै एमबीबीएस तेस्रो बर्षको अन्तिम परीक्षाको ‘प्राक्टिकल’ परीक्षा प्रभावित बनेका छन् । त्यस्तै एमबीबीएस र बीडीएस दोस्रो बर्षको अन्तिम परीक्षा पनि प्रभावित भएका छन् । शैक्षिक क्यालेण्डर अनुसार पठनपाठन र परीक्षा नहुँदा विद्यार्थीहरुमा निराशा छाएको छ ।

यसैबीच, सोमबार कामु उपकुलपति प्राडा कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका थिए । विद्यार्थीको पठनपाठन कसरी सुरु गर्ने र ओपीडीहरुलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्न वार्तामा बोलाएको तर वार्ताको एजेण्डामा बढुवासम्बन्धी कुनै बुँदा नभएपछि नगएको शिक्षक कल्याण समाजका सचिव डा. कादिर आलमले बताए ।

उनले खबरहबसँग भने, ‘कामु उपकुलपतिले वार्तामा बोलाउनुभएको थियो, हामीले यसअघि दुईपटक उनैले हस्ताक्षर गरेको सहमतिलाई कार्यान्वयन गर्ने हो भने र त्यो सहमतिका बेला उपस्थित सवैलाई बोलाएर वार्ता गर्ने भए मात्र आउने भनेका छौं । उहाँले त्यसपछि बोलाउनुभएको छैन ।’ वीपी प्रतिष्ठानका डा. मधुर बस्नेतले कामु उपकुलपतिका रुपमा प्राडा कार्की रहेसम्म वीपी प्रतिष्ठानको हित नहुने र अरुको पनि हित नहुने भएकाले वार्तामा बस्नुको औचित्य समाप्त भएको बताए ।

उनले भने, ‘स्वास्थ्यमन्त्रीले आफूखुशी नियुक्त गरेका एकजना कामु उपकुलपतिको हठका कारण वीपी प्रतिष्ठानको हालत कतिसम्म नाजुक भएको त्यो सबैले देखिहालेका छन् । अदालतले स्वतः बढुवा प्रकृया नगर्नु नगराउनु भन्ने आदेश त आयो, तर हाम्रो त स्वतः बढुवा होइन । आन्तरिक बढुवा मात्र हो ।’

डा. बस्नेतले पछिल्लो समय वीपी प्रतिष्ठानको अवस्था विरक्तलाग्दो भएको बताए । राज्य निरीह, राजनीतिक दलहरु झनै गएगुज्रेका र स्थानीय नागरिक समाजले पनि दबाव दिन नसक्दा प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुमा थप निराशा पलाएको उनले बताए ।

कर्मचारी कल्याण समाजका महेश्वर राईले कामु उपकुपतिसँग यसअघि नै दुईपटक वार्तामा बसेर सहमति भइसकेकाले फेरिफेरि वार्ता गर्न जरुरी नरहेको बताए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : ३३ बजे

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

तनहुँ–  जबरजस्ती करणी गरेको आरोपमा तनहुँ र ओखलढुङ्गाबाट दुई जना

बाढीको दश दिनपछि प्रभावित क्षेत्र अनुगमनमा निस्किए गृहमन्त्री

काठमाडौं- असोज ११ र १२ गतेको बाढीबाट भएको ठूलो क्षति

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैंक लिमिटेडबाट प्रधानमन्त्री दैवी

भारतीय सेनाका मेजर जनरल सिंह ६ दिने भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं- भारतीय सेनाका मेजर जनरल तथा थ्री गोर्खा राइफल्सका ‘कर्णेल